अक्षर काका।आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन । बाबु हुनेहरूले आफ्ना मीठा–मीठा खानेकुरा, लत्ताकपडा दिएर र आशीर्वाद ग्रहण गरेर कुशेऔँसी मनाइरहेका छन् भने नहुनेहरू आफ्ना दिवंगत पितालाई सम्झँदै पितृतर्पण र दान गर्न नदी किनार तथा विभिन्न देवालय पुगेका छन् । काठमाडौँको उत्तरगया अर्थात् गोकर्ण क्षेत्रमा त भव्य मेला नै लागिरहेको छ । तीर्थश्राद्ध, तर्पणादी कर्म गर्न देशविदेशका हजारौँ भक्तजनहरू गोकर्ण पुगेका छन् ।
तर, सन्तान नभएर होस् या भएर पनि अपहेलना सहँदै अनाथ आश्रम या वृद्धाश्रममा थन्किइरहेका वयोवृद्धहरुको भने यो पर्व निकै निराशलाग्दो हुन्छ । कुशेऔँसीको दिन पशुपति वृद्धाश्रम पुग्दा केही वृद्धवृदा सुँकसुकाइरहेका थिए भने केही एकोहोरो टोलाइरहेका थिए । कुनै संघ–संस्थाले केही खानेकुरा ल्याउँछ कि भनेर हात दोछायाँ पार्दै बसिरहेका वृद्धवृद्धा देख्दा जोकसैको मन भरङ्ग हुन्थ्यो ।
बाबुआमा जिउँदा इतिहासमात्रै होइनन्, साक्षात् भगवान पनि हुन् । मातापिताको सेवा सन्तानको पहिलो कर्तव्य हो । र त, मातृपितृ सम्झनामा अनेक सिर्जनाहरू रचना गरिएका छन् ।
त्यसो त कुशेऔँसी पर्वका उपलक्ष्यमा सामाजिक सञ्जालमा अभिव्यक्त भावना, व्यक्त विचार र तिनको मर्म नियाल्दा यस्तो लाग्छ, सबै वृद्धाश्रम रित्ता छन्, सडक पेटीमा सन्तान सुखले तड्पिरहेका वृद्धवृद्धा अब सिला खोज्नुपर्छ । तर, वास्तविक अवस्था भने ठ्याक्कै उल्टो छ ।
अझ वृद्धाश्रममा आँसुको भदौरे भेलसँगै बाँचिरहेका वृद्धवृद्धाहरूको कथा सुन्दा जस्तै पाषाण हृदयको मानिसको पनि मन पग्लन्छ र आँसु रसाउन थाल्छ ।
यस्तै कहानी छ चन्द्रदत्त आचार्यको पनि । सन्तान तिरस्कारले भन्दा पनि उमेर ढल्किएपछि वृद्धाश्रमभन्दा बाहेकको विकल्प नभेट्टाएका चन्द्रदत्त झण्डै तीन वर्षअघि पशुपति वृद्धाश्रम आइपुगेका हुन् । उनको कहानी फिल्मी, तिलस्मी र स्वैरकल्पना जस्तो लाग्छ, तर सत्य हो यो ।
० ० ०
बाबु टीकाराम आचार्य र आमा लक्ष्मी आचार्यको कोखबाट म झण्डै ७१ वर्षअघि रसुवाको वेत्रावतीमा जन्मिएको हुँ । तर, म अरुलाई घर बताउँदा नुवाकोट नै भन्ने गरेको छु । नुवाकोटको अचार्ज भनेपछि यहाँ मलाई सबैले चिन्छन् । सद्दे किन बताउनु, आफ्नो दुःख आफैँसँग !
यी आज पनि सबैजना आएका छन् । अलि–अलि मिठाई पनि ल्याएका छन् । कसैले त लुगाफाटो र पैसा पनि दिन्छन् । संघ–संस्थाका आए भने त हात नै गह्रौँ हुन्छ । घरमा भएका आमाबाबुलाई कस्तो गर्छन् कुन्नि, यहाँ त आँसु झारुँलाझैँ गरेर माया देखाउँछन् ।
ती सप्पैलाई म नुवाकोटकै हुँ भन्ने गरेको छु ।
मेरा बाबुका सात दाजुभाइ थिए । दिदीबहिनी पनि सातै । कान्छा काका त मभन्दा सात वर्षमात्रै जेठा थिए तर औधी जँड्याहा । जुरुक्क उठ्नेबित्तिकै पानी होइन, रक्सी चाहिन्थ्यो उनलाई । उस्तै झगडालु । कहिले कता लडेको, कहिले कता पछारिएको, घाउचोट नलागेको त दिनै नहुने ! चार वर्षमात्रै जेठा भएकाले होला, ती काका मेरा साथीजस्ता थिए ।
बाउ सानैमा बित्नुभएछ । अरु बाउहरू पनि कोही सानैमा घर छोडेका, कोही बितेका त्यस्तै–त्यस्तै थियो । मेरो एक दाजु पनि थिए । तर, ती खुट्टा खोच्याएर हिँड्थे ।
सानैमा पोलियो लागेछ, खुट्टा दोबार्नुपथ्र्यो ।
हिँडडुल गर्न नसक्ने मात्रै भए त हुन्थ्यो नि ! कान पनि राम्रोसँग सुन्दैनथे । बोली पनि नआउने, पूरै ‘लठेप्रो’ !
काकाको रक्स्याहा स्वभावले घरपरिवार आजित थियो । अचाक्ली फटाहा ! कहिले कसको के बिगार गरिदिने, कहिले के चोरिदिने । उस्तै जुवाडे थिए ती । घरको जायजेथा, अन्नपात, गरगहना केमात्र सकेनन् । उनी आए भनेपछि गाउँलेले पहिल्यै ढोका थुन्थे । टीकाराम थियो काकाको नाम ।
एक दिन टन्न रक्सी खाएछन्, त्यसपछि त मसँग पाखुरा पो सुर्किन थाले । ए बाबा ! त्यसभन्दा अघि पनि झगडा नपरेको होइन, कहिले जग्गाको साँधको त कहिले पधेँरामा पानी थाप्न नपाएको निहुँ झिकिरहन्थे । काकाबाउ, बाबुपछिको बाबु हो, मुख छाड्नु हुँदैन भनेर सहिरहेको थिएँ, त्यसदिन त बढी नै गरे । झनक्क रिस उठ्यो, च्याप्प समातेर हुत्याइदिएको, कान्लामुनि पुगेछन् । करङको हड्डी नै भाँचिएछ नि !” त्यस्तो ‘शिशुपाल’ले के निहुँ खोज्नु ?
आमाले ‘मर्यो काका बाऊ, अब तँलाई लैजान्छ पुलिसले, भाग’ भनेपछि कुलेलम ठोकेँ । २५ रुपैयाँ दाम बोकेर घरबाट भागेको हुँ ।
० ० ०
घर त छाडियो, तर कहाँ जाने कुनै टुंगो थिएन । काठमाडौँको सोह्रखुट्टे आएँ र ढकालको लज भन्ने थियो, त्यहीँ बास बसेँ । भोलिपल्ट बाइरोडको बाटो हुँदै नारायणघाट पुगेँ । काम खोज्दै थिएँ, एउटाले भन्यो, “त्यहाँ पर गुणराज पाठकको मिल छ । त्यहाँ काम पाइन्छ होला ।” नभन्दै काम पाएँ ।
त्यस्तै वर्ष दिनजति भएको थियो होला, शनिबारको दिन थियो, घुम्न नारायणघाट बजारतिर निस्केको त काकाले च्याप्पै नाडीमा पो समाते । अचम्म ! कसरी पत्ता लगाएछन् । आमा बिरामी छन् भनेर खोज्दै आएको पो भन्छन् । अझ टाउको समातेर माफी माग्छन्, “बिन्ती घर हिँड् !’ “केको माफी ? जाँड खानेले जे पनि बोल्छ, फेरि निहुँ खोज्नलाई ?” भनेर हप्काएको त रोउँला झैँ पो गर्छन् ।
त्यहाँबाट फेरि भागेँ ।
लुक्दै नारायणघाटमा काम गर्दै थिएँ, काका फेरि खोज्दै आइपुगे । भन्छन्, “आमा साह्रै बिरामी हुनुहुन्छ, भाउजू पनि छोराको मुख हेर्ने इच्छा छ भन्दै रोइरहेकी छन्, घर हिँड् बाबु, ढिपी नगर ।”
मैले टार्दै भनेँ, “आ.. बढी कुरा नगर, मसँग फुट्या कौडी पैसा छैन, ती मरे मरुन्, म त काटे पनि जान्नँ ।”
सबै पैसा म हाल्छु, तँ घरमात्रै हिँड् भनेर मरिहत्ते गर्न थालेपछि म उनको पछि लागेँ । सोह्रखुट्टे आएर बास बसियो । बेलुका खाएको भातको पैसा पनि उनैले तिरे ।
मसँग पैसा नभएको त कहाँ हो र ? कट्टुको इँजारमा लुकाएर चार हजार रुपैयाँ राखेको थिएँ । खान जम्दारले दिइहाल्थे, कहिले उनी नभएको बेला चामल लुकाएर पनि बेच्थेँ । उबेलाको कालमा पनि चार हजार पैसा जम्मा गरिसकेको थिएँ मैले । एक हजार भए त मज्जाको भैंसी आउँथ्यो उसबेला ।
घर आइपुगेँ । केको बिरामी हुनु आमा ! बिहे गर्न पो बोलाएका रहेछन् । हेर आपत् ! करकाप गरेर बिहे गरिछाड्ने निधो गरे । केटीचाहिँ नुवाकोट शिक्रेबेंसीकी । तिम्सिनाको छोरी रहिछे, जम्मा सात वर्षकी । कुम्ले बिहे गरेको हो त्यसबेला ।
जग्गेमा राख्ने बेलामा त काखी च्यापेर पो ल्याए । म २०-२२ वर्षको लक्का जवान, ऊ ओठ निचोर्दा दूध आउने कलिली ! त्यस्तो केटी बिहे गरेर के गर्नु ? नगरे पनि धर थिएन, जग्गेमा बसिसकेको थिएँ । केटी देखेर मेरो आँसु झर्यो । सिन्दूर हाल्दा पनि हात काम्यो, अरुले नदेख्ने गरी सिउँदोमा हाल्नुपर्ने सिन्दूर गालामा दलिदिएँ ! जग्गेमा रोएको देखेर धेरैले आश्चर्य माने, कतिले त कस्तो पिलन्धरे दुलहा रहेछ समेत भने ।
घर आइपुग्नेबित्तिकै तुलसीको मठमा ढोग्दै भने, “हे भगवान ! यो केटीसँग मेरो भोग नहोस् । बहिनी मान्छु म यसलाई । मेरो नामको सिन्दूर तिमी नै फिर्ता लेऊ !”
त्यसपछि मात्रै मन हल्का भयो ।
कृष्णमाया भन्ने छिमेककी तामाङ्नी मेरो मीत दिदी पर्थिन् । बिहे गरेको दुई–तीन दिन भएको थियो, भन्न थालिन्, “तँ यहाँ नबस्, गाउँले सप्पै मिलेर तँलाई पक्राउन लागेका छन् । पुलिस जुनैबेला आउन सक्छ तँ यहाँबाट भागिहाल् ।
शत्रु पो लागेका रहेछन् ! बालविवाहको कानुन भर्खर लागु भएको थियो । जुनसुकै बेला समातिन सक्थेँ । तिनै दिदीले पाँच सय दिइन् र बिहे गरेर ल्याएकी बालिका त्यहीँ छाडेर टाप कसेँ ।
पर पुगेपछि सोचेँ, “हेर, त्यो केटीको के दोष थियो र ? त्यसलाई अलपत्र छाडेर म भागेँ ।” अर्को मनले भन्यो, “तैँले बहिनी बनाएको भनेको होइन, केही अपराध लाग्दैन । प्रहरी खोरमा पुग्नु भन्दा त भाग्नु नै निको !”
भागेर म नारायणघाट नै पुगेँ, साहुले भने, बाबु तँ त फर्केर आइछस् नि !”
सेनाका जमदार थिए ती, मलाई माया गर्थे । मंसिर महिना थियो । मंसिरको १२ गते बिहे गरेको हुँ मैले । मैले सबै बेलिबिस्तार लगाएपछि जमदारले खुइय काढे, केटीलाइ पनि सँगै ल्याएको भए हुन्थ्यो भन्न थाले । मैले यस्तै भयो भनेपछि ती निकैबेर घोरिएर भने, “अब तिमी मिलमा होइन, घरमा मेरो भान्छे लाग ।”
मैले बीचमै रोकेर भनेँ, “मेरो तलब कति हुन्छ बुबा ?” उनले भने, “तलबको चिन्ता नलिनू, म तिम्रो भविष्य बनाइदिन्छु ।”
६ महिना नबित्दै फागुनमा मेरो अर्को बिहे तिनै जमदारले गरिदिए, नारायणघाटमै । अवस्थीकी छोरी, १९ वर्षकी, असाध्यै राम्री थिइन् । जमदारलाई पनि निकै मन परेको, मेरो पनि मनले खाएकी थिइन् उनी । लुगाफाटो, गरगहना सबै उनैले हालिदिए ।
फागुनमा बिहे गरेको, असोजमा दसैँ आइहाल्यो । जमदारले भने, “दसैँमा घर जान्छस् होला नि ?”
मैले पनि खुसी हुँदै जान्छु भने । टीकाको दिन बिहानै टीकाटालो गरेर घर आएँ, साथमा श्रीमती पनि थिइन् । घर आइपुग्छु त, सबै मुखामुख गर्छन् । एक वर्षअघि बिहे गरेर ल्याएकी पनि त्यहीँ रहिछे । ऊ पनि पिलपिलाउँदो मुख पारेर हेरिरहन्छे । काकाले कोट्याउँदै भन्छन्, “के हो पारा ? बाजा बजाएर बिहे गरिस् त ?”
मैले श्रीमती भनेपछि उनी नबोली हिँडे । जमदार्नी आमाले ‘सासुलाई दिनू’ भनेर धोतीचोलो र केही पैसा पनि श्रीमतीलाई दिएर पठाएकी रहिछन्, उसले त्यो आमालाई दिई । हामी भोलिपल्ट मामाघर पुगेर नारायणघाट फर्कियौँ । पहिले बिहे गरेर ल्याएकी निकै परसम्म हेरिरहेकी थिई, ऊ चुइँक्क पनि बोलिन ।
त्यही मंसिरमा जमदारले मलाई दश कट्ठा जग्गा र श्रीमतीको नाममा पाँच कट्ठा गरी १५ कट्ठा जग्गा नामसारी गर्दै भने, “अब आफैँ गरी खानु, मेरो सेवा गर्नुपर्दैन ।”
उनले सानो–सानो घरसमेत बनाइदिएका थिए । एक वर्षजति त्यहाँ बसेपछि मलाई किनकिन काठमाडौँ आउन मन लाग्यो । चितवनकै केही चिनेजानेका मानिसहरू पुतलीसडकमा बस्थे । उनीहरूले भने, “तँ यहाँ आइज र चिया होटल खोल ।” उनीहरूको कुरा मानेर म काठमाडौँ आएँ । सबै बन्दोबस्त उनीहरूले नै गरिदिए ।
काठमाडौँ त आएँ तर मेरो जीवनमा बज्रपात आइलाग्यो । श्रीमती दुई जिउकी थिई, यहीँ आएपछि जायजन्म भयो । छोरो जन्मिएको थियो । म चिया बेच्थेँ । ५० रुपैयाँ भाडा तिरेर हामी पुतलीसडकको भित्रपट्टि बस्न थालेका थिायौँ ।
अचानक एक छिनको व्यथा लागेर छोरो मर्यो । दिउँसो केही भएकै थिएन, साँझपख रगत छाद्दै छोराले प्राण त्याग्यो । छोराको मृत्युपछि ‘कान्छी’ विक्षिप्त बनी । टोेलाउने, कहिले बर्बराउने त कहिले के हुने ! हजार जान्नेलाई देखाएँ, जसले पनि छोराको शोक हो भन्ने । डाक्टरकहाँ लग्यो, “केही पनि भएको छैन, फगत शोक हो, जे नहुनु भइहाल्यो, चिन्ता नलिनू” भन्ने ।
केही सीप चलेन । शनिबारको दिन छोराको प्राणपखेरु उडेको थियो, एक वर्षपछि शनिबारकै दिन श्रीमतीले पनि देह त्यागी ।
० ० ०
श्रीमती गुमाएपछि मेरो दुर्दिन सुरु भए । मैले र श्रीमतीले गरी ४५–५० हजार रुपैयाँ बोकेर काठमाडौँ आएको थियौं, त्यो स्वाहा भयो । श्रीमती र छोरो मरेकाले म निकै भावविह्वल भएँ । शरीर रोग लागेजस्तो जीर्ण भयो । फर्केर म फेरि वेत्रावती गएँ । वेत्रावती गएको केही समयमा दाजु बिते, लगत्तै हजुरआमा र त्यसको एक वर्षपछि आमाले धर्ती छाड्नुभयो । म नितान्त एक्लो भएँ । एक्लो भएपछि त गाउँलेहरूले हेप्न पो थाले । ‘जे गरे पनि हुन्छ, यसको को छ र !’ जस्तो ।
त्यसपछि मन झन् भाँडियो । काकाले पनि नकाम गरेका रहेछन् । म जानुअगाडि नै गाउँकै मगरकी छोरी र उनैका केही गरगहना च्यापेर गाउँ छाडेछन् ।
मैले पनि पाँच हजारमा गाउँको जायजेथा सबै बेचिदिएँ । दाजु, हजुरआमा र आमाको किरिया म एक्लैले गरेको थिएँ । उहाँको किरिया गर्दा लागेको ऋण तिरेर जम्मा पाँच सय बचेको थियो । गाउँबाट निख्रिएर नारायणघाट पुगेँ । त्यहाँ पुगेको त जमदार दम्पति पनि बितिसकेका रहेछन् ।
मलाई छोरासरह मान्ने र मेरो भविष्य बनाइदिनेहरू नै नरहेपछि त्यो ‘मुग्लान’मा किन बस्नु ? ०४३ सालमा एक लाखमा १५ कट्ठा जग्गा बेचेर पुनः काठमाडौँ हान्निएँ ।
काठमाडौं आएपछि चाबहिलमा सेक्युरिटी गार्ड गर्न थालेँ । त्यहाँ १० वर्षजति बिताएपछि मन फेरि अधैर्य भयो । एक हजार तलबले खानलाउनै नपुग्ने ! एक बिहारी थिए, घर बनाउने ठाउँमा ठेक्कापट्टा गर्थे । उनको काम गर्दै १४–१५ वर्ष बिताएँ । समय क्रमसँगै दाँत झर्यो, कपाल फुल्यो, गाला चाउरिन थाले । दमको रोग पनि पो लाग्यो मलाई । हातखुट्टा सुन्निएर आउन थाले ।
र, आइपुगेँ वृद्धाश्रम
बूढो भएपछि सबैतिर हेला र हाँसोको पात्र बनिँदो रहेछ ।
आमा भन्नुहुन्थ्यो,
‘बूढो भयो सब रंग गयो, आँगन भयो परदेश’
ह्या... के भन्या होला यो भनेजस्तो लाग्यो । अहिले आफैँले भोग्नुपर्यो । यो जन्म–मृत्युजस्तै अनिवार्य कुरा रहेछ । बिहारी ठेकेदारले एक दिन भन्यो, “बा ! मैले यत्रो वर्ष काम खाएँ, तपाईंको कोही पनि छैनन्,, म तपाईंलाई पशुपति पुर्याइदिन्छु, त्यहीँको वृद्धाश्रममा बस्नुस् अब ।”
नभन्दै उनले धीरेन्द्र भन्ने डाक्टरको सहयोगमा कागजपत्र पनि तयार पारे । ती भीमसेनस्थानतिरका जनप्रतिनिधि पनि रहेछन् ।
त्यसपछि पो म झसङ्ग भएँ । मैले बूढो हुँदा के गरुँला भनेर सोचेकै रहेनछु । जीवनमा सबैभन्दा धेरै त्यही दिन रोएँ म । यस्तो पनि दिन आउँदो रहेछ भन्ने लाग्यो । पहिलेकी श्रीमतीको तस्बिर झल्झली दिमागमा आयो ।
सुनेको थिएँ– त्यसलाई त दाजुचाहिँले बेचिदियो रे !
सात हजार रुपैयाँमा बेचेर खोलाको किनारमा खेत किनेको थियो रे ! त्यो पनि भदौको भेलले खाइदिएछ । अपराध गरेर आर्जन गरेको सम्पत्ति के टिक्नु ?
यता आफ्नो नारायणघाटको जग्गा बेचेर बैंकमा राखेको एक लाख पैसा पनि एउटा फटाहाले ‘कुकुरले जुत्ता चपाएजसरी’ खाइदियो । ‘गाउँबाट दुःख पाएर यहाँ आएँ । दाजु, पसल थाप्छु, तपाईंलाई साँवा–ब्याज बुझाउँछु’ भनेर फस्ल्याङ–फुस्लुङ बनाएर भएभरको पैसा लग्यो । बजिया केको दुःख पाउनु नि, आफ्नै बहिनी पर्नेलाई भुँडी बोकाएर गाउँ कटाएका रहेछन् !
यी मेरा जीवनका कहानी हुन् ।
र, अचेल यही पटांगिनीमा बसेर आउनेहरूलाई आफ्नो सुनाउँदै मृत्यु कुरेर बसिरहेको छु ।
No comments:
Post a Comment