अपेक्षा चन्द 'सरु'
अक्षर काका उर्फ रामनाथ खनालको दोस्रो कृति र पहिलो उपन्यास ‘देउती’ पढ्न बस्नुअघि कौतूहलले निकै डेरा जमाएको थियो । ‘डिजिटल जर्नालिज्म’मा केही समय व्यतीत गरेका सबाल्टर्नका पक्षमा लेख्न रुचाउने काकाले के विषयमा हात हाले होलान्, पत्रकारिताबाट पूरण हुन नसकेको कुनचाहिँ आकाङ्क्षा पूरा गर्नका लागि आख्यानमा हात हाले होलान् भनेर जिज्ञासु बनेकी थिएँ ।
सामाजिक सञ्जालमा ‘देउती’ पढेका पाठकका भावना/प्रतिक्रिया पढेपछि ‘देउती’बारे अमूर्त छाप बसिसकेको थियो दिमागमा ।
पुस्तक हातमा पर्नुअघि पाठकको दिमागमा पुस्तकको कथावस्तुबारे थुप्रै अनुमान हुन्छ, अड्कल काटिन्छ । ‘यस्तो होला’ भनेर अनुमान गरेर पढ्ने बानी छ मेरो ।
‘देउती’का सन्दर्भमा मेरा केही अनुमान मिले, अधिकांश मिलेनन् । तर, यसैको मानक ‘देउती’को सफलता/असफलता होइन, मेरा लागि ।
र पनि, उपन्यासले ‘देउती’को मर्मलाई न्याय गर्न सफल भएको छ । ‘देउती’ पढिरहँदा मैले मेरी आमालाई फेरि एकपटक पढेँ । उहाँको जीवनको गहिराइमा पुगेँ । ‘देउती’मा मेरी आमामात्र होइन, थुप्रै आमाहरू हुनुहुन्छ । उहाँहरूलाई पनि पढेँ मैले ।
त्यसैले ‘देउती’ समग्र उत्पीडित नारीहरूप्रति समर्पित, लक्षित उपन्यास हो । अझ भनौँ, तीन पुस्ताबीचको सेतु हो– ‘देउती’, जसमा तीन पुस्ता पहिलेका नारीहरूको अवस्था चित्रण गर्न खोजिएको छ । जुन समयको नारी दुर्दशा उपन्यासमा कल्पना गरिएको छ, त्योभन्दा माथि उठ्न सकेको छैन महिलाहरूको अवस्था ।
बालविवाह, एकल महिला हुँदै हदभन्दा धेरै देउतीले भोगेका पीडाले मुटु दुखेको बिरामीजस्तो घाइते तुल्याउँछ ।
पितृसत्तात्मक सोचको परिणामस्वरूप नारीहरू वर्षौंदेखि उत्पीडनको सिकार बन्दै आइरहेका छन् भन्ने कुरा उपन्यासले चित्ताकर्षक ढंगले प्रस्तुत गरेको छ । संवाद स्वाभाविक लाग्छन् । भाषा पाखापखेराकै छ । यो उपन्यासको अर्को सबल पक्ष हो ।
यसो भनिरहँदा किताबमा भाषिक जटिलता नभएको होइन । बेलाबखत अक्षर काका पात्रका बीचमा घुस्छन् र तिनका संवाद आफैँ बोल्न थाल्छन् । यसले जटिलता र अस्पष्टता निम्त्याउँछन् । तर, त्यसले पनि अरुचि नै पैदा भने गर्दैन ।
‘देउती’ पढ्न सुरु गर्दा सुरुमा नै कथावस्तुले तान्दैन । कथाको तारतम्य नमिलेको हो कि भन्ने भान पनि पर्न सक्छ, कतिपयलाई । कथ्य भाषाको ‘अति’ प्रयोगले पाना छाड्न मन लाग्ने पनि हुन सक्छ । तर, पाना पल्टाउँदै जाँदा भाषाको कथ्यबहुलता सम्मिँदै जान्छ र मध्यभागमा पुगेपछि किताब छाड्नै मन नलाग्ने हुन्छ । यसको अर्को सबल पक्ष यो पनि हो ।
म ‘देउती’को अर्को सबल पाटो मान्छु– देउती र उसकी सासूबीचको सम्बन्ध !
आजको समयमा पनि सासूबुहारीको सम्बन्ध आमाछोरीको जस्तो बिरलै मात्र देख्न पाइन्छ । तर, उपन्यासकारले उतिबेला पनि त्यस्तो थियो भनेर देखाउन खोजेका छन् ।
कुनै घरमा मेलमिलाप देख्दा अरूलाई कति औडाहा हुन्छ भन्ने पनि प्रस्ट देखाउन सफल भएको छ ‘देउती’ । शङ्काले लङ्का जलाउँछ भन्ने उक्ति पनि चरितार्थ भएको छ ‘देउती’मा । लोभ, रिस, शङ्का यी सबै समाजमा चल्दै आइरहेका थिए र चली नै रहन्छन् । हाम्रो समाजको यही यथार्थलाई उदाङ्गो पार्न सफल भएको छ ‘देउती’ । एकल महिलाले भोग्नुपर्ने समस्या अनि समाजले उसलाई हेर्ने नजर र गर्ने व्यवहार कुनै नौलो कुरा होइन । हामी जसरी सोच्छौँ, जुन व्यवहार गर्छौं, ‘देउती’ त्यसको दस्तावेज बनेको छ ।
‘जहाँ पातलो छ, त्यहीँ प्वाल पर्छ’ भनेझैँ नियतिले देउतीलाई दिएको पीडा देख्दा कहाली लागेर आउँछ । यतिविघ्न पीडा थोपर्ने लेखक देखेर कन्सिरीका रौँ तात्छन् । तर, लेखक गलत छैनन् । समाजमा नारीका व्यथा–कथा तिनै हुन् ।
थोरै सम्पत्तिका लागि पनि आफन्तले देखाउने व्यवहार अनि दुःखमा आफ्नाभन्दा पराईले गर्ने निःस्वार्थ सहयोगको दृश्यसँगै ‘देउती’ले हामीलाई हाम्रै आँगनमा पुर्याउँछ र रछ्यान, जुठेल्नोमा डोर्याउँछ ।
महिलालाई ताकेर बस्ने गिद्धेनजर, महिलाले महिलाको चरित्रमाथि शङ्का गर्ने प्रचलन, बोक्सीको आरोप, धामीझाँक्रीमा विश्वास, छोरा नै जन्माउने प्रबल इच्छा । लाग्छ– हिजोको होइन, आजकै समाजको ऐना हो ‘देउती’ । यी अद्यावधि छन् र सानो प्रयासले हट्दैनन् भन्ने आग्रह पनि पालेको छ ‘देउती’ले । यो पनि अस्वाभाविक छैन ।
उपन्यासको अन्तिम पानो पल्टाउँदै गर्दा केही खड्किन्छ । उपन्यासका केही घटनाहरूका रहस्य खुल्दैनन् । देउतीको बैंस नंग्र्याउन आउने व्यभिचारी को हो ? देउतीको कटेरोमा कसले आगो झोस्यो ? रहस्यको गर्भमै छन् यी !
देउतीकी आमाको दोहोरो चरित्रबारे पाठकलाई संशय भइरहन्छ । लेखक चरित्र चित्रणमा चुकेका हुन् कि जस्तो पनि लाग्छ । समाजको तस्बिर उतार्ने बहानामा लेखक बहकिए भन्न सकिने ठाउँ पनि कताकता छोडेको देखिन्छ । देउतीकी जेठानीको एक्कासि देउतीप्रतिको लगाव र अन्ततः घृणा पनि स्वाभाविक परिघटना लाग्दैनन्, फिल्मी लाग्न सक्छ कतिपयलाई !
देउतीमाथि घटेका सबै घटनामा के जेठाजु–जेठानीको हात थियो ? त्यत्रो वर्ष देउतीका श्रीमान् किन घर फर्किएर आएनन् ? पुस्तक पढेपछि यिनै प्रश्नले पाठकलाई चिमोट्न थाल्छन् ।
तर, उपन्यासलाई अनावश्यक नतन्काएर छोटोमीठो बनाउने लेखकको कला निकै नै सराहनीय छ । देउतीलाई देउती बनाउन देउतीले ती दर्दनाक दुःखहरूको निरन्तर सामना गर्नु जरुरी थियो । र त, ऊ देउती भई । उपन्यासको गुदी नै हो यो । र, तिनै पीडाहरूका कारण ‘देउती’ सफल पुस्तक बनेको छ ।
पुस्तक पढ्दा बेलाबेला लाग्छ, अब त देउतीका पीडा, दुःख कम हुँदै जालान् । तर, अर्को पाना नपल्टाउँदै निराशा व्यहोर्नुपर्छ ।
पुस्तक पढ्दा सास ढक्क फुलेर आउँछ, शरीरका रौँ उचालिन्छन् । देउतीका दुःखहरू बीचमै अन्त्य भैदिए हुन्थ्यो जस्तो पनि लाग्छ । तर, यसो भएको भए कथा अन्तै मोडिन्थ्यो र देउती ‘देउती’ बन्दैन थियो भन्ने कुराचाहिँ अन्तिममा आएर महसुस हुन्छ ।
एउटा पुरुष भएर नारीको मनोदशा लेख्न सजिलो हुँदैन, पक्कै । तर, लेखक यो अर्थमा सफल ठहरिएका छन् । तसर्थ लेखक धन्यवादका पात्र हुन् । ‘देउती’ त्यो र यो समाजको ऐना हो भन्न रुचाउँछु म, जसले समाजलाई जस्ताको तस्तै, दुरुस्तै उतार्ने प्रयास गरेको छ र सफल पनि भएको छ ।
लेखक :अक्षर काका
प्रकाशक : सांग्रिला बुक्स
बिधा : आख्यान
मूल्य : ३३३
पृष्ठ संख्या : २४३
No comments:
Post a Comment