Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

मुटु छुने लुम्लेको हावाले....



By  Unknown     11:46 PM    Labels: 


अक्षर काका । गीत छहराको आवाज हो र पहराको स्वर हो । फगटा/फाँटका गह्रा–गह्रा र रुखका जरा–जरा नचुमेका शब्दमा आममानिसको मन रम्न सक्दैन । जसले चुम्छ, त्यसले सिंगो युगलाई आफूसँगै डोर्‍याउँछ ।
त्यस्तै गीत हो– ‘मुटु छुने लुम्लेको हावाले ।’

पश्चिमाञ्चल जति सुन्दर छ, त्यतिकै बान्कीपूर्ण छ यो गीत । शब्द शब्दमा त्यहाँका डाँडासँग मीत लगाएको र त्यहीँको माटोको संगीत गाएका कारण यो गीत आजपर्यन्त उत्तिकै कर्णप्रिय छ ।

गायकले गीतसंगीत चिनाउँछ र गीतसंगीतले उसको परिचय दिन्छ । हो, ‘मुटु छुने लुम्लेको हावाले’ ले तिलकबम मल्ललाई चिनायो ।

नेपालमा यस्तो गाउँ छैन, जहाँ तिलकबम मल्ल नसुनिएको होस् र ‘मुटु छुने लुम्लेको हावा’ नबजेको होस् ।

लुम्लेको हावाले जसरी मानिसको मन भरंग पार्छ, ठीक त्यस्तै यो गीतले आम स्रोताको मनमा तरंग पैदा गर्छ ।

सञ्चार माध्यमभन्दा परै बस्न रुचाउने मल्लसँग शुक्रबार अचानक जम्काभेट भयो । निकै अन्तरमुखी र कम बोल्न रुचाउने मल्लले आफ्ना केही कुरा हामीसँग बाँडे ।

० ० ०
आजभन्दा झन्डै साढे तीन दशकअघि बाग्लुङ, गल्कोटमा जन्मिएका मल्ल सानोमा अत्यन्तै लजालु स्वभावका थिए । ठकुरी परिवारमा जन्मिएका हुर्किएकाले उनलाई गीत गाउन सुविधा थिएन । ठकुरी परिवार भन्थ्यो– गीत गाउनु, नाच्नु काम राम्रो होइन ।

त्यसैले बाबुआमा सधैं भन्नुहुन्थ्यो– छोरा राम्रोसँग पढ, अन्त मन लगाउने हैन है !

सहिद थिरबम मल्लका पुस्ता थिए उनीहरू । गल्कोटका रैथाने ठकुरी भनेपछि दश गाउँ कहलाएका, कुनै पीर ताप थिएन । तिलकबमको अक्षरारम्भ गल्कोटमै भयो ।

सानैदेखि गीत÷संगीतमा रुचि त थियो तर सिक्ने प्रेरणा थिएन । “ठकुरीको छोराछोरीले पढेर सरकारी सेवा गर्ने, व्यापार गर्ने, कहाँ गीत गाउँदै हिँड्ने भन्नहुन्थ्यो, गीतसंगीत त कसरी सिक्न पाउनु,” उनले जिब्रो काढे ।
घरमा ‘ग्रामो फोन’ थियो, उनी त्यसैमा गीत सुन्थे । त्यसमा कहिले हिन्दी त कहिले नेपाली गीतहरू बज्थे । उनी आश्चर्य मान्थे– कसरी बजेको होला यो ? फेरि कति मीठा गीत बज्छन् !

फत्तेमान, नारायणगोपाल, तारादेवीका गीतहरू उनी घन्टौं सुनिरहन्थे । बालसुलभ मस्तिष्कले कति बुझ्थ्यो होला ! तर पनि उनी ती गीतहरू निकै धैर्यपूर्वक सुन्थे ।

फत्तेमानको ‘यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कहिले कहिले’, तारादेवीको ‘फूलको थुंगा बगेर गयो..’ गीतहरू त उनी दिनको चार–पाँच पटकसम्म सुन्ने गर्थे । तर, यो कुरा घरमा कसैलाई थाहा थिएन ।

प्रारम्भिक शिक्षा गल्कोटमा भए पनि माध्यामिक तह बुटवलबाट पूरा गरे ।

उनले माध्यमिक तह पढ्दा गीत गाएनन् । त्यसैले त्यतिबेलाका सहपाठीहरू अहिले पनि आश्चर्य मान्छन् रे– ‘मुटु छुने लुम्लेको हावाले’ गाउने तिलकबम तिमी नै हौ त ?

कतिले भन्छन्– त्यसरी लजाउने तिलकले कसरी गीत गाउला ?

“म सानोमा अति लजालु स्वभावको थिएँ, किशोरी सहपाठीको त अघिल्तिरै नपर्ने !”

यति भनेर फिस्स मुस्कुराए उनी ।

“म स्कुल पढ्दा मनिटर थिएँ, साथै पढ्नमा जेहेन्दार पनि । पढाइमा तीक्ष्ण भएकैले होला, शिक्षकहरू जहिल्यै भन्नुहुन्थ्यो– राम्रोसँग पढेस् है तिलक, पढेर नाम कमाउनुपर्छ । गीत गाउने त वातावरण नै भएन,” उनले थपे ।

० ० ०
०५३ सालमा उनी उच्च शिक्षा अध्ययनका लागि काठमाडौँमा आए र राजधानीको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इलेक्ट्रिक इन्जिनियरिङमा भर्ना भए । त्यसपछि बल्ल उनलाई गीत गाउने वातावरण मिल्यो । दुई वर्षको होस्टल बसाइ नै गीत संगीत सिक्ने आधार बन्यो उनको ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वर्गीय गायक लोकबहादुर क्षेत्री र प्रवीण गुरुङ प्रस्तुतिका लागि बरोबर आइरहन्थे । होस्टलमा बस्दा राम्रो गीत गाएको देखेर तिलकलाई पनि साथीहरू उक्साउँथे– ओइ तिलक, कलेजको तर्फबाट तँ पनि गीत गा, तेरो स्वर राम्रो छ क्या !

प्रविण र लोकबहादुरले पनि तिलकलाई प्रेरणा दिइरहन्थे– तिम्रो पनि स्वर राम्रो रहेछ, गीत गाऊ र रेडियो नेपालमा स्वर परीक्षा देऊ ।

तर, उनलाई रत्तिभर विश्वास थिएन– ह्या... मेरो स्वर राम्रो छैन, कहाँ स्वर परीक्षा दिनु ?

अग्रजहरूले निकै कर गरेपछि उनले रेडियो नेपालमा स्वर परीक्षा दिए । नभन्दै नाम निस्कियो । २२ सय जनाले स्वर परीक्षा दिएको ठाउँमा उनीलगायत आठ जनाको नाम निस्किएको थियो ।

नाम निस्किँदा सुरुमा त उनलाई विश्वासै लागेन रे । रेडियो नेपालको ढोकामा आफ्नो नाम होकी होइन भनेर तीन पटकसम्म हेर्न पुगे उनी ।

उनी भन्छन्, “नाम निस्किएपछि म त रेडियो नेपालका सरहरूलाई सोध्न पो गएँ– मै तिलकबम मल्लको नाम निस्किएको हो त !

उहाँहरूले हो भनेर विश्वास नदिलाएसम्म त मलाई पत्यारै लागेन, किनभने मलाई मेरो स्वर राम्रो छ भन्ने विश्वासै थिएन ।”

० ० ०
स्वर परीक्षा पास भएपछि गीत गाउने अभिलाषा तीव्र हुन थाल्यो । संयोगवश रेडियो नेपालमा जागिर पनि खुल्यो ।
पहिल्यै उनको मनमा विचार पैदा भइसकेको थियो– आईई उत्तीर्ण गरेपछि रेडियो नेपालमै जागिर खान्छु । त्यसको एउटै कारण थियो– रेडियो नेपालमा जागिर खाएपछि गीत गाउन पाइन्छ ।

०५५ सालको सुरुवाततिर उनले रेडियो नेपालमा प्राविधिकको रूपमा जागिर खाए । तर, पर्‍यो फसाद ! ९६ जनाले आवेदन दिएकोमा पाँच जनाको नाम निस्किएको थियो । त्यसमध्ये परेका थिए उनी ।

प्रत्येक विकास क्षेत्रका लागि एक–एक जना मागिएको रहेछ । उनी पश्चिमाञ्चल क्षेत्रीय प्रसारण केन्द्र पोखरा जानुपर्ने भयो ।

तर, उनी तयार भएनन् । भन्न थाले– पोखरा जानुपर्छ भने त म जागिर खान्नँ । हाकिमहरूले ६ महिनामा सरुवा भएर काठमाडौँ आउन पाइने भनेर ‘कन्भिन्स’ गराएपछि मात्रै उनी पोखरा जान राजी भए ।

पोखरा जानु त महासागरमा फस्नुजस्तै पो भयो ! ०५५ सालमा पोखरा पुगेका उनी ०५९ सम्म त्यहीँ बसे । र, पश्चिमाञ्चलकै ठूलो शैक्षिक केन्द्र पृथ्वीनारायण क्याम्पसमा बीकम तहमा भर्ना भए । त्यहाँ जागिरमात्रै राम्रो भएन, उनको सांगीतिक करिअरले पनि उचाइ लियो । अझ भनौं, अकासियो ।

पोखरा बस्दा दाइहरूले नभनेका होइनन्– त्यति पढेको छस्, हाइड्रो प्रोजेक्ट सम्हालेर बस् ।

तर, मजदुरी, जागिर खाने, हाइड्रोपावर हेर्ने, त्यहाँका मिस्त्री कर्मचारीको रेखदेख गर्नेलगायत कुरामा उनको मन नै गएन ।

बीचमा पोखरा एफएममा लगानी पनि गरे । गीत गाउने मान्छे भएकाले त्यो व्यावसायिक दायरा पनि उचित लागेन र उनले त्यहाँबाट पनि हात झिके ।

०५९ सालमा पोखराबाट काठमाडौं आएपछि परिवेश डिजिटल स्टुडियो खोले । आजभन्दा झन्डै १४ वर्षअघि निकै अत्याधुनिक सुविधासम्पन्न स्टुडियो खोलेका थिए उनले । ट्वान्टी फोर ट्र्याक मेसिनयुक्त स्टुडियो थियो ।

भर्खर–भर्खर चलेको उतिबेला उसलाई अत्याधुनिक प्रविधियुक्त नै मानिन्थ्यो । र, उनी आजपर्यन्त त्यही स्टुडियोमार्फत संगीत साधनामा दत्तचित्त छन् ।

० ० ०
पोखरामा भर्खर ब्यान्ड कल्चर सुरु भएको थियो । उनीभन्दा केही सिनियर दाइहरूले ब्यान्डको सुरुआत गरिसकेका थिए । उनको मनमा पनि ब्यान्ड खोल्ने हुटहुटी जाग्यो ।

पहिलो एल्बम ‘फ्लप
ब्यान्ड खोल्नुभन्दा अगाडि नै उनले ‘परिवेश’ एल्बम निकालेका थिए तर त्यसको लगानी बालुवामा पानी खन्याएसरह भयो, चल्दै चलेन । ०५५ सालतिरकै कुरा थियो यो ।

त्यसबेलाको क्षण सम्झन्छन्, “आमालाई फकाएर ७० हजार मागेको थिएँ, बुबाले त त्यो कुरा सुनेको भए कुरै पर्न दिनु हुँदैनथ्यो । तर, आशातीत भएन ।”

पहिलो एल्बम फ्लप भएपछि उनले सोचे– मैले गीत गाएर खान्नँ, फर्कनुपर्‍यो गीतसंगीतबाट । एक त घरपरिवारको समर्थन पनि छैन, अर्को गीत पनि चल्दैन । उनी निकै निराश भए । रेडियो नेपालको जागिर र गीत गाउन छाडेर हाइड्रोपावरमा जागिर खाऊँ पनि सोचे उनले ।

कालो बादलमा चाँदीको घेरा हुन्छ भनेझैँ एल्बम चलेन तर त्यही एल्बममा समाविष्ट ‘चैते दसैं बाग्लुङे मेलैमा, ज्यादै माया बस्यो नि ख्यालख्यालैमा’ भन्ने गीतचाहिँ निकै चल्यो, गाउँगाउँमा सुनियो त्यो ।

उनले सोचे– लोक परिवेशका गीतहरू मानिसले रुचाउँदा रहेछन् । यो एल्बममा अरु वेस्टर्न गीतहरू थिए र त्यहीमात्रै लोकपप ढाँचाको थियो । त्यसैले होला, त्यस गीतले पश्चिमाञ्चल पिट्यो । मेलापात, गाउँसहर सबैतिर सुनिन थाल्यो । एल्बम नकिन्ने तर त्यही गीतमात्रै मानिसहरूले डबिङ गरेर सुन्न थालेपछि उनले ठाने– वेस्टर्न गीत नचल्ने रहेछन्, अब यस्तै गीत खोज्नुपर्‍यो ।

० ० ०
बी बी अनुरागी, अभिमन्यु विक्रम राणा, डीबी गुरुङ, विशालजित पालिखे, सन्तोष पन्त र सुन्दर थापालगायत मिलेर ‘परिवेश’ ब्यान्ड स्थापना गरे र दोस्रो एल्बमको तयारी गरे ।

पहिलो एल्बमको लोक लय र शब्दको गीत स्रोताले अधिक मन पराएका कारण उनले दोस्रो एल्बममा त्यस्तै शब्द र लयको खोजी गरे ।

उनले साथीहरूलाई भने– यो एल्बममा सबै खर्चको बन्दोबस्त म मिलाउँछु, तिमीहरू मलाई साथमात्रै देओ । त्यसमा साथीहरू सहमत भए ।

गीत तयार भयो । कम्पोज पनि गरे उनले । तर, समस्या भयो एल्बम निकाल्ने रकमको ।

उनले घरमा गएर आमालाई पुनः भने, “यो पटक पहिलाको जस्तो हुँदैन, बिन्ती आमा, यसपटक ८० हजारको बस्तोबस्त गरिदिनुस्, अर्को पटकदेखि दुःख दिन आउँदिनँ ।”

आमाको मन न हो नाइँनास्ती नगरी जुगाड गरिदिइन् ।

पैसा खर्च गरेपछि एल्बम त निस्किहाल्छ नि भनेर उनले म्युजिक नेपालमा गीत रेकर्ड गराए । तर, म्युजिक नेपालले पुनः अत्तो थाप्यो– एल्बम त निकाल्दिन्छौँ तर तपाईंले हजार थान एल्बम आफैंले किन्नुपर्छ ।

आमासँग रोइकराइ गरेर ८० हजार जम्मा गरेका उनले थप ४० हजार कहाँबाट जुटाउनु ? उनी पुनः निराश भए र भौँतारिन थाले ।

त्यतिबेला पप गीतहरू चलेका थिए । त्यसैले होला काठमाडौँका क्यासेट सेन्टरहरूले पनि उनको एल्बम निकाल्न तत्परता पनि देखाएनन् । उनी दिनदिनै क्यासेट सेन्टर धाउँथे र निराश भएर फर्कन्थे ।

त्यसो त उनको गीत चलचित्रमा हाल्ने चर्चा पनि भयो । त्यतिबेलाका नाम चलेका एकजना संगीतकारले उनलाई आग्रह गरे– एल्बमचाहिँ होइन, यो गीत राम्रो रहेछ यसलाई चलचित्रमा राखौं ।

त्यो गीत त्यही ‘मुटु छुने लुम्लेको हावा’ले थियो ।

उनले आफैं एल्बम निकाल्छु भनेर चलचित्रमा राख्न दिएनन् ।

म्युजिक नेपालले एल्बम निकाल्न आनाकानी गरे पनि गीतको चर्चा भने भित्रभित्रै भइरहेको रहेछ । यतिकैमा रञ्जना क्यासेट सेन्टरका जगदिशकुमार श्रेष्ठको कानमा पनि गीत राम्रो भएको खबर पुग्यो ।
प्रतिक्यासेट पाँच रुपैयाँ रोयल्टी दिने, चक्काको कभर बनाउने र डबिङसमेत आफैँ गरिदिने सर्तमा रञ्जनाले एल्बम निकाल्यो ।

रञ्जनाले ‘परिवेश–२’ एल्बम सुरुमा दुई हजार प्रति निकालेको थियो । तर, सास फेर्नै नपाई बिक्री भयो । त्यसपछि चार, छ हुँदै आठ हजार प्रति क्यासेट निकाल्यो । त्यो पनि महिना दिन बित्न नपाई बिक्री भयो । एक किसिमले हारालुछ नै भयो त्यो क्यासेट ! हुँदाहुँदा  रञ्जनाले त्यो एल्बम दुई लाख ६५ हजार प्रति बेच्यो ।
गीतसंगीतको इतिहासमा ‘परिवेश–२’ सबैभन्दा बढी बिक्री भएको एल्बम हो भन्छन् तिलक ।

त्यो एल्बममा अघिल्लो एल्बममा समावेश ‘पहाडे ठिटो, आँटो र पीठो खाएको’ गीत एक नम्बरमा थियो भने दोस्रो नम्बरमा ‘मुटु छुने लुम्लेको हावाले’, तेस्रो नम्बरमा ‘हातमा रुमाल हल्लाउने नानीले’ त्यसपछि ‘ट्याक्सी गुड्यो सरर’ थियो ।

“भाग–१ मा समावेश ‘पहाडे ठिटो, आँटो र पीठो खाएको’ गीत पनि चल्ने अपेक्षा गरेको थिएँ, तर नचलेपछि भाग–२ मा पनि समावेश गरेको हुँ,” उनले थपे ।

नेपालमा त्यो खालको गीत त्यसअघि सुनिएका थिएनन् । त्यसैले त्यो एल्बम अति चल्यो ।
“वास्तवमा त्यो एल्बम आएपछि  नै लोकपपको शब्द सिर्जना भएको हो,” उनी भन्छन्, “हामीले राखेका पनि होइनौँ, सबैले त्यसलाई लोकपपको ‘ट्याग’ पो दिन थाले ।”

‘परिवेश–२’ निस्किएपछि भाग ३ बाध्यताजस्तै भयो उनलाई । पहिलो एल्बम निकालेको एक वर्षपछि उनले दोस्रो एल्बम निकालेका हुन् ।

पोखरा बसाइका क्रममा सरुभक्तसँग उनको निकै हिमचिम बढेको थियो । सरुभक्त गीत सिर्जनामा निकै रुचि राख्ने हुनाले उनले अनुरोध गरे– दाजु, एउटा गीत सिर्जना गर्नुपर्‍यो ।

‘भोटे ताल्चा’ उनैले रचना गरेको गीत हो । र, पछि तेस्रो एल्बमको नाम नै ‘भोटे ताल्चा’ रह्यो । उनी भन्छन्, “सरुभक्त दाइ र म भएर आठ पटकसम्म ‘भोटेताल्चा मारेर छाती’मा गीत रिराइट गरेका छौँ, उहाँ संगीतलाई गहिराइसम्मै बुझेको मानिस हुनुहुन्छ ।”

दोस्रो एल्बमपछि उनको चर्चा यति चुलियो कि, क्यासेट कम्पनीहरू उनलाई खोज्दै पोखरा पुगे ।

पहिलो एल्बम निकै बिक्री भएकाले हुनुपर्छ, रञ्जनाले तेस्रो एल्बम एकमुष्ट पाँच लाखमा किन्यो । तेस्रो एल्बम पनि निकै बिक्री भयो ।

परिवेश भाग–२ र ३ को अपार सफलता पनि देश विदेशमा उनको खोजी हुन थालिसकेको थियो । त्यसैक्रममा मुनलाइट रेकर्डस्का चन्द्रप्रकाश पनि उनलाई खोज्दै पोखरा पुगे र भन्न थाले– तपाईंको भाग ४ र ५ एल्बम मलाई दिनु पर्‍यो । चन्द्रपकाशले दुई एल्बमको लागि १२ लाख दिन राजी मात्रै भएनन् आह्लादित पनि भए ।

“पोखरा विमानस्थलमा अवतरण हुनेबित्तिकै उहाँले मसँग सम्झौता गर्नुभयो, त्यसपछि मात्रै मैले सोचें– हरेश नखाइ अघि बढ्ने हो भने सफलता आफूबाट टाढा भाग्दो रहेनछ,” उनी धित मरुञ्जेल हाँसे ।

त्यस्तै उनको छैटौँ एल्बमचाहिँ देउराली क्यासेट सेन्टरले ६ लाखमा र भाग सात अर्को क्यासेट कम्पनीले ४ लाखमा खरिद गर्‍यो । त्यसबेला क्यासेट बिक्री निकै खस्किएको थियो ।

एल्बम कम्पनीले किन्ने तर त्यसको भिजुअल नबन्ने हुँदा उनी हराए कि भन्ने आशंका नभएको होइन । “टेलिभिजनको पर्दामा नदेखिएपछि कलाकार ओझेल पर्‍यो कि भन्ठानिँदो रहेछ,” उनले थपे ।

यसरी जन्मियो ‘मुटु छुने लुम्लेको हावाले’

पोखरा र बाग्लुङको बीचमा पर्छ लुम्ले डाँडो । पुसको सिरेटोमा मात्र होइन, चैत–वैशाखमा पनि मुटु छुने चिसो हावा चल्ने हुनाले उनी आफैँले त्यही शब्द बटुले । वसन्त याममा ढकमक्क फुल्ने गुराँसले मनै प्रफुल्ल तुल्याउने निकै रमणीय ठाउँ पनि हो त्यो । उत्तरपट्टि माछापुच्छ्रे, पूर्वतिर पोखरा, फेदीमा मोदी खोला बगेको र माथिपट्टि म्याग्दीको पुनहिल पर्छ । पुनहिलमा १६ थरी त गुराँसमात्रै फुल्छन् । त्यस्तै सिकलेस लेकमा पनि थरीथरीका गुराँस मुस्कुराउँछन् । पारिपट्टी घान्द्रुक गाउँ, त्यहाँका किशोरी/युवतीहरूको अनुहारमा जुनेली उज्यालो छाउँछ ! त्यहाँ जो पुग्छ, त्यो घान्द्रुक छाडेर आउनै मान्दैन ।

यी सबै समेटेर गीत गाऊँ भन्ने उनलाई लागिरहन्थ्यो । उनी र विशालजित पालिखे मिलेर त्यही ठाउँलाई गीतमा उतारे र कालजयी बनाए ।

“प्रकृति प्रेमले मात्रै गीत कर्णप्रिय नहोला भन्ने ठानेर माया पिरतीको रंग पनि मिसाएँ, त्यसपछि झनै मीठो सुनियो,” उनको ओठबाट पुनः अचानक हाँसो फुत्कियो ।

० ० ०
पछिल्लो समय उनी गीतसंगीतमै छन्, कतै हराएका छैनन् । भन्छन्, “राजादेखि रैतीसम्म, हिमालदेखि तराईसम्म मेरा गीत सबैले गुनगुनाउँछन् । मेरा गीतहरू यहाँको माटो र मुटु दुवैसँग जोडिएका छन्, गीतबाट त कसरी टाढा हुनु !”

०६८ सालमा उनले रेडियो नेपालको जागिरे यात्रा बिट मारे । ०७० सालमा विशिष्ट श्रेणीको गायकको उपाधि पाए । यो वर्षमात्रै दर्जन बढी संघ/संस्थाले उनलाई संगीत साधकका रूपमा सम्मान गरेका छन् । २७ भन्दा बढी देशमा सांगीतिक प्रस्तुति देखाउन पुगेका उनले अन्तिममा भने, “गीतसंगीत मेरो शिरा हो, मृत्युपर्यन्त चलिरहन्छ ।”

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment