घनश्याम गौतम, हास्य कलाकार
अक्षर काका । फागुन–चैतको उखरमाउलो गर्मी । पात बटारिने घाम ! बेलाबखत चिसो सिरेटो त चल्थ्यो तर तालु टट्याउने गर्मीका अघिल्तिर त्यो निरीह हुन्थ्यो । र, क्षणमै तातो ‘बाफ’मा परिणत हुन्थ्यो ।
साल सल्लाका पातहरूको एकोहोरो रोदन, चराहरूको क्रन्दन छिचोल्दै म दार्चुला पुगेको थिएँ । लक्ष्य थियो– सडक नाटक प्रस्तुत गर्ने ।
मुलुकमा भर्खर शान्ति सम्झौता भएको थियो । द्वन्द्वरत पक्षबीच युद्धविराम भएपछि गाउँघरतिर नयाँ–नयाँ अनुहारका मानिसहरूको चहलपहल बढ्न थालेको थियो । जस्तो धरामा गर्मी व्याप्त थियो, उस्तै चुनावी सरगर्मीले जमिन गर्माएको थियो । शान्ति सम्झौतापछि पहिलो पटक निर्वाचनको घोषणा त भयो, तर विविध कारणले चुनाव हुन सकेन । र, दोस्रोपटक निर्वाचनको मिति तय भएको थियो ।
यसपटक त पक्कै निर्वाचन हुन्छ– मानिसहरू लख त काट्थे तर पनि चुनाव हुन्छ या हुँदैन अन्योल उस्तै थियो ।
सांस्कृतिक संघको अगुवाइमा म, मधुकर दाहाल, सञ्जोग ठकुरी, प्रवेश केसी, सुशीला रिमाल, घनश्याम जोशी, बेली आलेलगायत रंगकर्मी सडक नाटक प्रस्तुतिका लागि दार्चुला पुगेका थियौँ । नाटकको शीर्षक थियो– ‘सहिदको सपना’ ।
संविधनासभाको निर्वाचन केवल चुनाव थिएन, ६ दशकभन्दा लामो संघर्षको उपलब्धि र आफ्नो निम्ति आफैं संविधान कोर्ने महत्वपूर्ण अवसरसमेत थियो । तथापि निर्वाचनसम्बन्धी अन्योल अद्यावधि थियो । यसर्थ पनि निर्वाचन आयोगले चुनावी वातावरण तयार पार्न देशभर प्रचारप्रसार तीव्र पारेको थियो । सडक नाटक प्रचारको एक सशक्त माध्यम थियो ।
विभिन्न ठाउँमा सडक नाटक प्रस्तुत गर्दै हामी त्यहाँ पुगेका थियौँ ।
त्यहाँ तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आउने पूर्वनिर्धारित कार्यक्रम रहेछ । केही समयअघिका विद्रोही कमाण्डरका ‘सुप्रिमो’ थिए उनी । धेरै मानिसहरू उनलाई हेर्न लालायित थिए ।
काखमा बालबच्चा च्यापेका, कोही हातमा चप्पल बोकेर दौडिएका, कोही कपालसमेत असरल्ल छाडेर कुद्दै प्रचण्ड हेर्न आइपुगेका थिए । ग्रामीण भेगमा त्यति धेरै मानिस मैले पहिलो पटक देखेको हुँ ।
कारणवश त्यो कार्यक्रममा प्रचण्ड आउन नसक्ने भएछन् । अन्तिम समयमा आयोजकले त्यसको सुइँको पाए । त्यो थाहा पाएका दर्शकहरू तितरवितर हुन थाले ।
म कहिलेकाहीँ प्रचण्डको क्यारिकेचर गर्थें । बोलीचाली पनि प्रचण्डकै पाराको ल्याउन खोज्थेँ । साथीहरू राम्रो छ भन्थे ।
त्यही देखेर मधुकरजीले एउटा प्रस्ताव ल्याउनुभयो, “घनश्याम, तिमी यहाँ प्रचण्ड बनिदेऊ, यी सबै घर फर्किए भने त हामीले कसलाई नाटक देखाउनू ।”
उनको प्रस्ताव सुन्दा सुरुमा त म निकै छक्क परेँ । तत्कालै भनें– मधुकरजी, म सक्दिन होला । प्रचण्डलाई मैले नै आजसम्म देखे–भेटेको छैन । उहाँको हाउभाउ पनि कस्तो छ, केही थाहा छैन । टिभीमा बोलेको आधारमा मात्रै दुरुस्त प्रचण्डको क्यारिकेचर कसरी प्रस्तुत गर्नू !
तर, उनले जिद्दि गर्न छोडेनन् । अन्तिममा मैले सहमति त जनाएँ तर पोशाक केही पनि थिएनन् । एकसरो सर्ट लगाएको थिएँ, कपाल पनि उस्तै थियो । जुँगासमेत थिएन मेरो !
ती सबैको बन्दोबस्त मधुकरजीले गरिदिए । र, प्रचण्ड बनेर मञ्चमा उक्लिएँ ।
म स्टेजमा चढ्नासाथ तलबाट तालीको पर्रा छुटिहाल्यो । निकै बेरसम्म ताली गुञ्जिरह्यो । प्रचण्ड आउँदैनन् भनेर फर्किएका फेरि मञ्च नजिकै आए । नेताप्रतिको ‘जनक्रेज’ पहिलोपल्ट नजिकबाट अनुभव गर्ने मौकासमेत पाएँ ।
खै के अभिनय गरेँ ! कसरी दर्शकलाई ‘कन्भिन्स’ गरेँ ! अहिले सम्झँदा कहाली लाग्छ । सम्झिएसम्म मैले त्यहाँ अरु प्रहसन देखाइनँ । राजनीतिक भाषण गरेको थिएँ त्योदिन ।
साथीहरू भन्थे– तैँले त ठ्याक्कै प्रचण्डको जस्तै भाषण गरिस् नि ! दर्शकहरू झुक्किए । सुुनेको थिएँ– धेरै पछिसम्म पनि त्यहाँका मानिसहरूले प्रचण्डै आएका हुन् भन्ठाने रे !
नक्कली प्रचण्डको यात्रा यसरी सुरु भयो मेरो । र, यो मेरो कलाकारिताको ‘टर्निङ प्वाइन्ट’ थियो । पर्दा तथा स्टेजमा मलाई नक्कली प्रचण्डको रूपमा स्थापित गरिदियो ।
० ० ०
हातेमालो सञ्चारमार्फत् सेभ द चिल्ड्रेनको एउटा ‘रिसर्च प्रोजेक्ट’ लिएर प्युठान पुगेका थियौँ । त्यही बेला भूकम्प आयो । त्यसअघि कहिल्यै भूकम्प महसुस नगरिएकाले होला, के गर्ने कसो गर्ने भन्ने अन्योल भयो । हामी भएको ठाउँमा भूकम्पले सामान्य असर पुर्यायो । हामी तत्कालै गाडी चढेर काठमाडौं हानियौँ ।
बाटैमा सुनियो– धरहरा भत्कियो, काठमाडौं सखापै छ । ललितपुुर, भक्तपुर पनि केही बाँकी छैन, सयौँ मरिसके । बल्ल–बल्ल घरमा सम्पर्क भयो– उताबाट भने, घर भत्कियो, श्रीमतीको अवस्था गम्भीर छ ।
केही समयपछि उनीसँग पनि सम्पर्क भयो– घर पूरै भत्किएको छ । खुट्टा भाँच्चिएको छ ।
त्यसपछि मन झन् अताल्लियो । बाटैमा रात परेकाले त्यो दिन भक्तपुर कटुञ्जेस्थित घर पुग्न सकिनँ । चितवनमै बास बसेँ । के निद्रा पर्थ्यो ! पूरै रात छटपटीमा बिताएँ ।
भोलिपल्ट मात्रै घर पुगेँ ।
निकै दुःखमा जोडेको घर थियो । घरको अवस्था देखेर रुन मन लाग्यो । अरुका घर सग्ला छन्, आफ्नो धुलाम्य भएको छ । सामानको हालत वर्णन गर्न सक्ने अवस्थामै थिएन । उता श्रीमती पनि रोएर बसेकी छन् । तीन महिनाको गर्भ थियो उनको, त्यो पनि खेर गयो ।
दुःख यतिमै सकिएको भए त हुन्थ्यो नि ! सामान निकाल्ने क्रममा बाँकी भग्नावशेष भत्किएर मेरो पनि हातसमेत भाँचियो । भूकम्पले मेरो बेहाल बनायो ।
पिर र चिन्ताले निकै गलेको थिएँ, ‘कान्तिपुर’का साथीहरूले थाहा पाएर समाचार प्रकाशन गरिदिएछन् । त्यो खबर प्रचण्डकहाँ पनि पुगेछ । खबर पुर्याउने थिए– संगीतकार चेतन सापकोटा ।
संगीतकार सापकोटाले ‘प्रचण्डको अभिनय गर्ने घनश्याम गौतमको घर भत्किएको छ, जहान पनि घाइते छिन् र आफैँसमेतको हात भाँच्चिएको छ’ भनेपछि प्रचण्ड निकैबेर घोत्लिनुभएछ ।
उहाँले तत्कालै फोन गर्नुभयो– नआत्तिनु, सबैतिर समस्या छ, म तपाईंलाई भेट्न आउँछु । झन्डै सात मिनेट कुराकानी भएको थियो उहाँसँग । आफ्नो नाम जोडिएको कलाकारको बेहाल भएको सुनेपछि उहाँलाई पनि चासो र चिन्ता परेको रहेछ ।
केही दिनपछि केही राहत सामग्री लिएर प्रचण्ड कटुञ्जे आउनुभयो । उहाँले ल्याएको राहत सामग्री त्यहाँ पीडितहरूलाई दामासाहीका हिसाबले बाँडियो ।
प्रचण्ड कहिल्यै यहाँ आउनुभएको थिएन, घनश्यामकै कारण यहाँ आएर पीडितको अवस्था बुझ्नुभयो भनेर गाउँले पनि अत्यधिक खुसी भए । वास्तवमा भूकम्पले प्रचण्डलाई र मलाई नजिकबाट चिन्ने र जान्ने मौका दिलायो ।
मसँगको भेटमा कुराकानी भन्दा पनि उहाँ मलाई हेर्दै मुस्कुराउनु भयो । अन्तिममा भन्नुभयो, “तपाईंले मेरै क्यारिकेचरचाहिँ किन गर्नुभयो ?” मैले दार्चुलाको प्रसंग उप्काउँदा त उहाँ झन् मरीमरी हाँस्नुभयो । मैले पनि हाँसो थाम्न सकिनँ ।
उहाँले मलाई अस्थायी रूपमा बस्न पाल दिनुभएको थियो । केही आर्थिक सहयोगको आश्वासनसमेत दिनुभएको थियो । तर, म माग्न गइनँ । ‘घर बनाउन अलिकति सहयोग गर्छु भन्नुभएको थियो नि’ भन्दै प्रचण्डकहाँ ढोका ढकढक्याउन जानु त्यति उपयुक्त लागेन । भूकम्पले माटो बनाइदिएको घर अहिलेसम्म उठाउन सकेको छैन । अस्थायी टहरोमै बसेर दर्शक हँसाउँदै आएको छु । साथीभाइले सोध्छन्– घर कहिले बनाउँछस् ?
मेरो जवाफ हुन्छ– जहिले सक्छु, त्यहिले बनाउँछु ।
० ० ०
सानैदेखि मनमा कलाकार बन्ने उत्कट अभिलाषा थियो तर कसरी सुरु गर्ने केही थाहा थिएन । घरपरिवारमा कोही कलाकारिता क्षेत्रमा लागेको भए सिकाउँथे होला, या यतिधेरै संघर्ष गर्नुपर्दैनथ्यो कि ?
सानैमा नाटक खेल्ने औधी रहर थियो । रेडियोमा कसरी बोल्छन् होला ? कसरी अभिनय गर्छन् होला ? दर्शक कसरी हाँस्छन् होला यावत् कौतूहल मनमा उत्पन्न हुन्थ्यो । ०५१ सालमा पहिलोपटक रेडियो नेपालको स्टुडियो हेर्न पुगेको थिएँ । संयोग नै मान्नुपर्छ, वासुदेव मुनालसँग भेट भयो । “नाटक खेल्न औधी रहर छ, मैले पनि बोल्नु पाउँछु ?,” मुनाल सरलाई मैले प्रश्न गरिहालेँ ।
मुनाल सर औधी खुसी हुनुभएर मलाई एउटा डाइलग बोल्न दिनुभयो । वान टेकमै ओके भयो त्यो । उहाँ बालबालिलाई सधैं मित्रवत् व्यवहार गर्नुहुन्थ्यो । जस्तो बोली उस्तै व्यहार वास्तवमै उहाँ असल मानिस हुनुहुन्छ ।
उहाँले त मन पराउनुभयो तर रेकर्डिङ गर्ने क्रममा म निकै नर्भस भएँ । कहिल्यै रेडियोमा बोलेको भए पो जान्नु, एकजना सिनियर दाइले निकै हप्काउनुभयो –यस्तो पाराले तैँले नाटक खेल्दैनस्, घर जा !
नाटक खेल्ने ठूलो इच्छाले रेडियो नेपाल छिरेको म हतोत्साहित भएर त्यसदिन रुँदै घर फर्किएँ ।
० ० ०
हातेमालोमार्फत बाल नाटकमा जमिरहेको थिएँ । त्यसैक्रममा अशेष मल्ल दाइसँग सर्वनाममा नाटक खेल्ने मौकासमेत पाएँ । यसै क्रममा परिवारमा निकै दुःखद् घटना घट्न पुग्यो । ०५८ सालमा मेरो दाइ युवराज गौतमको ३० वर्षको उमेरमा देहान्त भयो । अघिल्लो दिन सँगै फुटबल हेरेर सुतेका थियौँ, भोलिपल्ट टाइफाइड भयो भनेर अस्पताल जानुभएको उहाँ कहिल्यै नफर्किने गरी बिदा हुनुभयो । उहाँ मेरो दाइमात्रै होइन, मलाई नाटक खेल्न प्रोत्साहित पनि गर्नुहुन्थ्यो । परिवारले नसघाउँदा पनि नाटक खेल्न प्रेरित गर्ने दाइ नरहेपछि मैले कसरी नाटक खेल्नू !
बाबुले त सधैँ भन्नुहुन्थ्यो– नाटक खेल्न हिँडेर यो बर्बाद भयो, बिग्रियो अब यो !
आमाले पनि खासै राम्रो मान्नुहुन्नथ्यो । नाटक खेलेर घर फर्कंदा कहिले त घरमा खाना नै राखेको हुँदैनथ्यो । रुँदै कैयौँ रात भोकै सुतेको छु । त्यसरी सघाउने दाइ बितेपछि मेरो जहाजै डुब्यो !
त्यस्तै अर्को प्रसंग छ, सन्तोष पन्त दाइको ‘हिजोआजको कुरा’ त्यसबेला निकै चलेको थियो । अभिनय गर्ने र टेलिभिजनमा देखिने रहर हुँदा म त्यहाँ जान्थेँ । त्यसबेलाका बाल कलाकार कृति भट्टराई, सुष्मा केसी, रुपेश श्रेष्ठ, स्टुडियो धाउँथ्यौँ । मोहन मिश्र दाइ भन्नुहुन्थ्यो– तिमीहरूको अति राम्रो भयो, हामी छनोट गर्छौं । तर, उहाँले कहिल्यै बोलाउनुभएन ।
उहाँले ‘मिस्टर फन्टुस’मा खेलाउँछु भन्नुहुन्थ्यो । हुन्छ, हुन्छ भन्दाभन्दै उहाँले कहिल्यै खेलाउनुभएन ।
० ० ०
‘हातेमालो’, ‘भन्छिन् आमा’, ‘साथीसँग मनका कुरा’, ‘बाल आवाज’ ‘नयाँ बाटो नयाँ पाइला’, ‘समझदारी’मा गरी सात–आठ हजार रेडियो नाटकमा आवाज भरिसकेको छु । सयौँ स्टेज र सडक नाटकमा अभिनय गरेको छु ।
यसै क्रममा सन् १९९९ मा दिल्लीमा हामी तेस्रो अन्तर्राष्ट्रिय बाल सम्मेलनमा एउटा बाल नाटक लिएर गएका थियौँ । तर, कलाकारहरू अचानक बिरामी परे । खाना–पानी नमिलेपछि उनीहरू उठ्नै सकेनन् । नाटक भोलि देखाउनु छ तर आज बेलुकासम्म ममात्रै ठीक छु । रातभर भगवान् पुकारेर बसेँ । भोलि उठ्दा कलाकारहरू आंशिक रूपमा ठीक भएका रहेछन् । दैवसंयोगले होला, त्यो महोत्सवमा हाम्रै प्रस्तुति अब्बल ठहरियो र गोल्ड मेडल ल्यायौँ ।
० ० ०
दाजुको मृत्युको शोकमा थिएँ, नाचघरमा मध्यमाञ्चलस्तरीय नाटक प्रतियोगिता हुन लागेको खबर आयो । मलाई डोर्याउने र उत्प्रेरणा जगाउने दाजु नै नभएपछि के नाटक गर्नु भन्ने सोचेर घरमै बसेको थिएँ । तर, लालमणि सिटौला भन्ने साथीले ‘सरुभक्तको ‘जिँउदा अवशेषहरू’ भन्ने नाटक छ, तैंले नै अभिनय गर्नुपर्छ’ भनेर हत्ते गर्न थाले । दुब्लो थिएँ, कपाल पनि खौरिएको थिएँ तर पनि घरमै आएर अनुरोध गरेपछि अभिनय गरेँ ।
सान्त्वना पाउँछु होला सोचेको थिएँ, तर उत्कृष्ट चरित्र अभिनेता पो भएँ !
उत्कृष्ट कलाकार सौगात मल्ल हुनुभएको थियो । त्यस्तै, सुनिता कुँवर महिलातर्फ उत्कृष्ट हुनुभएको थियो । सीताराम कट्टेलले सान्त्वना पुरस्कार जित्नुभएको मलाई सम्झना छ । यो प्रतियोगिताले सुषुप्त भएको मेरो अभिनय कलालाई पुनः उजागर गराइदियो ।
No comments:
Post a Comment