Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

माटोमा भगवान !



By  Unknown     11:06 PM    Labels: 


माटोमा उर्वरा हुन्छ, जीवन हुन्छ तर त्यति मात्र होइन माटोमा त ‘भगवान’ पनि भेटिँदो रहेछ !

ललितपुरको ज्वागलको वागमती नदी करिडोर छेउमा पाल टाँगेर भारत कोलकाताका दिलीप बंगालीले माटो मुछेर मूर्ति ठड्याउन थालेको झन्डै २२ वर्ष भइसक्यो ।

हिलो माटोको सहायताले बान्कीपूर्ण मूर्ति बनाउनु र बिक्री गरेर गुजारा चलाउनु उनीहरूको चर्या हो ।

मंगलबार युएन पार्क नजिकै उनको  कारखाना पुग्दा बंगाली माटो मुछ्न मै दत्तचित्त थिए । उमेरले साढे पाँच दशक हिउँद पार गरिसकेको उनको पुर्ख्यौली पेसाचाहिँ मूर्ति बनाउने होइन रे । तर, अहिले उनको परिवारै यो कर्ममा अबिच्छिन्न रूपमा लागि रहेको छ । माटोलाई मूर्तिको आकारमा ढालेर आकर्षक तुल्याउनु र बिक्री गरेर घरको चुल्हो जगाउनु पक्कै सजिलो त छैन ।

तर, बंगाली परिवारले यसैबाट घर गृहस्थी चलाइ रहेको छ ।

नेपाल बस्न थालेको २२ वर्ष हुन आँटिसक्दा पनि बंगाली मुस्किलले नेपाली बोल्छन् । उनको परिवारका अन्य सदस्य त कोही पनि नेपाली बुझ्दा रहेनछन् । हामीसँगको भेटपछि उनले आफ्नो कर्मबारे यसरी खुलाए ।
० ० ०
दिलीपको घर कोलकाता हावडा पुल हो । उनी भन्छन्, “सबैले जानेको हावडा पुल छ नि कोलकातामा हो, त्यहाँबाट आधा घण्टा लाग्छ मेरो घर पुग्न ।”

भारतको प्रशिद्ध व्यापारिक केन्द्र कोलकाता र हावडा पुलमा जन्मिए पनि उनको बाल्यकाल भने सुखद् रहेन, हातमुख जोर्न निकै धौ धौ पर्‍यो । बाबुको ज्याला मजदुरीबाट मात्रै मुखमा माड लाग्ने छाँट नदेखेपछि उनले सानैमा बाटो तताए । बिहान खाए बेलुका के खाउँ, बेलुका खाए भोलि के खाउँको अवस्था भएपछि स्कुल कसरी जानु ? किताबको मुखै देख्नै पाएनछन् । “घरको दुःखले ११ वर्षकै उमेरमा घर छोडेर हिँडे हजुर मैले त,” उनको अनुहारमा औंसीको अन्धकार छायो ।

कुराकानी गर्दा पनि उनका हात खाली थिएनन् । पेरिसको साँचो (मूर्ति बनाउने प्रयोग गरिने भाँडो)मा माटो हालेर हातले सम्याउँदै मसँग कुराकानी गर्थे उनी ।

घर छोडेर हिँडेपछि कामको खोजीमा निकै भौँतारिए । कोलकाता ठूलो ठाउँ, आँखाले नाप्न नसकिने ! काम त अनगिन्ती भेट्टाइन्थ्यो तर उमेर सानै भएकाले उनले अरु काम गर्न सक्ने कुरा भएन । भेट भए गोपाल कोरामनिक ।
कोरामनिक माटोबाट बेजोडको मूर्ति बनाउँथे । उनले बनाएको माटोका मूर्तिहरू लिन दक्षिण पश्चिम भारतको टाढा–टाढा गाउँहरूबाट पनि मानिसहरू आउँथे । ओरिपरि हुने देवी देवताको महोत्सव, मेलाहरूमा त उनको मूर्ति लिनेको तँछाड–मछाड् नै हुन्थ्यो । निकै कहलाएका, मूर्तिका लागि सिद्धहस्त थिए कोरामनिक ।

कोरामनिकले मूर्ति बनाएको घन्टौं हेर्थे उनी । कोरामनिकले माटोसँग खेलेको देख्दा उनको बालसुलभ मस्तिष्क कल्पिन्थ्यो– यसैगरी माटोको मूर्ति बनाउन पाए !

सुरुमा उनले कोरामनिकसँग माटो मुछ्ने कला सिके । कोरामनिकले पनि उनलाई मायापूर्वक मुलायम तवरले माटो मुछ्न पारङ्गत बनाइदिए । त्यसपछि माटोको मूर्ति बनाउन प्रयोग गरिने पेरिसको साँचो बनाउन सिके । एवंरितले उनी मूर्तिकलामा निपूण बन्दै गए ।

“के गर्नु हजुर ! पढेलेखेको थिइनँ, पढेको भए पो राम्रो काम पाइन्थ्यो नपढे पछि त जे भेट्टाइन्छ त्यही काम गर्नु पर्‍यो नि ! तर पनि यो काम गरेकोमा दुःख मनाऊ छैन,” उनले सन्तोषकै स्वास फेरे ।

अनि आइपुगे नेपाल
मूर्ति बनाउन सिकेपछि उनलाई भारत बस्नै मन लागेन । काम गरेर अलिअलि पैसा पनि जम्मा पारेका थिए, त्यही पैसा लिएर नेपाल पो हानिए उनी !

“सुरुमा घुम्न भनेर आएको हुँ, पछि मन नै यतै पो अडियो,” उनी फिस्स मुस्कुराए । सुरुमा अरु काम गर्न नखोजेका पनि होइनन् तर भने जस्तो काम नपाएपछि उनी पुरानै काममा फर्किए ।

मूर्ति बनाएर त बेच्ने तर माटो पो कहाँ पाइन्छ ? फसाद आइलाग्यो उनलाई

कसैले सुनाइदियो– कलकताबाटै माटो ल्याएर मूर्ति बनाएर बेच्न सकिन्छ । यहाँ अरुले पनि त्यसै गरिरहेका छन् ।
यो सुनेपछि उनले पनि त्यसै गरे र कलकताबाट माटो ल्याएर मूर्ति बनाउन थाले ।

छेबैमा थिए छोरा । उनी पनि साँचोमा माटो भरेर कालीको टाउको बनाउँदै थिए । उनले थपे, “साह्रै दुख्याहा पेसा हो यो, डल्ला माटोलाई कुटेर धूलो पार्‍यो,  एक रात पानीमा ढड्यायो, त्यसपछि हात गोडाको सहायताले मुलायम तुल्यायो  र मूर्ति बनाउन प्रयोग गर्‍यो ।”

कसरी बन्छ त मूर्ति ?
माटोबाट सम्पूर्ण शरीरयुक्त मूर्ति एकै पटकमा तयार गर्न सकिँदैन । त्यसमा लागि टाउको, जिउ छुट्टाछुट्टै तयार गर्नुपर्छ । टाउको माटोबाट मात्रै तयार गरे पनि जीउ बनाउन काट, बाँस, पराल, डोरीआदी प्रयोग गर्नुपर्ने दिलीप बताउँछन् । भन्छन्, “जीउ आकर्षक र बलियो देखियोस् भनेर पराललाई डोरीले कसेर आकृति तयार पारिन्छ । काठ र पराल कसेर तयार पारेको आकृतिमा माटो पोतेर मूर्ति बनाउनुपर्छ ।”

उनी थप्छन्, “एउटै मूर्ति बनाउन महिनादेखि डेढ महिनासम्म समय लाग्छ । फेरि झरी र शीतबाट जोगाउन सकिएन भने मूर्ति काम नै लाग्दैन, साह्रै गाह्रो छ हजुर मुर्ति बनाइसक्न !”

माटो सुकेपछि नफुटोस् भनेर निकै मेहनत गरेर मुछ्नुपर्ने बताउँदै दिलीपका छोरा भन्छन्, “माटोमा धानको भुससमेत मिसाइएको हुन्छ ।” माटोमा भुसको मात्रा मिलाउन जानिएन भने मूर्ति चिल्लो र आकर्षक बन्दैन । त्यसैले निकै चनाखो हुनुपर्ने उनीहरू बताउँछन् । त्यसरी तयार भएको मूर्तिलाई देवीदेवता अनुसारको रंग रोगन समेत गर्नुपर्छ । रंग पोतेर मात्रै हुँदैन, बुट्टा हाल्ने र कलात्मक चित्रहरू (जस्तै देवीको मूर्तिमा नरमुण्डमालाआदि) पनि बनाउनुपर्छ ।

मूर्ति  पूर्ण रूपमा तयार भइसके पछि दश देखि २० हजार रुपैयाँ मूल्य तोकिने उनको भनाइ थियो । आफूलाई सम्पूर्ण देवी देवताको मूर्ति बनाउन आउने बताउँदै उनले भने, “यहाँ मेला, महोत्सव, धार्मिक अनुष्ठान, सप्ताह पुराण, दसैं, तिहार, विश्वकर्मा पूजा, राम नवमी, शिवरात्री आदी चाडपर्वमा देवी देवताको मूर्ति खोज्न आउँछन्, हामी त्यही अनुसार बनाउँछौँ ।”

मेहनत गरेर बनाएको मूर्ति भनेको बेला बिक्दैन 
यस पटकको दसैंमा भनेजस्तो मूर्ति बिक्री भएन । दसैंका लागि भनेर उनीहरूले रातभर जाग्राम बसेर मेहनत गरेका थिए । परिवारै लागेर मूर्ति तयार पारेका थिए । निरन्तरको झरी छिचोलेर मूर्ति सुकाउनु सजिलो काम थिएन ।

तर, मूर्ति बिक्री हुँदैन भएन । अघिल्लो वर्ष लाख/डेढ लाखको मूर्ति बिक्री गर्ने उनीहरूले यस पटक त्यसको आधा पनि मूर्ति बेच्न सकेनन् । “पानी पर्‍यो, मेला महोत्सवहरू भएनन्, साथै सधैँ आउने गाहकीहरू पनि खै किन हो मूर्ति किन्न आएनन्,” उनले दुःखेसो पोखे ।

अहिले उनीहरूले तिहारको लागि महालक्ष्मी, महाकालीको मूर्तिहरू तयार पारिरहेका छन् । तिहारमा लक्ष्मीको मूर्ति नै ज्यादा बिक्ने भए पनि कतै कतैबाट महाकालीका पनि अर्डर आएकाले उनीहरू अहोरात्र मेहनत गर्दैछन् । तर, बिक्री होला कि न होला भन्ने चिन्ता उस्तै छ ।

भन्छन्, “दसैंको जस्तै भयो भने त हाम्रो चुल्हो नै बल्दैन !”

उनको कारखानामा दसैंका लागि भनेर बनाएका मूर्तिहरू बग्रेल्ती छरिएका छन्, बिग्रेलान् कि भन्ने चिन्ता उस्तै छ उनलाई ।
० ० ०
उनको परिवार वागमती करिडोरमै बस्न थालेको  २२ वर्ष भइसकेको छ । नेपाल आएदेखि नै उनी यही ओरिपरि बसेका छन् । नेपाल आएको सुरु–सुरुमा त उनी घर जान्थे । तर दश वर्ष यता उनी त्यती घर जाँदैनन् । भन्छन्, “अब त नेपाल नै घर जस्तो लाग्न थालेको छ, उमेर, बल, बैंस यतै सिध्याउन लागियो, बूढो हड्डि बोकेर र के भारत फिर्नू ?”

नेपालसँग झन्–झन् गहिरो नाता गाँसिएको भन्दै भन्छन्, “यत्रो बसियो केही दुःख बेहोरिएको छैन, भारतमा जग्गा जमिन पनि छैन, जग्गा भएको भए माया लाग्थ्यो कि !” तर पनि उनी वर्षमा एक पटकचाहिँ घर जाने गरेका छन् रे । “मूर्तिको लागि माटो मिलाउनका लागि भए पनि घर जानुपर्छ । यता माटो पाइँदैन उतैबाट ल्याउनुपर्छ,” उनले थपे ।

यहाँको माटोले मूर्ति बन्दैन
उसो त काठमाडौं उपत्यका माटाको भाँडा वर्तनका लागि प्रशिद्ध ठाउँ पनि हो । माटाको भाँडाकुडाँ बनाएर जीवन गुजारा गर्ने अनगिन्ति परिवार छन् यहाँ । तर, बंगाली भन्छन्, “यहाँ पाइने माटोमा मूर्ति बन्दो रहेनछ !” उपत्यका र उपत्यका आसपासका ठाउँहरूको कालो माटोमा ढुंगा मिसिएको हुने बताउँदै उनले भने, “मूर्ति बनाउन ढुंगा नमिसिएको पाँगो माटो चाहिन्छ ।”

यहाँ माटो नपाइएकैले उनले भारतको कोलकताबाट माटो झिकाउँदा रहेछन् । भन्छन्, “भारतबाट बोरामा माटो आउँछ, एक ट्याक्टर माटोको झन्डै ३२ हजार बुझाउनुपर्छ । त्यसले दशवटा मूर्ति बनाउन मुस्किल हुन्छ ।”
भारत र नेपाल मिलेकै राम्रो !

बंगालीलाई राजनीतिबारे उति चासो छैन । भन्छन्, “मेरो काम माटो मुछेर मूर्ति बनाउने हो, मलाई त्यही मात्रै थाहा छ, राजनीतिबारे किन चासो राख्नू ?” तर पनि उनलाई लाग्छ – नेपाल– भारत भाइ–भाइ देश हो । छिमेकी हुनुको नाताले मनमुटाव हुनसक्छ तर नमिली सुखै छैन ।

भारतले नाकाबन्दी लगाउँदा उनले पनि सास्ती बेहोरे । “ग्यास नपाएर झन्डै ५ महिना दाउरामा पकाउनु पर्‍यो । हामीलाई पनि अप्ठ्यारो पर्‍यो । सानै कुरामा केटाकेटीजस्तो भारतले गर्न नहुने !,” त्यतिबेला उनलाई भारतसँग औधी रिस पनि उठ्यो रे । “यो देशको लागि चाहिएको संविधान जस्तो चाहिएको त्यस्तै बनाए, भारतले किन टाउको दुखाउनु !,” उनले आक्रोस पोखे ।

अगाडि थप्छन्, “हुन त हामीले भनेर केही हुँदैन हजुर, तर पनि नेपाल र भारत मिलेकै राम्रो । यताका मानिस श्रम गर्न उता गएका छन्, उताका यता आउँछन् । यसले दुवै देशलाई फाइदा पुगेकै छ होइन र ?”

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment