बाह्रखरी २०७३ माघ २९ शनिबार
“जीवन अनिश्चयी रहेछ !”
यो उनको पहिलो कथन थियो ।
कुराकानी गर्न शुक्रबार मध्याह्न हिमालयन जाभा पुग्दा उनको अनुहारमा जूनको आभा छाएको थियो । एक वर्षअघिसम्म टम्म ढाकेको अनुहारको तुवाँलो फाटेर खुसी उन्मुक्त फक्रिइरहेको प्रतीत हुन्थ्यो ।
“होम प्रडक्सनमा मेरो नयाँ मुभी आउँदैछ नि !” कफीको कप उचाल्दै उनले ‘फिल्म कमब्याक’बारे पोयो फुकाइन्, “फिल्मको ‘सेक्रेट’चाहिँ एक महिनाभित्रै प्रेस मिट गरेर सार्वजनिक गर्छु है ।”
पछिल्लो समय आफ्नो बिजनेसमा निकै अल्झिएकी श्वेता खड्का चाँडै फिल्ममा फर्किंदै रहिछन् । यो खबर सुनाउँदा उनको अनुहारमा अतृप्त खुसी छाएको थियो ।
० ० ०
०७१ साउन २४ गते उनको ‘हाँसो’ खोसिएको थियो । विवाह गरेको २९ दिनमै दिल्लीस्थित एपोलो अस्पतालमा ‘डिप निमोनिया’को उपचार गराइरहेका श्रीकृष्ण श्रेष्ठ निभेपछि अनुहारको आभा करिब अस्तायो । श्रीकृष्ण पर्दाका मात्र होइन, श्वेताको जीवनकै नायक थिए ।
त्यही कारणले श्वेता डिप्रेसनको ‘क्रोनिक प्यासेन्ट’ बन्न पुगिन् ।
“जीवनको आकाशमा कालो बादल यसरी मडारिन पुग्यो कि मलाई कहिल्यै लाग्दैनथ्यो, यसबाट म बाहिर आउन सक्छु ! सहारा भने पनि विकल्प भने पनि आँसु नै थियो,” उनले तत्क्षणको स्मरण गरिन् ।
त्यो पल सम्झँदा उनलाई कहाली लाग्छ । हृदय भरिएर आउँछ । बहिनीले नुहाइदिनुपर्ने, खानासमेत खुवाइदिनुपर्ने अवस्थाको टीठलाग्दो अतीत पनि व्यतीत गरेको थिएँ भन्दा उनलाई अनौठो लाग्छ अहिले !
अरुबाट टाढै बस्न रुचाउने, कोहीसँग बोल्न नपरे पनि हुन्थ्यो ठान्ने श्वेतालाई त्यो अवस्थाबाट मुक्त गराउन परिवारले निकै पापड बेल्नुपर्यो । डिप्रेसनका कारण शरीर डम्म सुन्निएको थियो । ढाड दुखेर अतिशय पीडाबोध हुन्थ्यो ।
“तिमी यो पीडाबाट बाहिर आउनुपर्छ श्वेता, सम्हाल आफूलाई, कसलाई पर्दैन चिन्ता ? को छैन र दुःखमा ?” चिकित्सकहरू बारम्बार सल्लाह दिन्थे । मित्रवत् तवरले ‘कन्भिन्स’ गराउन खोज्थे । तर, उनको विक्षिप्त मन मान्न तत्पर नै हुँदैनथ्यो ।
परिवारले अमेरिका पुर्यायो
प्राणप्रिय व्यक्तिलाई गुमाउनुपर्दाको पीडा श्वेताको अनुहारमा मात्र होइन, एकपछि अर्को गरी शरीरमै फैलन थालेपछि परिवार आत्तियो ।
“श्वेतालाई यो हालतमा यहाँ राख्नुहुँदैन, देशबाहिर गएर केही ‘रिलिफ’को अनुभूति हुन सक्छ । पीडाबाट बाहिर आउन सक्छिन् !”
परिवारले निक्र्यौल गर्यो र उनलाई अमेरिका लग्यो ।
बुबा वसन्त श्रेष्ठले उनलाई अमेरिका पुर्याए र ‘मेडिटेसन’को माध्यमबाट पीडाबाट उन्मुक्ति दिलाउने भगिरथ प्रयत्नमा लागे । अमेरिकाको सहरमा ‘कोहिनूर’ फिल्मका केही शोहरू पनि भए । आफ्नो चलचित्रको प्रदर्शनी र शुभचिन्तकहरूको मायाले राहत दिलाउन थाल्यो ।
“अमेरिका पुगेको केही दिनमै औषधीले काम गर्न थालेको र पीडा दूर हुँदै गएको अनुभूत भयो,” उनी अहिले स्मरण गर्छिन् ।
बुबा साथीजस्तै
उनको पीडा दूर गर्ने प्रेरक व्यक्तित्व बुबा नै हुन् । अझ भनौँ, बुबा साथीजस्तै बने ।
“साथीसँग हाँसो ठट्टा गर्नुपर्छ । बिस्तारै घुलमिल हुँदै जानुपर्छ । जसले पीडा भुलाउन सहयोग पुर्याउँछ,” यसो भन्दै बुबा पीडाबाट बाहिर ल्याउने प्रयत्न गर्थे ।
अमेरिकाका धेरै स्टेट पुगिन् । साथीसंगीसँग भेटघाटलाई तीव्रता दिइन् । उनलाई रुन मन लाग्थ्यो तर मानिसहरू हाँस्न अभिप्रेरित गर्थे । करिब ६ महिनाको अन्तरालमा उनी पीडाबाट पूर्णतया बाहिर आइन् । त्यो भीमकाय पीडाबाट छुटकारा पाउनु जीवनको दोस्रो इनिङ थियो उनको ।
सामाजिक सञ्जालमार्फत सामाजिकीकरण
पीडाबाट बाहिर आउने उपाय सामाजिक सञ्जाल पनि बन्यो । सामाजिक सञ्जालमा आबद्ध शुभचिन्तक, साथीसंगीले उनलाई च्याटमार्फत ‘हँसाउने’ प्रयत्न गर्न थाले । उनीहरू कहिल्यै दुःखका कुरा गर्दैनथे ।
उनी सम्झिन्छन्, “कति साथीहरूले त फन्नी जोक्स पठाएर खुसी बनाउने प्रयत्न गर्थे । अमेरिकामा छँदा खासै काम पनि थिएन । बिहान जगिङ जान्थेँ, दिउँसो च्याटिङ गरेर समय बिताउन थालेँ । पीडा भुलाउने ओखती पो भयो त्यो !”
अनिता बाँस्तोला र अनिता भुर्तेलले हरतरहले उनलाई पीडाबाट बाहिर ल्याउने प्रयत्न गरे । बास्तोला केही समयअघि उनको बुहारी बनिन् भने भुर्तेल अमेरिकामै छिन् ।
“एउटै कुरालाई दिमागमा बारम्बार ल्याइरहँदा त्यही घाउ बन्छ, सम्झिएर कोट्टयाइरहनु हुँदैन । बाहिर आउनुपर्छ,” उनीहरू सधैँ भन्थे ।
“ती दुई जनाले मलाई ‘बेस्ट कम्पनी’ दिए । उनीहरू नभइदिएको भए म शायदै त्यो पीडाबाट उन्मुक्ति पाउँथेँ,” उनको अनुहारमा कान्ती छायो । अगाडि आएको कपाल सर्लक्क पछाडि लगेर कफीको अन्तिम घुट्को पिइन् ।
अमेरिकाका अतिरिक्त उनी अस्ट्रेलिया र मलेसिया पनि पुगिन् । मलेसियामा उनका दाजुभाउजू थिए । दाजुभाउजूको मायामा आह्लादित हुँदा पीडा भुलेको पत्तै भएन ।
“दाजुभाउजूले चाइनिज कन्सर्टहरूमा लैजाने, गीत गाउन लगाउने र विभिन्न उपाय अपनाएर अनुहारमा हाँसो ल्याउने प्रयत्न गर्नुभयो,” उनले थपिन् ।
अस्ट्रेलियामा मितिनी थिइन्, जसले पनि श्वेतालाई पीडाबाट बाहिर निकाल्ने अनेक यत्न गरिन् । श्वेता स्मरण गर्छिन्, “उहाँको सानो बच्चा थियो । म पनि बच्चाजस्तै बनेर ऊसँग खेल्थेँ, म त्यसरी रत्तिँदै गएको देखेर उहाँको आँखामा कैयौँपटक आँसु आउँथ्यो !”
० ० ०
आमा कहिल्यै ‘मर्निङ वाक’ जाँदैनथिन् । तर, श्वेता पीडाको चपेटामा परेपछि छोरीलाई खुसी तुल्याउन प्रातः भ्रमणमा निस्कन थालिन् ।
“मर्निङ वाकमा कहिल्यै ननिस्कने आमा, भाइहरू मलाई खुसी तुल्याउनकै लागि स्यवम्भूसम्म हिँड्नुहुन्थ्यो । त्यतिमात्र होइन, आमा त बाटाभरि हाँसो ठट्टा गर्नुहुन्थ्यो,” उनी मच्चिएर हाँसिन् ।
उनलाई चिन्ता थियो– बाटामा मान्छेहरूले चिन्ने पो हुन् कि ! त्यसैले उनी मास्क र टोपी पहिरन भुल्दिनथिन् । “बाटामा मान्छेहरूले चिनेर ऊ त्यही हो श्वेता भने भने के गर्नु ?,” उनको ओठमा पुनः हाँसो फैलियो ।
उनी फेरि ‘फ्ल्यासब्याक’मा गइन्–
“मलाई थाहा छ, म ‘क्रोनिक’ भइसकेकी थिएँ । म केही गर्न सक्दिनँ, म पनि मर्छु अब भन्ने कुरा मात्रै आउँथ्यो दिमागमा । त्यसबाट बाहिर ल्याउन परिवारले अहम् भूमिका खेल्यो । परिवारबाट मैले जति माया शायदै अरु कसैले पाउँछ ।”
र त, उनी काठमाडौँ आएपछि बदलिइन् । भाइ शैलेसले त अरुलाई फोन गरेर सुनाउँथे रे– श्वेता दिदी कहाँ पहिलाको जस्तो हुनुहुन्छ र ! तिमीहरूले चिन्दैनौँ, बदलिइसक्नुभयो उहाँ !
वास्तवमा त्यो उनको ‘पुनर्जन्म’ नै थियो ।
० ० ०
काठमाडौँ फर्किएलगत्तै उनले व्यवसायमा हात हालिन् । बालुवाटारको इन्जिनियरिङ कन्सल्टेन्सी, सुविधासम्पन्न तथा अत्याधुनिक हेल्थ क्लब,
दरबारमार्गको राइजिङ मलस्थित हिमालयन जाभा कफी सप, सहकारीलगायतमा आबद्ध छिन् उनी र आफूलाई व्यस्त राख्ने प्रयत्न गरिरहेकी छन् । राइजिङ मल उनी आबद्ध कम्पनीकै ‘आर्किटेक्ट’ र ‘इन्टेरियर डिजाइनिङ’ हो । उनीचाहिँ व्यवस्थापकीय पाटोमात्रै सम्हाल्छिन् ।
उनी ‘कफी लभर’ हुन् । फुर्सद हुँदामात्रै होइन, व्यस्त हुँदा पनि उनका ओठ कफीको चुस्की लगाउन लालायीत हुन्छन् । ‘स्टार बक्स’ र ‘कोस्ता कफी’को त उनी पारखी नै हुन् । त्यसैले राइजिङ मलको ‘ओपन स्पेस’मा कफी सप राखेकी छन् । र भेट्न आउने ‘फ्यान’ र ‘डेलिगेट्स’सँग गफिन्छिन् पनि ।
“विदेशमा यस्तो ओपन स्पेसमा क्याफे खुब चल्छ, यहाँ पनि हामीले अभ्यास गरेका छौँ । म यहाँ आबद्ध छु भन्ने सुनेर कति शुभचिन्तकहरू धाएरै आउनुहुन्छ । फोटो खिच्नुहुन्छ । उहाँहरूको माया देखेर पुलकित हुन्छु म !” उनले जोडिन् ।
उनलाई व्यापार व्यवसायमा आबद्ध भएर प्रशस्त पैसा कमाउनु छैन, उनी ‘एम्बिसियस’ छैनिन् । भोलिका लागि साँच्नु पनि छैन । उनले थपिन्, “यो निराशावादी कुरा होइन, जीवन छोटो छ । केही व्यक्तिलाई रोजगारी ‘जेनेरेट’ गर्न पाए पुग्छ, मेरो चाहना यत्ति हो ।”
० ० ०
फिल्म इन्डिस्ट्रजले उनलाई चलचित्रका लागि फलो गरिरहेको थियो । उनले रिजेक्ट गर्दा कति निर्देशक त टाढिएका समेत थिए । ‘अब फिल्ममा कमब्याक हुनुपर्छ तपाईं’ भनेर शुभचिन्तकले पनि हौस्याइरहेका थिए । त्यसैले उनी चलचित्रमा फर्किंदैछिन्, त्यो पनि ०७४ भरिमा प्रदर्शनमा ल्याउने गरी । तथापि उनले चलचित्रबारे खासै खुलाउन चाहिनन् । भनिन्, “यो विशुद्ध पारिवारिक चलचित्र हो । मायाको कुनै सीमितता हुँदैन भनेर चलचित्रमार्फत देखाउन खोजिएको छ, पारिवारिक प्रेम कथामा आधारित चलचित्र बनाउने तयारीमा छु म ।”
एक महिनाभित्रै पत्रकार सम्मेलन गरेर चलचित्रबारे जानकारी दिइने उनले बताइन् ।
“म पहिला आफ्नै प्रोजेक्टमार्फत चलचित्रमा फर्कन्छु । त्यसपछि मात्रै अरुको प्रोजेक्टमा काम गर्छु,” उनले प्रष्ट्याइन् ।
पुनः विवाहबारे
दोस्रो विवाह गर्नुहुन्छ ?
मेरो जिज्ञासामा श्वेताले कूटनीतिक जवाफ दिइन् ।
“हिजो दाइ (श्रीकृण श्रेष्ठ) सँगै काम गर्दा पनि मलाई सोध्थे, ‘विवाह कहिले गर्नुहुन्छ ?’ मसँग जवाफ हुँदैनथ्यो । विवाह हुन्छ÷हुँदैन मैले निश्चय गरेर भन्ने कुरा थिएन । मैले अफेयरबारे पनि बताउन सक्दिनथेँ, विवाह अगाडिसम्म हामी साथीमात्रै थियौँ । आज पनि मैले निश्चय गरेर भन्ने कुरा छैन । यति हो, म अहिले यत्तिकै खुसी छु ।”
उनले निकै नै जोड दिइन्, “मैले मेरो पर्सनल लाइफको बारेमा केही पनि सोचेकी छैन । विवाह हुन्छ/हुँदैन यसै भन्न सक्दिनँ ।”
तथापि आफन्तले उनलाई पुनः विवाह गर्न सुझाउँछन् । कतिपयले आमालाई आएर भन्छन्– छोरीको खुसीको लागि अर्को विवाह गरिदिऊँ ।
तर पनि अहिले यी सबैबाट टाढै छिन् उनी । कसैलाई केही निर्णय दिइसकेकी छैनन् ।
एकल नारीलाई सुझाव
विवाह गरेको २९ दिनमै ‘खुसी’ खोसियो । ‘सेलिब्रिटी’ जीवन बाँचेकी श्वेताले ‘एकल’ अनुभूति गर्नुपरेन । तर, विवाह गरेको छोटो समयमै सिन्दुर पुछिएर लामो जीवन एक्लै व्यतीत गरिरहेका व्यक्ति थुप्रै छन् । पारिवारिक, सामाजिक रूपले हेयको जीवन बाँच्नेहरू पनि छन् । ती सबैलाई श्वेता सामाजिक बन्धनभन्दा पनि आफ्नो खुसी रोज्न अनुरोध गर्छिन् । अरुको आग्रहमा खुम्चने भन्दा आफ्नो निर्णयमा फैलन सुझाउँछिन् उनी ।
भन्छिन्, “जे गर्दा आफूलाई खुसी मिल्छ त्यही गर्नुस् ! विवाह गर्दा खुसी मिल्छ भने रोकिन जरुरी छैन !”
No comments:
Post a Comment