Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

सलुन सुन्दरी !



By  Unknown     2:18 AM    Labels: 


भदौ पहिलो साता ।

साउन जन्म महिना भएकाले कपाल काटेको थिइनँ ।

आमाले भन्नुहुन्थ्यो– साउन तेरो जन्म महिना हो, कपाल नकाटेस् ।

महिना बारेको होइन, आमाको कुरालाई पर नसारेको !

एकदिन साथीले अनायास हँसीमजाक गर्‍यो– बल्ल तँलाई जवानी आएछ, कपाल त निकै लामो बनाइछस् त । लामै कपाल सुहाउने रहेछ, कुरो बुझिस् ?
नमिठो हाँस्यो त्यो ।

उसको कुटील हाँसोको तात्पर्य बुझिसकेको थिएँ– कपाल असुहाउँदो किसिमले लामो भएको छ, काट्नुपर्छ अब ।

उसैले अर्को कुरा सुनायो– काठमाडौं मलमा लेडिज एन्ड जेन्ट्स पार्लर छ, त्यहाँ लेडिजहरूले कपाल काट्छन् । म त सधैं जान्छु ।

उसको त्यहाँ जानुको निहीतार्थ के थियो, त्यो म जान्दिनँ तर पुरुषको कपाल महिलाले काट्छन् भनेपछि ममा बेग्लै हुटहुटी पैदा भयो– आलेखै तयार पार्छु अब ।

कपाल काट्ने पेसा ‘हजाम’को हो र पुरुषको कपाल पुरुषले नै र महिलाको कपाल महिलाले नै काट्छन् भन्ने सोचाइ अझै विद्यमान छ । त्यसलाई नामेट बनाउन पनि उनीहरूको कथा बाहिर ल्याउनुपर्थ्यो।

र, उसैलाई भनेँ, “त्यहाँ कपाल काट्न होइन, समाचार बनाउनचाहिँ जानुपर्‍यो यो, ठाउँ देखाइदे मलाई ।”

“उनीहरू बोल्न मान्दैनन्,” उसले कुरा अन्तै मोड्यो, “सञ्चार माध्यमभन्दा परै बस्न रुचाउँछन्, कुरा बुझ् न ।”
उसले मेरो कुरोलाई महत्त्व नै दिएन ।

० ० ०
भदौ अन्तिम साता–
‘वर्ल्ड अफ हेयर’ । काठमाडौं मलको तेस्रो तला । भित्रपट्टि तर फराकिलो र खुला ठाउँ । छेवैमा चिया पसल । प्रायः मानिसको ओहोरदोहोर भइरहने ।

“एक्सयुज मी, यहाँ पुरुषको कपाल काटिन्छ ?” १५/१६ वर्षका युवक ठिंग युवतीका अघिल्तिर उभिँदै कपालको काट्ने/नकाट्ने जानकारी लिइरहेका थिए ।

“काटिन्छ, किन नकाटिनु ? बरु कस्तो स्टाइलको काट्ने हो, क्याटलग हेर्नुस्,” युवतीको अनुहारमा खुसीका ठूल्ठूला धर्सा देखा परे ।

युवकले ‘यस्तो काट्ने’ भनेर क्याटलगको तस्बिरमा औंलाले इंगित गरे । र, नजिकैको मेचमा गएर बसे ।
बिहीबार त्यो पनि मध्याह्न भएकाले पार्लरमा उतिसाह्रो भीडभाड थिएन ।

अधवैंशेजस्ती देखिने महिला धूपौरोमा धूपबत्ती लिएर पसलवरिपरि डुलाउँदै थिइन् । भर्खर खोलेको हुनुपर्छ सायद ।

“बिदाको दिन त पाइला राख्ने ठाउँ हुँदैन,” यति भनेर सँगै उभिएकी अर्की युवती फिस्स मुस्कुराइन् ।

उनी वायु वेगमा कैँची चलाउन थालिन् । कस्तो पारंगत ! कस्ती सिपालु ! आधा घण्टा पनि भएको थिएन, युवतीले ती किशोरको कपाल सफाचट बनाइदिइन् । उस्तै स्टाइलिस पनि ! गज्जब देखियो ।

ती किशोर पनि फुरुंग परे ।

“थ्यांक यु ।”

युवतीको हातमा ३५० रुपैयाँ थमाइदिए र बाटो लागे ।

म मूर्तिवत् रूपमा त्यहाँको दृश्य हेरिरहेको थिएँ । सलुनमा कपाल काट्ने युवतीमात्र थिएनन्, भर्खरका युवक पनि थिए । उनीहरू पनि उसैगरी हावामा कैंची हल्लाइरहेका जस्ता देखिन्थे ! पूरै कारीगरी, जादुगरी र तिलस्मी !
मनमनै सोचेँ– सायद यही दृश्य हेर्न भए पनि आउँथ्यो मेरो साथी ! र त, उसले मलाई उक्साउँदैथ्यो ।


० ० ०
त्यस्तै ४५ मिनेट त्यहाँको दृश्य नियालेपछि मैले कुराकानीका लागि अनुरोध गरेँ ।
सुरुमा त युवती तयार भइनन् ।

“आजसम्म सोधखोज गर्न मिडियाका कोही पनि आउनुभएको थिएन । अन्तर्वार्ता दिइरहने मान्छे पनि होइन म,

के कुराकानी गर्नू ?” यसै भनिन् उनले ।

उनको जवाफ अनपेक्षित थिएन ।

खै के सोचिन्, त्यसपछि आफैं तयार भइन् उनी ।

नाम देवी बस्याल । घर धादिङ, आदमघाट । उमेर २५ वर्ष । कपाल काट्न थालेको करिब पाँच वर्ष भयो ।
उनले एकै सासमा परिचय दिइन् ।

पहिलोपल्ट अन्तर्वार्ता ‘फेस’ गरेकाले होला, असिनपसिन थिइन् भइन् ।

“खै के भन्नू अरु, यो पेसामा लागेर निकै सन्तुष्ट छु, मनको इच्छा पूरा गर्न पाएको आभास भइरहेको छ ।”
उनको हाँसो पुनः छरपष्ट भयो ।

धादिङ आदमघाटमै जन्मिएकी रहिछन् उनी । राजमार्गछेउ भएकाले परिवारको आर्थिक अवस्था मजबुतै थियो । खेतीपातीबाट राम्रै आयस्ता हुने हुँदा जीवनमा उनले दुःखको अनुभूति गर्नै परेन । आदमघाटकै सत्यवती उच्च माध्यमिक विद्यालयबाट प्लस टु गरेपछि उनी काठमाडौँ हान्निइन् ।

काठमाडौं देशको मात्र नभई सपनाहरूको राजधानी पनि हो । आँखामा सपनाका इन्द्रेणी सजाएर काठमाडौं खाल्डो छिरेकी देवी अन्ततः कपाल काट्ने पेशामा ठोक्किन आइपुगिन् ।
कसरी आइपुगिन् त उनी ?

कपाल काट्ने काममा जोडिनुको पछाडि त्यस्तो खास कारण छैन रे ! उनले प्रष्ट्याइन्, “सुरुमा त ब्युटीपार्लर ट्रेनिङ लिएँ, त्यसबेला त लहरै चल्या’ थियो नि ! फुर्सद हुनेबित्तिकै पार्लर सिक्न जाने । बुझिहाल्नुहुन्छ नि, महिला आफैंलाई मेकअप बढी गर्नुपर्छ क्या, त्यसमाथि १८–१९ कै युवती परेँ म !”

अचानक हाँसो फुत्काइन् उनले ।

उनमा पनि पार्लर सिक्ने हुटहुटी जाग्यो ।

“फुर्सदको समय सदुपयोग पनि हुने र आफूमा सीपको विकास पनि हुने । त्यही भएर मैले पनि ब्युटीपार्लर सिकें,” ब्युटिसियन हुनुको कारणसमेत प्रष्ट्याइन् उनले ।

त्यस्तै ६–७ महिना ब्युटीपार्लरको बेसिक कोर्स लिएपछि उनको मनमा अर्को विचार पैदा भयो– अब यो सीपलाई पेसा नै बनाउँछु ।

उनले घरसल्लाह पनि गरिन्, “ब्युटिसियनको तालिम त लिएँ, अब पार्लर पनि खोल्नुपर्‍यो, कसो होला ?”
बाबुआमाले पनि नाइँनास्ती गरेनन्, बरु लाग्ने खर्चको जुगाडसमेत गरिदिए ।

उनले हेयर एन्ड ब्युटी सलुन र एकेडेमी खोलिन् र पेसा सुरु गरिहालिन् ।

महिलाको फेसियल, थ्रेडिङ गर्दै थिइन् । त्यसो त महिलाको हेयर स्टेट, कर्लि र हेयर डिजाइनिङ पनि उनले नगरेकी थिइनन् । बेलाबखत फिल्म सुटिङ, विवाहलगायत समारोहहरूमा ब्युटिसियनका रूपमा जान्थिन् पनि ।
तर, उनको मनमा अर्को हुटहुटी पैदा भयो– अब केटाहरूको पनि कपाल काट्छु ।

२०–२१ वर्षे भर्भराउँदो जवानी । भर्खर पेसा–व्यवसाय सुरु गरेको । अर्को मनले सोच्यो– मैले पुरुषको कपाल काट्ने अरुले चाहिँ मेरो कुरा काट्ने पो हुन् कि ?

मनैले उनलाई पछाडि फर्कन दिएन । उनलाई विश्वास थियो, सकारात्मक उद्देश्यले जुनसुकै पेसा–व्यवसायमा हात हाल्ने मानिस ढिलो–चाँडो गन्तव्यमा पुग्छ ।

उनले पनि विलम्ब गरिनन्, सुरु गरिहालिन् ।

एकजना भाइ पर्ने थिए । उनलाई भनिन्, “भाइ, तिम्रो कपाल काटिदिन्छु ।”

सानै भएकाले हुनुपर्छ, भाइ पनि निकै उत्साहित भयो ।

सुरुमा उनको हात काम्यो ! कैंची लर्बरायो । तर पनि जानेको सीप र कौशल प्रयोग गरिन् । जसोतसो कपाल काट्नि ।

सलुनमा अरुले नभनेका होइनन्– होस गर्नुहोस् है, बिग्रेला नि फेरि !

उनले ठानिन्– मानिसले गरेकै काम त हो नि, सबैले गर्भमै कहाँ सिकेर आउँछन् र !

तर, फिनिसिङमा ढंग पुगेन ।

पुगोस् पनि कसरी ! पहिलो पटक त उनले पुरुषको कपालमा कैंची चलाएकी थिइन् ।

कपाल बिग्रिएपछि ती भाइले भन्नु–नभन्नु भने ।

उनलाई पनि रिस नउठेको होइन ।

त्योबेला पनि दिमागमा आयो– कतै मैले गल्ती गरिरहेकी त छैन ?

हिँडिसकेपछि त्यो बाटोबाट फर्कनु भनेको अर्को गन्तव्यमा पुग्न धेरै ढिला हुनु हो । उनले त्यो राम्ररी बुझेकी थिइन् । र, विचार गरिन्– मानिसले गल्ती नगर्ने हो भने सायदै सिक्ने सौभाग्य पाउँथ्यो ।

त्यसले उनलाई पनि सिकायो र खारिने मौका दियो ।

० ० ०
०५६...... नम्बरबाट फोन आयो ।

मध्यरात, निशाचरहरूको गाइँगाइँ गुइँगुइँ मात्र ।

“मोबाइल फोनको अर्थ हो, जतिबेला पनि उपलब्ध हुनु । त्यसैले म कसैको पनि फोन उठाउन कन्जुस्याइँ गर्दिनँ,” उनी पुनः मुस्कुराइन् ।

अचानक फोनको घण्टी बजेपछि उनी अचम्म परिन् । कसैलाई अप्ठ्यारै परेछ क्यारे भन्दै उनले फोन उठाइन् ।
फोन गर्नेले भनेछ, “ए बाबु ! के गर्दैछस्, घरको याद आएन ?”

‘ह्या... म बाबु–साबु होइन, सायद तपाईंले गलत नम्बर डायल गर्नुभयो होला’ भनेर उनले फोन राखिन् ।

त्यो व्यक्तिले त्यसपछि दिन बिराएर दुःख दिन थाल्यो ! युवतीको आवाज सुनेपछि गलत अभिप्रायले फोन गरिरहेको छ भनेर बुझ्न उनलाई कठिनाइ भएन ।

अति भएपछि बारम्बार फोन गरिरहने अपरिचत मानिसलाई उनले बेस्करी झपारिन्, “तपाईं गलत उद्देश्यले फोन गरिहनुभएको छ, आइन्दा फोन गर्ने दुस्साहस नगर्नुहोला !”

त्यसपछि उसले दोर्‍याएर फोन गर्ने आँटै गरेन ।

कुराकानीकै क्रममा उनी कडा छिन् भन्ने बुझ्न हामीलाई कठिन परेन । हरेक जवाफको ‘हो’ र ‘होइन’मा उत्तर दिने उनीसँग कुरा खोतल्नु पहाड पल्टाउनुजत्तिकै गाह्रो रहेछ । त्यसमाथि खुलेर कुरा पनि नगर्ने ! बडो अन्तमुर्खी स्वभावकी रहिछन् उनी ।

“कुनैकुनै केटा त कम्ताका हुँदैनन् । पार्लरमा काम गर्ने भन्नेबित्तिकै नराम्रो सोचिहाल्ने, कडा नभई त हुँदै हुँदैन नि !” उनले आफ्नो स्वभावबारे प्रस्ट पार्न खोजिन् ।

“कपाल काट्ने निहुँले आउने तर कपाल काट्ने भन्दा पनि शरीर छुन खोज्ने, जिस्क्याउन खोज्नेको त म झाँको झार्छु ! तिनीहरूलाई सोझो बनेर हुँदैन । जस्तो छ, त्यस्तै व्यवहार गर्नुपर्छ,” उनले थपिन्, “कपाल काट्ने भन्नेबित्तिकै मानिसहरूले नराम्रो नजरले नहेरून् र सीप÷श्रमको सम्मान गर्नुपर्छ भन्ने सिकाउन पनि मैले पुरुषहरूको कपाल काट्न थालेकी हुँ । काम ठूलो–सानो हुँदैन । श्रम र पसिनाको मूल्य बुझिएन भने पशुतुल्य जीवन जिउनुपर्छ ।”

ठाडो र हक्की स्वभाव तथा काम नपरीकन नबोल्ने बानीकै कारण आफूलाई कसैले जिस्क्याउने आँट नगरेको देवीले सुनाइन् ।

“गलत मानिससँग पहिल्यै सचेत र सजग हुन सकिएन भने पछुताउनुको विकल्प रहँदैन,” उनी फेरि हाँसिन् ।

० ० ०
सल्लीपिरझैं रेसादार, लहराएको र फर्फराएको कपाल । पूर्ण चन्द्रझैं जुनेली अनुहार । चम्किलो आँखा र चहकिलो हेराइ । डोलो जिउ र गोरो वदन ।

हिरोइनभन्दा कम्ती कुनै कोणबाट लाग्दिनन् उनी ।

“यति राम्री हुनुहुँदो रहेछ, अनि प्रेम प्रस्ताव आएन त ?”

मेरो ‘कस्मेटिक’ प्रश्न उनलाई अनपेक्षित लागेन । हाँसेरै टार्न खोज्दै थिइन् । तर पनि ओठबाट फुत्किहाल्यो, “मेरो स्वभाव यस्तो छ, त्यसैले प्रेम प्रस्ताव राख्ने आँट र साहस कसैले गरेका छैनन् । अनावश्यक नजिकिन खोज्नेलाई त म रुखो बोलेरै तर्साउँछु,” वाक्यान्तसँगै हाँस्न कसैगरी भुल्दैनथिन् उनी ।

सुन्दरता केवल सौन्दर्य होइन, यो त मानवीय पुँजीसमेत हो । सुन्दर रहने रहर कसलाई पो हुँदैन र !
नेपालीमा प्रचलित आहान पनि छ– रूप राजा, सीप कमारो ।

त्यसैले होला, अचेल सहरमा यस्ता सलुनहरू बग्रेल्ती खुलेका छन् । केही समयअघिसम्म ब्युटीपार्लरहरू ज्यादा खुल्थे । महिला सौन्दर्य सामग्रीसहित सिँगारपटारका लागि खुलेका पार्लरझैँ अचेल पुरुष पार्लरहरू पनि उत्तिकै मात्रामा खुल्न थालेका छन् । र, महिलाहरूले पनि पुरुष सौन्दर्यको क्षेत्रमा हात हालेका छन् । त्यसको सग्लो उदाहरण हुन् देवी ।

पेसाप्रति इमानदार हुने हो भने विदेश जान नपर्ने र यहीँ मनग्ये आम्दानी हात पार्न सकिने उनको अनुभव छ । स्वदेशमा केही भएन भनेर निराश भएका युवालाई उनको एउटै आग्रह छ, “सीप सिकौं र स्वरोजगार बनौँ । स्वावलम्बी जीवनयापनका लागि स्वदेशमै धेरै गर्न सकिन्छ ।

“यति लामो कुराकानी भयो, कपाल काट्नचाहिँ अन्त नजानू नि !” यति भनेर उनले कुराकानीको पोयो गाँठो पारिन् र मज्जाले हाँसिन् ।

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment