प्रेम फगत अनुभूतिमात्र होइन, यो त अभिव्यक्तिको बलशाली माध्यम पनि हो । र त, प्रेमका विषयमा ठूल्ठूला कृति सिर्जना गरिएका छन् ।
उपन्यास, काव्य, कथा रचिएका छन् । आजभन्दा करिब ४२० वर्ष अगाडि विलियम सेक्सपियरद्वारा रचित रोमियो जुलियट, वि.सं. १९९० को दशकमा देवकोटाद्वारा रचित मुनामदन आजपर्यन्त प्रेमका बिम्ब मानिन्छन् । त्यस्तै, महर्षि वाल्मीकिद्वारा रचित आदिमहाकाव्य वाल्मीकि रामायण किन नहोस्, सबै कालजयी प्रेमको प्रतीकको रूपमा चित्रित छन् । तथापि यी सिर्जना हुन् ।
प्रेम जीवनको पाटो हो भने सिर्जना जिन्दगीको बाटो । र त प्रेमलाई अनुभूति, भावना मात्रै भनेर अथ्र्याउन मिल्दैन भन्छन् सर्जकहरू । बरु, दैनन्दिन हामीले फेर्ने स्वास हो ।
गीतकार दिनेश अधिकारीको शब्दमा प्रेम सिर्जनाको मूलधार हो, आयाम हो । कल्पना र अनुभूतिद्वारा जीवनलाई वारपार गराइरहेको हुन्छ । उनी भन्छन्, “जीवनमा प्रेम हुन्छ÷होइन, प्रेममा चाहिँ जीवन मुखरित हुन्छ । जसरी जिन्दगीमा स्वास सन्निहीत हुन्छ, त्यसैगरी प्रेममा जिन्दगी निहीत हुन्छ ।
सिर्जनामा प्रेमको अस्तित्व
प्रेमानुभूति बिम्बित कृतिहरू नै संसार प्रशिद्ध छन् । त्यसैले सिर्जनामा प्रेमको अस्तित्व र उपस्थिति बलशाली रहेको बताउँछन् गीतकार डा. कृष्णहरि बराल । संसारका ठूला कृतिहरू कालजयी बन्नुको पछाडि कतै न कतै प्रेमको हात रहेको उनको ठम्याइ छ ।
प्रेमको परिधी आँखाले आँक्न नसक्ने हुँदा यसलाई फगत प्रेमिप्रेमिकाको सम्बन्धको रूपमा मात्रै चित्रित गर्न नहुने उनको तर्क छ । “व्यक्ति–व्यक्तिबीच हुने प्रेम नै झाँगिदै गएर समाज, देश, राष्ट्र र विश्वप्रेम हुँदै मानवतावादमा पुगेर समाप्त हुन्छ । यसको दायरा आकाशजस्तै असीमित छ,” उनी प्रष्ट्ष्याउँछन् ।
पछिल्लो समय प्रेम विकृत बन्दै गएको उनी मान्न तयार छैनन् । भन्छन्, “प्रेम आफैँमा पवित्र शब्द हो । यो किमार्थ विकृत बन्नै सक्दैन । बरु मानिसचाहिँ खराब कृत्य गर्दै जाँदा विकृत भएका हुन् ।”
मायाका नाममा हुने हत्या, बलात्कार, आक्रमणलाई प्रेमको संज्ञा दिन नहुने बताउँदै अपराधीले प्रेम गर्नै नसक्ने उनको ठोकुवा छ । प्रेम खुसी थप्ने, हाँसो जगाउने जीवनदायी चिज हो । “यो फगत कसैले कसैलाई पाउने चाहनामा मात्रै कसरी सीमित हुन सक्छ ?,” उनी प्रश्न गर्छन् । यौनविकृत आचरण, मनभित्रको कुभाव प्रेम नभएर मनोरोग हुने उनको धारणा छ । प्रेमलाई सृष्टिको संवाहक, आनन्दप्रदायक र समग्रमा जीवनदायक मान्नुपर्ने उनको बुझाइ छ ।
त्यस्तै उनी प्रेमको भाषा सर्वव्यापी हुने बताउँछन् । “अमेरिकाको कुनै पार्कमा बसेर प्रेम गर्ने युगल तन्नेरी र नेपालको कुनै पार्कमा बसेर माया साट्ने युवायुवतीबीच धड्ने मुटु उस्तै हुन्छ । उनीहरूबीचमा आउने भावना पनि एकै हुन्छ,” बराल थप्छन्, “केही भावहरू सर्वदेशीय हुन्छन् र त्यसमा प्रेम पनि पर्दछ ।”
सिर्जना सधैँ तन्नेरी
सिर्जना सधैँ तन्नेरी, जवान र युवक हुन्छ, यो बूढो हुँदैन भन्छन् कवि मनु मञ्जिल । त्यसो त उनी सिर्जनाको भाषालाई प्रेमको भाषा भन्न रुचाउँछन् । चाहे कवितामा द्वन्द्वको विषय आओस् चाहे करुणाको विषय मिसिउन्, ती सबैमा प्रेम अभिव्यक्त भएकै हुन्छ ।
उनी थप्छन्, “प्रेम सपना हो । कल्पनामा पनि त हामीले कसैलाई प्रेम गरिरहेका हुन्छौँ । सिर्जना त कल्पना र सपनाकै आयाम हो ।” जुनदिन हामी सपना देख्न छाड्छौँ, कल्पना गर्न बन्द गर्छौं त्यसदिन साहित्यको पनि निधन हुने उनको मान्यता छ ।
पछिल्लो समय प्रणय दिवस आवश्यक छ कि छैन भनेर बहस भइरहेको छ । कतिपयले त प्रणयलाई पर्वको रूपमा मनाउन आवश्यकै छैन, यो आयातित ‘चाड’ पनि हो भनेर पनि अथ्र्याइरहेका छन् । तर, मञ्जिल भन्छन्, “गणतन्त्र दिवस हुने । वातावरण दिवस हुने तर प्रेम दिवसबारेचाहिँ बहस गर्नुपर्ने ?,” उनी प्रश्न गर्छ । सबैको दिवस मनाइरहँदा प्रेम दिवस मनाउनु अन्यथा मान्न नहुने उनको तर्क छ ।
यसो भनिरहँदा ३६४ दिनचाहिँ मानिसले प्रेम नै गर्दैन त ? या प्रेम दिवस मनाउन भ्यालेन्टाइन डे नै पर्खिएर बस्नुपर्छ छ ? त्यसमा उनको जवाफ छ– अरु दिन पनि मानिसले प्रेम अभिव्यक्त गरिरहेकै हुन्छन् । यो दिनचाहिँ अझ विशेष तरिकाले मनाउनुपर्छ ।
प्रेम र व्यंग्य चेतना
अप्राप्य चिजप्रतिको अति आशक्ति नै वास्तविक प्रेम हो भन्न रुचाउँछन् व्यंग्यकार चट्याङमास्टर । एउटी सुकोमल युवायुवती मात्र होइन सुन्दर घोडा, गधा प्राप्तिको असीम चाहना पनि प्रेम हो । विपरित लिंगीप्रतिको आकर्षणलाई मात्र प्रेम भनेर अथ्र्याउन नसकिने उनको बुझाइ छ ।
“मातापिता, परिवारजन, इष्टमित्र, गाउँसमाज, देशलाई गर्ने माया पनि प्रेम हो । त्यस्तै बाटोमा हिँड्दा आँखामा छाउने सुन्दरता र त्यसप्रतिको मोह पनि प्रेम हो,” उनी थप्छन् ।
प्रेम यही हो भनेर परिभाषामा बाँध्नुलाई ढोँगको संज्ञा दिन्छन् उनी । प्रेम सगर जत्तिकै अनन्त छ । आफ्नो आँखाले क्षितिजसम्म मात्रै देख्यो भनेर आकाश त्यति हो भन्न मिल्दैन । त्यस्तै प्रेमको परिभाषा पनि यही हो भन्न सकिँदैन– उनी प्रष्ट्याउँछन् ।
प्रेम अन्य प्राणीबीच पनि हुने भएकाले मानवले परिभाषित गर्ने प्रेमले सबैको भावना र अनुभूतिलाई न्याय गर्न नसकेको उनको ठहर छ ।
असीमित पीडाको अभिव्यक्ति नै व्यंग्य हो भन्न रुचाउने उनी व्यंग्यमा प्रेमानुभूति मिसाइएन भने अलिनो हुने बताउँछन् । भन्छन्, “तर्क सकिएपछि हामी जसरी खिस्स हाँसेर टार्छौं नि त्यही हो हास्यव्यंग्य ! त्यस्तै अभिव्यक्ति र तर्क सकिएपछि प्रेम सुरु हुन्छ ।”
चराचर जगत नै प्रेममा अडिएकाले यसलाई नकार्न नमिल्ने उनी बताउँछन् ।
प्रेम सजीव चिजसँग मात्र नहुने बताउँदै उनी भन्छन्, “कवितासँग प्रेम बसेपछि मात्रै मान्छे कवि बन्छ । सिर्जनासँग मन जोडिएपछि त मान्छे सर्जक बन्छ । त्यस्तै देशसँग प्रेम बसेपछि मात्रै मानिसमा देशभक्तिको भावना जागृत् हुन्छ । ‘म त्यो चिज थपिएपछि मात्रै पूर्ण हुन्छु !’ भन्ने भावना नै प्रेम हो– उनको भनाइ छ ।
प्रेम र गुलाफ
प्रेम आफैँमा अभिव्यक्ति भएकाले यसमा महँगा, उच्च धनराशीयुक्त उपहारको कुनै जरुरत पर्दैन । आख्यानकार अमर न्यौपाने थप्छन्, “भ्यालेन्टाइनको दिन ओइलाउने गुलाफ दिएर होइन, नओइलाउने मन दिएर पो प्रेम गर्नुपर्छ ।” वास्तवमा प्रेम जीवनप्रतिको समर्पण भाव हो ।
फूल दिएर माया साटासाट गर्ने ‘थिम’ सही नभएको निष्कर्ष निकाल्दै उनी अथ्र्याउँछन्, “ओइलाइ झर्ने फूल दिनुको अर्थ प्रेम मर्नु हो, त्यसैले हृदय दिएर प्रेम गर्यो भने मात्रै प्रेम युगौँयुगसम्म बाँच्छ ।”
संगीत र प्रेम
गीत/संगीत सिर्जना प्रेमभन्दा पर बन्दै सक्दैन् । प्रेम र गीत दुवै भावना भएकाले आपसमा अन्तरसम्बन्धित भएको गायिका कोमल वली बताउँछिन् । “नेपालमा बन्ने ९० प्रतिशत गीतहरू प्रेम–भावनामा आधारित हुन्छ, प्रेमले सबै उमेर समूहका मानिसलाई सेतुको भूमिका निर्वाह गर्छ ।”
गीत संगीतले मानिसमा प्रेमाभाव जागृत हुन्छ र त्यस सहअस्तित्व मानवतावादमै टेवा पुर्याउने उनी बताउँछिन् ।
No comments:
Post a Comment