भक्तपुर कला सौन्दर्यको छटामात्र होइन, संस्कृति, परम्परा र मूल्य–मान्यताको निधि पनि हो । र त, बर्सेनि हजारौं बाह्य एवं आन्तरिक पर्यटक भक्तपुरको सौन्दर्यका विविध आयाम अवलोकनार्थ आउने गर्छन् ।
भूकम्पपश्चात् भने त्यो झन्डै शून्यमा झर्यो । विगत केही महिनादेखि त्यसमा केही सुधार देखिन थालेको छ ।
भक्तपुर दरबार क्षेत्रबाट केही दक्षिण झरेपछि ‘पोर्टर स्क्वायर’ आउँछ । यो ठाउँ नेपालमा मात्र होइन, विश्वमै परिचित छ– माटाको भाँडावर्तन बनाउने ठाउँका रूपमा । माटो कलाको अनुपम ठाउँ हो त्यो ।
‘पोर्टर स्क्वायर’को छेउमा प्रजापति अध्ययन केन्द्र रहेछ तर भूकम्पले क्षतविक्षत ! ‘पोर्टर स्क्वायर’को हालत पनि त्यही चारतले घर जस्तै छ– रुग्ण र प्रतिदिन जीर्ण ।
एकजना वयोवृद्धले आँखीभौँ खुम्च्याएर पीडा ओकले, “हाम्रो सम्पत्ति भूकम्पले धुजा–धुजा बनाइहाल्यो, कहिले बन्ला अब ?”
भूकम्प अगाडि समय–समयमा भेला हुने, पछिल्ला पुस्तालाई माटाका भाँडावर्तन बनाउने नयाँ–नयाँ कला र शिल्पबारे सिकाउने, विचार–विमर्श गर्ने ठाउँसमेत रहेछ त्यो ।
भक्तपुरको ऐतिहासिक र पुरातात्विक सम्पदा दृश्यावलोकन र काष्ठकला तथा मूर्तिकला हेर्न पुग्ने जोकोही पर्यटक ‘पोर्टर स्क्वायर’ जान बिर्सिदैन । हातको सहाराले सुन्दर, कलात्मक र बान्कीपूर्ण माटाका भाँडा बनाउने प्रजापति (कुमाले)हरूको कारीगरी (शिल्पी) देखेर पर्यटकहरू अचम्मित हुन्छन् । बिनाकुनै यन्त्र उपकरण काठको चक्र र लट्ठीको सहायताले माटाका अनेका भाँडा बनाउने विश्वकै अनुपम कला पो छ यहाँ !
अर्का वृद्ध थप्छन्, “विश्वका थुप्रै देशका पर्यटकहरूले डकुमेन्ट्री खिचेर लगेका छन्, कतिपय पर्यटक आउँछन् र आश्चर्य मान्छन्, तीन–चार दिनसम्म हेरेर बस्छन् । कतिपयले त मुखै फोरेर भन्छन्– तिमीहरूलाई त सरकारले महान् मान्छ होला है ? आफ्नो कला र संस्कतिमार्फत विश्वलाई आश्चर्यचकित बनाउँछौ । तिमीहरूको कला संस्कृतिमार्फत देशले पनि मनग्गे आम्दानी गरिरहेको छ ।”
यति भन्दाभन्दै उनको अनुहार एक तमासको भयो । चुक घोप्ट्याएको अन्धकार छायो उनको मुहारमा ।
संकटमा पर्दै गएको कुमाले पेसा र भूकम्पले क्षति पुर्याएको ‘पोर्टर स्क्वायर’को पीडा उनको अनुहारमा प्रष्ट देखिन्थ्यो ।
उनको अनुहारको भावले भन्थ्यो– केही वर्षमै ‘पोर्टर स्क्वायर’ एकादेशको कथा बन्न सक्छ ।
र, भावी पुस्ताले पढ्ने दिन आउँछ– भक्तपुरमा प्रजापतिहरूले उहिले–उहिले माटाको भाँडावर्तन बनाउँथे, अहिले अरु नै पेसा गर्छन् ।
कारण यस्तो छ–
‘पोर्टर स्क्वायर’ छिर्नेबित्तिकै एकजना वृद्ध हातले चाखः (चक्र) घुमाइरहेका थिए । भन्दै थिए, “अहिले त बिजुलीबाट चल्ने नै चल्तीमा आइसक्यो, मचाहिँ पर्यटकलाई देखाउनमात्रै भए पनि यही चाखः चलाउँछु, यसैबाट भाँडावर्तन बनाउँछु ।”
उनले चक्र घुमाएर पैसा हाल्ने खुत्रुके बनाउँदै गर्दा दुई जना जर्मनी पर्यटक आइपुगे र बडो अनौठोसँग हेरे– हातैको सहाराले यति छिट्टै कसरी यस्तो सुन्दर भाँडो बनाए होलान् ! ती पर्यटकले केहीबेर चक्र चलाएर आफैं भाँडा बनाउन खोजे । अन्तिममा ‘धन्यवाद’ भन्दै फोटो खिचेर बिदा भए ।
उनको नाम गणेश प्रजापति रहेछ, त्यही टोलका रैथाने । झन्डै ७० वर्ष लाग्न आँट्दा पनि उनी उत्तिकै खट्दा रहेछन् र बिहान उदयाचलदेखि बेलुका अबेर रातिसम्म माटोसँग पौँठेजोरी खेल्दा रहेछन् !
भन्छन्, “सकुन्जेल माटोको भाँडा बनाउन छाड्दिनँ र छाड्नु हुन्न पनि ।”
उनका दुई जना छोरा पनि त्यही काम गर्छन् । उनी भन्दै थिए, “माटो नमुछे त कसरी मुखमा माड लगाउनु नि ! आफ्नो पेसा जे हो, त्यो त गर्नु परिहाल्यो ! हाम्रो बाँच्ने आधार भनेकै यही माटो हो, यही ओल्टाइ–पल्टाइ पारेर पेट पाल्नुपर्छ !”
पछिल्लो समय छोराहरूले आफूले झैँ खटेर काम गर्लान् जस्तो उनलाई लागेको छैन । गणेश दिक्क मान्छन्, “माटो नै पाइन छाड्यो, पाइए पनि महँगोमा किन्नुपर्छ ! भाँडा बनाएर ज्याला खाजा नै उठाउन गाह्रो छ, कसरी पेसा बचाउनू ?”
उनी उदास देखिए ।
“यहाँमात्रै प्रजापतिहरू झन्डै ७–८ सयको संख्यामा छन्, उनीहरूमध्ये धेरैले बिस्तारै यो पेसा छाडेर अरु नै काम गर्न थालेका छन् । अहिलेका जवान केटाकेटीहरू त यो कामै गर्न लजाउँछन्,” उनको अनुहारमा झनै निराशा पोतियो ।
यति कुराकानी सक्दा नसक्दै उनले तीनवटा खुत्रुके बनाइसकेका थिए । तयार भएका खुत्रुके अल पर घाम ओझेल परेको ठाउँमा राखे र कुराकानी गर्न फेरि वर आए ।
० ० ०
हातहरू पटपटी फुटेका छन् । जिउ हिलाम्य छ । शरीर रगतमासुको हो कि कालो माटोको हो, ठम्याउनै हम्मे–हम्मे पर्छ । उनी फिस्स हाँस्छन्, “हाम्रो त माटो भगवान् हो । हिलो नलागेको दिन त हामीलाई निदाउनै मुस्किल हुन्छ, यसैगरी त हाम्रो प्राण भरिएको छ !”
किंवदन्ती छ–
प्रजापतिहरू हिन्दू शास्त्रमा उल्लेख गरिएका दक्षप्रजापतिका सन्तान हुन्, सृष्टिकर्ता ब्रह्माले नै उनीहरूलाई
‘माटोकै भाँडा वर्तन बनाएर जीविका चलाउनू’ भनेर वरदान दिएका ।
त्यसैले यो पेसा कहिलेदेखि सुरु भयो भनेर यकिन अभिलेख छैन । गणेश सुनाउँछन्, “हाम्रो बाजे बराजुको पालादेखि नै गर्दैै आएको पेसा हो यो, कहिलेदेखि गर्न थाल्यौँ भनेर हामी कसैलाई थाहा छैन ।”
जन्मिएर बामे सर्न थालेदेखि नै माटामा खेल्दै हुर्किएकाले प्रजापतिहरूलाई माटोलाई आकारमा ढाल्नु गाह्रो कुरा भएन । गणेश थप्छन्, “बुझ्ने भएदेखि नै हामीले माटो मुछ्न र चक्र घुमाउन थाल्यौँ, माटाको भाँडा बनाउन खासै अप्ठ्यारो भएन, गाह्रोचाहिँ असाध्यै गाह्रो काम हो यो ।”
भनाइ छ– आकारमा ढाल्न सजिलो काँचो माटो हो । आफूले चाहेकै शिल्पीमा सजाउन सकिन्छ ।
तर, होइन । निकै गाह्रो छ काँचो माटोलाई भाँडामा बदल्न । हात बस्नैपर्छ । अझ माटो राम्रो फेला परेन भने त भाँडा फर्सी फुटेसरह चरचरी चिरा पर्छन् । हिजोआज झन् माटो पाउनै मुस्किल हुन थालेपछि उनीहरू चिन्ता चुलिएको छ ।
उनीहरूका पिता पुर्खाले भक्तपुर सिपाडोलको माटो प्रयोग गर्थे । भाँडा बनाउन माथिल्लो सतहको माटो भएर हुँदैन । सतहबाट २०–२५ फिट खनेपछि मात्रै भाँडा बनाउने उपयुक्त माटो फेला पर्छ । कहीँ त ३०–४० फिटै खन्नुपर्ने हुन सक्छ । गणेश सुनाउँछन्, “माटो खन्ने क्रममा थुप्रै प्रजापतिहरूको ज्यानसमेत गएको छ । मेरै बा पनि दुई पटक पुरिएका हुन्, एक पटक त हामीले माया मार्यौं ।”
अहिले सिपाडोलमा माटो पाइन छाडेकाले उनीहरूले हरिसिद्धिबाट ल्याउन थालेका छन् । त्यस्तै, जग्गामा धमाधम घर बन्न थालेपछि उनीहरूको पेसा संकटमा पर्दै गएको गणेशले सुनाए ।
“जहाँ पाए त्यहीँको माटो भाँडा बनाउन मिल्ने हुँदैन । पहिले–पहिले ल्याउने ठाउँका जग्गाबाट अहिले माटो ल्याउन मिल्दैन भन्छन् । कति त प्लटिङ गरेर घरहरू बनिसके । माटो नै नभएपछि कसरी भाँडावर्तन बनाउनू ?” गणेशले मुख मलिन पारे ।
० ० ०
छेवैमा थिए विनोदकुमार प्रजापति । एथलेटिक्सका राष्ट्रिय प्रशिक्षक भए पनि उनी आफ्नो पेसा माटाको भाँडावर्तन बनाउने नै बताउन चाहँदा रहेछन् । कारण प्रष्ट्याउँछन्, “पुर्खाले यही काम गरेर घरगृहस्थी चलाए, मैले पनि यही गर्दै आइरहेको छु, खेल मेरो रुचि हो, यो मेरो पेसा हो ।”
प्रजापतिहरूको हातमुख जोर्ने बाटो नै माटोको भाँडाकुँडा बनाउने भए पनि पछिल्लो समय पेसा संकटमा पर्दै गएको उनको पनि ठम्याइ छ । त्यसो त नेवारी समुदायलाई मर्दापर्दा माटोको भाँडा नभई हुँदैन । त्यसका लागि पनि यो पेसा जीवित राख्नैपर्छ ।
उनी भन्छन्, “माटो नै पाइँदैन, यो पेसा भएकाहरूलाई सहज किसिमले माटो माइने व्यवस्था मिलाउनेतर्फ कसैको चासो छैन, अब कतिन्जेल बनाइएला यसरी भाँडाकुँडा ?”
माटो ल्याउने जग्गाहरू धमाधम प्लटिङ हुन थालेको, माटो दोहन भएर जग्गाको स्वरूप बिग्रेको भन्दै नगरपालिकाले पेसा संकटमा पर्ने खाले नीति बनाएको उनले सुनाए । “भाँडा बनाउन कालो माटो मात्रै हुँदैन, अरु विभिन्न माटो पनि मिसाउनुपर्छ । तर, सबै किसिमको माटो पाइनै छाडेको छ, त्यसैले वैकल्पिक पेसातिर धेरैको ध्यान गएको हो ।”
उपत्यकामा भक्तपुरलगायत अन्य थुप्रै ठाउँमा माटाका भाँडावर्तन बनाइने भए पनि सबै प्रकारका भाँडा बनाउने ठाउँ ‘पोर्टर स्क्वायर’ नै हो भन्छन् गणेश । पछिल्लो समय मध्यपुर थिमी नगर क्षेत्रका प्रजापतिहरूले भने सेरामिक्सका भाँडावर्तन पनि बनाउने गरी पेसालाई आधुनिकीकरण गर्न थालेको उनले बताए । “हामीलाई त त्यस किसिमको तालिम छैन, त्यो सीप पनि आउँदैन, त्यसैले बाबुबाजेले गर्दै आएको काम नै गर्दै आएका छौँ,” गणेशले भने ।
विनोदले चाहिँ घरेलु तथा साना उद्योग र एसओसले दिएको तालिम लिएका रहेछन् । त्यसैले उनले माटोका भाँडावर्तन मात्रै नभई मूर्ति र सरसजावटका सामग्री पनि बनाउँछन् । “यही कामलाई पनि आधुनिक किसिमले गर्न सके र अझ व्यावसायिक बनाउन सके यो पेसा छोडेर अन्यत्र जानुपर्ने अवस्था आउँदैन,” उनको जोड छ ।
हिजोआज काठे चक्रको ठाउँमा विद्युत्बाट चल्ने फलामे चक्र आइसकेका छन् । पराल, छ्वाली प्रयोग गरेर आगोले भाँडा सेकाउने विधिको सट्टा फलामबाट निर्मित उपकरणमा दाउराले सेकाउने पद्धति बसिसकेको छ । यसले भाँडावर्तन बनाउन सहयोग पुर्याएको उनीहरू बताउँछन् ।
कसरी बन्छ त माटोबाट भाँडा ?
सर्वप्रथम खानीबाट ल्याइएको माटोलाई ढड्याइन्छ र काठे मुंग्रोका सहायताले नरम तुल्याइन्छ । त्यसपछि उक्त मुलायम माटोको ढिक्कालाई चक्रमा राखिन्छ र त्यसलाई घुमाउँदै हातको सहायताले निश्चित आकारमा ढालिन्छ । बढीमा १० मिनेटभित्र उनीहरूले जस्तोसुकै भाँडा बनाइसक्छन् ।
त्यसपछि त्यो भाँडोलाई सीधा सूर्यको प्रकाश नपर्ने ठाउँमा अख्र्याइन्छ । सीधा सूर्यको प्रकाश पर्दा भाँडा फुट्ने उनीहरू बताउँछन् । राम्रोसँग अख्र्याएका भाँडाहरूमा रातो माटो दलिन्छ र एक दिन एक रात आगोमा राम्रोसँग सेकाइन्छ । त्यसरी सेकाइएको भाँडोलाई पुनः एक दिनभरि सेलाइन्छ । त्यसपछि बल्ल त्यो भाँडो प्रयोगयोग्य हुन्छ ।
बिक्री–वितरणको सन्दर्भमा पनि गणेश पुरानो अनुभव सुनाउँछन्, “०३० सालअघिसम्म त हामी काठमाडौँ उपत्यकाका कुना–कुनासम्म खर्पन राखेर बेच्न लैजान्थ्यौँ । काँधको छाला खियाउँदै दिनभर डुलेर बेलुका फर्कंदा कहिले १० रुपैयाँ त कहिले एक–दुई पाथी अन्न हुन्थ्यो । अहिले त बन्नै नपाई घर–घरमा लिन आउँछन् ।”
सुकेका भाँडालाई आगोमा सेकाउन ‘पोर्टर स्क्वायर’मा सबैले प्रयोग गर्न मिल्ने सामूहिक ठाउँ बनाइएको छ । सोही ठाउँमा परम्परागत तवरले सेकाउने मात्र नभई आधुनिक तवरले सेकाउने फलामे उपकरण पनि बनाइएको छ । त्यो ठाउँका मानिसहरू १५–२० दिन लगाएर भाँडा बनाउने र चार–पाँच दिन लगाएर आगोमा सेकाई भाँडा तयार गर्ने गरेको विनोद बताउँछन् ।
राज्यले पनि संरक्षण गरोस्
देशमा बसोबास गर्ने जातजातिका कला, संस्कृति राज्यकै निधि भएकाले त्यसको संरक्षण गर्नु राज्यकै दायित्व हो । त्यसैले प्रजापतिहरूको माटाका भाँडा बनाउने पेसा संरक्षण र संवद्र्धन गर्ने दायित्व पनि राज्यकै भएको उनीहरू बताउँछन् ।
अन्तिममा विनोदले प्रश्न गरे, “हामीले चक्र घुमाएर भाँडा बनाएका हेर्न विश्वबाट मानिसहरू आउँछन्, फोटो खिचेर लैजान्छन् । यसले मुलुकको पर्यटन प्रवद्र्धन भएको छ, थुप्रै परिवारको गुजारा पनि चलेको छ । यसतर्फ राज्यको ध्यान किन जाँदैन ? के कुमालेहरूको माटाको भाँडा बनाउने पेसा यत्तिकै लोप हुने ?”
No comments:
Post a Comment