अक्षर काका
“म दुर्गे कामी । वर्ष सत्तरी । घर फेदीखोला स्याङ्जा । मैले यो उमेरमा एसईई उत्तीर्ण गरे । पैसा नहुँदा कलेज भर्ना हुन पाइनँ । म क्याम्पस पढ्न चाहछु । मेरो अर्को प्रश्न, रोजगारीको सिलसिलामा साउदी गएको मेरो छोरो त्यहाँको जेलमा छ । खबर आएअनुसार उसलाई त्यहाँको सरकारले मृत्यु दण्डको सजायँ तोकेको छ ! मेरो प्रश्नको सुनुवाई हुनुपर्यो ! अनि नागरिकतामा जन्ममिति घटाइँदा वृद्धभत्ता लिन पाइनँ,”
विवेकशील नेपाली दल र साझा पार्टीको एकीकरण समारोहमा उपस्थित वयोवृद्धले रवीन्द्र मिश्रलाई एकै स्वासमा सोधेको प्रश्न हो यो ।
भादगाउँले टोपी लगाएका, छाताको लौरो टेकेका ती वयोवृद्धको प्रश्न सुन्नेवित्तिकै रवीन्द्र मिश्र सुरूमा त हडबडाए । र, पत्रकारतिर औला तेर्स्याउँदै भने, “पत्रकार साथीहरू यो तपार्ईंहरूलाई हुने स्टोरी हो, कभर गरिदिनूहोस् !” यो भन्दा बढी जवाफ उनले दिएनन् ।
० ० ०
बीबीसी वल्र्ड सर्भिसले एउटा समाचार छाप्यो– ‘नेप्लिज ग्रान्डफादर गोज ब्याक टु स्कुल !’ योगीझैँ लामो दाह्री पालेका, ढाका टोपी लगाएका वयोवृद्ध पोसाक लगाएर विद्यालय गएको । नातिनातिना उमेरका छात्रछात्रासँग सँगै बसेर पढेको फोटोकथा छापिएको थियो त्यहाँ । १२ जुलाई सन् २०१६ मा प्रकाशित भएको थियो त्यो समाचार ।
बीबीसीको अनलाइन संस्करणमा समाचार प्रकाशित भएपछि दुर्गे कामी एकाएक चर्चामा आए । तिनताक उनी ६८ वर्षका थिए र कक्षा दशमा पढ्थे ।
स्थानीय पत्रपत्रिकाले बेलाबखत समाचार छाप्नेबाहेक राष्ट्रिय समाचार माध्यमको आँखा परेको थिएन । तर, एकाएक अन्तर्राष्ट्रिय मिडियाले खबर छापेपछि उनको चर्चा चुलियो ।
बीबीसीमात्रै होइन, अधिकांश अन्तर्राष्ट्रिय समाचारमाध्यमका ‘हाइलाइन’ बने उनी ।
“गाउँका नाति, भाइछोराले सिक्लान् भनेर स्कुल भर्ना भएको थिएँ, तर बाहिरी देशकालाई पनि पो उदाहरणीय भएछु,” त्यतिबेला उनले सन्तोषको स्वास फेरेका थिए । बूढेशकालमा स्कुल भर्ना भएर ठिकै गरेछु जस्तो लाग्यो ।
गत चैत्रमा प्रवेशिका परीक्षा दिएका उनी ‘डी’ ग्रेडमा उत्तीर्ण भए । तर, कलेज पढ्ने पैसा नहुँदा उनी यतिबेला राजधानीको सडकमा भौँतारिएर हिँडेका छन् ।
सेतै फुलेको कपाल, छत्तिस् मुजा परेको अनुहार । वस्त्रले आङ ढाके पनि गरिबी छोप्न नसकेको प्रतीत हुन्थ्यो । यही हुलियाका साथ इन्द्रेणी कम्प्लेक्स आइपुगेका दुर्गेको आँखामा अध्ययनको उत्कट अभिलाषा छचल्किएको थियो । त्यसमा हराएको छोराको पीडा पनि मिसिएको थियो ।
“मान्छे पो बूढो भइयो, पढ्ने रहरलाई त बूढ्यौली लागेको छैन नि !,” आफ्नो चाहना पोखे उनले ।
० ० ०
बिक्रम सम्वत् २००५ साल जेठ दुई गते जन्मिएका हुन् उनी । विपन्न विश्वकर्मा परिवारमा । परिवारको दूरावस्था यति कहालिलाग्दो थियो कि, दश सन्तानमध्ये उनी र दिदीबाहेक कोही जीवित रहेनन् । कान्छा हुन् उनी । रोगव्याधीले निल्यो अधिकांश सन्तानलाई । “घरमा खाने अन्न थिएन, औँलो डोब्ने जग्गासमेत थिएन । व्याधी उस्तै आउने । जन्मिनेबित्तिकै दाइ दिदीहरू मरे,” उदेकलाग्दो अनुहार पार्दै परिवारको कथा सुनाउन थाले उनी ।
विश्वकर्मा परिवारमा जन्मिए पनि आरन चलाउने औकात पनि थिएन उनीहरूको । भन्छन्, “बाबु रोगी हुनुहुन्थ्यो । फेरि बिस्टहरू पनि थिएनन् ।” बरु उनले बाल्यवस्थादेखि नै साहुमहाजनहरूको भारी बोक्ने, हलो जोत्ने, खेतमा काम गर्ने गर्न थाले । जेनतेन चलेको थियो परिवार ।
“एउटा कामी र एउटा दमाई भए पुगिहाल्यो नि सबैले घन ठटाएरमात्रै कहाँ खान पुग्छ र !,” खुइया काढ्दै भन्न थाले, “रगतपसिना गरेर दिनभरी घन ठटायो बेलुका भोकै सुत्नुपथ्र्यो । बरु साहुको कुट्टोकोदालो गर एकछाक त खान पाइन्थ्यो !”
साविक स्याङ्जा, फेदीखोला–२ देउराली हो उनको घर । टोलमा १२ घर विश्वकर्मा परिवार थिए । आज त त्यहाँ शिक्षाको तेजिलो घाम लागेको छैन, उतिबेला कहाँ पार ताप्न पाउनु ?
तर पनि उनी सानैदेखि पढ्ने मन गर्थे । त्यतिबेला स्कुल कहाँ थियो र ? भारतमा रोजगारी गरी फर्किएका गणेशबहादुर अधिकारीले पीपलको फेदमुनी गाउँका बालबच्चा बटुलेर पढाउँथे । दुई–चारदिन उनी पनि गए पढ्न तर साहुका छोराछोरीले बस्नै दिएनन् । “हेर गन्हाउने कामीको छाउरो, घन चुट्ने जात, हामी वेद पढ्नेसँग पो टाँसिन आउँदो रहेछ ए ! आरन छाडेर के खान्छस् ए कामी !,” उपल्लो जातका भनाउँदाले मन अमिलो हुनेगरी भन्थे । पढ्ने मन हुँदाहुँदै पनि उनले पढ्न पाएनन् ।
० ० ०
दलित । पुस्तैनी दुःख र दरिद्रीको आहालमा चोबलिएका । भोक र अभाव त छँदै थियो शिक्षासमेत नहुँदा जीवन थप अँध्यारोतिर हेलिएको आभास भयो उनलाई । पढ्ने इच्छा साँचेकै थिए । बाल्यकालमा पढ्न पाएनन् । विद्यालय पनि थिएनन् । युवामा घर व्यवहारले थिचिहाल्यो । बिहे भयो । लगालग सात सन्तान जन्मिए । तर, कसैगरी विद्यालय जाने इच्छा पूरा हुन पाएन । १६ वर्षअघि पत्नी परलोक भइन् । पखेँटा लागेका छोराछोरी एकपछि अर्को गरी अलग भए । आ–आफ्नो गरी खाए । नितान्त एक्लो भए दुर्गे । उमेर ओरालो लागे पनि पढ्ने रहर भने धमाधम उकालो चढ्दै थियो ।
०६२ सालको नयाँ वर्ष उनको अक्षरारम्भको वर्ष बन्यो । घर नजिकैको खहरे प्राविमा कक्षा एकमा भर्ना भए ।
नाति होइन, पनातिका उमेरका विद्यार्थीहरूसँग झोला बोकेर स्कुल आजजाउ गर्न थाले । गाउँका अनपढ मात्रै होइन बुज्रुक भनिएका मानिसहरूले पनि खिसट्युरी गर्न थाले, “पिण्ड खाने उमेरको मान्छे, के विद्यालय भर्ना भएको होला ?” झिर रोपिएझैँ हुन्थ्यो मुुटु ! र पनि उनले कसैलाई केही भनेनन् । ‘ह्या हजुरबा घरमा नातिनातिनालाई सिकाइदेओ भने भइहाल्यो नि ! के पढ्न आइराहोला ।’ स–साना बालबालिकासमेत खिस्याउँथे । किताबकापी लुकाइदिनेदेखि विद्यार्थी छेवै नपर्नेसम्मका दुव्र्यवहार बेहोरे उनले । ‘मर्नेबेलामा हरियो काँक्रो, पढ्ने उमेरका केटाकेटीको त दिमागमा बस्न मान्दैन पढाएको कुरा, यो बूढालाई के भनेर पढाउने होला ! मर्नेबेलामा के रहर लाग्दो हो मानिसलाई ?’ शिक्षकलेसमेत यसो भनेर मुख खुम्च्याउँदा उनको मन कुँडिन्थ्यो ।
भन्नेहरूको मुख टाल्न भन्दा उनको मन पढ्नमै केन्द्रित भयो । र, उनले प्राथमिक तह उत्तीर्ण गरे । त्यसपछि उनी फेदीखोलाकै कालभैरव माध्यमिक विद्यालयमा भर्ना भए । त्यहाँ पनि उनले अनेक दुर्वचनको सामना गर्नुप¥यो । “कसैले त ‘केटी बेच्ने दलाल’ समेत भन्न भ्याएछन्,” उनले दुखेसो पोखे । “पढ्ने भनेर विद्यालय जान्थेँ, शिक्षकहरू अनेक सुनाउँथे । कसैले त स्कुलका केटीहरूलाई ललाइफकाइ गरेर बेच्ला है भनेर शिक्षकलाई उकेरा लगाएछन्,” पीडा पोखे उनले ।
विद्यालय पोसाकमै जान्थे उनी । दिनहुँ विद्यालय जाँदा, अनुशासित ढंगले पढ्दा गिज्याउनेहरू अन्तिममा आफैँ दूर भए । सधैँ लाइनमा बस्ने, नियमित गृहकार्य गर्ने । पढाएका कुरा ध्यानपूर्वक सुन्ने । रूचीपूर्वक प्रश्न सोध्ने । जेहेन्दार विद्यार्थी र अनुशासित थिए उनी ।
पढ्नेक्रममा प्रधानाध्यापक शिवकुमार गौतमले निकै उत्प्रेरणा जगाए, “हेर पढाइको महत्त्व यस्तो हुन्छ । दुर्गे कामी यो उमेरमा विद्यालयमा भर्ना हुनुभएको छ ।”
प्रधानाध्यापकले अरू विद्यार्थीहरूलाई उदाहरण पनि दिन्थे ।
पढाइबाट बञ्चित नबनाइयोस्
पैसा नभएर बाल्यकालमा पढ्न नपाएको रहर उनले बुढ्यौलीमा पूरा गरे । त्यसो त उनी परिवारमै सबैभन्दा बढी पढेका व्यक्तिसमेत हुन् । सातसन्तान कसैले पनि प्रवेशिका परीक्षा उत्तीर्ण गरेका छैनन् । कान्छा छोरालाई ‘कि तँ पढ् कि मलाई पढा’ भन्दा घरै छोडेर हिँडेको पीडा समेत रहेछ उनको ।
एसएलसीमात्रै होइन स्नातकोत्तरसम्म पढेर शिक्षक बन्ने लक्ष्य छ । जति बाँच्छन्, समाजकै लागि बाँच्न चाहन्छन् उनी । दुःखी गरिबको सेवा गर्न चाहछन् ।
त्यसैका लागि स्याङ्जाबाट राजधानी काठमाडौँसम्म आइपुगेका हुन् उनी । तर, शिक्षाको अवस्था सातसालपूर्वकै जस्तो रहेको उनको अनुभव छ– पैसा हुनेले मात्रै पढ्न पाउने र कलेजको मुख देख्न पाउने । क्याम्पस पढ्न त झोलामा किताब होइन, पैसा बोकेर जानुपर्दो रहेछ ! त्यसैले उनले सरकारलाई अनुरोध गरेका छन्– मलाई पढ्नबाट बञ्चित नगरियोस् । पैसा नभएकैले म क्याम्पस जानबाट नरोकिऊँ ! मेरो सपना नतुहियोस् ! एमएसम्म पढ्ने मेरो रहर राज्यले पूरा गरिदेओस् । नभए संघ/संस्थाले सहयोग गरोस् ।
० ० ०
उनको अर्को पीडा छ– उनको उनी ७० वर्ष लाग्न आँटिसके । तर नागरिकतामा जन्ममिति २०१९ साल उल्लेख भएकाले वृद्धभत्ता लिन बञ्चित छन् । सरकारले सम्भव भए प्रक्रियामुताविक जन्ममिति संशोधन गरिदेओस् भन्ने चाहन्छन् । “भ्रष्टाचार गर्न, सरकारी जागिर खान जन्ममिति संशोधन गर्न लागेको होइन । वृद्धभत्ता पाए, क्याम्पस पढ्न पाउँथे । सहयोग थाप्दै हिँड्न पर्दैनथ्यो । फेरि उमेर पनि भइसकेको छ,” योजना पनि सुनाए उनले ।
त्यसैले उनले कार्यक्रममा सार्वजनिक रूपमै अनुरोध गरे, “नागरिकतामा उल्लेखित जन्ममिति सञ्च्याइदिएर वृद्धभत्ता दिलाइदिनूहोस्, म पढ्न चाहन्छु ।”
० ० ०
श्रीमती १६ वर्ष अघि बितिन् । सात सन्तान पनि लाखापाखा लागे । बह पोख्ने दिदी थिइन्, तिनको पनि ६ वर्ष अघि निधन भयो । दिदीको देहावशान भएको केही वर्षमै भिनाजुले पनि परलोकको बाटो तताए । त्यति मात्रै होइन केही समयअघि उनले नराम्रो खबर सुनेका छन्– रोजगारीको सिलसिलामा साउदी गएको साइँलो छोरो विमल जेल परेको छ ।
तीन वर्षदेखि छोरासँग सम्पर्क भएको थिएन् । त्यहीबीचमा छोराले बिहे गरेछन् र लगत्तै विदेश लागेछन् । एक्कासी जेल परेको पो समाचार आयो । “कहिले विदेश गयो, कहाँबाट गयो केही थाहा छैन । ‘तपाईंको छोरो जेलमा छ, साउदी सरकारले मृत्युदण्ड दिन आँटिसक्यो’ भनेर समाचार आएपछि म छाँगाबाट खसेझैँ भएको छु,” धरधरी रोए उनी ।
छोरा जेलपरेदेखि उनी राम्रोसँग निदाएका छैनन् । कसरी जेलबाट निकाल्ने होला भनेर छटपटिएका छन् । ज्यान सुकेर आधा भइसक्यो ।
“मसँग पैसा पनि छैन । सरकार संघ÷संस्थाले धेरैलाई ब्लडमनी तिरेरसमेत छुटाएको छ, मेरो छोरालाई पनि जेलबाट निकाल्नुपर्यो । लौन हजुर !,” आवाज भन्दा पहिला आँखाबाट आँसु फाल हाले उनका ।
हाल उनी दीक्षा चापागाईंको पवित्र सेवा आश्रममा आश्रय लिएका छन् र छोरो छुटाउन र क्याम्पस पढ्ने पैसा जुटाउन राजधानीका गल्ली चहार्दैछन् ।
“सन्तान होइन, जीवनको सहारा शिक्षा हो । खै कति बाँच्छु थाहा छैन तर धेरै पढ्नु छ, बुझ्नुभो !,” कुराकानी बिटमारे उनले ।
No comments:
Post a Comment