Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

मीरा : सधैं चम्किरहने हीरा !



By  Unknown     8:37 PM    Labels: 

संगीतसँग जीवन र जीवनसँग संगीत जोडिएका हुन्छन् । दुवैलाई दुवैबाट अलग्याउन सकिन्न । र त, मानिसलाई सुखमा पनि संगीत चाहिन्छ र दुःखमा पनि !

गीत–संगीतबिना जिन्दगी कस्तो हुन्छ होला ? संसार कस्तो हुन्छ होला ?

मीरा राणा त्यस्तो संसारको कल्पना पनि गर्न चाहन्निन् । उनका लागि गीत–संगीत भनेको जीवन चलाउने सासजस्तै हो ।

त्यही सास बनेर ५ दशकदेखि संगीत–साधना गरिरहेकी मीराले शुक्रबार ‘बाह्रखरी’सँग जीवनका उतारचढाव साटिन् ।

शास्त्रीय र सुगम संगीतकी यी ध्रुवतारालाई चिन्ने र जान्नेहरू भन्छन्– मीरा गीत–संगीतकी हीरा हुन्, अनवरत चम्किरहने !

० ० ०

२००८ मा कमल पोखरीमा जन्मिएकी हुन् मीरा । दसैं टीकाको दिन जन्मिएकाले उनलाई ‘भगवानकै प्रसाद’ मान्थ्यो परिवारले । बुबा शम्भुप्रसाद मिश्र तीन सहरमा कहलिएका तबलावादक थिए । उस्ताद शम्भुप्रसाद मित्र भनेपछि नचिन्ने कमै होलान् !

बाबुकै परिचयले थाहा हुन्छ– मीराको घरानिया सांगीतिक नामले भरिएको छ । बाबुमात्रै नभई बाजेबराजु पनि संगीत कर्ममा पारंगत थिए ।

तबलामात्रै होइन, उनको घरमा नृत्य सिक्न आउनेको पनि उस्तै ताँती लाग्थ्यो ! नारायणप्रसाद शर्मा र वसन्तजंग रायमाझी मिश्रकै चेला हुन् ।

मीरालाई नृत्यमा खासै शोख थिएन तर गाउन असाध्यै मन पर्ने  ! भन्छिन्, “खै के गाउँथें, कसरी गाउँथे ! बुबाले भनेअनुसार बाल्यकालमा म गुनगुनाइरहन्थें !”

परिवारमा उनी एक्ली गायक हुन् । बाबु बाजेले गीत गाएनन्, वाद्यवादन बजाए मात्रै ।

कमलापोखरीको रैथाने मिश्र परिवार, नपुग्दो केही थिएन । बाल्यकाल सुखैसुखमा बित्यो मीराको ।

नन्दी रात्रि विद्यालयबाट अक्षरारम्भ भयो । उनी पढ्नमा खासै तेज थिइनन् । गायनमै रुचि भएकाले पढ्नभन्दा ज्यादा गीत गाउनमै ध्यान गयो उनको ।

नन्दी रात्रिमा ४ कक्षासम्म पढेपछि उनी विजयस्मारक मावि पुगिन् । प्रवेशिकाचाहिँ कन्या माविबाट उत्तीर्ण गरिन् ।

“विजयस्मारक पुगेपछि त गायनप्रतिको रुपच झनै झांगियो । हरेक दिन हाफ्टाइममा त्यहाँ संगीत सिकाइन्थ्यो, लुकीलुकी अरुले गीत गाएको सुन्न जान्थेँ,” उनी बाल्यकाल स्मरण गर्छिन्, “हाम्रोनियम बज्न थालेपछि ममा बेग्लै तरंग उत्पन्न हुन्थ्यो, पढ्नै छाडेर त्यता  दौडन्थेँ ।”

यो उनको संगीतप्रतिको भोक थियो । यतिसम्म कि अरुले कोठाभित्र सिक्दा गाएको गीत उनी दुरुस्तै गाउन सक्थिन् । मीराले यसरी गीत गाएको देख्दा अरु छक्क परेर भन्थे, “यत्री स्यानी केटीले कति मीठो गीत गाई !”

कमलपोखरीमा ठूलो घर कम्पाउन्ड थियो, प्रशस्तै अम्बाका बोट पनि थिए । सधैँ अम्बाको रुखमा बस्थिन् र हाँगा हल्लाउँदै गीत गाउँथिन् । अहिले सम्झँदा लाग्छ– त्यो त संगीतको बिट रहेछ ! उनले त्यसैगरी गाउन सिकिन् ।

७ कक्षा पुगेपछि बल्ल उनले संगीतको कक्षा लिन थालिन् ।

त्यसबेलाको एउटा रमाइलो प्रसंग छ–

विद्यालयको वार्षिकोत्सवका लागि गायनको व्यापक तयारी गरिएको थियो । मामाकी छोरीले पनि गीत गाउने तयारी गरेकी थिइन् । दुर्भाग्य भन्नुपर्छ, अघिल्लो दिन उनी बिरामी परिन् । संगीत सिकाउने गुरु बडो चिन्तित देखिए ।

मीराले सबैका अगाडि भनिन्, “दिदीको सट्टा मै गाइदिन्छु ।”

सुरुमा त कसैले पत्याएनन् । कार्यक्रम सकिएपछि सबैले वाहवाही गरे !

उनको रमाइलो स्वभाव थियो । केटीभन्दा केटा साथी धेरै थिए उनका ।

ब्याडमिन्टन, डन्डिबियो या बाल्यकालका विभिन्न खेल खेल्दा केटीभन्दा केटा नै साथी बढी हुन्थे ! केटा साथीसँग धेरै घुलमिल गरेको देखेर अरु संगीचाहिँ छक्क पर्थे ।

तारादेवीलाई भेट्ने लालसा
उनी रेडियो खुब सुन्थिन् । जतिखेर रेडियो खोल्यो, तारादेवीकै स्वर सुनिने । उनलाई लाग्थ्यो– तारादेवी भनेकी चाहिँ भगवान नै हुन् कि क्या हो ?
बेलाबखत उनी बुबालाई सोध्थिन्, “रेडियो नेपालमा गीत गाउने तारादेवी भनेको को हो ? भेट्न पाए नि हुन्थ्यो नि ।”

बुबा तबला बजाउँदा–बजाउँदै रोकिएर मीरालाई भन्थे, “तारादेवीलाई भेट्ने हो भने मीठो गीत गाएर सुनाउनुपर्छ । अनिमात्र भेट्न पाइन्छ उनलाई !”

कहिल्यै भेट्न नपाइने भो भनेर दुःखी हुन्थिन् उनी ! किनकि उनलाई लाग्दैनथ्यो– म गीत गाउन सक्छु ।

तारादेवीले गाएको ‘हिमालको काखमा सानो मेरो गाउँ’ भन्ने गीत घण्टौं सुन्थिन् उनी र भित्रभित्र आह्लादित हुन्थिन् ।

एकदिन बुबाले भने, “तारादेवी भेट्न जाने हो भने एउटा गीत गाउनुपर्छ, हुन्छ ?”

उनले ‘हुन्छ’ त भनिन् तर केही मेसो थिएन !

मविवि शाहले रचना गरेको ‘नसिब कहाँ सबको उही हुन्छ र, हुँदैन संयोग तर सबको लागि फरक हुँदैन’ भन्ने गीतमा बुबा आफैँले अभ्यास गराए ।

तारादेवीलाई भेटाउन भनेर बुबाले उनलाई प्रतिस्पर्धामा सामेल गराउन लगेका रहेछन् । यो ०२२ सालको कुरा हो ।

प्रतिस्पर्धामा उनले गीत गाइन् । तारादेवीलाई देखेर नमस्ते पनि गरिन् ।

विडम्बना– तारादेवीले उनको वास्तै गरिनन् । हतारमा भएकाले हो कि के हो– बोल्न त परै जाओस्, फर्केर समेत हेरिनन् ।

अचानक उनका आँखाबाट आँसु खसेछन् ! उनी सम्झिन्छिन्, “ठूलो मान्छेले नमस्कार फर्काउनु नहुने रहेछ कि के हो, मलाई त निकै दुःख पो लाग्यो !”

तर, त्यसो होइन रहेछ ! तारादेवीले उनको स्वरको निकै ख्याल गरेकी रहिछिन् । बुबालाई उतिबेलै भनिन् रे, “शम्भु दाइ, छोरीले निकै राम्रो गाउँदी रहिछे, अझै सिकाउनु होला है ।”

नातीकाजीले पनि त्यही भने रे । वरिष्ठ गायकहरूले छोरीको स्वरको तारिफ गरेपछि बुबा मख्ख नपर्ने कुरै भएन ।

त्यो स्पर्धापछि उनले चारवटा गीत लाइभ गाउने गरी करारपत्र पाइन् । नातिकाजीले नै त्यो पत्र थमाएका थिए उनलाई ।

पत्र पाएपछि उनी फुरुंग परिन् । सपनामा हो कि विपनामा हो जस्तै भयो बुबालाई पनि !

वास्तवमा स्वर परीक्षा त्यही रहेछ उनको !

करारपत्र पाएपछि उनको संगीत करिअरले औपचारिक रूपमा खुड्किलो टेक्यो । भन्छिन्, “पत्र पाएदेखि र तारादेवीलाई भेट्टाएपछि उनको अनुहारमात्रै दिमागमा आउन थाल्यो । पढाइमा भन्दा ज्यादा मन गीतमा पो जान थाल्यो ।”

गोपाल योञ्जनसँगको भेट
०२५/२६ सालतिर शायद राजाको जन्मोत्सवका अवसरमा हुनुपर्छ, उनको भेट गोपाल योञ्जनसँग भयो ।

साथीले भेट गराइदिएकी थिइन् योञ्जनसँग ।

उनी सम्झन्छिन्, “साथीले गीत गाउने भए पुलिस क्लबमा गायिका खोजेको छ जानू भनिन् । त्यसपछि म त्यहाँ गएकी हुँ ।”

मविवि शाहले रचना गरेको र गोपाल योञ्जनले संगीतबद्ध गरेको शास्त्रीय संगीत थियो  त्यो । ‘चिरेर मुटु यो तिमीले के पायौ, कि मेरो भन्देऊ कसुर, कि आइ हेरिदेऊ’ गीतको बोल थियो ।

त्यो गीत कमला श्रेष्ठ र मीरा राणाले संयुक्त रूपमा गाएका थिए । श्रेष्ठ पुलिस क्लबकी चर्चित गायिका थिइन् । त्यसपछि मात्रै उनका गीतहरू रेडियो नेपालमा रेकर्ड पनि हुन थाले ।

० ० ०

उनको उचाइ नेपाली सांगीतिक आकाशमा चुलिँदै थियो । उनलाई लाग्न थाल्यो– अब संगीत सिक्नुपर्छ । यज्ञराज शर्माका छोरा चन्द्रराज शर्मासँग उनले शास्त्रीय संगीतको कक्षा लिन थालिन् ।

पुतलीसडकस्थित संगीत महाविद्यालयमा उनले संगीत सिकेकी हुन् । दीपक जंगमलगायतले पनि त्यहीँबाट संगीतको ज्ञान लिएका हुन् ।

नेपाली गीत–संगीत क्षेत्रमा मीरा यस्ती गायिका हुन्, जसले छानेर कुनै गीत गाइनन् ।

उनलाई लाग्थ्यो– म गाउनकै लागि जन्मिएकी हुँ । जस्तो पनि गीत गाउनुपर्छ मैले ।

कुनै समय नेवारी गीत गाउनेमा पनि उनी चर्चित थिइन् । उनलाई शब्द र संगीत भए हुन्थ्यो, गुनगुनाउन थालिहाल्थिन् ।

सबैका गीत गाउन पाए सबैले माया गर्छन् र सबैको आत्मीय हुन पाइन्थ्यो भन्ने उनलाई लागिरहन्थ्यो ।

“एउटैमात्र संगीतकारको गीत गाएँ भने आवाज एकोहोरो हुन्छ, एउटै रचनाकारको मात्रै गीत गाएँ भने गीत एकै किसिमको हुन्छ भन्ने चिन्ता सधैँ लागिरहने हुँदा म सबैको गीत गाउन खोज्थेँ, माया गरेर ल्याएर दिन्थे पनि ।” उनी मुसुक्क हाँसिन् ।

० ० ०

०२८ सालमा रेडियो नेपालमा गायन प्रतियोगिता भयो । त्यसभन्दा अघि उनले थुप्रैपटक गायन स्पर्धामा भाग लिन नखोजेकी होइनन् ।

नातीकाजीलाई आफैँले भेटेर पनि भनिन् । तर, कसैले वास्ता गरेनन् । त्यसो त नातीकाजीको संगीतको गीत गाएर प्रतिस्पर्धामा भाग लिने उनको ठूलो धोको पनि थियो ।

रत्न मुमा बडामहारानीका ज्वाइँ हरिविक्रम शाहलाई पनि अनुरोध गरिन् तर केहीसीप चलेन ।

लाख अनुरोध गरेपछि नातिकाजी आफैंले उनलाई गीत दिए । प्रतियोगितामा थुप्रैले भाग लिएका थिए । उक्त प्रतिस्पर्धामा मीरा प्रथम भइन् भने सरला राई द्वितीय र दीप श्रेष्ठ तृतीय भए ।

प्रतिस्पर्धामा भाग लिँदा महेन्द्र नै राजा थिए तर पुस्कार लिने बेला उनको निधन भयो र राजा वीरेन्द्रको हातबाट उनले पुरस्कार ग्रहण गरिन् ।

जुन गीतले चिनायो
हालसम्म उनले १६ सयभन्दा बढी गीत गाएकी छन् तर उनलाई चिनाउने गीत ‘मखमली चोलो चाहिँदैन, रेशमको साडी चाहिँदैन’ नै हो । के बालक, के वृद्ध– सबैमाझ उत्तिकै चर्चित छ यो गीत । स्टेजमा गाउँदा थुप्रै पटक वान्समोर आउँछ र दर्शकहरू कम्मर मर्काउन थालिहाल्छन् ।

गीत कसरी तयार भयो त ?

०३० सालतिरै उनले पहिचान बनाइसकेकी थिइन्– मीरा राणा स्टेजमा नाँच्दै गाउने गायिका हुन् ।

त्यसैले होला उनको आवाज र प्रस्तुति देखेर गोपाल योञ्जनले तयार पारिदिएको गीत हो यो ।

राणा भन्छिन्, “योमात्रै होइन, धेरैजसो गीत गोपाल दाइकै गाएकी छु, उहाँले मलाई हेरिहेरी गीत तयार पार्दिनुहुन्थ्यो ।”

स्टेजमा जम्न र दर्शक स्रोतालाई मन्त्रमुग्ध तुल्याउन थालिसकेपछि योञ्जनले उनलाई भन्थे, “मीरा अब तिमीले राष्ट्रिय भावले ओतप्रोत पनि गीत गाउनु पर्छ ।”

गोपाल योञ्जनले गाएको ‘बनेको छ पहराले यो छाती मेरो’ गीत मीराले पनि गाइन् ।

युवावस्थामा उनलाई यी र यस्ता गीतप्रति खासै रुचि जागेन । भन्छिन्, “उतिबेला के हो राष्ट्रिय गीत भनेर खासै बुझिनँ, अहिले गाउँदा पो आफ्नै रगत तातेर आउँछ ।”

विदेशमा सांगीतिक प्रस्तुतिका लागि पुग्दा ‘बनेको छ पहराले यो छाती मेरो’ नगाई स्टेजबाट तल ओर्लनै दिँदैनन् ।

त्यतिमात्रै होइन, चलचित्र ‘मनको बाँध’को गीत ‘यो मात चढेको साँझमा’ गाउँदा उनलाई नेपालको आशा भोस्लेसमेत भनियो रे ! शिव शंकरको संगीत र किरण खरेलको रचना थियो त्यो ।

स्टेजमा नाचेर गाउँदा उनलाई ‘नक्कल पारेकी’ पनि भन्थे ! ‘यसरी पनि गाउँछन् ?’ भन्दै नहप्काएका होइनन् तर उनले ‘प्याटर्न’ छोडिनन् । अहिले उनलाई लाग्छ– जे गरिएछ, ठीकै गरिएछ ।

भन्छिन्, “स्टेजमा गाउँदा प्रस्तुतिको जीवन्ततामा ध्यान दिनैपर्छ, नत्र गायन फिक्का हुन्छ ।”

० ० ०

५३ वर्ष भयो उनले संगीत सिक्न थालेको । अझै आफूलाई जान्ने भएँ भन्ने लाग्दैन रे ! भन्छिन्, “संगीत त हीरा हो, यसको आलोक कहाँ सकिन्छ र ! जति खोज्यो, उति दीप्ति पो भेटिँदै जाँदो रहेछ !”

उमेरमा उनी बिहान तीन–चार घण्टा साधना गर्थिन् । अहिले त्यो तालिकामा परिवर्तन आएको छ । उमेर घर्किँदै गएपछि हिजोआज दिउँसो साधना गर्छिन् ।

हिजोआज हेर्ने संगीत आएको छ । सुर, ताल जे–सुकै होस्, दर्शकले ताली पड्काए पुग्छ ।

“हामीले संगीत सिक्दा त्यस्तो थिएन, गुरुहरू भन्नुहुन्थ्यो– संगीत सुन्दा मानिसको हृदयमा कम्पन होस्, मस्तिष्क खलबल्याउनु पर्छ !”

उनी फेरि हाँसिन् ।

नारायण गोपालसँगको भेट
नारायण गोपालसँगको भेट ०२६ सालतिरै भएको हो उनको । ‘परिवर्तन’ भन्ने चलचित्रको गीत गाउने क्रममा कलकत्तामा जम्काभेट भयो ।

“साह्रै हँसाउने, मिजासिलो स्वभाव थियो उहाँको, बेलाबखत गम्भीर पनि देखिनुहुन्थ्यो,” उनले त्यतिबेलाको क्षण स्मरण गरिन् ।

तारादेवी, नारायण गोपाल र मीरा राणा भएर ‘बहिनीको दया छ भने, रोधी घर दाइ नाच्यो नभने’ बोलको गीत गाएका थिए । आजपर्यन्त उत्तिकै कर्णप्रिय छ त्यो गीत !

नारायण गोपालसँगै गाएको ‘किन नबोलेको लाउँला माया भन्दै’ बोलको गीत पनि निकै चर्चित बन्यो उनको । मीरा र नारायण गोपालले करिब आधा दर्जन गीत सँगै गाएका छन् ।

भन्छिन्, “उहाँ नाचघरमा जागिरे हुनुहुन्थ्यो, म रेडियो नेपालमा थिएँ, सधैँ भेट त हुँदैनथ्यो  र पनि हामी नजिक थियौँ ।”

० ० ०

नेपाली गीत–संगीतको जीवन्त दस्तावेज र एक युग मीरा पछिल्लो समय राजनीतिमा समेत आबद्ध छिन् । भन्छिन्, “त्यति सक्रिय त हुन पाएकी छैन । तथापि राजनीति सप्रिए हुन्थ्यो । राजनीति नसप्रिई त देश कसरी उँभो लाग्नू ?”

थुप्रै गायक÷गायिका र कलाकारहरू विदेश पलायन भइरहँदा उनलाई भने यहीँको माटो प्रिय लागिरहेछ । स्रोता र दर्शकले दिएको अपार माया चटक्कै छाडेर उनी जान पनि त सक्दिनन् ।

एउटा प्रसंग उप्काइन्–

भर्खरैमात्र एउटा अवार्ड वितरण समारोहमा सहभागी हुन सिक्किम पुगेकी थिइन् । त्यहाँका मुख्यमन्त्री पवन चाम्लिङले उनलाई सोधे, “मीराजी, तपाईं अमेरिका गइसक्नुभयो भन्ने पो सुनेको थिएँ, नेपालमै हुनुहुन्छ ?”

चाम्लिङ आफैँ पनि गीतकार हुन् ।

उनले त्यसो भनेपछि मीरा खङ्ग्रङ्ग भइन् । सोचिन्– नेपालका कलाकारबारे भारतका मानिसलाई समेत यति चिन्ता छ, हाम्रा देशका नेताहरुले यति चासो राख्दा हुन् त ?

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment