Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

सडकमा भिख माग्दै सहिदपत्नी



By  Unknown     4:16 AM    Labels: 

 “भगवानलाई भेटी चढाए, पाउँछन् कि पाउँदैनन, म बूढीलाई दिए त अहिले नै खान्थें नि !” एक सय एक वर्षीया लक्ष्मीमाया मोक्तानले मन्दिरमा दर्शन गर्न आएकी अधबैंसै महिलाका अगाडि यसै भनेर हात पसारिन् ।
“छाड्नुस्, मन्दिर दर्शन गर्न आएको मान्छेलाई यसरी अल्झाउने हो ?” लक्ष्मीमायाको हात मिल्काउँलाझैं गरि गणेशको मूर्तिमा रु पाँचको नोट चढाएर ती महिला फन्फनाउँदै बाटो लागिन् ।

महिला गएको केहीबेरमा लक्ष्मीमाया गणेशको मूर्ति भएतर्फ अघि बढिन्, पानीले भिजेको र अविर लत्पतिएको पाँच रुपैयाँको नोट हातले छामछाम छुमछुम पार्दै पोल्टाको भित्री भागमा घुसारिन् र सन्तोषको स्वास फेरिन् ।

पशुपतिको प्रवेश गर्ने दक्षिणतर्फको गणेशको मन्दिरको पेटीमा लक्ष्मीमायाले यसरी हात थापेर भोक मेटाउन थालेको झन्डै आठ वर्ष भयो । शताव्दी उमेर पार गरेकी लक्ष्मीमाया आँखा राम्रोसँग देख्दिनन्, न कान नै प्रष्ट सुन्छिन् । भित्तो समाएर उभिनुपर्ने उमेरकी वृद्ध लक्ष्मीमाया छोराको सहारामा मन्दिरको पेटीमा आइपुग्छिन् र दया–दानको मानो–मुट्ठी समाउँछिन् ।

यो सहरमा सबै दयावान् छन् र ?

कतिले दुई–पाँच रुपैयाँ दिइ पनि हाल्छन् कतिले मुटु घोच्ने गरी भन्छन्, “हात थापेर खानुको सट्टा काम गर्नू नि !”
यसरी हात थाप्ने लक्ष्मीमाया सहिदपत्नी हुन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । मुलकु फेर्ने सपनाको सारथी बनेर आन्दोलनमा होमिएका श्रीमानको अचानक हत्या हुन्छ, बुढेस कालमा सडक किनार र मन्दिर पेटीमा बसेर यसरी मागेर गुजारा चलाउनुपर्छ भनेर सायदै सोचेकी थिइन् लक्ष्मीमायाले ।

तर, नियती यति निर्मम भइदियो कि उनको श्रीमानको हत्या मात्रै भएन, सबै जायजेथा हरण भयो र पशुपति परिसरमा माग्दै मृत्यु कुर्न आइपुग्नु पर्‍यो ।
० ० ०
नागरिकता अनुसार उनको जन्म १९७२ साल मंसिर १३ गते भएको हो । सर्लाहीको लालवन्दीमा जन्मिएकी हुन् उनी । परिवारको अवस्था खासै राम्रो थिएन ।

उनलाई उती साह्रो सम्झना छैन, त्यस्तै १९ वर्षको उमेरमा इनामे–८ उदयपुरका बलमान मोक्तानसँग मागी विवाह भयो । बलमान कांग्रेसमा आस्था राख्थे । ००७ सालदेखि प्रजातान्त्रिक आन्दोलमा होमिएका बलमान खासै घर बस्दैनथे । उनका छोरा कंशलाल मोक्तान सुनाउँछन्, “बाबुले लुकीछिपी भारतको जयनगरतिरबाटै मेट्रिक पास गर्नुभएको थियो, उबेला पनि बुबा पढ्नु लेख्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो ।”

त्यति मात्र होइन बलमान गाउँका अरुलाई पढ्न लेख्न सुझाउँथे र फुर्सद हुँदा आफैं पढाइ दिन्थे पनि । तर, त्यो कुरा गाउँका ठूलाठालू हुँ भन्नेहरूलाई पचेको थिएन । उनीहरूको आँखाको कसिंगर बनिसकेका थिए ।

०१७ साल पुस १ गते राजा महेन्द्रले शाही ‘कु’ मार्फत शासन सत्ता आफ्नो हातमा लिए । त्यसको एक महिना नबित्दै बलमान पक्राउ परे । लक्ष्मीमाया भन्छिन्, “पुसको आधाआधीदेखिनै प्रहरीहरू घर घेर्न थालिसकेका थिए, रातभरी कुुकुर भुक्थ्यो, हामी बाघभालु आयो कि भन्ठान्थ्यौं, पुलिस पो खोज्न आएका रहेछन् !”

 नभन्दै पुसको अन्तिमतिर बलमान पक्राउ परे । पक्राउ गरेर उनलाई उदयपुर गढीको जेलमा कोचिएको थियो ।
लक्ष्मीमाया सुनाउँछिन्– जेलमा छँदा खानपनि दिँदैनथे । दुब्लाएर नर्कटजस्तो हुनुभएको थियो, के गर्नू आफूलाई जान दिँदैनथ्यो । खाना लिएर गयो भने पनि प्रहरीले राष्ट्रद्रोहीलाई के को खाना, गोली ठोक्नुपर्छ भन्थ्यो ।”
त्यस्तै ६–७ महिनापछि बलमान अचानक बिरामी परेछन् । उनी बिरामी परेपछि साथीहरूले भगाएर ल्याएछन् । तर, प्रशासनले थाहा पाइहाल्यो ।

“गाउँमै थिए नि शत्रु बाबु, उहाँलाई पक्रिएर लगेपछि पनि उनीहरू हाम्रा घरमा आउजाउ गरिरहन्थे,” धूमिल स्मृति लक्ष्मीमायाले हामीलाई सुनाइन् ।

घर ल्याएको दुई–चार दिनमै पञ्चायती सरकारले चारैतिरबाट घेरा हाल्यो ।

सँगै थिए ओखलढुंगाका दिवंगत कांग्रेस नेता बलबहादुर राई । उनलाई लक्ष्मीमाया मोक्तानले जस्केलाबाट रछ्यानमा फ्याँकिदिइन् ।

“मध्य रात थियो, ती बलबहादुरलाई त जस्केलाबाट तल हुर्‍यादिएँ । तर, श्रीमानलाई त पक्रिइ पो सकेछ । घिसार्दै लग्यो । रोइकराइ गरें, एकछिन त तानें केही सीप लागेन !,” उनको अनुहारमा एक्कासी सन्नटा छायो । आँखाको चेपबाट आँसुका धारा बग्न थाले ।

चोलाको फेरले आँसु पुछ्दै लक्ष्मीमायाले सुनाइन्, “पक्रेर लगेको केही दिनमा उहाँलाई पुलिसले पैयुँको रुखमा टाँगेर गोली ठोकेछ !”

‘लक्ष्मी यो पटक म बाँच्दिन होला, मार्छन् मलाई, राम्रोसँग घर हेर्नू ।’ बलमानको लक्ष्मीमायासँगको अन्तिम वार्तालाप थियो यो । नभन्दै केही दिनमा बलमानलाई ०१८ साल साउन १३ गते गैरन्यायीक हत्या गरियो ।
र, लक्ष्मीमायाको जीवनको ‘घाम’ कहिल्यै नउदाउने गरि अस्तायो ।

कंशलाल सुनाउँछन्– जेलमा छँदा बाबुलाई पटक–पटक माफी माग्न लगाइयो । तर, पञ्चायतको चरम यातना
भोगेका बाबुले त्यही सरकारका सामु घुँडा टेक्न चाहनु भएन र प्रजातन्त्रका लागि हाँसीहाँसी प्राण त्याग्नुभयो ।
संयोगवस दिवंगत नेता एवम् पूर्व मन्त्री बलबहादुर राईसँग कंशलालको भेट भएको थियो । त्यतिबेला राईले कंशलाललाई भने रे, “जब्बर थिइन् तिम्री आमा, मलाई झ्यालबाट हुत्याइदिएर बँचाइन्, रातभरी सिस्नोको झ्याङमा लुकेर बसेँ । नत्र तिम्रा बासँगै सहिद हुन्थेँ ।”

बाबुको हत्यापश्चात आमालाई शवसमेत हेर्न नदिएको छोरा कंशलाल बताउँछन् । लक्ष्मीमाया सुनाउँछिन्– रगतपच्छे बनाएका रहेछन् । मैले त हेर्नसमेत सकिनँ, मारिहालेछन् । सदगत गर्नुपर्‍यो भनेर सासुआमा पनि जानु भएको थियो उहाँलाई पनि शव छुन दिइएन, त्यहीँ गाडिदिए । हामी रुँदैरुँदै घर फर्कियौँ ।”
० ० ०
श्रीमानको हत्या भएपछि पञ्चेहरूले दिनु दुःख दिए । ३५ रोपनी जग्गाजमिन थियो । दुई कमाइ लाग्ने । मकै गहुँ उस्तै फल्ने, साह्रै लोभलाग्दो थियो । त्यो आँखा लगाएका त्यहाँका ‘शोषक’हरूले उठीबास लगाउने तानाबाना बुन्न थाले । डिकबहादुर मगर भन्ने नामुद पञ्चे थिए । उस्तै उटुङ्ग्या ।

कंशलाल सुनाउँछन्– “बाबुको मृत्युपश्चात तिनले ‘जायजाथ’ गरे, सर्वस्व हरण गरेर गाउँबाट निकालाबास गरे । म मात्रै दुई वर्षको थिएँ त्यतिबेला ।” ‘हजुरआमालाई, कांग्रेसमा लाग्ने ? लौ यहाँ सहीछाप गर, प्रशासनले कांग्रेसमा लाग्नेलाई गाउँबाट लखेट्नु भनेको छ’ भनेछन् र लेखेटेछन्, कंशलाल थप्छन् ।

त्यो दिन सम्झँदा लक्ष्मीमायाको भक्कानो फुटेर आउँछ । घण्टौं रुँदा पनि मन हल्का हुँदैन । भन्छिन्, “म एक्ली आइमाइले दुई वटा लैनौ भैंसी, एउटा राँगो, १०–१२ वटा बाख्रा पोलेकी थिएँ । राँगो उस्तै जब्बर थियो । मुंग्रोले सिंङमा हानेर तह लगाउथें, बलियो पो थिएँ त म !”
० ० ०
पञ्चेहरूले तमसुक गराएर सम्पति लुटेपछि लक्ष्मीमाया तराई झरिन् र माइतीको शरणमा परिन् । अन्त जाने ठाउँ कहाँ थियो र ?

कंशलाललाई नीरबहादुर बाबुसाहेबको घोडाको  रखबारी गर्ने काममा लगाइन् र आफू बनिबुतो गर्न थालिन् । “मैले घोडाको लिति सोहोरेर बसें बाबु ! के गर्नु ? अरु उपाय थिएन, दश वर्ष घोडाको लादी सोहोरें” कंशलाल सुनाउँछन् ।

बस्न तिनै बाबुसाहेबले छिँडीको कोठा दिएका थिए । “सँगैका साथीहरू पढ्न जान्थे,” कंशलाल थप्छन्, “मचाहिँ घोडालाई घाँसपात गरेर दिन कटाउथें, निक्कै दुःख पायौं हामीले ।”

जब हुर्कंदै गए तब जग्गाले पिरोल्न थाल्यो । गाउँ जान्थे र  आफ्नो घरजग्गा हेर्थे, “आफ्नो जग्गामा अरुले रजाइँ गरिरहेका छन्, पञ्चेले त क्रिडास्थल पो बनाइदिएछन !”
अथाह पीडा हुन्थ्यो त्यतिबेला ।

र, मनमा अठोट जाग्थ्यो–एकदिन फिर्ता ल्याउँछु ।


० ० ०
मुलुकमा निरंकुश पञ्चायती व्यवस्था हट्यो र बहुदलीय व्यवस्था आयो ।  बाबु हिँडेकै बाटो पछ्याउनु छोराको कर्तव्य ठाने कंशलालले । उनमा पनि कांग्रेसप्रति नै आस्था जाग्न थाल्यो ।

एक दिन घुम्दै कटारी पुगेका थिए, कांग्रेस नेता डम्बरबहादुर थापा भेट भए । उनले भन्न थाले– तिमी त मेरो साथीको छोरा पो हौ । तिम्रा बाबु मेरा मिल्ने साथी हुनुहुन्थ्यो । सहिद भनेर तिम्रो बाबुको नाम रातो किताबमा निकालेको छ । गएर बुझ ।”

‘मेरो छोरा सञ्जीवले सहयोग गर्छ’ भन्दै डम्बरबहादुरले कंशलाललाई काठमाडौँ जान अह्राए ।
जान त जाने तर कंशलालसँग फुट्या कौडी थिएन । उनी त्यतिबेला कटारीमै बस्थे, भाडामा बसे पनि बाख्राको पाठो पनि पालेका थिए । त्यही १९ सयमा बेचेर कंशलाल काठमाडौं हानिए ।

काठमाडौं आए, सञ्जीवसँग भेट पनि भयो तर रातो किताब र बाबुको नामबारे केही जानकारी मिलेन । उनी हत्तुहैरान भए । खर्च सकिन लागिसक्यो तर पनि केही टुंगो लागेन ।

बल्लतल्ल अर्जुन खड्कामार्फत पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको सम्पर्कमा पुगे । राजनीतिक पीडित संघको अध्यक्ष थिए भट्टराई । तर, उनले भने, “समिति विघटन भइसक्यो, म केही पनि गर्न सक्दिन, यही दश हजार लिएर जाऊ ।”

उनको मनले मानेन । भेटिए अर्घाखाँचीका ‘डबल सेठी’ भन्ने कांग्रेस कार्यकर्ता । उनले शेरबहादुर देउवाकहाँ पुर्‍याइदिए । “देउवाकहाँ गएर रुँदै बेलिबिस्तार लगाएँ, उहाँले एक पटक ३५ हजार र अर्को पटक एक लाख रुपैयाँ मिलाइदिनुभयो, पार्टीको तर्फबाट सहयोग पाएको यत्ति हो,” कंशलाल सुनाउँछन् ।

० ० ०
अनाहकमा खोसिएको जग्गा पाउन कंशलालले लाख प्रयत्न नगरेका होइनन् । “तत्कालीन बारका अध्यक्ष शम्भु थापासँग सल्लाह गरेर फिर्ता ल्याउने प्रयत्न नगरेको होइन तर ३५ वर्ष नाघिसकेको जग्गा फिर्ता ल्याउन सकिँदैन भनेपछि त्यहाँ पनि केही सीप चलेन,” कंशलालले खुइय.. काढे ।

लक्ष्मीमाया भन्छिन्, “ज्यालामजदुरी गरेर कमाएको सबै पैसा मुद्दामामिला गर्दै सकियो । यो उमेरमा पाटीको बास भयो । मर्नुभन्दा अगाडि घर बनाउन पाए हुन्थो, अर्काको घरमा त कसरी जाला र सास ?
० ० ०
पछिल्लो समय सहिदको शब्द मात्र बदलिएको छैन । परिभाषा पनि बदलिएको आभाष भएको छ कंशलाललाई । भन्छन्, “कुखुरा चोर्नेदेखि राजमार्ग बन्द गर्नेसम्म सहिद भएको बेला हाम्रो बा कसरी अटाउनू ?”

“सहयोग गर्नु पर्दैन, सहिदको रुपमा समावेश मात्र गरिदेऊ भन्दा पनि कसैले टेरेनन्,” उनले निराशा पोखे ।
कांग्रेसमा भेट्न र गुनासो सुनाउन बाँकी नेता बाँकी छ्रैनन् । उनी भन्छन्, “पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला र पूर्व कानुन मन्त्री नरहरी आचार्यले त चित्तै दुख्ने गरी भने– यति ढिला आउने हो ? बलबहादुर राई श्रममन्त्री भएको बेला पुगेको थिएँ, उनले भने, पढेको रहिन्छस् बाबु, यहाँ के गर्छस् बरु बाहिर जा !”

“सहिदका छोराछोरीले मुलुक बाहिर भाँडा माझ्न जानुपर्ने हो भने हाम्रो बुबाले रगत बगाएको कुन परिवर्तनका लागि ?,” उनी प्रश्न गर्छन ।


“बुझ्नु भयो बाबु निमुखाहरूले रगत पसिना गरेर ल्याएको प्रजातन्त्र नेताहरूलाई मागी खाने भाँडो भयो ! केही गुनासो लिएर गयो भने अर्को पटक दोहोर्‍याएर नआउनु भन्छन् । जनताको पिरमर्का नसुन्ने हो भने ती कसको लागि नेता बनेका !,” उनको आँखाको भाव अचानक बदलीयो ।

छेवैमा थिइन् लक्ष्मीमाया मोक्तान, “उनले थपिन्, “बाबु ! देशको न्याय त मेरो लोग्नेसँगै मरेछ !”
र, आइपुगे पशुपति

पशुपतिको पारिपट्टिको पुरानो घरमा भाडामा अटाएको छ मोक्तान परिवार । बलबैंस घर्किएपछि लक्ष्मीमायालाई गाउँमा ज्याला मजदुरीमा बोलाउन छाडे । त्यसपछि उनले छोरालाई भनिन्, “काठमाडौं जाऔं, सके मागेर खाऔँला, नसके मरौंला ।”

कंशलालले पनि आमाको कुरामा सहमती जनाएर आमालाई लिएर काठमाडौं आए । काठमाडौं त आए तर जाने कहाँ ?

उपयुक्त थलो ठाने पशुपति ।

नरोत्तम वैद्यसँग अनुनय–विनय गरेपछि लक्ष्मीमायाले गणेश मन्दिर कुर्न पाइन भने छोरा कंशलाल पशुपति छिर्ने मुखमा फूल बेच्न थाले ।

यसबाटै उनीहरूको मुखमा माँड लागेको छ ।
कतिञ्जेल ?

अन्तिममा लक्ष्मीमाया मोक्तान भन्छिन्– “पाँच बीस पुगिसकें अब कति घिस्रिउँला र बाबु !”

र, जाँदाजाँदै अनुरोध गरिन्, “सिंहदरबारमा बस्नेलाई सुनाइदिनू, बलमान मोक्तान यो देशको सहिद हो ।”

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment