खट् खट् खट्
खट् खट् खट्
“दुई दिन भयो बासिबिदो बसेको, आज त पक्कै पानी पर्लाजस्तो छ,” दक्षिणतिरको आकाश केहीबेर नियालेर तीर्थबहादुर नेपाली पूर्ववत् मुद्रामै कलको ह्यान्डल घुमाउन थाले ।
“के छ हो तीर्थबहादुरजी ? आज त बिहानै आउनुभएछ नि !” हातमा लुगाको पन्तुरो बोकेका एक पात्र उनको अघिल्तिर टुप्लुक्क देखा परे ।
“के हुनु, दसैँ आउन लागिसक्यो, रुप्याँ–पैसा कमाएको होइन, जहान–छोराछोरीले बाउले पैसा कमाएर ल्याउला भनेर आँ.. मुख बाइरहेका होलान् । आफ्नो भने ताल यस्तो छ !” निराशापूर्वक आँखा उनले ग्राहकतिर हुत्याए । र, पुनः कलको ह्यान्डलमा हात राखेर पुरानै रफ्तारमा घुमाउन थाले ।
खट् खट् खट्
खट् खट् खट्
“ल यो सिलाइदिनू, भरे ड्युटीबाट फर्किने बेलामा लिएर जान्छु,” पोको हुत्याउँदै गाहकी पनि गन्तव्यतिर लागे ।
“यिनी ओखलढुंगाका खत्री हुन् । उ.. त्यो परको अग्लो घरमा गार्ड बस्छन्, बुझ्नुभो बाबु ? लुगा च्यातिनेबित्तिकै यहाँ आइपुगिहाल्छन् !” मलाई यसो भनिरहँदा कलेटी परेको ओठबाट उनको घुर्मैलो हाँसो फुत्त बाहिरियो ।
र, उसैगरी कल चलाउन थाले
खट् खट् खट्
खट् खट् खट्
यो कलको आवाजमात्रै होइन, तीर्थबहादुर नेपालीको मुटुको धुकधुकी पनि हो । उनको नाडीको धड्कन यही आवाजसँगै निर्निमेष गतिमा छ ।
काठमाडौंको कालोपुलको मुखैमा उनी पिर्का ओछ्याएर बसेका छन् । उनको ‘टेलर’ भन्नु त्यही हो । न चौतारी, न ओत लाग्ने छहारी ! चर्को धूप र निरन्तरको झरीबादलसँग निर्मम पौँठेजोरी खेल्दै उनी थोत्रा लुगा खुट्दै आफ्नो जीवन टालिरहेका छन् ।
कतिञ्जेल ?
उनको अनुहारमा अनायास सन्नाटा छाउँछ । भन्छन्, “हातगोडा चलुञ्जेल त काम गरेरै खानुपर्यो नि !”
० ० ०
दोलखा, जुगु–३ का तीर्थबहादुर कुनै तीर्थाटनका लागि काठमाडौं छिरेका होइनन् । पिठ्युँको कलसँगै जहान छोराछोरीलाई सुखसयलमा राख्ने अन्तरंग सपनाको छड्के झोला भिरेर काठमाडौं खाल्डो पसेका तीर्थबहादुर अन्ततः आफ्नै सपनाको दलदलमा फसे ।
उनकै शब्दमा उनी आफ्नै चाहनाले चारैतिरबाट घेरिए, कलमा धागो बेरिएझैँ ! त्यो यसरी जेलियो कि उनी त्यहाँबाट उम्कनै सकेका छैनन्, आजसम्म ।
१८ वर्षदेखि उनी कालोपुलको मुखमा डेरा जमाइरहेका छन् । कमाइ त के हुनु नि, हातमुख जोर्नै मुस्किल ! काठमाडौँ पस्दा उनी जस्तो थिए, कालोपुलमा यत्रो वर्ष बस्दा पनि उनको हैसियत उँभो लागेन । बरु, अनुहारको रोगन घामले डढेर त्यही पुलजस्तै भयो, निख्खर कालो !
“बाटो रुंग्दारुंग्दै वरपर आलिशान महल खडा भए, मचाहिँ काठमाडौँमा जगेडा ठहरिएँ,” उनको अनुहारमा दुःख र निराशाका पातला धर्साहरू दौडिन थाल्छन् । धमिला आँखा क्षितिजतिर दौडाउँछन् र खुइय काढ्छन्, “काठमाडौँ सहर हामीजस्ताका लागि होइन रहेछ !”
उनको अभिव्यक्तिभित्र काठमाडौंको कहर र उनको रहरबीचको अनौठो अन्तरद्वन्द्व भेटिन्छ । १८ वर्षे काठमाडौँ बसाइका दौरानमा उनले झुत्रा लुगा टाल्दै कैयौँको आङ ढाकिदिए, तर आकाश चिहाइरहेको आफ्नै आङ र बालबच्चाको शरीर भने सदैव ह्वाङ्गै रह्यो !
उनको यही गुनासो हुन सक्छ, सायद ।
मानिस आफ्नै रहरले छोटिँदोरहेछ ! र त, उनी परिवारलाई छोडेर काठमाडौँको पुल कुर्न आइपुगेका छन् । तर, जति पुल कुरे पनि उनले जीवनका खाल्डाहरू पुर्न सकेका छैनन् । “कहिले पचास–सय कमाइहाल्छु, कहिले त रित्तै गोजी फर्किनुपर्छ,” उनका आँखामा विस्मयका भावहरू देखा परे ।
प्रत्येक मानिस कथाहरूको संग्रह हो र ऊ पत्र–पत्रमा बाँचेको हुन्छ । यस्तै कथा–व्यथाहरू छन् तीर्थबहादुरसँग पनि । झन्ढै सवा घण्टा बसाइका क्रममा उनले आफ्ना व्यथाहरू एक–एक गरी उधिने ।
० ० ०
सानैमा बाबु बिते । पाँच भाइ सन्तान भए पनि दाजुहरू लाखापाखा लागेपछि परिवारको दायित्व उनकै काँधमा आयो । दाजुहरू ठूल्ठूला थिए, उनीहरूले बाबुसँग बेलैमा काम सिके र ‘विष्ट’ खोजेर आफ्नो जोहो गरिहाले । तर, तीर्थ कुहिरोभित्र हराएको काग बन्न पुगे ।
दाजुहरूले काममात्र सिकेनन्, जग्गा पनि रोजाइकै भाग लगाए । ठगिनेमा उनै परे । “मेरो भागमा त पाखो बारी परेछ हजुर, बिहानभरि जोत्न पनि नपुग्ने !” उनले बेलिबिस्तार लगाउन थाले ।
तीन छोरी र दुई छोरा गरी पाँच सन्तान जन्मिए । खोरिया खनेर जहान छोराछोरीको पेट कसरी भर्नु ! आफ्नो भागमा १०–१५ घरमात्रै ‘विष्ट’ थिए । तिनको दयामायाले मात्रै घरव्यवहाराको रथ अगाडि नबढ्ने देखेपछि उनको मन मरेर आयो । जति हड्डी घोटे पनि खान–लाउन धौ–धौ हुन थालेपछि उनी कल च्यापेर दोलखाबाट काठमाडौँ झरे ।
र, आइपुगे कालोपुल ।
काठमाडौँ हान्निनुको अर्को सहायक कारण पनि रहेछ,
छोरीको निधन ।
तीन छोरीमध्ये कान्छीको असामयिक निधन भएपछि उनी विह्वल भएका रहेछन् ।
“पैसा थिएन, ओखतीमूलो गर्न पनि सकिनँ । एकदिनको बाटो हिँडेर चरिकोटसम्म उपचारका लागि पुर्याए पनि पैसा नभएकाले मेडिकलमा देखाउनुपर्यो । सानोतिनो रोगमै उपचार नपाएर छोरीले प्राण त्यागी ! त्यसपछि त गाउँ बस्नै मन लागेन,” उनले पीडा ओकले, अनुहारमा बादल छायो ।
टोपीले मुख छोप्दै केही बेर रोए उनी ।
गरिबी नियतिको दुष्चक्र हो । यसले एक होइन, अनेक प्रकारले डस्छ । यो बुझेपछि उनल पन्तुरो कसे । अनि कुम्लोकुटुरो बोकेर काठमाडौँ पसे ।
त्योभन्दा अगाडि उनले गाउँमा नंग्रा नखियाएका होइनन् । बिहान उदयाचलदेखि बेलुका अस्ताचलसम्म ढाड कुप्र्याएर लुगा सिउने होस् या हातमा ठेला उठाएर खोरिया पल्टाउने, जति गरेपनि दुःखको काँडाघारी फाँडिएनन् ।
बिहेबटुलोमा नौमती बजाउन नगएका पनि होइनन् । “सास फुत्किएलाझैं गरेर कर्नाल फुक्यो, पचास–सय रुपैयाँमात्र भागमा पर्ने ! कहिले त अन्नमै चित्त बुझाउनुपथ्र्यो,” उनले ती दिन सम्झिए ।
“बिहेबटुलो सधैँभरि आइपर्दैन, मर्दापर्दा हामी नभई हुँदैन, तर हामीलाई मान्छे नै गन्दैनथे हजुर ! असाध्यै छोइछिटो गर्ने क्या,” उध्रिएको ज्वारिकोट हातले खुट्दै दुःखको पोयो फुकाए ।
० ० ०
तीर्थबहादुर दुःखी त छन् तर रसिला र फरासिला पनि छन् । भन्छन्, “जीवन दुई दिनको रामछाया हो, रोएर काया फेरिन्छ र !”
त्यस्तै दार्शनिक पनि लाग्छन् उनी । कुराकानीकै क्रममा तीर्थबहादुरले उप्काइहाले, “बुझ्नुभो बाबु, सहरका मानिस हेर्दामात्रै सुकिला छन्, भित्र निकै मैला छन् ।”
नजिकैको खोलोतर्फ इसारा गर्दै उनले प्रश्न गरे, “यो रुद्रमती आफैँ यति दुर्गन्धित भएको हो र ? खोल्सो मुहानमै दुर्घन्धित हुँदैन नि बाबु ! सहरका मानिसहरूले कुरूप पारेका हुन् यसलाई ! म काठमाडौँ आउँदा रुद्रमती त्यति दुर्गन्धित थिएन । मानिस जति–जति पढेलेखेका हुँदै गए, त्यति नै नदीमा फोहोर फाल्ने क्रम पनि बढ्यो ।”
उनको आक्रोश त्यतिमै रोकिएन । “भाडा उस्तै महँगो बनाएका छन् । चाबहिलको भित्रपट्टि अँध्यारो कोठा लिएका छौँ । छोरी र म बस्छौं । सानो कोठाको पनि पाँच हजार रुपैयाँ तिर्छौं । फेरि बत्ती, पानीको सुविधा भए हुन्थ्यो नि ! केही पनि छैन । महिना मर्नेबित्तिकै भाडामात्रै उठाउन आउँछन् । केही भन्नु हुँदैन, सिधै निस्केर गइहाल भन्छन् !”
कुराकानीका क्रममा उनले निकै घतलाग्दो प्रसंग उप्काए, “नेताले मुलुक बिगारे, समाज सुकिला–मुकिलाले ।”
सडकमा गुडिरहेको सेतो कारतर्फ औँलो सोझ्याउँदै उनले भने, “चिल्लो गाडी चढेर हिँड्छन् तर धुँवाधुलो र फोहोर जथाभावी फाल्नु हुँदैन भन्ने ज्ञानचाहिँ पटक्कै छैन यिनलाई !”
० ० ०
गत वर्षको भूकम्पले उनको घर पनि धुलाम्य बनाइदियो । उनले सुनाए, “वैशाख १२ गते त यहीँ थिएँ । दोलखा र सिन्धुपाल्चोक सकियो भने । अताल्लिएर घरमा फोन गरेको त घर चर्कियो, अरु केही भएको छैन भने ।
भोलिपल्टमात्रै घर पुगेँ । २९ गतेको भूकम्पमा त दोलखामै थिएँ, त्यस्तै एक बज्न लागेको हुँदो हो, भूकम्प गइहाल्यो, झन्डै मरिएन ! मान्छे जोगियौं तर गाईवस्तु जोगाउन सकिएन । किलोको किलै ठहरै भए ।”
गाउँमा कसैको घर सग्लो रहेन । सबैका धुरी मझेरीमा आइपुगे । ३०–३२ घर रहेको गाउँमा कसको घर कुन हो खुट्याउनै नसकिने गरी स्वाहा भयो ।
“घर भत्किए पनि मान्छे बाँचियो । सरकारले घर बनाउन सहयोग गर्ला भनेर बस्दाबस्दै डेढ वर्ष बित्यो । नदिने भए बेकारमा किन आश देखाउनु ? दिने भए खुरुक्क दिए भैहाल्यो नि !” उनले गुनासो गरे ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दोलखा पुगेर भूकम्पपीडितलाई पाँच लाख दिनुपर्छ भन्दा उनी उतै रहेछन् । “अब त उनै (प्रचण्ड) प्रधानमन्त्री भएका छन् । हामीले उनका कार्यकतालाई युद्धकालमा भात नखुवाको भए, नबचाएको भए तिनी सत्तामा पुग्थे ? प्रधानमन्त्रीकै लागि बन्दुक बोकेका होइनन् ? अब गर्नुपर्यो नि काम,” यति भनेर उनी आफ्नै काममा फर्किए ।
० ० ०
उनको सम्पत्ति भन्नु नै त्यही एउटा हाते कल हो । कहिलेकाहीँ कलले काम गर्दैन । “कल बिग्रिए त हात भाँच्चिइहाल्यो नि ! के गरेर खानु हामीले ?” उनले भने ।
तीन भाइ छोरामा कसैले पनि पेसा गर्लान् भन्ने उनलाई विश्वास छैन । “टेलर खोलौं भने आफूसँग पैसा छैन । थोत्रा लुगा टालेर बस्छौं भनेर मुखमुखै लाग्छन्,” उनले दुखेसो पोखे ।
सत्तामा पुगेकाहरूलाई तीर्थबहादुरको प्रश्न छ, “जोसुकै सत्तामा पुगे पनि हामी गरिबलाई हेर्ने होइनन् । बाटामा हामीलाई धुलो उडाउँदै हिँड्छन् तर हाम्रा दुःख हेर्दैनन् । यही बाटो पनि कति मन्त्री/प्रधानमन्त्री ओहोरदोहोर गरे, यसरी दुःख गर्नेलाई तिनले हेरेका छन् त ?”
No comments:
Post a Comment