Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

‘नारायणहिटी बेचेर खाने राजा महेन्द्र के को राष्ट्रवादी ?’



By  Unknown     8:31 PM    Labels: 

विसं २०१५ साल फागुनमा प्रतिनिधिसभाका १०९ सिटका लागि भएकोे निर्वाचनमा नेपाली कांग्रेसले ७४ स्थानमा विजय हासिल गर्‍यो । दुई तिहाइ स्थान पायो कांग्रेसले ।  तर, तत्कालीन राजा महेन्द्रले निर्वाचनको परिणाम घोषणा भएको दुई महिना बित्दा पनि मन्त्रिपरिषद् गठनका लागि आह्वान गरेनन् ।

निर्वाचन परिणाम घोषणा भएको दुई महिना हुँदा पनि निर्वाचित मन्त्रिपरिषद् गठन नभएपछि नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गर्‍यो र संसदीय दलको नेतामा विश्वेश्वरप्रसाद कोइरालालाई सर्वसम्मत चयन गर्‍यो । त्यसपछि राजाले बीपीलाई सरकार गठनका लागि आह्वान गरे ।

विसं.२०१६ जेठ १३ मा विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा मन्त्रिमण्डल गठन भयो ।
बीपीको नेतृत्वमा सरकार बनेदेखि नै राजा महेन्द्र उपयुक्त अवसरको खोजीमा थिए – कसरी बीपी कोइरालालाई अपदस्थ गर्ने र कांग्रेसको नामोनिसान मेट्ने !

फागुनदेखि वैशाखसम्म निर्वाचन भएको थियो । निर्वाचन सम्पन्न भएदेखि नै बजारमा हल्ला चल्न थालिसकेको थियो – राजाले सरकार गठन गर्न देलान् र ? महेन्द्रको मथिङ्गलमा प्रजातन्त्रलाई कसरी समाप्त पार्ने र कांग्रेसलाई बडार्ने भन्नेमात्रै थियो । र, त्यसको सुइँको सबैले पाइसकेका थिए ।
त्यसको ठीक विपरीत भर्खर ल्याएको शिशु प्रजातन्त्रलाई सुदृढ तुल्याउन सकिन्छ र राम्रो व्यवस्था निर्माण गर्न सकिन्छ भन्नेमा बीपी दत्तचित्त देखिन्थे । केही राम्रा कामको थालनीसमेत बीपीले गरिसकेका थिए ।

राजा, संसद् र माथिल्लो सदनको भूमिका के हुन्छ भन्ने प्रष्ट्याउँदै जनप्रिय बजेट निर्माण गरेका थिए, विकासको केही सुरुआत भएको थियो । ०१६ सालको अन्तिम र १७ सालको सुरूमै बजार हल्ला चल्न थालिसकेको थियो – राजाले कुनै पनि बेला सत्ता हत्याउँछन् र प्रजातन्त्र खतरामा पर्छ !
त्यसको कारण थियो – राजाले नेपालगञ्जमा गएर भाषणै गरे कि यो सरकार ठीक ढंगबाट सञ्चालन भइरहेको छैन, जनता सरकारबाट सन्तुष्ट हुन सकेनन् ।

गल्लीगल्लीमा पुष एक गतेको चर्चा हुन थालिसकेको थियो । राजा महेन्द्रले शासकीय बागडोर आफ्नो हातमा लिँदैछन् भन्ने हल्ला नपुगेको ठाउँ थिएन ।

नेताहरूले पुस १ गतेलाई कसरी हेरिरहेका थिए त्यो मलाई थाहा छैन तर कोही नेता त्यसबाट अनभिज्ञ थिएनन् । बेलायतकी महारानीलाई नेपालमा आमन्त्रण गरिएको थियो । उनी आएर नजाउञ्जेलसम्म राजाले सत्ता हत्याउँदैनन् भन्नेमा सुवर्णसमशेर ढुक्कजस्तै थिए । उनी ठाउँठाउँमा भन्दै हिँड्थे– बेलायतकी महारानीको भ्रमणसम्म राजाले कुनै स्टेप चाल्दैनन्, ढुक्क भए हुन्छ ! तर, अरू मानिसहरूचाहिँ पुस १ गते नै राजाले ‘कु’ गर्छन् भन्नेमा त्रस्त थिए ।

२०१७ पुस १ गते थापाथलीमा  नेपाल तरुण दलको अधिवेशन आह्वान गरिएको थियो । म केन्द्रीय सदस्य भएकाले मञ्च अगाडिको अगिल्लो पंक्तिमै थिएँ । देशभरका तरुणमात्र नभई देशका अधिकांश ठाउँका कांग्रेस नेता–कार्यकर्ता कार्यक्रममा सहभागी हुनआएका थिए । बीपी कोइराला, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई मञ्चमै थिए ।

बिहानदेखि नै नेता कार्यकर्ताको जमघट हुनथाले पनि कार्यक्रम सुरु हुँदा दसएघार बजिसकेको थियो । कार्यक्रम चलिरहँदा एकजना बडी गार्डले आएर बीपीको कानमा खासखुस गर्‍यो । कानेखुसीपछि बीपी बेलाबखत मञ्चको दायाँबायाँ हेर्थे । ‘कु’को हल्ला भएपनि हामीले केही छनक पाएका थिएनौँ । त्यसैले म अचम्म पनि भएको थिएँ – किन त्यसरी हेरेका होलान् बीपीले !

बीपीले बोलिसकेका थिए । उनले भाषणमा पनि देश विकास, पार्टी गतिविधि, तरुणको दायित्वको बारेमा मात्रै कुरा राखेका थिए । राजाले चाल्नसक्ने सम्भावित कदमको बारेमा केही उच्चारण गरेका थिएनन् ।

मञ्चमा कांग्रेस महामन्त्री श्रीभद्र शर्मा बोल्दै थिए । दुई तीन जना जर्नेल र केही सैनिक अधिकृतहरू मञ्चमा देखा परे र केही भन्दै नभनी सरासर मञ्चमा पो चढे ! सुरुमा बीपीलाई सलाम गरे । र, खल्तीबाट कागजको चिर्कटो निकालेर थमाए । पुर्जी पाएपछि बीपीसँगै कृष्णप्रसाद र सूर्यप्रसाद पनि निस्किए ।  गणेशमान सिंह चाहिँ मञ्चमै आनाकानी गरिहेका थिए । जर्नेलले औँला देखाएरै इसारा गरे – तपाईं उठ्नुहोस् भनेको सुन्नु भएन !

मञ्चमा भाषण गरिरहेका श्री भद्र शर्मालाई चाहिँ  जर्नेलले ‘तपाईं आफ्नो काम गर्नुहोस्’ भनेर केही पनि गरेनन् ।

के भयो, कसो भयो भनेर हल्ला खल्ला हुन थाल्यो । बीपी, गणेशमानलगायत नेतालाई सेनाको टुकडीले लिएर गएपछि मात्रै थाहा भयो – उहाँहरू गिरफ्तार पो परिसक्नुभएछ ! जीपको पछाडि बीपीहरू र अगाडि सेनाका जर्नेलहरू बसेका थिए ।

लौ बीपी गिरफ्तारमा पर्नुभयो भन्दै अधिवेशनमा सहभागिहरू भागभाग गर्न थाले । सञ्चालकले अधिवेशन स्थगित भएको जनाउ दिए ! अधिवेशन स्थललाई सेनाको ठूलो समूहले घेराबन्दी गरेको रहेछ । सीआईडी डीएसपीभित्रै रहेछ । त्यसले अधिवेशन स्थलभित्रैबाट एकजनालाई पक्राउसमेत गर्‍यो ।

नेता कार्यकर्तामाथि पनि धरपकड हुन थालेपछि हामी पनि लाखापाखा लाग्यौँ । हामीलाई थाहा थिएन बीपी, गणेशमानलगायतलाई कहाँ राखिएको थियो ?

श्रीभद्र शर्मा पनि पक्राउ पर्थे तर मञ्चमा भाषण गरिरहेका उनलाई जर्नेलले चिन्दै चिनेन् । उनको घर भने सेनाले त्यसअघि नै घेराबन्दी गरिसकेको रहेछ !

कार्यक्रम स्थलमा अरू मन्त्री पनि थिए । तर, मञ्चमा बसेका शीर्षस्थ नेताहरूमात्रै पक्राउ परे । हामी किंकर्तव्यविमूढ भएका थियौँ । पक्राउ परेकाहरूलाई कहाँ राखिएको थियो केही थाहा थिएन । पछि बुझ्दा उहाँहरूलाई सिंहदरबारभित्र बरफबागमा राखिएको रहेछ !  र पनि उहाँहरूको के अवस्था छ बुझ्नै सकिएन ।

पक्राउ नपरेका मन्त्रीहरू किन भागेनन् ?
मलाई अहिलेसम्म अचम्म लागिरहेको छ, चार नेता पक्राउ पर्नासाथ उनीहरू मञ्चबाटै किन भागेनन् ? या दुई तीन दिनभित्रै उनीहरू अलप हुनसक्थे, त्यसमा पनि उनीहरूको बुद्धिमत्ता देखिएन !

मुक्ति सेनाका धेरैजसोलाई प्रहरीमा समायोजन गरिएको थियो । उनीहरूले असहयोग गर्लान् भन्ने ठानेर त्यही राति नै सेनाले शपथ गराएछ । ‘हामी जुनै अवस्थामा राजाको कदमलाई सहयोग गर्छौं’ भन्ने वचन पाएपछि मात्रै सेना ढुक्क देखियो । त्यसपछि सेना र पुलिसको डफ्फाले धरपकड सुरु गर्‍यो । अनिमात्र सबैजसो मन्त्री र केही नेता कार्यकर्ता पक्राउ परे ।

१९ गतेको दिन बिहानै मकहाँ सरोज कोइराला दुई जना तरुणका साथीलाई लिएर आएका थिए । पक्राउ परिने भयले मेरो कोठामा आएका थिए, सायद !

म त्यतिबेला असनबहालको भित्रपट्टि बस्थेँ । कोइरालाले रेडियो पनि साथमै बोकेका थिए । भन्न थाले– कयौं दिनदेखि सुत्न पाएको छैन । एकछिन सुत्छु, तीनबजेतिर उठाइदिनु ।

दिउँसो तीन बजे राजाले मन्त्रिपरिषद् गठन गरेको समाचार रेडियो नेपालले फुक्यो । गृहमन्त्रीमा विश्ववन्धु थापा नियुक्त भए । कोइराला र थापा अत्यन्तै मिल्ने साथी थिए । गृहमन्त्री बनेनन् भने बुझाउनु पर्ला भनेर उनले १३ पृष्ठ लामो चिठी लेखेका रहेछन् । रेडियोले गृहमन्त्रीमा थापाको नाम फुकेपछि उनले त्यो चिठी त्यहीँ च्यातचुत पारे ।

अब यहाँ बस्नुहुँदैन भन्दै कोइराला त्यसको भोलिपल्ट बाहिर गए । सुवर्ण शमशेर त भारतमै थिए । चारजना पक्राउ पर्नेबित्तिकै अरु मन्त्रीहरू भागेको भए परिस्थिति अर्कै हुन्थ्यो । राजालाई त्यति आँट आउने थिएन । किन निरीह बने मन्त्रीहरू ?

राजाको ‘कु’ त्यति लामो होला भन्ने कांग्रेसका नेतालाई लागेको थिएन तत्कालीन राजा महेन्द्रको मनोविज्ञान बुझ्न नसक्नु, षड्यन्त्रको तानाबुनालाई नजरअन्दाज गर्नु नै कांग्रेसको मुख्य कमजोरी बन्यो ।

त्यस्तै कांग्रेसको मुख्य नेतामा राजनीतिक सुझबुझको पनि कमी देखियो । कांग्रेस कोटरीमै हुर्किएका तुलसी गिरी र विश्ववन्धु थापाको प्रवृत्तिबारे कांग्रेस किन बेलैमा जानकार हुन सकेन ? मलाई आजपर्यन्त खट्किरहेको विषय हो यो । विश्वबन्धु त कोइराला परिवारकै छत्रछायामा हुर्किएका हुन् । विश्वबन्धु ‘चिफ ह्विप’ (मुख्य सचेतक) थिए कांग्रेसका ।

विश्वबन्धुसँगको खटपट
बीपीकै घरमा हुर्किएका हुन् विश्वबन्धु । बीपीका अत्यन्त विश्वासपात्र समेत थिए । सातसालको क्रान्तिपछि कांग्रेस प्रवेश गरेकालाई उनी नेता मान्दैनथे ! विश्वबन्धुको झगडा खासगरी सूर्यप्रसाद उपाध्यायहरूसँग थियो । तीन ठाउँबाट हारेका उपाध्यायलाई गृहमन्त्री दिनुहुँदैन भनेर थापाले बीपीसँग झगडै गरेका थिए । वास्तवमा थापा आफैं गृहमन्त्री हुनुपर्छ भन्ने लबिङमा लागेका थिए । त्यहाँ असफल भएपछि उनी राजालाई सघाउन गएका हुन् । यही कुरा गर्थे सरोज कोइराला ।

यसरी असफल पार्न सकिन्थ्यो पुस १
पुस एक गते हठात् भएको घटना होइन । त्यसका लागि राजाले लामो पृष्ठभूमि तयार पारेका थिए । कतिसम्म भने राजाले ज्योतिषी हेराएर ‘कु’ गरेका हुन् भन्ने कांग्रेस वृत्तमा चर्चा हुने गरेको छ । राजा ‘कु’को तयारीमा छन् भन्ने स्वयम् बीपीलाई पनि थाहा थियो ।

बीपीले आफ्ना सहयोगी, आफन्त र नजिकका मानिसलाई किन त्यसको छनक दिएनन् । राजाले ‘कु’ को तयारी गरिरहेका छन् भन्ने थाहा पाउँदा पनि किन दुई तिहाइभन्दा बढी स्थान ल्याएर विजयी हासिल गरेको मात्रै होइन मुक्ति सेनामार्फत देशै कब्जा गर्न संक्ने कांग्रेस खुम्चिनु पर्‍यो ?
त्यस प्रश्नमा कांग्रेसका केही नेताहरूलाई लागेको रहेछ – राजाले लामोसमय ‘कु’ गर्नै सक्दैनन् !

सुवर्ण शमशेरजीलाई भारत जानुभन्दा अघि नै त्यो कुरा थाहा थियो । त्यही भएर क्याबिनेटका सदस्यहरू पुस २ गतेबाट गाउँगाउँमा जाने तयारीसमेत गरेका थिए ।

राजा महेन्द्रले शासन सत्ता हत्याएको दिन बिहीबार परेको थियो । हाम्रो इलाममा ठूलो हाट बजार लाग्थ्यो त्यो दिन । गाउँगाउँबाट मानिसहरू आएका थिए । संयोगले नेपाली कांग्रेस इलामको मिटिङसमेत त्यही दिन थियो । राजाले ‘कु’ गरेकाले धेरै नेता कार्यकर्ता भेलासमेत भएका थिए ।

त्यहाँ भूतपूर्व सैनिकहरू पनि थिए । केबी भट्टराई इलामका सांसद् थिए । उनलाई त्यहाँ जम्मा भएकाले भन्न थालेछन् – तपाईं एक्सन लिनुहोस्, नेतृत्व लिनुहोस्, इलाम अहिल्यै कब्जा गरौँ । कतिसम्म भने त्यहाँका बडाहाकिम स्वयम्ले खबर पठाएर मलाई पक्राउ गर चाबी लेऊ, कब्जा भइहाल्छ समेत भनेका थिए रे ! भट्टराईले तत्कालै एक्सन लिन सकेनन् । भोलिपल्ट बडाहाकिमको चाबी सरकारले लिइहाल्यो ।

त्यस्तै कुरा विराटनगरमा पनि भयो । कोशु (केशव) कोइराला (बीपीका माइला भाइ)लाई पनि नेताकार्यकर्ताले लौ एक्सन लिऔँ भने । उनले पनि त्यो निर्णय दिन सकेनन् । बेलैमा त्यो निर्णय लिन सकेको भए विराटनगर तुरुन्तै क्याप्चरमा लिन सकिन्थ्यो । स्थायी हुने थिएन होला, हवाई ग्राउन्ड भएकाले केन्द्रबाट तत्कालै फोर्स पुग्न सक्थ्यो र पनि राजाको मनोबल त खस्कन्थ्यो नि !

इलाममा त निकै सजिलो थियो । कब्जा गरेर हेडक्वाटर पुशपति नगरमा लगेको भए सेना प्रहरी तत्काल पुग्न सक्दैनथ्यो । पाँचथर, ताप्लेजुङलगायतका पहाडि खण्ड कब्जा गर्नसमेत सजिलो हुन्थ्यो ।

तर, ‘कु’ बारेमा सुरुमै चनाखो नबन्दा मुलुकले ३० वर्षे पञ्चायतको कालो युग बेहोर्नुपर्‍यो । त्यही दिनदेखि प्रतिरोध थालिएको भए महेन्द्रको शासन सात दिनमै खत्तम हुन्थ्यो ।

पञ्चायत सुरु हुने बेलासम्म पनि बडाहाकिमहरूसमेत पञ्चायतमा जान मञ्जुर थिएनन् । पञ्चायतमा मेरा नाम नलेख्नुहोस् भन्दै उनीहरू पन्छिरहेका थिए ।

सुवर्णले दिल्लीमै बसेर पूर्वाञ्चल, पश्चिमाञ्चल, चितवनलगायतका भू–भागमा सशस्त्र आन्दोलन (आर्मड रिभोल्युसन) सुरु गरे । त्यो पुस एक गतेबाटै थालिएको भए परिस्थिति अर्कै हुन्थ्यो ।

विराटनगरमा त ‘गुरिल्ला वार’ नै भयो । ब्यारेकका सैनिक हतियार छोडेर भाग्ने स्थिति बन्यो । पाँचथरमा पनि विद्रोह भयो । चितवनमा पहलमान राइले बैंक नै लुटे । राजामा एक किसिमको त्रास बढिसकेको थियो ।

ठाउँठाउँमा छापामार शैलीको आक्रमण सुरु भएपछि सेनाले पनि यी गुरिल्लासँग सकिँदैन भन्ने अवस्थामा पुगिसकेको थियो । त्यही बेलामा तुलसी गिरी र विश्वबन्धुलाई बोलाएर अब के गर्ने ? भन्दा दस बाह्र दिन बाटो हेरौँ त्यसपछि निर्णय गरौँ भनेका थिए रे महेन्द्रले ।

त्यही बीचमै चिन–भारतबीच तनावको स्थिति बन्यो । त्यही अवधिमै राजाले कदम फिर्ता लिन्छन् रे हल्ला पनि आयो । जेलमै रहेका बीपीलाई पनि थाहा भयो– राजा सम्झौताको पक्षमा छन्, लचिलो बन्न सक्छन् ।

बीपीले सुवर्ण शमशेरलाई खबरसमेत पठाएका थिए– ‘आर्मड रिभोल्युसन’ फिर्ता नलिनु होला, राजा सम्झौता गर्ने पक्षमा छन्, हाम्रो राम्रो हुँदैछ । तर, त्यतिबेलै सुवर्ण शमशेरले सशस्त्र विद्रोह फिर्ता लिए ।

त्यो किन फिर्ता लिनुभयो ? मैले आजसम्म बुझ्न सकिनँ । कतिपयले भारतको आग्रहमा सुवर्ण शमशेरले ‘विथ ड्र’ गरेका हुन् भन्छन् ।

पछि सुवर्ण शमशेरलाई बीपीले तपाईंले आर्मड रिभोल्युसन किन फिर्ता लिनु भयो भनेर सोध्दा उनले ‘गाउन नहुने गीत मलाई नसोध्नुहोस्’ भने रे !  धेरै पछिसम्म प्रचलित भयो त्यो उक्ति !

अराजकताको जड नै १७ साल
मुलुक लामो समय संक्रमणकालको गोलचक्करमा फस्यो, कहिल्यै राजनीतिक स्थिरता भएन । देशमा अराजकता मच्चियो । पार्टी–पार्टीबीच वैमनस्य बढेर गयो । पार्टीभित्र गुटउपगुट जन्मिए । यो सबैको जड भनेको ०१७ साल पुस १ गते नै हो ।

सत्र सालपछि पार्टीहरू सिद्धान्तविहीन बने, सत्तामा पुग्न राजनीतिक विचार बोक्नै परेन ! म ठोकुवाका साथ भन्छु अहिले नेपालमा कुनै पनि पार्टी आफ्नो सिद्धान्तमा हिँडेका छैनन् । उनीहरू सिद्धान्तच्युत भएको उहिल्यै हो ।  यसको कारक भनेको पनि ०१७ साल नै हो ।

१७ सालपछि पठनपाठनतिर
बीपीसँग आठ वर्षपछि मात्रै भेट हुनसक्यो । सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि उनी भारत निर्वासित भएका थिए । त्यही बेला उनीसँग दार्जिलिङमा भेट गर्ने मौका मिल्यो ।

मैले त्यति बेला बीपीलाई भनेको थिएँ– अब के गर्ने ? बीपीले सशस्त्र आन्दोलनकै कुरा गरेका थिए । भनेका थिए– आउनुहोस् बसेर कुरा गरौँला ।
त्यो समयमा म राजनीतिमा ओझेल परेजस्तै भएँ । इलाम हाइस्कुलमा पढाउन थालेको थिएँ ।

सशस्त्र आन्दोलनको विकल्प नरहेको भन्दै बीपीको आह्वानमा कांग्रेसका धेरै नेता कार्यकर्ता भारत गए र आन्दोलनको तयारी थाले । त्यही बेला मेरो भाइ गम्भीर बिरामी परेकाले म सिलगुढी जानुपर्ने भयो । यता प्रशासनले पनि मलाई पक्राउको तयारी गरिराखेको सुइँको पाएँ । भाइको उपचारको लागि सिलगुढी गएको बखतै तीन पटक पक्राउ गर्न प्रहरीहरू मेरो घर पुगेछन् !

भाइलाई उपचार गराएर झापा आइपुगेको थिएँ, बहिनी रातभरको बाटो हिँडेर झापा आइपुगिछन् र भन्न थालिन्– तपाईं घर नजानुहोस् प्रहरीले व्यापक खोजी गरिराखेको छ ।  ०१८ सालदेखि ०२९ सालसम्म मैले इलाम हाइस्कुलमा पढाएँ । पढाउनेक्रममा पनि सबैले मलाई कांग्रेस नै भन्थे । प्रशासनको आँखामा किरकिर भएर बसिरहेको थिएँ । मलाई पक्राउ गर्दा स्कुलमा विद्रोह हुन्छ भन्ने भयले होला सरकारले सजिलै पक्राउ गर्नसमेत सकेको थिएन । ०२९ पछि पढाउन छाडेर बाहिरको बाहिरै भएँ ।
० ० ०
०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिए र स्वदेश फर्किएर शान्तिपूर्ण आन्दोलनमार्फत राजालाई घुँडा टेकाउने नीति अख्तियार गरे । मेलमिलापको पक्षमा सुरुदेखि नै उभिएको थिएँ म । ओखलढुंगाको विद्रोह समाप्त भइसकेको थियो । कात्तिक २५ गते मलगायत दुई जना स्वदेश फर्कियौँ भने बीपी पुस १६ गते काठमाडौँ ओर्लिएका हुन् । बीपी, गणेशमान, शैलजा आचार्य, खुमबहादुर खड्कासँगै फर्किएका हुन् ।

तर, राजासँगको द्वन्द्व समाप्त भएको थिएन । बीपीलाई विमानस्थलबाटै पक्राउ गरी पुनः सुन्दरीजल वन्दीगृह पुर्‍याइयो । स्वदेश फर्किएका हामीलाई पनि प्रहरीले गिरफ्तार गर्‍यो र २५ दिन काठमाडौँमै राख्यो ।  पछि धर्म गौतम र मलाई झापा जेल चलान गर्‍यो । र, जनमत संग्रहताका जेलमुक्त भएँ ।

नारायणहिटी बेच्ने महेन्द्र के को राष्ट्रवादी ?  
अहिले राजा महेन्द्रलाई ठूलो राष्ट्रवादीको संज्ञा दिइन्छ । इतिहास पढेर थाहा पाइँदैन कतिपय विषय, व्यक्ति स्वयम्ले भोग्नुपर्छ ! बीपीले हुर्काएको प्रजातन्त्रको बिरुवाको मुन्टै निमोठ्ने महेन्द्र कसरी राष्ट्रवादी ?

राजा वीरेन्द्र, गणेशमान सिंह र मरिचमान सिंह सँगै बसेका बेला मरिचमानले हामीले के बिगा¥यौँ, विकासका धेरै काम भए यो अवधिमा भनेर निकै चर्का कुरा गरेछन् ! त्यही बेला गणेशमान सिंहले भनेका थिए रे – गुहे कीरोले शौचालयबाट निस्केर बाहिर हिँड्ने क्रममा कहिलेकाँही ‘क’को आकृति बन्न सक्छ, त्यस्तो अक्षर देखियो भन्दैमा गुहे कीरालाई विद्वान् भन्न मिल्छ ?

निःशब्द बनाए रे मरिचमानलाई !

३० वर्षको अवधीमा दुई चारवटा बाटो बन्यो भन्दैमा विकासको युग भन्न मिल्छ ? राजा महेन्द्र राष्ट्रवादी र विकासवादी भइदिएको भए जनता अँध्यारोमा किन बस्नुपथ्र्यो ? जनताप्रेमी हुन् भने जनताको अधिकारको घाँटी किन निमोठे ?

राणाको बन्धनबाट मुक्त गराएर देशको राजा कांग्रेसले बनाएको होइन ? किन दस वर्ष नबित्दै त्यो गुन बिर्सिएर राणाजस्तै तानाशाही बन्ने महत्वाकांक्षा पाले ?

अर्को, आफू पुस्तौँपुस्तादेखि बस्दै आएको नारायणहिटी राजदरबार पञ्चायत सुरु भएपछि राजा महेन्द्रले सरकारलाई बेचे । सरकारलाई बेचेर आफू अन्तै सरेको भए त हुन्थ्यो नि फेरि त्यहीँ बसे । आफ्नो दरबारकोसमेत संरक्षण नगरेर सरकारलाई बेच्ने महेन्द्रलाई सबैले राष्ट्रवादी भनेको देख्दा कहिलेकाहीँ अट्टहास गर्न मन लाग्छ ! ज्योतिषीले नै त्यो गर्न सल्लाह दिएका थिए रे ! ज्यतिषीहरूले किन भनिदिएनछन् ? – दरबार राज्यलाई बेच्दा कुनै दिन तिम्रो सत्ता ढल्न सक्छ नि !

सुगौली सन्धि पछाडि राष्ट्रवादी जन्मिएनन्
अहिले राष्ट्रवादका चर्का कुरा कसैले नगरे हुन्छ । तिनको विगत हेर्दा सबै कुरा छर्लङ्ग हुन्छ । म त भन्छु, सुगौली सन्धिपछि हाम्रो राष्ट्रवाद मरिसक्यो !

सुगौली सन्धि अघि जसरी पुर्खाहरू देश बचाउन लागेका थिए, त्यो अवस्था छैन । त्यसभन्दा गएगुज्रेको अवस्था छ अहिले !

देश जेसुकै होस् पार्टी बचाउनुपर्छ भन्ने मान्यता व्याप्त भयो । जसरी हुन्छ सरकारमा जाने होडबाजी चलेको छ । नौ महिनाकै लागि किन नहोस् सरकारमा जानै परेको छ, मन्त्री खानै परेको छ । प्रचण्ड ल्याप्चे हानेरै नौ महिनाका लागि सरकारमा गएका होइनन् ?

त्यहाँ गएर के गर्ने ? त्यो स्पष्टै छ सबैलाई । यसर्थ यो अन्धकार, अराजकता र यो अस्तव्यस्त बनाउने इतिहासको खलपात्र राजा महेन्द्र हुन् । तर, कसैलाई यो कुराको हेक्का छैन । हुन त सबैले देशै बिर्सिसके, १७ साल के सम्झनु ?

प्रस्तुति : अक्षर काका

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment