Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

बालकृष्ण समले फेरिदिएको नाम !



By  Unknown     1:39 AM    Labels: 


बाह्रखरी  २०७३ फाल्गुण ७ शनिबार


समय पात्रोमा होइन, सिर्जनामा बाँचेको हुन्छ । स्रष्टा, सर्जक बाँच्ने पनि आ–आफ्नो ‘रचना’मा नै हो । ०४० को दशक अन्तिमतिर अस्ताएका नारायणगोपाल, ६० को दशकमा अस्ताएकी तारादेवी र ७० को दशकमा अस्ताएका नातिकाजी त्यसैका पर्याय हुन् । शब्दसँग जीवन साट्ने र सिर्जनासँग जिन्दगीको पयो बाट्ने सर्जकहरू दीर्घजीवी हुन्छन् । अर्को शब्दमा अजर र अमर पनि ।

अभिलेख भन्छ– नेपालको गीत–संगीतको इतिहास चार–पाँच शताब्दी लामो छ । तर, नेपाली गीत–संगीतको संग्रह र विकासक्रम भने रेडियो नेपालको सुरुआतसँगै भयो । त्योसँगै रेडियो नेपालले स्रष्टा र सर्जकहरू पनि जन्माउन थाल्यो । तिनै सर्जकमध्ये केहीका रचना जनजिब्रोमा झुन्डिए । केहीका भाका मेलापातमा गुञ्जिन थाले । केही सर्जक दशकौंसम्म गीत–संगीत पारखीको मनमुटुमा बस्न सफल भए । तिनैमध्ये एक हुन्– कालजयी स्रष्टा यादव खरेल ।

२० को दशकमा नातिकाजीको संगीत र योगेश वैद्यको स्वरमा रेकर्ड गरिएको गीत ‘कति यस्ता क्षणहरू’, तारादेवीले गाएको ‘नौ गेडीको मेरो माला’ र ‘नौ सय खोला तरेर जाने’ गीत आजपर्यन्त उत्तिकै कर्णस्पर्शी लाग्छन् । नारायणगोपालले गाएको गीत ‘पिउँदा पिउँदै जिन्दगी यो रित्याउन चाहन्छु म’, उदितनारायणको आवाजमा सजिएको ‘तिमी आउँछौ भन्ने आसैआसमा’ अहिले पनि जनप्रिय छन् ।

सिर्जनामा आधा शताब्दी जीवन व्यतीत गरिसकेका स्रष्टा खरेल आज पनि गीत–संगीत साधानमा उत्तिकै दत्तचित्त छन् । तिलचामले कपाल र ७४ थान हिँउद खाइसकेका खरेलको सिर्जनामोह अझै ईष्र्यालाग्दो छ, उत्तिकै तिलस्मी र जादुगरी पनि छ । आज पनि उनका रचनाबाट आह्लादित नहुनेहरू कमै छन् । लाग्छ– उनको सिर्जनाशिल्पबाट नेपाली गीत–संगीत प्रह्लादित र प्रज्ज्वलित भइरहेको छ ।

शुक्रबार अपराह्नपख खरेलको निवास पुग्दा उनी सिर्जनामै तल्लीन थिए । “सिर्जनाभन्दा पर मैले जीवनको कल्पना गरेको छैन, एक–दुई दिनमा नयाँ एल्बम आउँदैछ मेरो !” मीठो हाँसोले बगानको लालित्य छिचोल्यो र गाडीको कर्कश आवाजमा पुगेर बिलायो ।

उनले अर्को खुलासा पनि गरे, “अहिले आफ्नै आत्मकथा लेखिरहेको छु । तर, त्यसमा मैले आफूलाई नायकको रूपमा प्रस्तुत गरेको छैन । बरु मैले भेटेका विभिन्न पात्रहरूको जीवन–भोगाइलाई कोलाजको रूपमा प्रस्तुत गरेको छु ।”

० ० ०

वि.सं. १९९९ फागुन १२ गते काभ्रेपलाञ्चोकको खरेलथोकमा जन्मिएका खरेलको बाल्यकाल सामान्य बित्यो । परिवार पुख्र्यौली खान्दानी । हजुरबुबा त सरकारी सुब्बा नै थिए । तिनताक हल्ला हुन्थ्यो– सिंगै नेपाल चार सुब्बाले चलाएका छन् ।

आफन्त, परिवारजले आशीर्वाद दिँदा भन्थे– ठूलो भएपछि सुब्बा हुनू !

यसैबाट प्रष्ट हुन्छ, पारिवारिक अवस्था बलियो थियो उनको । सरकारी सेवाबाट ‘शासक’ सन्तुष्ट भएर उनका हजुरबाले सप्तरीमा उल्लेख्य ‘मौजा’ पाएका थिए । त्यसैले उनको बाल्यकाल कहिले सप्तरी त कहिले काभ्रेमा बित्यो ।

“तराई जान त मन पथ्र्यो तर जान असाध्यै गाह्रो । अहिलेजस्तो गाडीको सुविधा थिएन । सप्तरीमा आफ्नो जायजेथा भएको ठाउँमा पुग्ने भारत घुमेर जानुपथ्र्यो,” उनले बाल्यकाल स्मरण गरे ।

परिवारमा नपुग्दो केही थिएन । सँगैका अरु केटाकेटीले पढ्न पाउने अवस्था थिएन । काभ्रेमा विद्यालय थिएन उतिबेला ।
“पद्मनाथ (उनको बोलाउने नाम)लाई काठमाडौँ पढ्न पठाउनुपर्छ, यता पढ्ने विद्यालय पनि छैन ।”

बाबुबाजेले यसो भनेपछि उनी काठमाडौँको पद्मोदय स्कुलमा भर्ना भए र सोही स्कुलबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे । मानविकी संकायमा स्नातक त्रिचन्द्रबाट र त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् । त्यसो त उनले कानुनमा स्नातक उत्तीर्ण गरेका छन् । त्यतिमात्र होइन, अधिवक्ताको लाइसेन्ससमेत लिएका छन् ।

अचम्म ! गीत सिर्जना, कविता लेखन, चलचित्र निर्माण पो उनको रुचि बन्यो ।

रेडियोमा बोल्ने हुटहुटी

तत्कालीन समयमा सर्वसाधारणको पहुँचको सञ्चारमाध्यम रेडियो नेपाल नै थियो । बिहानदेखि अबेर बेलुकासम्म मानिसहरू रेडियो सुन्थे ।  मानिसहरूमा अचम्मको रेडियोमोह देखिन्थ्यो । रेडियो खुलै राखेर कामकाजमा खटिन्थे । रेडियोमा कार्यक्रम प्रस्तोता बोलेको सुन्दा उनको मन कल्पिन्थ्यो– यसैगरी कार्यक्रम चलाउन पाए पनि हुन्थ्यो । रेडियोमा बोल्न पाए पनि हुन्थ्यो !

दिनरात कल्पना गरेर बस्न थाले । र, त्यही हुटहुटीले १६ वर्षकै कलकलाउँदो उमेरमा रेडियो नेपालको ढोकाभित्र पसायो उनलाई ।

त्यसबेलामा संगीतकार, गायक, लेखक सबै सर्जकका लागि रेडियो नेपाल सिर्जनाको केन्द्रबिन्दु थियो । चलचित्र निर्माण हुँदैनथे, त्यस समयका हिरो उनीहरू नै हुन्थे । उनले त्यहाँ ‘जागिर’ मात्र खाएनन् । गीत र कविता लेखनको शुभारम्भ पनि त्यहीँबाट गरे उनले ।

नेपाली संगीतका हस्तीहरू नातिकाजी, शिवशंकर, भैरवबहादुर थापा, फत्तेमान राजभण्डारी, डीबी महेश पाल्पाली, तारादेवी, नारायणगोपाल, बच्चु कैलाश, पुष्प नेपाली, प्रेमध्वज प्रधान, योगेश वैद्य, हरिप्रसाद रिमाल, जनार्दन सम, लक्ष्मण लोहनी, श्यामदास वैष्णव आदिसँगको संगत र मित्रताले उनको सिर्जनात्मक क्षमतालाई उजिल्याउने, चहकाउने काम गर्‍यो र प्रकारान्तरले उनलाई उदीयमान गीतकारका रूपमा स्थापित गराइदियो ।
रेडियो नेपाल छिर्नुअघि नै उनको साहित्य क्षमता मुखर भइसकेको थियो । त्यतिबेलाका गिनेचुनेका साहित्यकारको पछि लागेर काव्यिक÷साहित्यक गोष्ठीहरूमा सहभागी हुन्थे उनी ।

रेडियो नेपालमा उनले प्रस्तोता र सञ्चालकको हैसियतमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरे । ‘काव्यकुञ्ज’, ‘गीतिकथा’, ‘बालबाटिका’, ‘प्रश्नोत्तर’, ‘विद्यार्थी कार्यक्रम’ उनले सञ्चालन गरेका लोकप्रिय कार्यक्रम हुन् । यतिमात्र नभई रेडियो नाटकहरूमा रूपक अर्थात् मूलपात्रको रूपमा काम गरे । रेडियो प्रसारणको इतिहासमा विज्ञापनसहितको पहिलो व्यापारिक कार्यक्रमको प्रथम प्रस्तोता पनि उनै थिए । त्यसका अतिरिक्त उनी कुशल उद्घोषक (एमसी) समेत थिए । राजा\राजपरिवारका सदस्य, तत्कालीन राष्ट्रप्रमुखहरू सहभागी थुप्रै कार्यक्रम सञ्चालन गरेर दर्शक/स्रोतालाई मुग्ध तुल्याउँथे ।

उनी आज पनि विभिन्न कार्यक्रममा जान्छन् । रेडियोमा बोल्दाताकाका उनका ‘फ्यान’हरू आज पनि भेटिन्छन् रे ! “कतिले त गुरु नमस्कार ! भन्छन् । कतिले म त ‘बालबाटिका’ खुब सुन्थेँ, त्यहाँ कविता भन्न जान्थेँ भनेर सुनाउँछन्, अचम्मित हुन्छु म !” नोस्टाल्जिक हुन्छन् उनी ।

नौ वर्ष काम गरेपछि रेडियो नेपालको जागिरे यात्रामा पूर्णविराम लाग्यो । ०१६ देखि ०२५ सम्म रेडियो नेपालमा बिताए उनले । त्यसपछि उनी दुई वर्षका लागि चलचित्र निर्माण÷निर्देशनसम्बन्धी अध्ययन गर्न बेलायत गए । त्यतिबेला भर्खर बीबीसी नेपाली सेवा सुरु भएको थियो । नेपालबाट स्नातकोत्तर गरेर बेलायत गएको व्यक्ति भनेपछि कथाले बेग्लै मोड लियो । त्यतिबेला नेपालबाट बेलायत अध्ययन गर्न जानेको संख्या एकदमै थोरै थियो ।

‘नेपालबाट मास्टर्स गरेर आएको व्यक्ति यहाँ चलचित्र निर्माण\निर्देशनसम्बन्धी अध्ययन गर्न आएको छ, रेडियो नेपालमा समेत प्रस्तोता भएर काम गरिसकेको रहेछ’ भनेर दूतावासमा समेत हल्ला भएछ । दूतावासकै सम्पर्कसूत्रको माध्यमबाट उनी बीबीसी नेपाली सेवामा प्रवेश गरे र बेलायत बसुन्जेल त्यहीँ काम गरे । यो ०२५–०२७ को कुरा हो ।

० ० ०

‘माइतीघर (०२३)’ नेपालमा बनेको तेस्रो नेपाली चलचित्र हो । निजी क्षेत्रबाट लगानी गरी बनाइएको पहिलो चलचित्र हो यो । यसमा माला सिन्हा, सीपी लोहनीलगायत कलाकारले अभिनय गरेका छन् । त्यसमा खरेललेसमेत अभिनय गरेका छन् । सुटिङ पोखरामा भएको थियो । माला सिन्हा बलिउडमा चलेकी अभिनेत्री थिइन् । पोखरामा ‘माइतीघर’को छायांकन हुँदा उनका बाबु अलबर्ट सिन्हासमेत आएका थिए । सुटिङबाट फुर्सद निस्किएको समय पारेर अल्बर्टले खरेललाई भने, “तपाईंजस्तो मास्टर्स पास गरिसकेको व्यक्ति फिल्मको यस्तो सानोतिनो भूमिकामा अल्झिने होइन, खुरुक्क पुने गएर चलचित्र पढ्नुस् र निर्देशक बन्नुस् । तपाईंजस्तो मान्छे चलचित्रमा आउनैपर्छ ।”

अल्बर्टको प्रस्ताव उनलाई अनुचित लागेन र उनले चलचित्र अध्ययन गर्ने निधो गरे । सोचे– फिल्म पढ्ने नै हो भने पुने (भारत) किन जानू ! बरु बेलायत जान्छु, त्यहाँ पठन\पाठन अझै व्यवस्थित होला, अझै राम्रो जानिएला ।

त्यसपछि उनी बेलायत हानिए ।

बीबीसी नेपाली सेवामा काम गर्दा नेपालबाट जाने उच्चपदस्थ सरकारी अधिकारीसँग कुरा गर्थे उनी । यसै सिलसिलामा राजा महेन्द्रसँगसमेत अन्तर्वार्ता लिने मौका मिल्यो । राष्ट्रिय राजनीति, विकास–निर्माण, प्रवासी नेपाली, नेपालले बेलायतसँग राखेको अपेक्षा आदि विषयमा महेन्द्रसँग कुराकानी गरेका थिए उनले । त्यो विषयले नेपालमा ठूलो चर्चा पायो, व्यापक हल्लाखल्ला भयो । पत्रपत्रिका, रेडियोमा मुख्य समाचार बन्यो । कैयौँ दिनसम्म छापामा छाइरह्यो ।

‘अफ द रेकर्ड’ कुराकानी हुँदा महेन्द्रले सोधे, “यहाँ के अरु के गर्नुहुन्छ ?”

खरेलले बताएछन्, “म लन्डनमा फिल्म स्टडिज पढ्छु ।”

महेन्द्रले ‘ए’ भने ।

त्यतिबेला नेपालमा शाही नेपाल चलचित्र संस्थान गठनको कुरा उठिरहेको रहेछ । ०२८ सालमा संस्थान गठन भयो । नेपाल फर्किएपछि खरेल २०२८ देखि २०३१ सम्म संस्थानको अध्यक्ष तथा महाप्रबन्धक बने । त्यसबेला बोर्डका सदस्यहरूमा नाट्य सम्राट बालकृष्ण सम, राष्ट्रकवि माधव घिमिरे, पत्रकार श्रीधर खनालहरू थिए । पछि बुझ्दा खरेललाई संस्थानको अध्यक्ष बनाउन महेन्द्र आफैंले मुख्यसचिवलाई भनेका रहेछन् ।
अध्यक्ष हुँदा खरेलले चलचित्र नीतिहरू बनाउने, चलचित्र निर्माणका आधारशिला (छायांकन, धुलाइ, छपाइ, सम्पादन, डबिङ आदि कार्य गर्ने, ल्याब स्टुडियो निर्माण आदि) बनाउने, जनशक्ति विकासका साथै नियमित रूपमा कथानक चलचित्र, वृत्तचि बनाउनेलगायत काम आरम्भ गरे ।
“संस्थानमा अध्यक्षको जिम्मेवारी निभाउँदा विदेशमा कार्यरत नेपाली चलचित्रकर्मीलाई नेपालमै आएर काम गर्न अभिप्रेरित गरेँ । मेरै अनुरोधमा प्रसिद्ध चलचित्र निर्देशक प्रकाश थापा भारतबाट नेपाल फर्किएका हुन्,” उनले भने ।

बेलायतबाट फर्केको लामो समय उनी मौन बसे, चलचित्रमा हात हालेनन् । तथापि त्यसैबीच उनले चलचित्रबारे घनिभूत अध्ययन÷अन्वेषण गरे । चलचित्र बनाउँदा गहन अध्ययन आवश्यक हुन्छ भन्ने मान्यता राख्ने खरेलले समाजका विविध विषयमा आँखा घुमाइरहेका थिए । चलचित्र मनोरञ्जनवाहक मात्र होइन, सामाजिक चेतनाको सम्वाहक पनि हुनुपर्छ भन्ने मान्यतामा दृढ खरेलले बेलायतबाट फर्किएको १८ वर्षपछि चलचित्रमा काम थाले ।

‘चेलिवेटी’ उनको डेब्यु चलचित्र हो । भन्छन्, “नेपाली चेलिबेटीहरू भारतीय कोठीमा बेचिने, नारकीय जीवन व्यतीत गर्न बाध्य हुनुपर्ने कारुणिक अवस्थालाई दृश्यमा उतारेँ । त्यसमा नेपाली चेलीबेटीहरूको समस्या मात्रै छैन, समाजमा उनीहरूलाई पुनःस्थापना गर्ने भनेर ज्वलन्त सवाल पनि उठान गरिएको छ ।”

सूत्रबद्ध चलचित्रको माध्यमबाट यथेष्ट रूपमा उनले सामाजिक सन्देशहरू छर्ने काम गरेका छन् ।

चेलीबेटी (२०४५), लोभी पापी (२०४७), आँधीबेहरी (२०४८), प्रेमपिण्ड (२०५०), श्री स्वस्थानी (२०५१), नासो (२०५४), आदिकवि भानुभक्त (२०५६), हत्तेरी (२०५६), महाकवि देवकोटा (२०५८) उनका चलचित्र हुन् ।

बालकृष्ण समको व्यक्तित्वबाट उनी विछट्टै प्रभावित थिए । “साना–ठूला व्यक्तिलाई समान नजरले हेर्ने उहाँको आनीबानीका कारण म ज्यादै प्रभावित भएँ,” खरेल भन्छन्, “उहाँ हामीलाई मात्रै होइन, छोराछोरीलाई समेत तपाईं भन्नुहुन्थ्यो ।”

उनै समले लेखेको ‘प्रेमपिण्ड’ खरेलले बनाए । त्यो चलचित्रबारे अहिले पनि मान्छेहरू कुरा गर्छन् ।

कुरैकुरामा समले एकदिन भने रे, “मेरो नाम उच्चारण गर्दा कतिपयले त बालककृष्ण सम उच्चारण गरेर बालकै हो कि ठान्छन् ! तपाईंलाई चाहिँ पद्मनाथ खरेल भन्दा पाको मान्छे सम्झलान् नि !”

त्यसै दिनदेखि उनले थर अगाडि यादव जोडेर लेख्न थाले ।

“ठट्टैठट्टामा समजीले मेरो नामै परिवर्तन गरिदिनुभयो,” गलल्लै हाँसे उनी ।

समको सामीप्यताबाट फुरुंग भएका खरेलले उनीबारे वृत्तचित्रसमेत निर्माण गरे । तर, त्यतिले मात्र चित्त बुझेन । समका कृतिहरूको उनी ‘फ्यान’ थिए । पढ्ने मौका मिल्दा समका नाटकहरूमा आँखा पुर्‍याइहाल्थे । वास्तवमा समले नै डबलीमा सीमित नाटकलाई रंगमञ्चमा पुर्‍याउने काम गरेका हुन् । नेपाली साहित्यका मूर्धन्य स्रष्टाको कृतिलाई कसरी पर्दामा उतार्ने भनेर उनी घोत्लिइरहन्थे ।

त्यसकारण उनले समकै कृतिमा आधारित नाटक ‘प्रेमपिण्ड’लाई पर्दामा उतारे । खरेलको सबैभन्दा बढी प्रशंसा बटुलेको र धेरैले रुचाएको चलचित्र हो यो । राणाकालीन समयको ऐतिहासिक नाटकलाई पटकथामा रूपान्तरण गरेर पर्दामा प्रस्तुत गर्नु चानचुने कुरा थिएन । एककिसिमले भन्दा पापड नै बेल्नुपर्‍यो उनले । चलचित्रका लागि गीत लेख्ने र निर्देशन गर्ने काम पनि उनी आफैँले गरे ।

यसका गीत ‘गैह्रीखेतको शिरै हान्यो’, ‘चैत मास खडेरीमा..’, ‘सपना हो यो भनूँ भने..’, ‘तिम्रै बहिनी..।’, ‘रिडी काली..’ आदि कालजयी बने । चलचित्र व्यापारिक र स्तरीयताका दृष्टिले पनि सफल बन्यो । यसलाई आमदर्शक, समीक्षक र प्राज्ञिक क्षेत्र सबैले उत्तिकै मनपराए ।
अत्युक्ति हुँदैन– ‘प्रेमपिण्ड’ नेपाली चलचित्र इतिहासको कोसेढुंगा बन्यो ।

०  ० ०

भानुभक्त आचार्यको जीवनीमा आधारित नेपालको पहिलो जीवनीमूलक कथानक चलचित्र ‘आदिकवि भानुभक्त’को कथा, पटकथा र निर्देशन गर्ने काम पनि खरेल आफैंले गरे । त्यसमा नेपाली साहित्यका सामरिक व्यक्तिहरू कमलमणि दीक्षित, डा. वासुदेव त्रिपाठी, डा. व्रतराज आचार्यहरू संलग्न थिए । एक वर्षभन्दा बढी समय कथा अन्वेषणमै खर्च गरे उनीहरूले ।

“भानुभक्त निर्माणको क्रममा हामी घण्टौँ छलफलमा जुट्थ्यौँ र कथा बुन्थ्यौँ । सिनेमटोग्राफीमा लामो समय खर्चन्थ्यौँ । दृश्यमा पुरानो सिन ल्याउन निकै मेहनत गथ्र्यौं,” उनले तत्क्षणको स्मरण गरे, “बजेटको सीमितता हुँदाहुँदै पनि झन्डै १५०–२०० वर्ष पुरानो समयको सेट निर्माण गर्नुका साथै परिधानहरू तयार गरियो । सकेसम्म आदिकविसँग सम्बन्धित आधिकारिक स्थलहरूको पहिचान गरी छायांगन गरिएको थियो । यो चलचित्रले आदिकवि भानुभक्तको जीवनीलाई मात्र नभएर त्यस अवधि (विसं.१८७१–१९२५)का सामाजिक मूल्य–मान्यता, भाषा, साहित्य, संस्कृति र जीवनपद्घतिलाई पनि सादृश्य समेटेको कारण चलचित्र मनपराइयो ।”

हिजोआज उनी सेतो पर्दाका लागि काम गरिरहेका छैनन्, गीतमात्रै लेख्छन् । “मेरो कामको अर्को क्षेत्र बालसाहित्य पनि हो, यसबारे अर्को भेटमा कुरा गरौँला,” यति भनेर कुराकानी गाँठो पारे ।

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment