Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

भाँडा माझेरै छोरीलाई ‘डाक्टर’



By  Unknown     12:13 AM    Labels: 

अक्षर काका

सिन्धुपाल्चोक, ज्यामिरेबाट ओरालो झर्दा मीना तामाङसँग साथमा एउटा दुब्लो कुम्लोमात्र थियो । कुम्लोभित्र च्यातिएको च्यादर र केही थान मैला कपडा थिए । घरको भित्तोजस्तो रित्तो गोजी थियो । तर, मनमा सपना साँचेकी थिइन्– तल कलकल बगिरहेको इन्द्रावतीजस्तै । सफेद, निश्चल !

टोपी खस्ने निर्धनताको अग्लो पहाड । अभावले खिइँदै गएका हातगोडाले जति खनीखोस्री गरे पनि ज्यामिरेका फगटाहरूमा सुखको अनाज कहिल्यै उम्रिएनन् । बरु जीवनमा दुःखको कोणधारी जंगल पो थपियो– छिचोल्नै गाह्रो । मनभरी रहर र थाप्लोमा पीडाको कहर बोकेकी मीनाले सहर पस्ने ठहर गरिन्– आजभन्दा तीन दशकअघि ।

तर, सहरले पनि उनलाई कहाँ सुख दियो र ?

काठमाडौँ खाल्डो पसेपछि उमेर फेरियो । हातपाखुरा बलले शरीर बैंसले घेरियो । उमेरक्रमसँगै परिचय पनि बदलियो तर दुःख ज्युँका त्युँ रहे । कुनै बदलाव आएनन् ।

बरु उनको जिन्दगीमा ‘लोग्ने’ नामको पुरुष प्रवेश गर्‍यो र त्यसैले दुःख थोपर्‍यो अनेक प्रारूपमा । सुखसँग कहिल्यै साक्षात्कार नभएकी मीनाले लोग्नेको दैलोभित्र प्रवेश गरेपछि अतिरिक्त दुःख र मानसिक, शारीरिक यातना, प्रपीडासँग पो परिचय पाइन् । लगातार तीन सन्तान जन्मे । लालनपालन, शिक्षादीक्षाको भारी आफ्नै काँधमा थपियो । लोग्नेलाई कुनै वास्ता भएन, मानौं, उनी त्यसबाट बेखबर थिए ।

तिनै मीनाको जीवनमा अहिले पहारिलो घाम लागेको छ । सन्तान–सुखको जादूमयी आभाले होला, उनको अनुहार लगातारको झरीपछि मुसुक्क हाँसेको आकाशझैँ छ्याङ्ग खुलेको छ ।

५० वर्षीया मीना तामाङले अर्काको घरमा भाँडा माझेरै, बनिबुतो, ज्याला मजदुरी गरेरै, दुःख, अभाव झेलेरै निर्धनता, विपन्नतासँग निर्मम पौँठेजोरी खेलेरै छोरीलाई दन्त चिकित्सक बनाएकी छन् । आफ्नै नामबाट नागरिकता दिलाएकी उनको छोरीको नाम अघिल्तिर डा. थपिएको छ ।

सिन्धुपाल्चोकका डाँडाकाँडा, जहाँ अझै पनि शिक्षाको तेजिलो घाम लागेको छैन, दुःखका बनबुट्यानले जेनतेन लागेको पार छेकिदिन्छन् । पाठशाला होइन, बालखैमा पराइको घर जान अभिशप्त छन् त्यहाँका तामाङ किशोरीहरू ! त्यही ठाउँकी ‘अनपढ’ मीनाले आफ्नी छोरीलाई पढेलेखेकी मात्र होइन, आम मानिसहरूको सपनालाई उछिनेर चिकित्सक बनाउन सफल भएकी छन् ।

० ० ०

बाल्यकालमा कसैले ‘राम्री पढ्दी रहिछ्यौ, डाक्टर बनेस्’ भन्यो भने भावना नराम्रोसँग झस्किन्थिन् । शरीरका रौँ उचालिन्थे । बालखैमा अभिभावक र मानसिक यातनासँग चिनजान भएकी उनले सपना देख्न पनि छाडिसकेकी थिइन् । दिनभरि हड्डी घोट्दा पनि चुल्हो तताउन मुस्किल हुने दीन–हीन आमाकी छोरीले त्यत्रो सपना कसरी देख्नु ! जिब्रो काढ्थिन् उनी ।

“रातोदिनको गृहकलहले कयौँ रात आँखा झिमिक्क नपारी बित्यो, सपनै देख्न पाइन !” उनी बाल्यकालको कुइनेटोतिर फर्किइन् । र, खुइया काढिन् ।

उनी चाहन्नथिन्– आमाको थाप्लोमा नाम्लोको डामभन्दा चाक्लो आफ्नो आकांक्षा नबनोस् । आफ्नो सपना निर्धनताको पहाड भन्दा अग्लो नबनोस् र आमाका लागि उत्तिकै बोझिलो पनि । र त, उनले यो बन्छु, यस्तो बन्छु भनेर सपना कहिल्यै साँचिनन्, आफ्नै धरातलमा बाँचिरहिन् ।

स्कुलसँगै भत्किएको जीवन
समय ठ्याक्कै याद भएन उनलाई  । ९–१० वर्षकी थिइन् उनी । काठमाडौंको उत्तरी भेग महाँकालको प्रोग्रेसिभ बोर्डिङ स्कुलमा कक्षा ४ मा पढ्थिन् । खै किन हो स्कुल भत्काइयो । शैक्षिक सत्रको मध्यतिर । दोस्रो त्रैमासिक परीक्षा सकिनेबित्तिकै विद्यालय भत्काइएकाले उनले कक्षा चार पूरा गर्न पाइनन् । पढाइ तेजिलो थियो । शिक्षकले भनेको चराले आहारा टिपेझैँ टपक्कै टिप्थिन् । तर, स्कुल बीचमै भत्काइएपछि उनको शैक्षिक यात्रा पनि अन्धकारतिर धकेलियो । तत्कालै अर्को विद्यालय जान आर्थिक अवस्थाले भ्याउँदैनथ्यो । नपढौँ, साथीसंगी झोला बोकेर विद्यालय जान्छन् । रोएरै बिताइन् उनले त्यो वर्ष । “साथीसंगी हाँस्दै, रमाउँदै विद्यालय जान्छन्, आफू रोएरै घरमा बस्नुपर्छ । फेरि घरमा आमाबाबाको राम्रो भए पनि त हुन्थ्यो नि !,” नोस्टाल्जिक भइन् उनी ।

० ० ०

अर्को वर्ष नयाँ शैक्षिक सत्र प्रारम्भ हुँदैथियो । उनले सुनिन्– जोरपाटीमा स्कुल खुलेको छ, सय रुपैयाँमा पढाइन्छ । सय रुपैयाँमा एउटा किताब आउँदैन । सय रुपैयाँ लिएर बजार गयो एक छाक पुग्ने तरकारी पाउन मुस्किल हुन्छ । यस्तो महँगो बेलामा सय रुपैयाँमा पढाउने कस्तो विद्यालय होला ? उनकी आमा चित् खाइन् । त्यसो त उनको पढाइ तेजिलो भएकाले अघिल्लो विद्यालयमा पनि छात्रवृत्तिमै पढेकी थिइन् । वर्षको सय रुपैयाँमात्रै बुझाए पुग्ने भएकाले अँध्यारोतर्फ धकेलिएको उनको शैक्षिक जीवनमा पुनः घामले चिहाउने मौका पायो ।

तर, उनले त्यहाँ दुई कक्षा मुनि झर्नुपर्‍यो । दुई कक्षामा भर्ना भइन् उनी ।

समता शिक्षा निकेतन उनको जीवनको शैक्षिक खुट्किलो मात्र बनेन, मानसिक पीडा दूर गराउने उपचार केन्द्र पनि । कारण समतामा उनीजस्तै दीन–दुःखी, गरिब, विपन्न बालबालिकाहरू पढ्न आउँथे । बाबुआमाले दिएका शारीरिक यातनाका प्रतिबिम्बहरू हातखुट्टा, निधार कहाँ मात्रै हुँदैनथे ! र पनि तिनीहरू हाँसीखुसी खेलिरहन्थे । कैदीहरू उन्मुक्त भएझैँ, यातना शिविरबाट बाहिर निकालिएझैँ खुसीले फुरुङ तिनको अनुहारमा हाँसो अचम्मसँग फिँजिएको हुन्थ्यो । “आफूजस्तै दुःखी भेटेपछि मान्छेले आफ्नो पीडा बिर्संदो रहेछ, सायद । मैले पनि बिस्तारै पीडा भुल्दै गएँ,” उनको अनुहार घाम ओझेल परेपछिको आकाशजस्तै देखियो, घुर्मैलो ।

त्यही वार्षिक सय रुपैयाँले उनको भाग्यरेखा कोरिदियो । अनगिन्ती सम्भावनाका बेल फोरिदियो । ८८.७५ प्रतिशतका साथ विशिष्ट श्रेणीमा उनले एसएलसी उत्तीर्ण गरिन्, ०६६ सालमा ।

‘अनपढ’ आमाले उनको खुसीमा अर्को लाली त के थप्न सक्थिन् र तैपनि भनिन्– ला ! पाँच रुपैयाँ मिठाइ किनेर मुख गुलियो पार् । अर्काले लगाएको मैला लुगा सुकिल्याएर उजिल्याएकी थिइन् उनले भावनाको भविष्य । ज्याला मजदुरी गरेर मलजल गरेकी थिइन् छोरीको शिक्षादीक्षा ।

छोरीकै भविष्यका लागि सिंगै जीवन ‘लिलाम’ गरेकी आमाले खुसी बाँड्न किन अतिरिक्त रुपैयाँ दिनुपथ्र्यो र ! र पनि चुपचाप  ग्रहण गरिन् भावनाले । सर्टिफिकेट होइन, आमाबाबुको खुसी छोराछोरीको उपलब्धि हो ।

० ० ०

भावना जन्मिएपछि आमाले प्रताडना बेहोर्नुपर्‍यो । त्यो पनि खुसी दिन्छु भनेर भित्¥याएको प्रिय मान्छेबाटै । भावना सम्झिन्छिन्, “बाल्यकाल त आमाको आँखाको आँसु पढेरै व्यतीत गरेँ । पढ्न भनेर पुस्तक त पल्टाउँथे, तर आँखा आमाको अनुहारमा पुगिहाल्थ्यो,” किताब आँसुले नभिजेको दिनै थिएन भन्दा हुन्छ उनको ।

रातोदिनको घरझगडाले उनमा ठूलो मानसिक अघात पर्‍यो । तर, कारण उनले कहिल्यै थाहा पाइनन् । पाउन् पनि कसरी ? उनको बालसुलभ मस्तिष्कले कति नै ठम्याउन सक्थ्यो र !

दुई बहिनी पनि थपिएपछि उनले आफैँ अनुमान गरिन्, “बाबुले छोरी नजिन्मएको आक्रोश पोख्नुभएको हो कि !”

“छोरो नजन्मनुमा आमाको के दोष थियो र बुबाले पटकपटक रोष पोख्नुभयो ?” अचानक उनका गह भरिए, अनुहारमा भावुकता थपियो ।

छोरो नजन्मिएवापत आमाको बिहेपछिका कयौँ दिन रोएर बित्यो । छोरो नजन्मिएर पाउन नसकेको भन्दा ठूलो खुसी अहिले छोरी भावनाले दिएकी छन् । आमाको अनुहारमा फुलेको सुनाखरीले भावनाको जीवन मगमगाएको प्रतीत हुन्छ । छोरा खोज्ने बाबुलाई यो भन्दा ठूलो जवाफ अरु केही हुन सक्दैन ।

० ० ०

उनका बुबा उनीहरूसँग टाढिएको दशक बितिसकेको छ । खोज खबरै गर्दैनन् । बाबुले छोडेपछि माउबिनाको चल्लाझैँ चार आमाछोरी भीमकाय अँध्यारोतिर धकेलिए । आँसु पिएरमात्रै बाँच्नुपर्ने अवस्था पनि आइलाग्यो ।

बाबुले छाडेपछि आमा अर्काको घरमा भाँडा माझ्न जान थालिन् । “आमाले शिशिरयामको ठन्डीमा राति अबेरसम्म भाँडा माझेर, लुगा धोएर हासिल गरेको उपलब्धि हो यो,” मातृभक्ति आँखामा छचल्कियो उनको ।

खुसी थमाउने ‘एन्जेल’
कसैको उपलब्धिको पछाडि कसैको त्याग या समर्पणको पनि हात हुन्छ– यो दार्शनिक सच्च्याइ भावनको जीवनमा पनि लागु भएको छ ।

प्रवेशिका परीक्षा उत्तीर्ण गरिसके पछिको एकदिन, उनी अबेरसाँझ कोठा फर्किएकी थिइन् । प्रवेशिका परीक्षामा विशिष्ट श्रेणीमा पास भएपछि उनलाई थुप्रै कलेजले निःशुल्कवृत्ति, छात्रवृत्तिमा पढाउने प्रस्ताव गरेका थिए । त्यसैका लागि अन्तर्वार्तामा जाँदा उनी ढिला घर पुगेकी थिइन् ।

घरमा जाँदा अनौठो दृष्य देखिन् । दुई  बहिनी भुईंमा किताब राखेर घुँडामुख गरेर पढ्दै थिए भने छेवैमा बसेकी सेता वस्त्र लगाएकी महिला आमाको पिल्पिलाउँदो अनुहार हेरिरहेकी थिइन् । आमा सुँक्सुकाउँदै आफ्नो बह पोखिरहेकी थिइन् ।

घाम पनि अप्ठ्यारो मानेर छिर्ने साँघुरो कोठा, रित्ता भाँडाकुँडा गरिबीको साक्षी बनिरहेका थिए । शिक्षकले दिएको पाठको रटान लगाइरहेका दुई बालबालिकाले पढ्ने चाहना मुखरित गरिरहेको थियो ।

मदर टेरेसाको पथीक ‘सिस्टर निर्मला फाउन्डेसनमार्फत’ उनको ‘अभागी मकान’मा ती विदेशी महिला पुगेकी रहिछन् । श्वेत वस्त्र पहिरिएर समाजसेवामा दत्तचित्त रहने भएकाले होला, भावनाले ती स्पेनिस महिलालाई एन्जेल अर्थात् परी भनेर बोलाउँदि रहिछन् ।

मीनाको करुण कहानी सुनेपछि विदेशी महिला द्रवीभूत भइछिन् र भनिछन्, “म तिमीहरूको परिवारलाई सहयोग गर्छु । बालबालिकोको शिक्षामा सघाउँछु ।”

११–१२ ट्रिनिटीले पूर्ण छात्रवृत्तिमा सघाउँछु भनेको र दुई बहिनी समतामै पढिरहेकाले भावनाले शिक्षामा तत्काल सहयोगको आवश्यकता महसुस गरिनन् । भनिन्, “अहिले जसोतसो चलिरहेको छ, पछि केही पर्‍यो भने खबर गर्छौं ।”

सहयोगका वचनवद्धतासँगै ती महिलाले हिँड्नेबेलामा एउटा कागजको चिर्कटोसमेत थमाइन् । जसमा उनले आफ्नो घर, इमेल ठेगाना र सम्पर्क नम्बरसमेत उल्लेख गरेकी थिइन् ।

० ० ०

११ कक्षामा भर्ना हुँदा उनीसँग चिकित्सक बन्ने लक्ष्य थिएन । ट्रिनिटीले आवासीय सुविधासमेत दिएको थियो । होस्टल पढ्दा उनको थुप्रै साथीसँग बसउठ भयो । तर, ती सबैको आकांक्षा चिकित्सक नै बन्ने थियो । “‘प्लस टु’ सकेपछि तँ के पढ्ने ?,” साथीहरू खो¥याउँथे । तर, उनका ओठ उघ्रन मान्दैनथे ।

यो बन्छु भनेर सोच्न थाल्यो आँखा अघिल्तिर टीठलाग्दो गरिबी खडा हुन्थ्यो र तर्साउन थाल्थ्यो । सपनाबाट लखेटिनु भन्दा सपनै नदेख्नु उत्तम ठानेर उनी ‘भाग्य भरोसा’मा छाडिदिन्थिन् सबै ।

कक्षा १२ सक्ने बेलासम्म त उनको दिमागमा पनि चिकित्सक बन्ने सपनाले राज गरिसकेछ, थाहै नदिई ।

दिमागमा स्पेनकी महिलाले हिँड्ने बेला भनेका कुरा सम्झना आयो । ११–१२ कस्तो हुन्छ भनेर उनले त्यतिबेला मुख फोरेकी थिइनन् । त्यसो त स्पेनिस महिलाले ट्रिनिटी पढ्दा होस्टेलमै आएर ‘असुस’ ब्रान्डको ल्यापटप दिएकी थिइन् र ‘राम्रोसँग पढ है’ भनेर बिदा भएकी थिइन् ।

प्लस टूमा राम्रै प्राप्तांक ल्याएपछि उनले आईओएममा पनि ‘इन्ट्रान्स’ दिइन् । सकेसम्म छात्रवृत्ति पाए अर्कालाई किन दुःख दिनु ? यही सोचेर उनले स्पेनी महिलालाई सुरुमै अनुरोध गरिनन् ।

छात्रवृत्तिमा नाम ननिस्किएपछि उनी झस्किइन्– अल्पायुमै सपनाको देहावशान हुने भो । चिकित्सक बन्न नपाउने भएँ म ।

स्पेनी महिलासँग उनको परिवारको सम्पर्क निरन्तर भइरहेको थियो । त्यसैले उनले अठोट गरेर भनिन्, “सरकारीमा नाम निस्किएन, प्राइभेटमा पैसा तिरेर त पढ्न पाइन्छ, हामीसँग त्यो सामथ्र्य छैन, कसो गर्ने होला ?”

स्पेनी महिलाले सुरुमा त भनिन्, “महँगो रहेछ !”

उलने वचन दिइसकेकाले चिकित्सक पढाउन तत्परता देखाइन् र उनलाई सुरुमा पाँच लाख तिरेर काठमाडौँ विश्वविद्यालयअन्तर्गत जोरपाटी अत्तरखेलस्थित मेडिकल कलेजमा भर्ना गरिदिइन्  । पाँच वर्षको निरन्तरको मिहिनेतपछि उनले भर्खरै बीडीएस पास गरेकी छन् । र, इन्टर्नको तयारीमा छिन् ।

बीडीएस उत्तीर्ण गरेको क्षण उनलाई सपनाजस्तो लाग्यो रे ! चिकित्सक पढ्ने सपना शायदै पूरा हुन्छ, उनले सोचेकी थिइन् ।

तर, स्पेनी महिला भगवानकै रूप धारण गरेर उनको जीवनमा आइन् र त्यागको प्रतिमूर्तिका रूपमा खडा भइन् ।

पाँच लाख बुझाएपछि उनको धमनी टालिएझैँ भयो । मुटु ढक्क फुल्यो– पढ्न सकिन भने त मरेकै जुनी पो हुन्छ !

चुल्ठो कसेर पढ्न थालिन् । स्पेनी महिला बेलाबखत नेपाल आउँथिन्, अनेक सम्भावना देखाउँथिन् । कहिले हप्काउँथिन्, उत्तिकै माया पनि गर्थिन् । उनैको छत्रछायामा भावनाको चिकित्सक बन्ने सपना अन्ततः पूरा भयो । सुरुमा पाँच लाख र दुई वर्षअगाडि १७ लाख गरी २२  लाख स्पेनी महिलाले बेहोरिन् ।

अर्काको घरमा भाँडा माझेर, दुःखका बलिन्द्रधारा आँसु झारेर छोरीलाई चिकित्सक बनाइछाड्ने आमाको समर्पणले उनलाई डक्टरको उपाधि चुमायो ।

० ० ०

सपनालाई ओछ्यान बनाएर सुते जिन्दगीले रछ्यानमा पुर्‍याउँछ । यो मान्यतामा दृढ छिन् उनी । सपनै नबनाएर कृत संकल्पित रहे पनि उनी दन्तचिकित्सक बनिन् । तर उनले त्यसलाई सफलता मानेकी छैनन् । “यो मेरो ‘अचिभमेन्ट’ होइन । जबसम्म मैले हासिल गरेको सफलताले समाजलाई केही दिँदैन । त्यतिबेलासम्म मैले गर्व गरिहाल्नुहुँदैन,” दार्शनिक जवाफ पनि दिन्छिन् उनी ।

त्यसका साथै वृद्ध लयमा ढल्कँदै गरेकी आमा, उनैमा निर्भर दुई जना बहिनीको भविष्य । यी कर्तव्य पूरा गर्न र निभाउन सक्ने नहुञ्जेल उनले केही पाएको, भएको अनुभूत पनि गर्दिनन् रे ।

जीवनमा पछाडि फर्कने छुट छैन 
रातोदिनको ‘टर्चर’ र पारिवारिक कलहले उनलाई बिहे गरेर बाटो लागूँ नलागेको पनि होइन । तर, परिस्थितिसँग पौँठेजोरी नखेली सफलता हात लाग्दैन भन्नेमा उनी दृढ संकल्पित थिइन् र अविचलित रहिन् । यही हो उनको सफलताको सोपान ।

अन्तिममा मैले कुराकानी बिट मार्दै अब के इच्छा  छ ? भनेर सोधें । ‘इच्छाको समाप्ति मृत्युसँगै हुन्छ’ दार्शनिक प्रतिउत्तरसँगै उनले भनिन्, “एकपल्ट ‘करिकुलम भिटा’मा विदेशी डिग्री थप्न मन छ ।”

जाँदाजाँदै सोधेँ– विदेशमै हराउनु त हुन्न ?

“नाम र परिचय यहीँको माटोले दियो, बाटो भुलेर विदेशमै अल्मलिनु छैन,” अनुहारमा जूनको आभा छायो । पोखरा जान हतार भएकाले होला, हात हल्लाएर बिदा भइन् उनी ।

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment