सबै चामलले अक्षता बन्ने योग्यता राख्दैनन् । सबै अक्षताले निधारमै सजिने सौभाग्य पाउँदैनन् । तर, कोही अक्षता हुन्छन्, जो निधारमा होइन, मनमा टाँसिन्छन् ।
गीत गाएरै सबैको मनमा टाँसिइन चाहने १७ वर्षे अक्षता (अधिकारी) सांगीतिक मन्दिरकी त्यस्तै अक्षता हुन्, जसले यो पुस्ताको संगीतलाई डोर्याउने सपना साँचेकी छन् ।
बामे सर्दानसर्दै गीत–संगीतमा ताते गर्न थालिसकेकी अक्षता अहिलेकी ‘युट्युब सेलेब्रिटी’ नै हुन् ।
रेशमी कपाल । काँक्राको चिरोजस्तो बान्कीलो शरीर । शिखरित हुँदै गरेको करिअर । उनको स्वरका पारखीहरूले तुलना गर्छन्– यी त नेपालको सेलेना मारिया गोमेज पो हुन् । सन् १९९२ मा अमेरिकामा जन्मिएकी गोमेजको जादुमयी स्वरमा जसरी स्रोता/दर्शक लट्ठिन्छन्, अक्षताको तिलस्मी स्वरबाट आह्लादित हुनेको ठूलै पंक्ति छ नेपालमा !
‘कृपा अनप्लग्ड जुनियर’मा उनको प्रस्तुति हेरेर पुलकित नहुने र युट्युबमा ‘झिलिमिली रातमा’ भिडियो नहेर्ने युवापुस्ता भेट्नै मुस्किल छ ।
‘झिलिमिली रातमा’ गीत युट्युबमा ३३ लाखभन्दा बढीले हेरिसकेका छन् ।
गीत–संगीत दुनियाँकी उदीयमान नक्षत्र अक्षतासँग हाम्रो जम्काभेट भयो । जीवनको पर्यायजस्तै बनिसकेको गीत–संगीत करिअरका केही प्रसंग उनले ‘बाह्रखरी’लाई सुनाइन् ।
० ० ०
अंग्रेजीमा एउटा भनाइ छ, “तपाईं त्यही बन्नुहुनेछ, तपाईं जेका लागि बनाइनु भएको हो !”
अक्षताको जीवनमा पनि यो ठ्याक्कै मिल्छ । ‘टडलर’ कक्षामा पढ्दादेखि नै उनी संगीतलाई माया गर्न थालिसकेकी थिइन् । शिशु कक्षाका पाठ्यवस्तुमा राखिएको ‘राइम्स’ गाउँदा शिक्षकशिक्षिका अड्कल काट्थे– यिनको सांगीतिक यत्न देख्दा लाग्छ, यिनी गीत–संगीतको अमूल्य रत्न बन्नेछिन् ।
अक्षरारम्भसँगै गीत–संगीत पनि आरम्भ भयो उनको ।
कक्षा शिक्षिकाले गीतका चक्का किनेर कक्षामा अक्षतालाई गाउन लगाउँथे । यसले उनमा संगीतप्रतिको मोह त बढायो नै, गीतसँगको उठबस झनै घनिभूत बनायो । ‘आहा ! कस्तो राम्रोसँग गीत गाइन् अक्षताले’ भन्दाभन्दै पत्तै नपाई उनमा गीत गाउने लत बस्यो ।
एउटा रमाइलो प्रसंग छ–
कक्षा ३ मा पढ्दा स्कुलबाट ‘फिल्ड ट्रिप’ लगिएको थियो । उनीसँगै गाडीमा थुप्रै विद्यार्थी थिए । बसमा शिक्षक/शिक्षिका पनि थिए ।
सहपाठीहरूले भन्न थाले, “अक्षताले राम्रो गाउँछिन्, ल ! अन्ताक्षरी खेलौँ ।”
गाडीमा समय कटाउने राम्रो बहाना थियो अन्ताक्षरी । उनी ब्रायन एडम्सलाई राम्रो सुन्थिन्, एडम्सका अधिकांश गीत उनका कर्णप्रिय थिए ।
अन्ताक्षरीमा उनले ब्रायनको ‘एभ्रिथिङ् आई डु’ गीत निकै मीठो गाइन् । शिक्षिका प्रिया साहलाई औधी मन परेर मोबाइलमा रेकर्ड गरिन् र रिङ टोन नै बनाइन् । अरु शिक्षकहरूले पनि स्वरको निकै तारिफ गरे । साहले नै स्कुलको एउटा कार्यक्रममा आग्रह गरिन्, “अक्षता तिमी राम्रो गाउँछ्यौ, यहाँ पनि एउटा गीत तिमीले नगाई हुँदैन ।”
उनको पहिलो ‘स्टेज पर्फर्मेन्स’ थियो त्यो ।
त्यसपछि स्कुलका हरेक कार्यक्रममा उनले मञ्च पाउन थालिन् । र, गायनकलामा अझ निखार थपिँदै गयो ।
पारिवारिक विरासत
‘म त लालीगुराँस भएछु’, ‘मलाई छोडी मेरो माया’ लगायत कालजयी गीतका रचनाकार स्व. क्षेत्रप्रताप अधिकारीकी नातिनी हुन् उनी ! यसर्थ गीतसंंगीत उनको ‘पारिवारिक विरासत’ हो ।
उनले हजुरबुबासँग घुलमिल हुने मौका भने पाइनन् ।
“जीवनको उत्तराद्र्धमा पुगिसक्नुभएका हजुरबुवाको शब्द गहिराइमा डुबुल्की मार्ने क्षमता नै मसँग कहाँ थियो, तैपनि गाउने प्रेरणा–पात्रको रूपमा मैले उहाँलाई नै लिन्छु,” निधार खुम्च्याउँदै अनुहार अघिल्तिर आएको कपाल सर्लक्क पछाडि फर्काइन् ।
केही बेरपछि उनले थपिन्, “हजुरबुबा प्रायः एक्लै बस्न रुचाउनुहुन्थ्यो । मैले देख्दा पनि उहाँ आफ्नै सुरमा हुनुहुन्थ्यो ! ‘कृपा अनप्लग्ड’मा पनि मैले हजुरबुवाकै ‘तिमीले त होइन’, ‘म त लालीगुराँस भएछु’ गीत गाएकी थिएँ । त्यो थाहा पाएपछि उहाँ निकै खुसी हुँदै भन्नु भएको थियो– राम्रो गाउँदी रहिछ्यौ निरन्तरता देऊ है । हजुरबुबाले समेत स्वरको प्रंशसा गरेपछि अबचाहिँ गीत गाउन सक्छु जस्तो लाग्यो मलाई ।”
यति भनेपछि अक्षताको अनुहारमा जुनेली कान्ति छायो । पुलकित देखिइन् ।
कुरैकुरामा मैले सोधेँ, “लालीगुराँस देख्नु भएको छ ?”
उनले जवाफ दिइन्, “छैन ।”
र, पनि उनलाई त्यो गीत गाउँदा हृदय भरिएर आउँछ रे ! छातीमा देशको माया उर्लिएजस्तो लाग्छ ।
० ० ०
उनी कक्षा ९ मा पढ्दा ‘कृपा अनप्लग्ड’ (सांगीतिक प्रस्तुतिसहितको टेलिभिजन शो) सुरु भयो । त्यसको निर्माता ‘कृपा स्टुडियो’ थियो भने निर्देशकचाहिँ उनकै बुवा अमनप्रताप अधिकारी थिए । त्यहाँ नाम चलेका र ठुल्ठूला कलाकार आइसकेका थिए । उनले सोचेकी पनि थिइनन्– म ‘कृपा अनप्लग्ड’मा जान्छु र प्रस्तुति देखाउँछु ।
बुवाले ‘कृपा अनप्लग्ड जुनियर’ शो तयार पारेका थिए । कलाकार छनोट गर्ने क्रममा उनी पनि परिन् । ‘तराई टेलिभिजन (टीटीभी)’बाट शो प्रशारण भएको थियो । ‘कृपा अनप्लग्ड’मा प्रस्तुति देखाएपछि उनलाई नचिन्ने कोही भएनन् । उनको प्रशंसा चौतर्फी चुलियो ।
पछिल्लो समय उनी युट्युब च्यानलमा धेरै हेरिनेमध्ये पर्छिन् । उनका गीतहरू धेरै रुचाइकामा पर्छन् । तर, सानै उमेरमा यस्तो सफलता उनको कल्पनाभन्दा बाहिरको कुरा हो । र त, उनलाई घरिघरि लाग्छ– यत्रो प्रशंसा कसरी कमाइरहेकी छु ?
उनले कहिल्यै सोचेकी थिइनन् कि उनी नेपाली गीत पनि गाउन सक्छिन् । प्रायः पश्चिमी गीत सुनिरहने बानीका कारण नेपाली गीत उनको रोजाइमा त्यति पर्दैनथे ! तर, उनी नेपाली गीत–संगीत गाएरै ‘हिट’ भइन् ।
‘झिलिमिली रात’ले बनाइदिएको झिलिमिली
अक्षता गीत–संगीत सिक्दै पनि छिन् । हाल उनी ‘सिर्जना कलेज अफ फाइन आर्टस्’मा संगीत विषय लिएर अध्ययन गरिरहेकी छन् । अध्ययनका अतिरिक्त उनी साधना पनि उत्तिकै गर्छिन् ।
कलेज जाँदा आउँदा किशोर युवाहरूले देखेर चिने भने ‘झिलिमिली रातमा’ गाउन थालिहाल्छन् । सन् २०१४ मा उनले गाएको तिहारको गीत ‘झिलिमिली रातमा’ले अक्षतालाई अलि बढी चिनाइदिएको हो । त्योभन्दा अगाडि नै उनले ‘तिम्ले त हैन’ बोलको गीत गाएकी थिइन् । त्यो गीत पनि अत्यधिक मन पराइयो ।
गीत गाउन लगाएपछि धरधरी रोएँ
एक हप्ताअघिको कुरा हो–
दिदीका छोराको पास्नीमा आमन्त्रण गरिएपछि उनी चितवन गएकी थिइन् । पार्टीमा थुप्रै आमन्त्रित थिए । र, अधिकांशलाई थाहा थियो– अक्षताको स्वर निकै सुरिलो छ ।
अक्षता आउने भनेपछि अघिल्लो दिनदेखि नै माइक र साउन्ड सिस्टम ल्याएर तम्तयार राखेका रहेछन् उनीहरूले । अक्षता पुगेपछि सबैले भन्न थाले, “तिम्ले गीत नगाई हुँदैन । यहाँ सबै तिम्रो गीत सुन्न आतुर छन् ।”
पार्टीको रमझममा हराउन र सांगीतिक थकान मेटाउन पुगेकी उनलाई सबैले ‘गीत गाऊ’ भन्दै कर गर्न पो थाले । उनलाई के गरौँ र कसो गरौँ भयो । अचानक उनी त रुन पो थालिछिन् !
“पार्टीमा रमाइलो गर्न भनेर गएको, सबैले नगाई हुँदैन पो भन्छन्, के सोचेर हो– म त रुन पो थालेछु,” उनले अट्टहास छोडिन् ।
त्यो क्षण सम्झँदा किन त्यसो गरेँ हुँला भनेर उनलाई अहिले पनि अनौठो लाग्छ !
० ० ०
कलेजमा सामान्य विद्यार्थीसरह नियमित अध्ययन गर्न जान्छिन् अक्षता । प्रायःले उनलाई अक्षता हो भनेर थाहा पाउँदैनन्, साथीजस्तै व्यवहार गर्छन् । तर, जब उनलाई गीत गाउने अक्षता हो भनेर चिन्छन्, त्यसपछि वाल्ल परेर हेर्छन् ।
उनका नजिकै अर्का साथी थिए, सरगत श्रेष्ठ । उनले भने, “हामीलाई त साथीजस्तै लाग्छ । निकै हँसिली र मिजासिली छिन् । अध्ययनबाट फुर्सद मिल्नेबित्तिकै हामी सँगै गाउँछौँ । कक्षाको माहोलै अर्कै हुन्छ ।”
केही समयअघि अक्षता बाटोमा हिँड्दै थिइन्, एक युवक ‘अक्षता...’ भन्दै चिच्याउँदै आए र भन्न थाले, “मलाई अटोग्राफ देऊ न प्लिज !”
उनले झोला त बोकेकी थिइन् तर कलम थिएन । साथीलाई पनि सोधिन्, उनीसँग पनि रहेनछ । अन्तिममा उनले ‘यस्तै हो साथी, अटोग्राफ नपाए पनि गीतचाहिँ सुन्दै गर’ भनेर बाटो लागिन् ।
“यस्ता घटना त कति हुन्छन् कति, सायद सेलिब्रेटी लाइफका इन्सिडेन्ट होलान्,” ओठ खोल्दा आपसमा तारले बाँधेका दाँत देखिए ।
० ० ०
उनले स्वरूपराज आचार्यसँग पहिलोपटक गीत गाएकी थिइन् । ‘मन मोहिनी’ एल्बमका लागि चार लाइन गीत गाएकी थिइन् सन् २०१५ तिर ।
स्वरूपसँग गीत गाउनु नै ठूलो कुरा थियो । गीत गाइसकेपछि स्वरूपले ३ हजार रुपैयाँ थमाइदिए । अक्षताका लागि साह्रै खुसीको क्षण थियो त्यो ।
पैसा पाउँछु भनेर उनले सोचेकी थिइनन् । स्वरूपले सुझाव पनि दिए, “जसको गीत गाउँछ्यौ, जति हुन्छ, पारिश्रमिक लिएर मात्रै गाऊ ।”
हालसम्म उनले २० भन्दा बढी गीत गाइसकेकी छन् । त्यसमध्ये अमन प्रधानसँग गाएको ‘नेपाल बन्दको बन्दी’ बोलको गीत व्यावसायिक हिसाबले गाएको पहिलो हो । गीतको रचना उनकै हजुरबुवा क्षेत्रप्रताप अधिकारीले गरेका थिए । राहुल प्रधानले सुरुमा उनलाई गीतमा मोडलिङ गर्नमात्रै भनेका थिए । तर, अक्षताले पनि गीत गाउँछिन् भन्ने थाहा पाएपछि नगाई धरै दिएनन् ।
अमन र अक्षताले सन् २०१४ मा ‘मन’ भन्ने गीत गाएका थिए । त्यो गीतले त्यही वर्षको १६ औं ‘टुबोर्ग इमेज अवार्ड’मा ‘बेस्ट भोकल पर्फर्मेन्स फिमेल पप अवार्ड’ हात पार्यो । त्यो नै उनको पहिलो अवार्ड हो ।
० ० ०
संगीतका अतिरिक्त उनलाई रुचि लाग्ने क्षेत्र मनोविज्ञान, ग्राफिक्स डिजाइन हुन् । संगीतसँगै यी विषयलाई पनि अगाडि बढाउने उनको लक्ष्य छ । भन्छिन्, “संगीत त मेरो जीवनै भइहाल्यो तर जीवनलाई अघि बढाउन अरु कुराहरू पनि आवश्यक हुन्छ नि !”
बुवाआमा निकै ‘सपोर्टिभ’ छन् उनका । संगीत साधनाका लागि उत्प्रेरणा थप्नेदेखि आवश्यक सामग्रीको जोहो गर्दिनेसम्म बुवाआमाले गरिरहेका छन् ।
“बुवाआमाले यति नसघाएको भए र यसरी नडोर्याएको भए म गाउन सक्दिनथेँ होला,” उनको अनुहारमा अतिरिक्त खुसी छायो ।
उनी पियानो पनि बजाउँछिन् । गितार र ड्रम बजाउन पनि आउँछ । पछिल्लो समय ‘लुप स्टेसन’ सिक्दैछिन्, जहाँ साउन्ड हालेर आफैँ ट्र्याक बनाउन र हार्मोनाइज गर्दै गाउन सकिन्छ ।
“लुप स्टेसनमा निकै इन्जोय फिल गरिरहेकी छु,” उनले थपिन् ।
उनी शास्त्रीय संगीतकी विद्यार्थी हुन् । उनलाई भेट्रान गुरुहरूले संगीतको सरगम सिकाउँछन् । ती गुरुहरूको संगीतकला र सिकाउने तरिका देख्दा उनी अचम्मित हुन्छिन् । मनैमन सोच्छन्, “यस्ता मुर्धन्य स्रष्टाहरू किन ओझेलमा पर्दा हुन् ?”
अनि, आफैँ निष्कर्ष निकाल्छिन्, “मैले जान्न र सिक्न त धेरै बाँकी पो रहेछ !”
कुराकानी बिट मार्दै अक्षताले भनिन्, “वेस्टर्न म्युजिकको तुलनामा शास्त्रीय संगीत निकै भास्ट छ । मलाई पनि त्यस्तै गहन गीत गाउन मन छ तर के गर्नु, बजारमा चटपटे संगीत सुन्नेको बाहुल्यता छ !”
No comments:
Post a Comment