Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

‘कट्टेल सरको चोटपटक’



By  Unknown     2:10 AM    Labels: 

कोलाहल, व्यस्तता र भीडभाडबीच पनि काठमाडौंमा एकान्त बस्तीहरू भेटिन्छन् । त्यस्तै हल्लाखल्लाविहीन बस्तीमा भेटिन्छन् चर्चित आख्यानकार डा. ध्रुवचन्द्र गौतम । एकान्तमा घोत्लिइरहनु र गहन लेखनमा दत्तचित्त देखिनु उनको लेखकीय विशेषता हो । औपन्यासिक चरित्र नै हो त्यो उनको ।

नेपाली साहित्यमा नौला–नौला बान्की र विषयका आख्यान सिर्जना गर्ने बेजोड साहित्यकार हुन् उनी । उमेरले सात दशक शरद् छिचोलिसक्दा पनि उनको लेखनमा उस्तै यौवनता र नवीनता झल्किन्छ । कल्पनाशीलता र तिलस्मी लेखनमा उनी आजपर्यन्त अरबी घोडाकै गतिमा छन् ।

भदौ सकिँदा नसकिँदै मैले उनलाई आग्रह गरेको थिएँ, “लेखनका विषयमा केही कुराकानी गर्नु छ, समय मिलाइदिनुहुन्छ कि ?”

“कुराकानीका लागि बाँकी केही विषय होलान् र ?” यसो भनेर उनी हाँसेका थिए ।
उनको जवाफको यो शैली पुरानै थियो ।

उनी बेलाबखत भन्छन्, “नियमित लेख्ने मानिसहरूसँग भन्ने र बोल्नुपर्ने कुराहरू के नै हुन्छन् र ? आफ्ना कुराहरू त उसले विभिन्न लेखमार्फत प्रकट गरिरहेकै हुन्छ नि !”

हुन पनि उनी लेखहरूमार्फत सधैं आफूलाई पस्किरहेका हुन्छन् ।

तर, पछिल्लो समय उनी अखबारी लेखनमा त्यति सक्रिय छैनन् ।

केही दिनपछि–

गौतमसँग मेरो कुराकानी भयो । ०२० को दशकदेखि नै साहित्य साधना र लेखनमा सक्रिय गौतम आफैंले आग्रह गरे, “यस पटक ‘कट्टेल सरको चोटपटक’ कृतिमा आधारित भएरै कुरा गरौँ । त्यसो गर्दा उपयुक्त होला ।”
फुरुंग देखिए उनी ।

० ० ०

०३६ सालको जनमत संग्रहपछि मुलुकमा धेरथोर परिवर्तन देखा परेको थियो । समाजमा राजनीतिको चेतना स्तर फराकिलो बन्दै थियो ।

तर, त्यसको स्थूल स्वरूप समाजमा विम्बित थिएन । दबिएको र खुम्चिएको वर्गको आयतन अझ विस्तृत बन्दै थियो ।

गौतम अध्यापन गर्थे उतिबेला । लेखन र शिक्षण समान गतिमै अघि बढिरहेकाले त्यही विषयवस्तुमा आधारित भएर उपन्यास लेख्ने हुटुहुटी बढिरहेको थियो उनमा ।

उनले केही प्राध्याकहरूलाई सोही कुरा सुनाए, “शिक्षकको कथा–व्यथा समेटिएको उपन्यासको कल्पना छ मसँग । लेख्दा कसो होला ?”

प्राध्यापकहरूसँग पनि आ–आफ्ना अनुभूति साटासाट भयो ।

त्यतिबेला उनको उपन्यासमा मानवीय पक्ष ज्यादा बिम्बित हुन्थ्यो । जीवनमा अस्तित्वको प्रश्न, प्रेम र त्यसबाट उत्पन्न विस्मयको स्थूल वर्णन उनको औपन्यासिकताको विशेषता नै बन्न पुगेको थियो । त्यसका अतिरिक्त प्रेमजन्य विकृति र विसंगति, विवाहित र अविवाहित नारी मनस्थिति सादृष्य व्याख्या उपन्यासमा देखिन्थ्यो ।
‘अन्त्यपछि (२०२४)’, ‘बालुवामाथि (२०२८)’, ‘डापी (२०३३)’ उपन्यासमा ती अभिव्यक्त भएका छन् ।

उपन्यासमा आर्थिक अभावबाट उत्पन्न समस्या, बेरोजगारी र त्यसबाट सिर्जित अन्य सामाजिक समस्या, रहस्यात्मकता सहरिया दुष्प्रवृत्ति, यौनजन्य समस्या आदि अनेकानेक विषयवस्तुको मार्मिक अभिव्यञ्जना पाइने कारण ३० को दशकमै उनी आख्यान जगत्कै ‘ध्रुवतारा’ बनिसकेका थिए ।
र, यस्तै सशक्त अभिव्यक्ति थियो– ‘कट्टेल सरको चोटपटक ।’

त्यसो त विम्बमा वासुदेव कट्टेल धु्रवचन्द्र आफैं पनि हुन् । २८ वर्षे शिक्षण दौरानमा उनले नजिकबाट भोगेका समस्या हुन् ती । कक्षाकोठाभित्र चक र खरी घोट्दाको पीडा होस् या रातोदिन मेहनत गर्दा पनि अरुभन्दा निन्न स्तरको जीवन जिउनुको व्यथा– यी सबैले उनलाई कुनै न कुनै कोणबाट उपन्यास लेख्न घोचिरह्यो ।

उनी भन्छन्, “आजको शिक्षकको अवस्था के छ त्यो त म जान्दिनँ तर मेरो पालाका शिक्षकहरूको आर्थिक–सामाजिक अवस्था निम्नमध्यम वर्गीय नै हो, उपन्यासमा त्यही दुःख र करुणा दुरुस्तै उतारिएको छ ।”
“बाहिर सुट–टाई लगाएर हिँडेका तर आफूभित्र अत्यन्त निम्छरो जीवन बाँचिरहेका शिक्षकहरूको मनोदशा र उनीहरूको दूरावस्था नै उपन्यास लेखनको मूल स्रोत हो मेरो,” उनले उपन्यासको रचनागर्भबारे प्रष्ट्याए ।
वास्तवमै उनले आफ्नै जीवनको अन्तन्तै नजिक बसेर, आफैं भुक्तभोगी बनेर लेखेको कृति हो ‘कट्टेल सरको चोटपटक ।’

त्यसो त हरेक कृतिमा लेखक कुनै न कुनै कोणबाट जोडिएकै हुन्छ, मिसिएकै हुन्छ ऊ । र त, उनी भन्छन्, “कट्टेल सरको चोटपटक’ एउटा शिक्षकको जिन्दगी हो, जुन अनुभव र भोगाइ मेरो आफ्नो भोगाइ पनि हो । र, आज पनि मलाई मेरो जीवनको छेउछाउमा तिनै कट्टेल सर उभिएजस्तो लाग्छ ।”

कालोपाटीमा सेतो खरी घोटेर उसले कयौंको भाग्य उजिल्याएको हुन्छ तर ऊ आफ्नैको भने घरको चुल्हो मुस्किलले जलिरहेको हुन्छ । आधा पेटमै छाक गुजार्नु उसको बाध्यता बनेको हुन्छ ।

उनका वरिपरि अरू थुप्रै शिक्षक साथीहरू थिए । उपन्यास लेखनपूर्व उनले तिनीहरूका जीवन पनि नजिकबाट नियाले । उपन्यासको विषयवस्तुको जोहो गर्न घण्टौँ कक्षा कोेठामा घोत्लिएका छन् रे उनी । शिक्षक–विद्यार्थीको मनोभावको गहिराइसम्म पुग्न र शिक्षकको मनोसामाजिक समस्या बुझ्न अनेक कठिनाइ झेलेकाले होला, उनलाई ‘कट्टेल सरको चोटपटक’ नै आफ्नो अब्बल कृति लाग्छ ।

“आफूले लेखेका सबै कृतिहरूको उत्तिकै माया लाग्छ । तर पनि आफ्नै जीवन जोडिएकाले होला, कट्टेल सरको चोटपटक’ निकै प्रिय लाग्छ । पाना–पानामा आफूलाई भेट्टाउँछु म,” उनी अगाडि थप्छन् ।

० ० ०

०३७ सालमा उपन्यास बजारमा आएपछि त्यसले चौतर्फी प्रशंसा पायो । त्यसो त शिक्षक–प्राध्यापककै कथा भएकाले त्यो सर्कलमा लोकप्रिय हुने नै भयो । उनलाई सम्झना छ– एकजना शिक्षकपत्नीले त आफ्नो श्रीमान्लाई आग्रह नै गरिन् रे, “शिक्षकको चुत्थो नोकरी गर्नु भन्दा जागिर छाडिदिनुस् बरु ।”

उनी त्यसलाई सकरात्मक रूपमा लिन्छन् । लेखकका लागि उपन्यासको सबल पक्ष नै हो त्यो ।

भरदिन चक घोट्दा पनि जीवन बदल्न नसकेका शिक्षकहरूको साझा कथा लेख्न सकेकोमा उनलाई गर्वानुभूति पनि हुन्छ ।

त्यसले शिक्षकलाई मात्र होइन, आम मानिसलाई समेत छोयो । कलाकार तथा निर्देशक नीर शाहलाई पनि त्यो कृति औधी पन परेछ ।

त्यसैले उनले एकदिन अचानक प्रस्ताव लिएर आए– यो कृतिमाथि म चलचित्र बनाउँछु ।
नीर शाहको प्रस्ताव गौतमलाई उचित नै लाग्यो । उपन्यासको पानाभित्रको कथालाई पर्दामा हुबहु उतार्न सकिए राम्रै हुन्थ्यो, उनले पनि त्यही सोचे ।

नीर शाहले कथा र संवादमात्र लिने भनेका थिए, तर गौतम आफैंले उनलाई अर्को प्रस्ताव गरे– यही कृतिमाथि फिल्म नै तयार पार्ने हो भने कथा र संवादमात्रै होइन, पटकथा पनि मै तयार पारिदिन्छु ।
त्यसमा निर्माता पक्षले नाइँनास्ती गरेन ।

०३९ मा ‘बासुदेव’ फिल्म तयार भयो । चलचित्रमा हरिहर शर्माले वासुदेवको ‘रोल’ गरेका छन् ।

गौतम सुनाउँछन्, “आफ्नै उपन्यास भएकाले होला, फिल्मी संवाद पनि अझ जीवन्त बन्यो । म सम्झन्छु– मैले कथा, पटकथा र संवाद लेखेबापत ‘वासुदेव’ चलचित्रबाट ९ हजार रुपैयाँ पारिश्रमिक पाएको थिएँ । त्यतिबेलाको त्यो राम्रै पैसा हो । अरु थुप्रै टेलिचलचित्रमा पटकथा लेखेको छु । कथा तयार पारेको छु । तर, संवाददेखि पटकथासम्म तयार पारेको ‘बासुदेव’मै हो ।”

प्रदर्शनमा आएपछि चलचित्रले प्रशंसा पायो । त्यसो त धु्रवचन्द्रका उपन्यासहरू निकै गहन र गम्भीर हुन्छन् । आख्यानप्रधान कृतिमाथि चलचित्र बनाउन असाध्यै गाह्रो छ । त्यसैले कृतिका कथाका आधारमा निर्माण गरिएका चलचित्रले त्यति राम्रो व्यापार गर्न सकेका छैनन्, तर अपवाद बन्यो, ‘बासुदेव’ ।

चलचित्रमा हरिहर शर्माका अतिरिक्त कृष्ण मल्ल, शर्मिला मल्ल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नीर शाह आदिले अभिनय गरेका थिए ।

त्यसो त ‘बासुदेव’लाई नेपाली चलचित्रको कोसेढुंगा पनि मानिन्छ । कारण– त्यो नेपालको पहिलो कलाप्रधान चलचित्रसमेत हो ।

त्यतिबेलाको एउटा प्रसंग उप्काए गौतमले, “नायकमा अनुबन्धित भएका हरिहर शर्माले वासुदेवको अभिनय गर्ने भएपछि उनी कोट खोज्न बजार गए । तर, उनलाई भनेजस्तो कोट फेला परेन । कोही असाध्यै छोटो, हुने कोही ज्यादै लामो । हैरानै भएपछि म आफैंले आग्रह गरें– लौ हरिहरजी, मेरै कोट लगाउनुस् ।”

सुटिङ अवधिभर हरिहर शर्माले गौतमकै कोट पहिरिए ।

चलचित्रको प्रिमियरमा गौतमले ठट्टा गरे, “चलचित्रमा कथा, पटकथा त मेरो छँदैथियो, कोट पनि मरै पर्‍यो है ?”
यति सुनाएर उनी मच्चिएर हाँसे ।

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment