अक्षर काका
‘ए ! विदेश जान लागिस् ? उही ट्वाइलेट सफा गर्न त होला नि ! नेपालीहरूले त त्यहाँ के राम्रो काम पाउँछन् र !’
कुनै व्यक्ति विशेषले गर्ने प्रश्न होइन यो, विदेशमा नेपालीहरूले गर्ने कामकाबारे आम मानिसहरूले बनाएको धारणा हो । विदेशमा नेपालीहरूले थ्रि डी (डर्टी, डिफिकल्टी, डेन्जरस) मात्रै काम पाउँछन् भन्ने सोचाइले मस्तिष्कमा डेरा जमाएको छ हिजोआज ।
पछिल्लो दशक, विशेष गरेर ०६० को दशकमा विदेश जानेहरूको तथ्यांकमा जसरी बढोत्तरी आएको छ तर विदेशमा गरिने कामका बारे मानिसहरूको सोचाइ बदलिएको छैन । ‘त्यहाँ गएर त्यही तल्लो तहको काम गर्ने त हो नि ! नेपालीहरूले त्यहाँ खासै राम्रो काम पाउँदैन !’ आदि । नेपाली अदक्ष छन्, अथवा अदक्ष मानिसहरूले गर्ने काम यस्तै ‘तल्लो प्रकृति’को हुन्छ भन्ने बुझाइको प्रभाव हो यो ।
ठीकैको आय भएकाहरू अस्ट्रेलिया, अमेरिका, युरोप लगायत विकसित देश, निम्न आय भएकाहरू मध्यपूर्वलगायत खाडी मुलुक । समाजमा वर्ग नै विभाजन भएको छ । जहाँ गए पनि नेपालीहरूले गर्ने कामको प्रकृति भने एकै छ ।
नेपालीहरू संसारभर पुगे पनि स्वदेशमा श्रमप्रति सम्मान गर्ने संस्कार बसिसकेको छैन । शासनव्यवस्थाको आराधना गरेर हुर्किएका हामीले रोजीरोटी या आफ्नो जीवन निर्वाहको माध्यमलाई पूजा गर्न, कदर गर्न र त्यसलाई सम्मान गर्न कहिल्यै जानेनौँ । या सिकेनौँ भनौँ ।
हामीकहाँ आज पनि सरससफाइमा काम गर्ने कामदारहरूको अभाव छ । सभ्यता, संस्कार, शिक्षा र सोचाइसँग जोडिएको सरसफाइमा संलग्न हुन मानिसहरू नाक खुम्च्याइरहेका बखत एक व्यक्ति त्यस्ता पात्र बनेका छन्, जसले त्यसबारे धारणा नै बदलिदिएका छन् ।
र, गरे के हुँदो रहेनछ भनेर टाउकोमा हात राखेर सोच्न बाध्य बनाइदिएका छन् ।
० ० ०
बिहीबार साँझ पख । दिन क्रमशः गोधुलीमा परिणत हुँदै थियो । जसरी धर्तीबाट घाम टाढिँदै थियो, त्यसैगरी नेपाल छाडेर बाहिर जानेहरूको लामो लाइन थियो विमानस्थलमा । औसत ३० हजार रुपैयाँ कमाउनका लागि घर, जग्गाजमिन, जायजेथा बन्धकी राखेर, साहु काढेर विदेश जानेको लाइनमा पंक्तिवद्ध युवाको अनुहारमा स्वदेशमा सम्भावनाका ढोका बन्द भएको प्रतिबिम्ब प्रशस्त पढ्न पाइन्थ्यो । उच्चाटलाग्दो आँखा लगाएर तिनले आफन्त र परिवारजनसँग विदाइको हात हल्लाइरहेको दृष्य ताज्जुबलाग्दो थियो ।
ठीक त्यति नै बेला हामी विगत एक महिनादेखि विमानस्थल सफाइमा खटिएका युवासँग कुराकानीमा जुटेका थियौँ । गोधुली साँझमा पनि अनुहार देखिएलाझैँ गरेर टल्किएको विमानस्थलको दृष्यले पासपोर्ट च्यापेर टर्मिनल भवनअगाडि उभिइरहेका युवाको भीडलाई नराम्ररी गिज्ज्याइरहेको प्रतीत हुन्थ्यो ।
० ० ०
सन् २०१२ को अक्टोबर महिना । खेम शर्माले विवाह गर्ने निधो भएपछि हुनेवाला श्रीमती प्रीति दाहाललाई लिएर अस्ट्रेलियाबाट स्वदेश फर्किए । केही समयपछि नै घर भित्र्याउने बुहारी, अस्ट्रेलियाबाटै लगाएर आएको अनौपचारिक लुगामै आमाबाबुलाई मुख देखाउन, भेट गराउन बाञ्छनीय ठानेनन् उनले । “नेपाल न छाडेका थिएँ, रीतिरिवाज, परम्परा, मूल्यमान्यता कहाँ स्वदेशमै बिसाएका थिएँ र, झन् प्रिय बनेको थियो, त्यति त थियो नेपाली हुुनुको परिचय !,” उनी अहिले सम्झन्छन् ।
लुगा परिवर्तन गर्ने ठाउँ खोजे कहिँ भेट्टाएनन् । बाध्य भएर शौचालयभित्र गए । तर, भित्र पस्नै सक्ने अवस्था थिएन । जताततै पान खाएर थुकेको । सरसफाइको कुनै ढंग नपुगेको उदेकलाग्दो दृष्य थियो त्यहाँको । विमानस्थलका कुनाकानी फोहोर थुपार्ने कन्टेनर बनेका थिए । विदेशीहरूले नाक थुनेर हिँडेको दृष्यले नराम्ररी पिरोल्यो उनलाई ।
लुगा फेर्न ठाउँ खोज्दै त्रिभुवन विमानस्थलाका कुनाकानी चहार्दा त्यहाँको दृष्यले मनस्थिति नै परिवर्तन गरिदियो उनको । “लुगा फेर्न नपाएको छटपटी होइन, विमानस्थल सफाइको हुटहुटीले लखेट्न पो थाल्यो,” त्यसबेलाको स्मरण गर्छन् उनी ।
केही समयपछि विवाह भयो । स्वदेश आउजाउ पनि बाक्लियो । विमानस्थल कसरी सरसफाइ गर्ने नै उनको मूलध्येय हुन्थ्यो । घरपरिवार बाहनाजस्तै बनेको हुन्थ्यो ।
तीन वर्ष सरसफाइ कम्पनीमा व्यतीत गरेकाले होला, मनमस्तिष्कले आफैँलाई प्रश्न गर्यो, “तैँले अरूलाई दोष दिएर उम्कने अवस्था छैन, आफैँ सफाइमा जुट्नुपर्छ !”
० ० ०
सन् २००८ मा अस्ट्रेलियाको सिड्नी उड्दा उनीसँग सामान्य सपना थिए– पैसा कमाउने, जीवनस्तर उकास्ने । घरपरिवारको आशाको दियो झलमल्ल बनाउने । आईटीमा भिजा लागेको थियो । तर, उनी त्यसमा ‘एक्सपर्ट’ थिएनन् । ६ महिनापछि कलेज ‘ड्रप’ गरे उनले । चितवन स्थायी घर हो उनको । त्यहाँ उनीहरूको पुस्तक पसल पनि छ । सात वर्षकै उमेरदेखि बुबालाई सघाउँदा–सघाउँदै व्यापारप्रति चासो बढेकाले होला, उनी अस्ट्रेलियामा बिजनेस कलेजमा एड्भान्स डिप्लोमा भर्ना भए । र, अध्ययनलाई तिखार्न थाले ।
अस्ट्रेलियामा रहँदा उनको तनमात्रै त्यहाँ रह्यो । मन यतै भयो । “५० लाखै मानिस विदेशमा भए पनि उनीहरू सबैको आधा मन त्यहाँ हुन्छ, आधा मन स्वदेशमै हुन्छ । रेडियो सुन्दा, टेलिभिजन, अनलाइन हेर्दा चाडवर्प मनाउँदा, ती सबै नेपालमा हुन्छन् । झन्डै २०–२२ वर्ष नेपालमा बिताएको म त्यहाँ जानेबित्तिकै अस्ट्रेलियन कसरी हुन्थेँ र !,” स्वदेशप्रतिको माया झनै तिखो बन्यो ।
अस्ट्रेलिया जान जति गाह्रो छ, उस्तै पापड बेल्नुपर्छ त्यहाँ काम पाउन । अस्ट्रेलिया गएको दुई तीन दिनमै उनले काम पाए– सरसफाइ सम्बन्धी ।
सुरूको दिनमा निकै हिनताबोध भयो । अर्काको देशमा आएर ट्वाइलेट ब्रस समात्नुप¥यो भनेर दिक्क नलागेको पनि होइन । महँगो कलेजको शुल्क, बोझिलो सपना ! कलम समात्ने हातले ब्रस समात्न कहाँ मनले मान्थ्यो र ! विकल्पहीन विकल्प थियो त्यो ।
तर, त्यहाँको संस्कार, शैली, कामप्रतिको जवाफदेही, कामदारप्रतिको व्यवहारले उनको सरसफाइ मजदुरीबारे धारणा बदलियो । अर्को महत्त्वपूर्ण कुरा त्यही काम गरेर कमाएको पैसाले कलेजको फि, कोठा भाडा तिर्ने मात्रै होइन, दुईचार रुपैयाँ बचाएर नेपाल पठाउन पनि सक्षम भए । सरसफाइ पेसाप्रति हिनताबोध होइन, गर्वानुभूति पो भयो ।
सबै पेसा र कामको समान इज्जत र प्रतिष्ठा हुने भएकाले सरसफाइ क्षेत्रमा काम गर्दा नाक खुम्च्याउनु पर्ने कुनै कारण देख्दैनन् उनी । कामप्रति श्रद्धा, समर्पण होइन गर्व गरियो भने त्यसले दिने परिणाम अर्कै हुने बताउँछन् उनी । भन्छन्, “सरसफाइमा काम गर्छु भनेर मुन्टो लुकाएर हिँड्नु पर्दैन । यस्तोमा काम गर्छु मलाई कसैले केही भन्ने हो कि भनेर टाउको निहुर्याउने हो भने इमान्दार भएर काम गर्न सकिँदैन ।” त्यसो त पछिल्लो समय यहाँ पनि सरसफाइबारे धारणा बदलिँदै गएकोमा खुसी छन् उनी । “हिजोसम्म कहाँ काम गर्दा भन्न हिच्किचाउनेहरू आज गर्वले छाती फुलाउँदै विमानस्थल सफाइ गर्छु भन्न थालेका छन्,” टेबलमा रहेको कफीको चुस्की लिँदै खुसी साटे उनले ।
अस्ट्रेलियामा सरसफाइमा काम गर्दा सुरूआतका केही महिना हिच्किचाहट पैदा भए पनि काम गर्दै जाँदा उनी त्यसको अम्मली बने । व्यवसाय पो बनाए उनले त्यसलाई । आजभन्दा भोलि कसरी राम्रो बनाउने ? आफूमा कसरी निखारता ल्याउने ? हिजोको अवस्थालाई कसरी उछिन्ने भन्ने सोच्दासोच्दै पेसा, व्यवसायतर्फ उन्मुख भएको उनको ठहर छ ।
क्लिनरबाट सरसफाइमा हात हालेका उनी पछि जनरल म्यानेजर बने । तत्पश्चात व्यवसायमा हात हाल्नु उनको ‘सुविधायुक्त विकल्प’ बन्यो । सिड्नीमा ग्रिकहरूले सुरू गरेको बाला क्लिनिकबाट पेसा सुरू गरेका हुन् उनले ।
० ० ०
नेपाल र अस्ट्रेलियाको व्यवसायमा तात्विक भिन्नता छैन । परिणाम राम्रो निकाल्ने दुवै देशका समान लक्ष्य हुन् । छिटो र सहज ढंगबाट सेवा सुविधा दिने ।
तर, नेपालमा कामदार र काममा लगाउने मानिसबीच विश्वासको संकट छ । यी दुई बीचमा शंका र अविश्वासले खेल्ने मौका पाइरहेको हुन्छ र रस्साकस्सी चलिरहन्छ । माथिल्लो पदमा रहेकाले तल्लो पदमा रहेकाले मायाले काम लगाउन नसक्दा आउटपुट राम्रो ननिस्किएको हो कि भन्ठान्छन् उनी । तर, अस्ट्रलियामा यस्तो छैन । जतिसुकै ठूलो व्यवसायी भए पनि आधारभूत तहका कर्मचारीहरूलाई बिहानै आएर हात मिलाउँछन् र उत्प्रेरणा जगाउँछन् । ‘अहो यत्रो ठूलो मानिसले बिहानै आएर सम्मान प्रकट गर्यो, मैले झन् राम्रो काम गर्नुपर्छ,’ कामप्रति जवाफदेहि र जिम्मेवार बन्छ ऊ । हप्काइ–दप्काइ गर्यो भने त्यही दिनबाट टसल सुरु हुन्छ ।
व्यवसायी र कामदारबीचको दूरी निकै छोटो हुन्छ अस्ट्रेलियामा । ‘यसले पेल्छ, जति काम गरे पनि जस दिँदैन, खुट्टा तान्ने प्रवृत्तिको सिकार हुन्छ,’ भन्ने द्विविधाको सुविधा हुँदैन त्यहाँ । काममा गुणस्तर निकाल्ने हो भने मजुरदुर वर्गलाई माया गर्नुपर्ने उनको तर्क छ ।
० ० ०
बिस्तारै मुलुकमा परिवर्तनको लहर आउँदैछ । नागरिकता बन्नेबित्तिकै पासपोर्ट बनाएर विदेश उड्न तम्तयार हुने नौजवान युवाले अब स्वदेशमै सम्भावनाको खोजी गर्न थालेको विश्वास उनको छ । मलेसिया गएर फर्किएको युवा अन्य देश जान नखोजेर गाउँमै बाख्रा पाल्न थालेको खबर पढ्न पाउँदा मन पुलकित हुन्छ । कोरियाबाट फर्किएका युवाले बन्दव्यापार सुरू गरेको समाचार पढ्न पाउँदा गर्वले छाती ढक्क फुल्छ ।
विदेशमा पाएको दुःख, हण्डर, ठक्करमात्रै होइन त्यति सीप र समय खर्चने हो भने त्यहाँ कमाउन सक्ने पैसा यहीँ कमाउन सकिने निष्कर्षमा वैदेशिक रोजगारीमा जाने युवा पुग्छन् भन्छन् उनी । काममा प्रविधि र प्रणाली जोड्न सक्ने हो भने खाडी, मध्यपूर्वलगायतका देश भन्दा बढी यहीँ कमाउन सकिने र ३० हजारका लागि मरिमेटेर विदेश जानुनपर्ने उनको राय छ ।
नेपालमा स्रोत र साधनको कमी होइन । विश्वका विभिन्न देशमा मानव स्रोत साधन आपूर्ति गर्न सक्ने हामीमा जनशक्तिको अभाव छँदै छैन । यहाँ कमी छ भने इच्छा शक्तिको । भन्छन्, “अमेरिकामा आईफोन लञ्च भएको एक हप्ता बित्दा नबित्दै नेपालमा त्यो ब्रान्ड भित्रिन सक्छ भने विकसित देशमा प्रयोग भएको सरसफाइ टेक्नोलोजी नेपालमा भित्र्याउन सकिँदैन भन्ने मलाई लाग्दैन ।”
“तपाईंसँग के छ होइन, के खोज्नुहुन्छ भन्ने महत्त्वपूर्ण कुरा हो,”उनले विकासको सूत्र पहिल्याए ।
र, विमानस्थल सरसफाइ
विमानस्थलको शौचालय दुर्घन्धित भएको । विदेशी पाहुनाहरूले नाम मुख खुम्च्याएर हिँडेको समाचारले पत्रपत्रिकामा स्थान जमाइरहेका थिए । ‘विमानस्थल सफा र व्यवस्थित भएन भने देशै फोहर रहेको सन्देश प्रवाह हुन्छ । पर्यटक नेपाल आउन निरूत्साहित हुन्छन् । देशको आयआर्जनसँग जोडिएको र लाखौँ नेपालीको रोजीरोटीसँग जोडिएको पर्यटन उद्योग धराशायी हुन्छ आदि सोचेर उनले भरतपुर विमानस्थल सरसफाइको ‘अप्रोच’ गरे ।
‘अहो ! यो त निकै राम्रो काम हो नि !’ भरतपुर विमानस्थल प्रमुख शिव शर्मा खुसीले पुलकित भए र सहयोग गर्त तयार रहेको विचार व्यक्त गरे । एक दुई हप्ताको अन्तरालमै त्यहाँ परिवर्तन आयो । फोहोर थुप्रिएर नाकमुख थुनेर हिँड्नुपर्ने अवस्थाको अन्त्य भयो ।
“भरतपुर विमानस्थल हाम्रो परीक्षण पनि थियो । गर्न सक्दैनौ कि भन्ने भयले हामीलाई पनि गाँजिरहेको थियो । भरतपुर विमानस्थल सफाइपछि हामीमा आत्मविश्वास बढ्यो,” खुलासा गरे उनले ।
अस्ट्रेलियाको सिड्नीमा उनले ‘खेम्स क्लिनिक’ कम्पनी खोलेका छन् । नेपालबाहेक विभिन्न देशका गरी ७० जना भन्दा बढी ‘इम्प्लोइ’ त्यसमा आवद्ध छन् । र, उनीहरूले अस्ट्रेलियाको विभिन्न सहरमा सरसफाइ सेवा उपलव्ध गराइरहेका छन् । त्यहीँ प्रयोग भएको सीप र प्रविधि प्रयोग गरी उनले भरतपुर विमानस्थल उजिल्याएका थिए ।
० ० ०
विगत एक महिनादेखि उनी विमानस्थल सफाइमा खटिएका छन् । देशको इज्जत र प्रतिष्ठासँग जोडिएको विमानस्थल उजिल्लाउन पाउँदाको अतृप्त खुसी खेमको अनुहारमा छरपस्ट देख्न पाइन्छ । दिउँसो विभिन्न कार्यक्रममा सरिक हुने, सरसफाइका सामग्री जोहो गर्ने खेम रातभरि विमानस्थलको सफाइमा जुट्छन् ।
जुलाई ३१ तारिखसम्मा विमानस्थल सरसफाइ गरिसक्ने सम्झौता भएको छ । र, सोही मुताविक काममा खटिएका छन् उनी । दिनरातको मेहनतले विमानस्थललका भुइँ, शौचालय, पार्कहरूले जुनी फेर्ने मौका त पाएका छन् नै उनको अनुहारमा पनि घामको आभा छाएको छ । भन्छन्, “हामीले केही नयाँ गरेका छैनौँ । हिजो जसले सफाइ गर्नुहुन्थ्यो ।
आज पनि उहाँहरूले नै सरसफाइ गर्नुहुन्छ । कामप्रतिको सम्मानमा बढोत्तरी ल्याएका छौँ । हिजो सरसफाइमा काम गर्छु भन्न हिच्किचाउनेहरू आज कामप्रति गर्व गर्न थाल्नु भएको छ । समयको महत्त्व र काम गर्ने प्रणालीमा मात्रै हामीले केही सुधार गरेका हौँ । परिणाम यस्तो आयो,” विमानस्थलको सौन्दर्यको राज सुनाए ।
विमानस्थल सफाइका लागि गैरआवासीय नेपाली संघ एनआरएन र नेपाल पर्यटन बोर्डले फन्डिङ गरेको छ भने सीप र प्रविधिमा उनले सघाएका छन् । “आफूले जानेको सीप र प्रविधि देशको निम्ति प्रयोग गर्न पाएको छु,” राष्ट्रपति ऋणी देखिए उनी ।
एक महिनामै विमानस्थलको रूपमा कसरी परिवर्तन आयो त ? प्रश्न सुन्नेबित्तिकै उनी मुस्कुराए र भन्न थाले, “हामीले केही नयाँ गरेका छैनौँ । यहीँ पहिलेदेखि काम गर्नेहरूमा थोरै दक्षता अभिवृद्धि गर्यौँ । सानै प्रयत्नले सफाइमा परिवर्तन आएको हो ।” उनले थपे, “ससाना कुरामा ध्यान पुर्याउन सक्ने हो भने ठूलो परिवर्तन ल्याउन सकिन्छ । त्यहाँका कर्मचारीहरु पहिले पनि त्यतिकै मेहेनतका साथ काम गरिरहेका थिए । उहाँहरूलाई हामीले जानेको सीप र प्रविधिमात्रै सिकाएका हौँ ।”
दिनभरी विमानस्थलमा घुइँचो हुन्छ । त्यसैले राति उनीहरू सफाइमा जुट्छन् । ३० बढी कामदारहरू राति दश बजेदेखि बिहान पाँच बजेसम्म विमानस्थल सफाइ गर्छन् । “हाम्रो शरीरले झैँ संरचनाले पनि आराम खोजिरहेको हुन्छ । रातिको समयमा मानिसको आउजाउ नहुने भएकाले सफाइ गर्न सजिलो हुन्छ र व्यवस्थित पनि हुन्छ,” उनले राति काम गर्नाको कारण पनि खुलाए ।
विमानस्थल सफाइ एनआरएन उपाध्यक्ष भवन भट्टले ठूलो पहल लिएको खेम बताउँछन् । “उहाँले नै सहयोगका वचनवद्धता व्यक्त गरेपछि सफाइको प्रस्ताव तयार पारेर सम्बन्धित ठाउँहरूमा पुर्याएको हौँ,” हर्षित देखिए उनी ।
त्यस्तै तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री दिलनाथ गिरी, पर्यटन सचिव, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धकहरूले नसघाएको र अवसर नदिएको भए योजना शायदै पूरा हुन्थ्यो,” कृतज्ञ देखिए खेम ।
फोहोरको कारक आधा सफाइ पनि
पुरानो लुगा पनि धोएर लगाए सफा देखिन्छ । सफा नगर्ने या आधा सफा गर्ने हो भने नयाँ सामग्री पनि फोहोर देखिन्छ । त्यसैले हामीकहाँ आधा सफा गर्ने परिपाटीले फोहोर थुप्रिएको उनको बुझाइ छ । भन्छन्, “यदि पूरै सफा गर्ने हो भने कसैले फोहोर गर्ने आँट गर्दैनन् । भीडभाडको बेला सफाइ गर्दा मेहनत गर्दागर्दै पनि परिणाम राम्रो ननिस्किएको उनको बुझाइ छ ।
खेम सुनाउँछन्, अहिले विमानस्थलका कर्मचारीहरूलाई एउटै चिन्ता छ– विमानस्थलको सफाइलाई कसरी टिकाउने । सफाइमा खटिएका कामदारहरूको भनाई उद्धृत गर्दै खेमले भने, “विमानस्थलले काँचुली त फेर्यो यसलाई जोगाउने पो कसरी हो ? साह्रै चिन्तित छन् उनीहरू !”
अन्तिममा कुराकानीको पयो गाँठो पार्दै उनले भने, “हामीले धेरै केही गरेका छैनौँ, सानो प्रयासले नै ल्याएको परिवर्तन हो यो । अब हामी सबै देशै सफा गर्न जुट्नुपर्छ ।”
No comments:
Post a Comment