उमेरले शतक पार गर्न लाग्यो । हिउँझैं सेताम्य कपाल । आफ्नो अनुहार देख्दा आफैं उदेक लागेर आउँछ । ३६ मुजा परेको छ अनुहार । कालो छाया ठिंग आफू अघिल्तिर एकनास उभिइरहन्छ, अब त चिता नपुग्दासम्म यसले पछ्याइरहन्छ होला !
लोहोरी गाउँदै नातिनातिना खेलाउने वयोवृद्ध उमेरमा एकोहोरो वृद्धाश्रमको भित्तो हेरेर जीवन बाँच्न कसैलाई रहर हुँदैन । तर, मिठु अर्यालको यही वास्तविकता हो । काठमाडौं सहरको मध्यभागमा अवस्थित वृद्धाश्रममा जिन्दगीको उत्तरार्द्ध कटाउनुपर्ला भन्ने उनलाई शायदै लागेको थियो । तर, नियति निर्मम हुन्छ !
भाग्यको खेल भनूँ या समयको झेल, उनी अहिले वृद्धाश्रमको मझेरीमा बसेर ‘अँधेरी’को कामना गरिरहेकी छन् ।
धनसम्पत्ति हुँदा पो साथीसंगी र दम्पती, नहुँदा सबैलाई आपत्ति ! यस्तै भएको छ उनलाई अहिले ।
कमैलाई थाहा होला– बानेश्वर बागमती तटमा अवस्थित निःसहाय सदनमा रहेकी अर्याल महाकवि लक्ष्मीप्रसाद देवकोटाकी साख्यै भतिजी हुन् । देवकोटाका ६ दाजुभाइमध्ये जेठा दाजु (लेखनाथ देवकोटा)की छोरी हुन् उनी ।
डिल्लीबजारको रैथाने देवकोटा परिवारकी मिठु अर्यालको नपुग्दो केही थिएन । तर, बूढेशकालमा ती कसैले काम दिएनन् । दाजुभाइ, नरनाता, इष्टमित्र, आफन्त र वरपरका काम लागेका भए उनी वृद्धाश्रमको भित्तो छाम्दै बाँकी जीवन काट्न किन आइपुग्नु पर्थ्यो होला र ?
अल्जाइमरले सिकिस्त बनाएछ, अब त सम्झना न बिर्सना ! भन्छिन्, “त्यस्तै ९५ वर्ष भएँ कि खै थाहा छैन !”
कोही वरपर आउँदा आफ्नै नातानातिनी वरपर आएजस्तो लाग्छ रे उनलाई !
हात भाँच्चिएको रहेछ ! “यहीँ घित्रिक्क लडेँ, बूढो हड्डी ठाउँ छोडिहाल्यो नि बाबु !” नमीठो हाँसिन् उनी ।
र, बेलिविस्तार लगाउन थालिन् ।
“बूढो हुँदै गएपछि त मानिसहरू नजिक पर्नै छाड्दा रहेछन्, यो मृत्युजत्तिकै सत्य कुरा हो जीवनमा र पनि किन उमेर ढल्कँदै भएपछि हेलाहाँसो गर्छन् होला मानिसहरू ?” उनले सुरुमै आश्चर्य व्यक्त गरिन्, गहभरि आँसु पारिन् ।
जति तर्किए पनि र बूढाबूढी भनेर झर्कीफर्की गरे पनि एकदिन बूढो नभई कसैलाई धर छैन !
मानसपटलमा बचेखुचेका सम्झनाहरू पनि धुमिल भइसके । पुरानो किताबको पानाझैं र मञ्जरीबाट फूलका पत्र झरेझैं ती क्रमशः प्रतिदिन क्षीण र जीर्ण बन्दै गइरहेका छन् ।
“धेरै बिसौनी उकालो उक्लिएपछि बल्ल जीवनको तत्वबोध हुन्छ, पहिलो गल्छेंडामै जिन्दगी कहाँ बुझिन्छ र बाबु !” उनको अनुहारमा बादलका गुच्छा देखा परे ।
क्षितिजतर्फ आँखा डोलाउँदै पुनः टोल्हाइन् ।
खै के भएछ कुन्नि, सम्झना भएसम्मका पुराना दिन उधिन्न थालिन् ।
“सुन्नुभो बाबु, हाम्रो ‘फ्यामिली’ त निकै ठूलो थियो, त्यस्तै ६० जनाजति, सबैलाई देवकोटाले प्रवचन दिनुहुन्थ्यो । कस्तो मज्जाको थियो बाल्यकाल, तर छोरीहरूलाई पढाउने प्रचलन थिएन । छोरीहरू पढेलेखे भने त खै के हो, पोइला जान्थे पो भन्थे उतिबेला !” उनको अनुहारमा जुनेली उज्यालो छायो, मुसुक्क हाँसिन् । र, पुनः स्मृतिको आँखीझ्यालमै फर्किइन् ।
देवकोटाको त्यो अग्लो कद र हँसमुख अनुहार उनलाई आज पनि उस्तै लाग्छ रे !
बाल्यकालमा खासै पढ्न पाइनन् । सामान्य साँवा अक्षरमात्रै चिनिन् भन्दा हुन्छ । ११ वर्षकै कलिलो उमेरमा विवाह भयो ।
“मेरो विवाहमा साइँलो काका (लक्ष्मीप्रसाद) साह्रै रुनुभयो,” उनले सम्झिइन् ।
जेठो सन्तान भएकीले उनको विवाह बेलैमा गरिएको रहेछ । बिहेमा परिवारका अरु सदस्यहरूका आँखा रसाएनन् रे, तर देवकोटाचाहिँ धेरैबेर हिँक्कहिँक्क गरे रे !
“लोग्नेमान्छे रोएको पहिलोपल्ट देखेकी हुँ बाबु, सानै भएकीले मलाई केही थाहा थिएन,” उनले भनिन् ।
विवाहपछि पनि देवकोटाले उनलाई साह्रै माया गरे । उनको पढाइलेखाइ र शिक्षादीक्षा सबै देवकोटाकै सामीप्यमा भयो ।
“मैले साइँला काकाकै प्रेरणामा पढेँ, उहाँले नै कखरा सिकाउनुभएको हो मलाई, डिल्लीबजारमा मात्रै होइन, मधेस जाँदा पनि उहीँ पुगेरसमेत पढेँ मैले,” उनी फेरि हाँसिन् ।
० ० ०
उनको विवाह काठमाडौँमै गुणप्रसाद अर्यालसँग भयो । विवाह हुँदा उनका पति १७ वर्षका थिए ।
अन्मिएर अर्काको घर गएपछि उनको पढ्ने चाहना ओझेल पर्यो । “सासू–ससुराको टोकेसो र तुच्छ वचन सधैंभरि सुन्नुपथ्र्यो, कहाँबाट पढ्न पाउनू ! घरको काम गर्दागर्दै अबेर रातिसम्म फुर्सद मिल्दैनथ्यो,” उनले सुनाइन् ।
“बिहेपछि जागिरे हुनुभएको थियो तर अल्पायुमै छाडेर जानुभयो, हुलमुलमा पर्नुभयो कि के हो, मानसिक हिसाबले विक्षिप्त हुनुहुन्थ्यो, त्यसै निधन भयो,” उनको आँखामा पुनः आँसु छचल्कियो ।
पतिको २०१० सालताका नै निधन भएको हो रे ! एउटी छोरी जन्मिएकी थिइन् । त्यही छोरीको मुख हेरेर बसिन् उनी । केही आफन्त र इष्टमित्रले पुनः बिहेका लागि नसुझाएका होइनन् तर उनको मनले मानेन– धत्, यस्तो निर्णय पनि लिन्छन् ?
मस्तिष्कमा यस्तो विचार आउँथ्यो र उनी पछि हट्थिन् ।
पतिको निधनपश्चात् उनका दुर्दिन सुरु भए । “उहाँ बितेपछि सासूले आफैं गरी खा भन्नुभयो, मानो
छुट्ट्याइदिनुभयो बाबु मलाई, त्यसले मलाई निकै अप्ठ्यारो पार्यो,” उनले त्यतिबेलाको स्मरण गरिन् ।
कलिलै उमेरमा सेतो वस्त्र पहिरिनुपर्दा र आफ्नो भविष्य अन्योल भइरहँदा सानी छोरीलाई मातृत्व र पितृत्वको छहारी आफैं एक्लैले दिनुपर्दा उनलाई निकै कष्ट भयो ।
“भर्खरकै उमेरमा पति बित्दा निकै कष्ट हुँदोरहेछ, मैले त अति दुःख सहेँ,” उनले थपिन् ।
रेडियो नेपालको जागिर
पतिको निधनपछि केही समय जसोतसो गुजारिन् । त्यस्तै, २०१४ सालतिर उनी रेडियो नेपाल प्रवेश गरिन् ।
रेडियो नेपालका कर्मचारीहरू देवकोटाकहाँ आउजाउ गरिरहन्थे । त्यसैक्रममा उनले त्यहाँका कर्मचारीसँग चिनापर्ची गरेकी रहिछन् । उनीहरूलाई आग्रह पनि गरेकी थिइन्– यसो जागिरसागिर पाइन्छ कि बुझ्नुस् है !
उनीहरूले नै रेडियो नेपाल छिर्ने बाटो बनाइदिए र सुरु भयो उनको रेडियोमा बोल्ने यात्रा । रेडियोमा बोल्ने भनेपछि सुरुमा उनलाई निकै धक लाग्यो ।
“सुरु–सुरुमा त निकै डर लाग्यो, अगाडि माइक राखिएको छ, कसरी बोल्ने होला भन्ने लागिरह्यो । तर, पछि बानी परेपछि त यस्तै त रहेछ नि भन्ने भयो,” उनको अनुहारको सन्नाटा केही दूर भयो ।
रेडियोमा उनले ‘आधा आकाश’ र ‘ग्रामीण कार्यक्रम’ चलाउँथिन् । कार्यक्रम चलाउने एकजना श्रेष्ठ थरकी साथी थिइन् । उनले भनिन्, “शायद शान्ता हुनुपर्छ । धत् ! कस्तो बिर्सिएछु । उनी र म भएर महिलाका पीरमर्का र गुनासाका बारेमा कुराकानी गथ्र्यौं ।”
रेडियो नेपालको यात्रा ०३१ सालमा टुंगियो । “सुरुमा साथीले छोड्नुभयो, त्यसपछि मलाई पनि यसले मात्रै खान पुग्दैन भन्नुभयो अनि मैले पनि छाडेँ,” उनले भनिन्, “शान्तालाई बाहिर देश गइरहनुपथ्र्यो, त्यसैले छाडेकी होली क्या बाबु ।”
रेडियो नेपालको जागिर छोडेपछि उनले केही समय पत्रिकामा पनि काम गरिन् ।
उनले मदनमणि दीक्षितको ‘समीक्षा साप्ताहिक’मा स्थापनाकालदेखि नै काम गरेकी हुन् ।
“पत्रिकामा करिब १० वर्षजति संवाददाताका रूपमा काम गरेँ,” उनले थपिन्, “त्यसक्रममा महिलालाई घरबाहिर निस्कन निकै कठिन थियो । महिलालाई त गाह्रो थियो, झन् विधवालाई त कस्तो होला ! आफैं अनुमान गर्नुस् । सुरुवातमा त काका (लक्ष्मीप्रसाद)ले नै सहयोग गर्नुभयो । पछि उहाँको पनि निधन भइहाल्यो,” उनी मलिन देखिइन् ।
उनलाई राजनीतिप्रति पनि चासो थियो रे !
“के भन्नु बाबु, प्रधानमन्त्री मातृकाप्रसाद कोइराला पनि हाम्रो घरपरिवारमा आउजाउ गरिरहनुहुन्थ्यो । हाम्रै आफन्त विवाह गर्नुभएको थियो,” उनले भनिन्, “त्यसै कारणले मैले पनि कांग्रेसको झन्डा बोकेँ तर कमिटी–समिटीमा चाहिँ बसिनँ ।”
छोरीको पारिवारिक जीवन सुखद् रहेन
आचार्य थरका ब्राह्मणसँग छोरीको बिहे गरिदिएकी थिइन् उनले । तर, छोरीको पनि घर राम्रो भएन । हेलाहाँसो र उपेक्षाको पात्र बनिन् छोरी पनि । पति समयअगावै बितेको चिन्तामा खाटा नबस्दै छोरीको पीरले जिउ सुक्न थाल्यो उनको ।
“छोरीकोबाट जायजन्म भएन, सन्तान नजन्माएपछि उनको बाहुनले अर्की बिहे गरे, निकै दुःख पाइन् उनले पनि,” उनको अनुहारमा पुनः अन्धकार छायो ।
पतिले अर्की बिहे गरेपछि छोरी अलग्गै बसिन् र पनि मिठूको मन भने शान्त रहेन– मैले दुःख पाएँ त ठीकै छ, छोरीको पनि राम्रो भएन ।
त्यही व्यथाले हुनुपर्छ, छोरीले सदाका लागि छाडेर गइन् । १० वर्षअघि छोरीको निधन भयो ।
छोरीको निधनपछि मिठू नितान्त एक्ली भइन् ।
“आमालाई बूढेशकालमा कसरी पाल्ने होला भनेर पीर लिइरहन्थी, उसले पनि छाडेर गइहाली, म बूढीलाई काल आएन बाबु !”
लुकाउन खोज्दाखोज्दै पनि उनको आँखाबाट तप्प आँसु चुहियो ।
० ० ०
सुरुमा उनी आफ्नै घर डिल्लीबजारमा बस्थिन् । पछि जेठाजुको कपनस्थित जग्गामा घर बनाएर सरिन् । आफूले बनाएको घर अरु कसैले झुक्याएर बेचिदिएपछि उनी बेसहारा बनिन् । आफ्नो नाममा भएको सम्पत्ति सबै अरुले नै लाखापाखा लगाइदिएपछि उनीसँग वृद्धाश्रममा आउनुको विकल्प थिएन । ०६९ वृद्धाश्रम छिरिन् ।
वृद्धाश्रमको बसाइ राम्रै छ रे !
“नराम्रो लागेर पनि के गर्नु ? आफ्नै भाग्य खोटो भएपछि !” उनको अनुहारमा बडो टीठ भाव देखा पर्यो ।
“राम्रै छ, खान बस्नलगायतको सुविधा छ, घरमा बिरामी परेका बेला तातोपानीसमेत तताएर खा भनेर दिने मान्छे थिएनन्, यहाँ भनेको बेला तातोपानी त खान पाइन्छ,” उनले थपिन्, “आफन्त पनि जिउँदै छन् । भाइका छोराबुहारी अमेरिका बस्छन् । मलाई आउनुस् बस्न पनि भन्छन्, तर जाने मन छैन, अब मर्ने बेला के जानु ? आफ्नै देशमा मर्छु, म जान्न कतै ।”
चोलोको फेरले आँसु पुछिन् ।
उमेरमा पटक–पटक विदेशसमेत गएकी मिठु आफ्नो प्राण त्यही वृद्धाश्रममा बिताउन चाहन्छिन् ।
जाँदाजाँदै उनले भनिन्, “दुःखीलाई त कालले पनि बिर्सिंदो रहेछ बाबु !”
No comments:
Post a Comment