Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

जीवन खेलसँग साटें



By  Unknown     11:55 PM    Labels: 


म मुस्लिम परिवारमा जन्मिएकी हुँ । काठमाडौंको डल्लुमा जन्मिएर त्यहीँ हुर्किएको भए पनि घरायसी फलामे अनुशासन पार गर्ने अवस्था थिएन । मुस्लिम परिवार, त्यो पनि उतिबेलाको ! बुझ्नुहुन्छ नि कति गाह्रो र अप्ठ्यारो हुन्छ ! बुर्का त पहिरिनु पर्दैनथ्यो, तर त्योभन्दा चर्को सामाजिक बन्धन झेल्नुपर्‍यो । आफ्नो चौघेराभन्दा बाहिर आउन कहाँ पाइन्थ्यो र ! मुस्लिम सोसाइटीको ‘लक्ष्मण रेखा’ काटेर बाहिर निस्कनु भनेको समाजविरोधी चरित्र निर्माण गर्नु ठहरिन्थ्यो । अहिले त त्यसलाई ‘अपराधी’कै दर्जा दिन पछि पर्दैनन् हाम्रो समुदायका मानिसहरू ।

तर, मेरो घरपरिवारले केही कुरा बुझेकाले होला, त्यति ‘टाइट’ गरेनन् । पढ्न लेख्न द्विविधा मान्नु पर्दैनथ्यो, सुविधा नै थियो मलाई । मैले कान्ती ईश्वरी विद्यालय प्याफलबाट अक्षरारम्भ गरें ।

तर, पढ्न कहाँ मन जानु ! सधैंजसो विद्यालय त जाने तर ध्यानचाहिँ अन्तै जाने ।

कहीँ नभएको खेल्न पो रुची लाग्यो मलाई । आफूभन्दा ठूला दाजुदिदीले चौरमा खेलेको, उफ्रिएको देख्दा आफ्नो मन कल्पिन पो थाल्यो, ‘त्यस्तैगरी खेल्न पाए पनि हुन्थ्यो नि आहा !’

शिक्षकहरुलाई भन्थें– ‘म पनि उनीहरूसँगै खेल्छु नि !’

उहाँहरू भन्नुहुन्थ्यो, ‘तिमी पनि खेल्न पाउँछ्यौ, तर अहिले होइन, ठूलो भएपछि ल !’
मेरो मनमा भने तुफानी पैदा हुन्थ्यो । खेल्ने हुटहुटीले सानैदेखि गाँज्न थाल्यो । खै के भएर हो, खेल भनेपछि हुरुक्कै हुन्थेँ म !

प्राथमिक तह उत्तीर्ण गरे । पढ्ने भन्दा समूह बनाएर खेलमा अलमलिने बानीका कारण पढाइ सोचजस्तो राम्रो बनाउन सकिनँ । नराम्रै पनि थिएन पढाइ । र त, गुरु–गुरुआमा भन्नुहुन्थ्यो– मेहनत पुगेन केटी । खेलमा जस्तै पढाइमा पनि मन गर्नुपर्‍यो क्या ! बाआमाको ठूलो चिन्ता छ तिमीप्रति ।

‘आ... होस् न त, ठूलो भएपछि म  खेलाडी नै बन्ने हो क्यारे, पढाइमा मन नगए नजाओस् न त’ आफ्नो मन भने यसै भनिरहन्थ्यो ।

चार–पाँच कक्षामा पढ्दा–नपढ्दै म ब्याडमिन्टनमा पारंगत नै भइसकेको थिएँ । सानैदेखि ब्याडमिन्टनमै रुची थियो मेरो । महिला–महिलाबीच मात्रै होइन, पुरुषहरूको बीचमा पनि म उत्तिकै अब्बल थिएँ । मलाई सम्झना छ– त्यतिबेला अन्तर विद्यालय स्तरीय ब्याडमिन्ट प्रतियोगिता भएको थियो, त्यतिबेला मैले नै प्रथम स्थान हात पारेको थिएँ । गोल्डमेडल जितेको थिएँ मैले ।

त्यसपछि शिक्षक–शिक्षिकाहरूले मप्रति निकै भरोसा र विश्वास गर्न थाल्नुभयो । खेलमा अब्बल भएकाले पढाइमा कमजोर भए पनि कक्षा उक्लन खासै गाह्रो भएन ।
० ० ०
छ–सात कक्षामा पुगेपछि ब्याडमिन्टनबाट मेरो रुची एक्कासि फुटबलतर्फ अघि बढ्यो । छिटो छरितो र ब्याडमिन्टनबाटै खेल कौशलमा पारंगत भइसकेकाले फुटबलमा पनि मैले राम्रै गर्दै थिएँ ।

एक दिनको कुरा हो, स्कुलमा ‘हाफ टाइम’ थियो । हाम्रो लागि खाजा खानेभन्दा महत्वपूर्ण समय थियो त्यो ।

त्यही समयमा हामीले खेल्न पाउँथ्यौं । अघि नै भनिसकें, मेरा लागि खेल्नु खानुभन्दा महत्वपूर्ण थियो । विद्यालय समयमा पढाइबाट फुर्सद मिलेको समयमा मेरो हातमा कि ब्याडमिन्टन हुन्थ्यो कि फुटबल ।

कहिलेकाहीँ त साथीहरू ठट्टा गर्थे– यसले त बिहे पनि फुटबलसँगै गर्छेजस्तो छ, कति साह्रो मस्किएकी हो !
उनीहरूले त्यसो भन्दा ममा बेग्लै उत्साह र उमंग सञ्चार हुन्थ्यो, काउकुती लागेर आउँथ्यो मलाई !

तर,  एउटा नमिठो घटना घट्यो । फुटबल खेल्ने क्रममै लडेर खुट्टा ‘फ्याक्चर’ भयो ।

‘लिजर’को समयमा चौरमा सबै साथीभाइ खेल्दै थियौँ । बल उफ्रिएर स्कुलको माथिल्लो बरण्डामा पुग्यो । साथीहरूले भने– जाऊ न, तिमी छिटो छौ, कुद्दै गएर लिएर आऊ ।

बल लिएर फर्कंदा अचानक भर्‍याङमा बजारिन पुगेँ । नराम्रोसँग खुट्टामा चोट लाग्यो ।

तर, त्यसरी लड्दा पनि मैले घरमा फुटबल खेल्दा लडेर खुट्टामा चोट लाग्यो भनिनँ । भनेको भए म स्कुलै जान पाउँदिनथें या खेल्न सदाका लागि बन्द हुन्थ्यो । मुस्लिम महिला त्यो पनि खेलमा यो कल्पनाभन्दा निकै परको कुरा थियो उतिबेला ।

खुट्टामा चोट लागेको कुरा त लुकाउने कुरा भएन । बाबाममीले आफैं भन्नुभयो– विस्तारै हिँड्न जाने पो नपछारिनु त, ठूलो भइसक्दा पनि चकचक गर्ने बानी गएको छैन !

खुट्टाको चोटले झण्डै दुई वर्ष खेल्न बन्द भयो । खेल्न नपाउँदा र नसक्दा मनमा छटपटी भने भई नै रहन्थ्यो ।

खेलप्रति अगाध आस्था र माया बसिसकेको रहेछ । चटक्क छोड्नुपर्दा कसरी मन अडिन्थ्यो र !

खेल्न नसक्दा अथाह पीडा हुन्थ्यो । त्योबेला घण्टौं रोएको छु म !
० ० ०
मुस्लिम समुदायकी किशोरी भएकाले माध्यमिक तह उत्तीर्ण हुँदानहुँदै १६ वर्षकै उमेरमा विवाह भइहाल्यो । ‘तेरो लागि केटा हेर्न आएको छ, अब विवाह गरेर घरजम गर्नुपर्छ’ भनेर परिवारले भनेपछि जवाफ फर्काउने कुरै थिएन । चुपचाप मानेँ, बिहे भयो । त्यस्तै एक–दुई वर्षमै छोरा पनि जन्मिइहाल्यो ।

बिहे त भयो तर परिवारको भन्दा ज्यादा चिन्ता खेलमा देखियो । दुई वर्ष रोकिएपछि पनि मैले फुटबल खेल्ने क्रमलाई पूर्णविराम लाइसकेको थिइनँ । राष्ट्रिय प्रतियोगितामा समेत भाग लिइसकेको थिएँ ।

कुरैकुरामा एकदिन शिक्षकले भन्नुभएको थियो, ‘सुन्यौ फतिमा ! नेपालमा एक जनामात्र महिला खेलाडी छिन् । गीता राणाले फुटबल खेलेर आफ्नो नाम उँचो राखेकी छन् । तिमीले पनि त्यसरी नै आफ्नो र देशको नाम उच्च राख्नुपर्छ है ।’

तिनै कुरा मस्तिष्कमा तीखो गरी आउँथे । खेलबाट पछाडि फर्कौं कि भन्ने मनमा आउँदै आउँदैनथ्यो, ल्याउनै सकिनँ मैले ।

जीवनमा यस्तो मोड पनि आयो । विवाह गरेपछि आफ्नो घर गरेर खानुपर्ने भयो कि खेल जीवनबाट हात चुठेर जीवनको अर्को बाटो कोर्नुपर्ने भयो । नियति निर्मम हुँदोरहेछ !

मैले अप्ठ्यारो निर्णय लिएँ । आम महिलाको भन्दा भिन्नै निर्णय लिएँ ।

आमाले भन्नुहुन्थ्यो– ‘फतिमा ! तेरो बिहे भइसक्यो । बच्चा पनि जन्मिइसकेको छ तेरो । त्यसैले तैँले अब खेलबाट मन मोड्नुपर्छ । खेल्न छोड्नुपर्छ कुरा बुझ् बाबै !’

अहँ, मैले मानिनँ । खेल र व्यक्तिगत जीवन रोज्नुपर्दा मैले खेल नै रोजें ।

र, मलाई लाग्यो त्यही नै उचित निर्णय थियो ।

हुन सक्थ्यो मैले मेरो निर्णयको बारेमा अरुलाई ‘कन्भिन्स’ गराउनुपथ्र्यो । त्यो नसकेपछि म आफैं मेरो निर्णयमा ‘कन्भिन्स’ भएँ ।

सुरुमा मेरो निर्णयप्रति बाबाआमा निकै चिन्तित हुनुभयो । छोरीको जीवन बर्बाद हुने हो कि भन्ने उहाँहरूको अनुहारको भाव म बुझ्न सक्थेँ । इष्टमित्र, नरनाता र समाजले कुरा काट्दा  उहाँहरूको मन कटक्क खान्थ्यो होला ।

मेरो पनि मनमा आउँथ्यो– एकदिन सबैलाई कुरा बुझाउँछु ।

नभन्दै जीवनको उत्तरार्धमा बाबाआमाले कुरा बुझ्नुभएको थियो । छोरीले ठीक निर्णय लिएकी रहिछे भन्न थाल्नुभएको थियो ।

मृत्युअघि अन्तर्वार्ताको क्रममा बाबाले भन्नुभएको कुरा मेरो मथिंलमा अझै गाढा छ, ‘हामीले प्रेरणा नदिए पनि छोरीले यत्रो प्रगति गरी । हामीले सहयोगै गरेको भए अझै माथि पुग्थी कि !’

आमा पनि निकै खुसी हुनुहुन्थ्यो ।

अनि आइपुगें तेक्वान्दोमा
बाबु सानै थियो । उसलाई स्कुलमा भर्ना गरिसकेकी थिएँ । उसैको स्कुलमा गुरुहरू तेक्वान्दो सिकाउन आउँथे ।
बच्चाहरूले तेक्वान्दो सिकेको म पर बसेर हेर्थें । बाबुलाई पनि मैले तेक्वान्दोमा भर्ना गरिसकेकी थिएँ । मलाई पनि अचानक रहर लाग्यो– तेक्वान्दो सिक्नुपर्‍यो अब ।

सुरुमा त मानिसहरूले अचम्म माने, ‘अँ, तेरो भर्खर बेला भएको छ करातेँ सिक्न !’

तिनीहरूको कुरा म बुझ्थें । उनीहरूले मलाई खिसिट्युरी गरिरहेका छन् भनेर बुझ्न मलाई कुनै अप्ठ्यारो थिएन । तर पनि मनमा बेग्लै अठोट पैदा भइसकेको थियो ।

विवाहपछि फुटबलसँगको नाता नजानिँदो किसिमले टाढा भइसकेको थियो भने तेक्वान्दो मेरो खेल जीवनको मोड हुन सक्थ्यो । अन्ततः तेक्वान्डो मेरो जीवनकै ‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो ।

छोरालाई तेक्वान्दो सिकाउने गुरुलाई नै मैले भने– ‘गुरु, मैले पनि तेक्वान्दो सिक्न सक्छु ?’

उनले खुसीले उत्तेजित हुँदै भने– ‘किन नसक्नु, मज्जाले सक्नुहुन्छ ।’

५० को दशकदेखि मैले तेक्वान्दोको प्रशिक्षण लिन थालेँ । सुरुमा अनेक अप्ठ्यारा नआएका होइनन् । खेल मेरो जीवनको पुँजी बनिसकेको थियो । अनगिन्ती अप्ठ्यारा झेल्दै खेलमा समर्पित हुने कसम खाइसकेकाले जस्तासुकै व्यवधान पन्छाउनै पथ्र्यो, पन्छाउँदै अघि बढेँ ।

‘ह्वाइट बेल्ट’बाट ‘रेड बेल्ट’मा पुग्दानपुग्दै मैले केटाकेटीहरूलाई सिकाउन थालिसकेको थिएँ । प्रशिक्षक भइसकेको थिएँ म ।

हुन त ‘रेड बेल्ट’ले प्रशिक्षण दिन पाउँदैन । मेरो लगनशीलता र मेहनतले गुरुहरू प्रभावित हुनुभयो र मलाई त्यो मौका प्रदान गर्नुभयो । त्यसले मेरो खेल जीवनमा इँटा थप्यो । क्रमशः तिखार्दै लग्यो मलाई ।

विभिन्न प्रतियोगिताहरूमा सहभागी पनि भएँ । बंगलादेशमा भएको ओपन च्याम्पियनसिपमा मैले गोल्ड मेडल नै हात पारेँ । महिला भएकाले अरु धेरै प्रतियोगिता र सेमिनारहरूमा सहभागी हुन सकिनँ ।

हाल म तेक्वान्दोको ‘फिफ्थ डन’ अन्तर्राष्ट्रिय प्रशिक्षक हुँ र मुस्लिम समुदायबाट यो उचाइ हासिल गर्ने पहिलो महिला पनि हुँ । केही विद्यालयरूमा प्रशिक्षण दिन्छु र त्यसैबाट गुजारा चलाइरहेको छु ।

पछिल्लो समय म खुसी छैन । अब केही समयमात्रै मैले हड्डी घोट्न सक्छु, त्यसपछि के गरी हातमुख जोर्ने भन्ने चिन्ताले घर गरिरहन्छ ।

यो स्तरको एक्लो मुस्लिम महिला खेलाडी हुनुपर्दा सुखानुभूति छ र उत्तिकै दुःख पनि लागेको छ । आजको सन्दर्भ र परिस्थितिमा हामीले थुप्रै महिलालाई अगाडि ल्याउन सक्नुपर्‍थ्यो । यसमा हामी चुक्यौँ ।
० ० ०
महिलामा अनेकन हिंसा र दुर्व्यवहार अहिले पनि छ । उनीहरूले चुलो चौकोको चौघेरा तोड्न सकेका छैनन् । मुस्लिम समुदायमा त त्यो अझै भयावह छ । बुर्काभित्रको अन्धकार चिरेर उनीहरूको उज्यालोमा आउनै सकेका छैनन् । हामी उनीहरूका लागि प्रेरणाको स्रोत बन्नुपर्छ ।

म भन्छु, प्रत्येक महिलालाई तेक्वान्दो प्रशिक्षण दिइनुपर्छ । यसले उनीहरूको आत्मविश्वास बढाउँछ । ‘सेल्फ डिफेन्स’का लागि अत्यन्तै उपयोगी छ यो ।

माथि नै भनिसकेँ, यो उचाइ हात पार्दा पनि म खुसी हुन सकेको छैन । मजस्ता कैयौँ खेलाडी खेल जीवनप्रति सन्तुष्ट छैनन् । राष्ट्रका लागि जीवनभर योगदान दिएरका खेलाडीहरू पनि स्कुलमा प्रशिक्षार्थी भएर खेल सिकाएर गुजारा चलाउनुपरेको छ । खेलको बेलामा खेलाडी सम्झने अरु बेलामा तिनीहरू कहाँ छन् खोजखबर नगर्ने परिपाटीले खेलाडीहरू खेल क्षेत्रबाट विस्थापित हुँदैछन् । सुनेको छु– राष्ट्रलाई पदक जिताएका खेलाडी बालुवा चालेर बाँचिरहेका छन् । कतिपय अरब भूमिमा पसिना बगाउन पुगेका छन् । कतिपय विदेशमा छन् र उनीहरू फर्कनै चाँहदैनन् ।

दुःखका साथ भन्नुपर्छ, तेक्वान्दो प्रशिक्षणका लागि कभर्ड हलसमेत छैन । कभर्ड हल बनाइदिन हामीले राष्ट्रिय खेलकुद परिषद्मा ताकेता नगरेका पनि होइनौं । त्यहाँका पदाधिकारीको कानमा बतास लागे पो !

हामीले धेरै मागेका छैनौँ । खेलमै लागेर बाँच्ने आधार त बनाइदिनुपर्‍यो नि !

खेल क्षेत्रको युगानुकूल र समयसापेक्ष विकास नभई मुलुकको सर्वांगीण विकास कसरी सम्भव हुन्छ ? सरोकारवालाले सोच्ने कि !
प्रस्तुति : अक्षर काका

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment