Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

६४ शवमा दागबत्ती दिएका यी ‘आफन्त’



By  Unknown     12:02 AM    Labels: 

शिशिरपछि वसन्त प्रकृतिको अनिवार्य सत्य हो । यसको विपर्याय थिए विनयजंग बस्नेत । दिनको उज्यालो घामजस्तो उनको जिन्दगीमा एकपछि अर्को अँध्यारो थपिँदै गयो ।

लागुलतले शरीर विदीर्ण बनाएका विनयको जीवनमा ०६२ को वसन्तले बचेखुचेको आभा पनि निभाइदियो ।

०६२ चैत्रको अन्तिम साताको एक बिहान उनका बाबु श्यामबहादुर बस्नेत घरबाट अचानक अदृष्य भए ।

‘छोरा म गुरुको घर पुगेर आउँछु, तँ बसिराख है’ भनेर ललितपुरको टीकाथलीस्थित घरबाट निस्किएका बाबु बेपत्ता भए । दुई दिनसम्म आँखा नझिम्क्याई बाटो हेरे तर बाबु फर्किएनन् । बाबुले गुरु भनेर सम्बोधन गर्ने व्यक्तिको घर गैरीधारामा थियो । उनी त्यहाँ गए । सोधखोज गरे तर जवाफ पाए– हिजो आउनुभएको थियो, बेलुका नै फर्किहाल्नुभयो नि ! अताल्लिए उनी । आफन्त र नरनाताको पनि नौनाडी गल्यो । निधारमा चिटचिट पसिना आयो, ‘कहाँ गए होलान्, कतै अपहरणमा परे कि !’ महालेखाबाट सचिवमा तीन महिनाअघिमात्रै सेवानिवृत्त भएका थिए । आशंका अस्वभाविक थिएन ।

गैरीधारातिर हल्ला सुने– ढाका टोपी लगाएको, कालो कोट पहिरिएको, कालो चस्मा पनि लगाएका एक प्रौढ दुर्घटनामा परेका छन् । घाइतेलाई प्रहरीले लगेको छ । जिउँदै छन् कि मृत छन् केही थाहा छैन । खङ्रङ्ग भए उनी । कारण, स्थानीयबासीले बताएको हुलिया उनको बाबुसँग मिल्दोजुल्दो थियो । प्रहरी चौकी पनि पुगे । ‘घाइतेको निधन भइसकेको छ, ढिला आउनु भयो, शव शिक्षण अस्पताल महाराजगञ्जमा होला । ठक्कर दिने सवारी हामीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्दैछौँ,’ प्रहरीले जवाफ दियो ।

कहाँ जाने, के गर्ने ? बिलखबन्दमा परे । आफन्त पनि मुखामुख गर्न थाले । कोटको खल्तीमा भेटिएको महालेखाको चेकमा उल्लेखित नाम श्यामबहादुर बस्नेत भएकाले बाबुको निधन भएको पक्का थियो । तर, बाबु कहाँ छन् टुंगो छैन । त्यसपछि उनीहरू शिक्षण अस्पताल हानिए । मुर्दाघरको पहिलो कोठामा पहिचान भएको शव राखिन्थ्यो, त्यहाँ उनका बाबु थिएनन् । बाबुलाई बेबारिसे शव राख्ने गोदाममा पो लगिसकिएको रहेछ !

अमानवीय तवरले थन्क्याइएका शव । सडेर दुर्गन्धित भइसकेका । त्यहीँ थियो उनको बाबुको शव ।

जेजस्तो कर्म गरेर मृत्युवरण गरेको भए पनि ती सद्गत हुनबाट वञ्चित थिए । बाबुको मृत्यु त भइनै सकेको थियो । आँसुको खोलै बगाए पनि बाबु उठ्नेवाला थिएनन् । चिन्ता छँदै थियो । अर्को चिन्ताले टोक्न थाल्यो  ।

मुर्दा घरको पालेलाई सोधे उनले, यी बेबारिसे शवलाई के गर्ने ? ‘कतिलाई सिसडोल लगिन्छ । कतिलाई खाल्डो खनेर एकसाथ पुरिन्छ । चिलको आहारा बन्छन् नि ! राम्रो कर्म गरेको भए पो काजकिरिया पाउनु !

मुटु चिरियो उनको । अठोट लिए– कुनै दिन पैसा भएछ भने यी बेबारिसे शवहरूलाई जलाउँछु ।

उनी अहिले सम्झन्छन्, “आर्यघाट पुगेपछि पनि मुर्दा घरको दृष्यले पिरोल्न छाडेन । पशुपतिमा बाबुको शव जलाउन लागेको चिताबाहेक अरू खाली थिए । सोचेँ– ती बेबारिसे शव पनि यही खाली चितामा ल्याएर जलाउन पाएको भए । बुबाका दुई भाइ छोरा थियौँ, आफन्त थिए, सद्गत भयो । काजकिरिया पाउनुभयो । आफन्त नभएका परित्यक्तहरूले चाहिँ सड्नुपर्ने ? मनमा गड्यो यो ।”

यही सोचाइले पिरोलेपछि विनय विगत दुई वर्षयता त्यस्तै वेवारिसे शवहरूलाई दागबत्ती दिने र जलाउने काममा खटिएका छन् । मन्दिर, पाटीपौवामा मरेका, बेवारिसे फेला परेका शवहरूका आफन्त उनै बनेका छन् । र, हालम्म उनले ६४ वटा शवमा दागबत्ती दिएर सामान्य अन्तिम संस्कारसमेत गरिसकेका छन् ।

“अन्तिम संस्कार हिन्दूहरूको महत्वपूर्ण संस्कार हो । जीवनमा जेजस्तो कर्म गरेर मरेका भए पनि वेवारिसेहरूको मृत्युपछिको बाटो फुकाएको आभास भएको छ,” कृतकृत्य छन् उनी ।
० ० ०
उनको पारिवारिक उतारचढाव चलचित्रको वियोगान्त दृष्य भन्दा कम छैन । उनले पीडाको पोयो फुकाए बाह्रखरीसँग । हुनेखाने, सम्पन्न परिवारकै हुन् । बाबु महालेखाको जागिरे थिए । चार सन्तान जन्मिएका थिए । ललितपुर टीकाथलीमा उनीहरूलाई नचिन्ने परिवार थिएनन् । शिक्षित परिवारमा जन्मिए–हुर्किएकाले विनयले अरनिको बोर्डिङ स्कुलमा पढे कक्षा ६ सम्म । त्यसपछि बाबुले नै खोलेको महेन्द्रशान्तिमा भर्ना भए । “आफूले खोलेको विद्यालयमा रिजल्ट राम्रो नआएकाले बाबुले मलाई त्यहाँ भर्ना गर्नुभएको हो । पछि बुबा मेरो गुरु पनि हुनुभयो,” त्यो क्षण यसरी सम्झिन्छन् उनी ।

जीवन ठीकै चल्दैथियो । त्यसपछि उनको जीवनमा आँधीबेहरीको प्रवेश भयो र उनको जीवनलाई दिशाहीन बनाइदियो ।

माध्यमिक शिक्षा पूरा नहुँदै आमाको मृत्यु भयो । ब्रेन ह्यामरेज भएर अस्पताल भर्ना भएकी उनकी आमाको चिकित्सकले डिस्चार्ज गर्ने भनेको दुई दिनअघि निधन हुन पुग्यो । “असार १५ को दिन थियो । हाँस्दै, बोल्दै हुनुहुन्थ्यो । राम्रो उपचार, स्याहार सुसार गरेकाले पुलकित भएर आमाले नर्सहरूलाई दही–च्युरासमेत खुवाउनु भएको थियो । १२ बजे औषधि खाने र आराम गर्ने भन्दै हुनहुन्थ्यो तर, औषधि खानुपूर्व पिसाब फेर्छु भनेर शौचालय भित्र पस्नुभएको त्यहीँ ढल्नुभयो । उठ्दै नउठी चोला उठ्यो,” उनी अहिले सम्झन्छन् ।

आमा बितेपछि उनको जीवन कालो सुरुङतिर प्रवेश गर्यो । दुईजना स–साना भाइबहिनी । तिनको रेखदेखको जिम्मा उनकै काँधमा आइपर्यो । “ससाना लालाबाला छन्, उमेर छँदैछ, अर्को बिहे गर्नु नि !’ आफन्तले नसुझाएका होइनन् । विनयकी हजुरआमाले ‘यत्रो तिघ्रे छोरो भएर बाबुलाई सम्झाउनु नि अर्को बिहे गर्न !’ भनेर बरोबर भनिरहन्थिन् । तर, उनका बाबुले दोस्रो बिहे गरेनन् । “बा निकै आदर्श हुनुहुन्थ्यो । जानेबुझेको मान्छेले यसो गर्यो भने अरूले के गर्छन् भनेर कुरै पर्न दिनुहुन्नथ्यो,” बाबुले त्यसबेला भनेका कुराहरू उनको मनमस्तिष्कमा ताजै छन् अझै पनि ।

आमा बितेपछि उनी एक्लिए । बाबु काममा व्यस्त भइरहने । साथीको लहैलहैमा लागेर पत्तै नपाई कुलतमा फसे उनी । रक्सी, जाँडको उनी अम्मली बने । सुरूसुरूमा पीडा हल्का गर्ने, तागत पैदा गर्ने, अरूको अगाडि सान देखाउने प्रयोजनका लागि खाएको रक्सीले थाहै नदिई उनैलाई खान थाल्यो ।

रक्सी खान उनले घरको सम्पत्ति, अन्नपात त सके नै, क्रमशः साथीभाइ, नरनाता, इष्टमित्र, आफन्तलगायतसँग सम्बन्ध पनि रित्याउँदै गए । धेरैथोक नास, बिनास गरे । “आफू गलत बाटोमा छु भन्ने त थाहा हुन्थ्यो तर, त्यसबाट कसरी उम्कने ?” भयंकर अँध्यारो प्रतीत हुन्थ्यो उनलाई जीवन । “कुनैदिन त्यो अँध्यारो सुरुङबाट बाहिर आउन सक्छुजस्तो लाग्दैनथ्यो,” सम्झँदा अहिले पनि कहालिन्छन् उनी । अनुहारमा पश्चाताप सलबलाउँछ ।

० ० ०

आमा बितेको केही वर्षपछि उनले मगर थरकी युवतीसँग भागी बिहे गरे । सम्पन्न परिवारमा त्यो एक किसिमको विद्रोह थियो । श्रीमतीलाई चुल्होचौकामा पुर्याउन ठूलै पापड बेल्नुपर्यो । कैयौँपटक बाबुसँग मुखमुखै लागे उनी ।

रक्सीको कुलतमा लागेको छ भन्ने जान्दाजान्दै बिहेका लागि राजी भएकी थिइन् उनी । एक छोरीसमेत जन्मिइन् । श्रीमतीले कसैगरी सुधार्न सकिनन् उनलाई । थाहा पाएका जान्ने, हेराउने, अस्पताल, चिनेका चिकित्सक कहाँमात्र लगिनन् । बुटी बाँध्नेदेखि आयुर्वेदिक औषधि खुवाउनेसम्म गरिन् । केही सीप चलेन । कसैगरी रक्सी नछाडेपछि अन्तिममा उनैले श्रीमान् छाडिन् र माइतीकै शरणमा पुगिन् ।

त्यतिबेलासम्म उनले बाबु गुमाइसकेका मात्र थिएनन् । दुई बहिनी बिहे गरेर आ–आफ्ना घर गइसकेका थिए भने भाइ बिहे गरेर ससुरालीतिरै घरजम गर्न थालेका थिए । नितान्त एक्ला भए विनय ।

धनसम्पत्ति छउञ्जेल रक्सी नै खाए पनि आफन्त आउजाउ गर्थे, के छ कसो छ भन्थे । रक्सीले जीवन र सम्पत्ति दुवै निखार्दै लगेपछि उनलाई माया होइन, दया गर्नेसम्म कोही भएनन्. । लागुलत नै साथी भएपछि सडकमै सुत्न थाले उनी ।

० ० ०

पाँच वर्षअघि अमेरिकामा रहेकी उनकी बहिनी भावनाले मामाको छोरा नवीनलाई भनिछन्, “दाइलाई रक्सीले निखार्यो, कतै पुनस्र्थापनातिर राख्दिन पाए नि हुन्थ्यो ।”

अमेरिकाबाट नेपाल आएको बखत नवीनले विनयलाई खोजे तर फेला पार्न सकेनन् । तीन–चारपटकको प्रयत्नमा फेला पारेर चोभारमा रहेको ‘रिजमन्ड फेलो’मा राखिदिए । त्यहाँ लाग्ने शुल्क आफैँले तिरिदिए र बाबुहरूलाई हेरचाह गर्न समेत अह्राए । रिजमन्ड फेलो उनको दोस्रो जीवन थियो । नशा, दुर्दशाबाहेक केही नझेलेका विनयले त्यहाँ विभिन्न जीवन नियाल्ने मौका पाए । त्यहाँ उपलब्ध मनोसामाजिक चिकित्सा, विभिन्न थेरापीले उनको जीवनमा थोरै घामले चिहाउन थाल्यो । भीषण आँधीपछि नर्कटले मुन्टो उठाएझैँ थियो त्यो क्षण ।
त्यसपछि पो उनी छाँगोबाट खसेझैँ भए– कहाँ छाडेँ होला मैले त्यो सुन्दर घर, परिवार । जूनजस्ती श्रीमती । तामाकी मुनाजस्ती छोरी । दिमागमा विचित्रको शून्यता छायो । आँसु बगाउनु र अतीत सम्झेर कल्पनुबाहेक उनीसँग कुनै विकल्प थिएन ।

केही समयको परामर्शपछि उनी बाहिर आए र प्रण गरे– अब आफूजस्तै कुलतमा परेकाहरूलाई यसबाट बाहिर ल्याउँछु । तिनीहरूलाई पुनर्जीवन दिन्छु म ।

हाल उनी विभिन्न पुनस्र्थापना केन्द्रमा पुनर्स्थापित लागुलतीहरूलाई मनोसामाजिक परामर्श दिन्छन् । परामर्शबापत उनले कुनै शुल्क लिँदैनन् । बरु प्रशिक्षण शुल्कबापत आफूलाई आउने पैसा कुनै कुलतमा फसेकालाई बाहिर ल्याउनमा खर्चन्छन्, पढाएकैपुनर्स्थापना केन्द्रमार्फत ।

त्यतिमात्रै होइन, पुनर्जीवन रेडियो कार्यक्रम चलाउँछन् र कुलतमा फसेकाहरूलाई परामर्श दिन्छन् । कुलतबाट बाहिर ल्याउने प्रयत्न गरिरहेका छन् ।

र, वेवारिसे शव व्यवस्थापन
बाबुआमाले परलोक प्रस्थान गरे । भाइबहिनी आ–आफ्नै बाटो । कुलतका कारण श्रीमती पर भइन् । लागुलतबाट बाहिर आएपछि विनयको दिमागमा झन् डरलाग्दो सन्नाटा छायो । इष्टमित्रले छिःछिः दूरदूर गर्थे । हिजो सँगै बसेर जाँडरक्सी खाने साथीहरूले पनि आफ्नो बन्दोवस्त गरिसकेका थिए । बाटो भत्किएको त उनको मात्रै थियो । अठोट गरे उनले– यही समाजमा उदाहरणीय काम गर्छु । समय पो फर्काउन सक्दिन, सम्बन्ध त फर्काउन सक्छु नि !

बाबुको मृत्यु भएका बखत देखेको वेवारिसे शवको दुर्दशाको अतीतद्योतक भयो दिमागमा । र, उनी वेवारिसे शवको व्यवस्थापनमा जुटे ।

सुरू त गर्ने तर कसरी ? एउटा शव जलाउन दश हजार रुपैयाँसम्म खर्च हुन्छ । भर्खर कुलत छाडेकालाई कसले शव जलाउन दिनु ? सुरूमा त योजना दिमागमै अलपत्र पर्यो । तर, ‘तँ आट म पुर्याउँछु’ भनेझैँ पाटन अस्पताल प्रशासन, तत्कालिन ललितपुर उपमहानगरपालिका, ललितपुर प्रहरी आदिको सहयोग पाएपछि उनको योजनाले मूर्तता पायो र वेवारिसे शवमा दागबत्ती दिन थाले उनले । “गोदावरी घाटमा शव लिएर जान एम्बुलेन्सलाई भाडा तिर्ने पैसासमेत हुँदैनथ्यो । पैसा नपाएसम्म जान्न भनेर शव जलाउञ्जेलसम्म कुरेर बस्थ्यो । पञ्जा किन्ने पैसा नभएर नांगो हातले सडेका शव उठाएको छु धेरैपटक,” उनको अनुहारमा विस्मयभाव छायो ।

विशेष गरेर घरपरिवारले छाडेका र पाटी पौवामा मागेर गुजारा गर्ने वयोवृद्ध, कुलतमा फसेकाहरूको मरण वेवारिसे हुने उनको ठम्याइ छ । “घर परिवारले छाडेपछि सडक डुलेर माग्छन् । हिँड्न नसकेपछि बसेर माग्छन् । बसेर माग्न पनि नसकेपछि घिस्रिन थाल्छन् । घिस्रिन पनि नसकेपछि तिनीहरू पाटी पौवाको शरणमा पुग्छन् र अन्तिममा त्यहीँ मरण बेहोर्छन्,” उनले वेवारिसे शव फेला पर्नुको कारण पनि सुनाए ।

कतिपय मृतकका आफन्तले अस्पतालमा पैसा बुझाउन नसक्दा पनि शव बेबारिसे हुने उनी बताउँछन् । भन्छन्, “बिरामीको मृत्यु भइसकेको हुन्छ तर पैसा नतिरी अस्पतालले शव लैजान दिँदैन । त्यसपछि आफन्त भाग्छन् र शव मुर्दा घरमा थन्किन्छ,” उनले खुलासा गरे ।

त्यस्ता वेवारिसे शवरूको आफन्त बनेका छन् विनय । कामको चाप बढ्दै गएपछि र सहयोगको हात बढ्न थालेपछि उनले ८ महिनाअघि वेवारिसे व्यवस्थापन तथा पुनस्र्थापना केन्द्र खोलेका छन् । त्यसैमार्फत काम गर्छन् । जसअन्र्तत सनाखत हुन नसकेका, सनाखत भई आफन्त फेला नपरेका शवलाई उनी दागबत्ती दिन्छन् । त्यस्तै, जाँडरक्सी खाएर वेवारिसे बनेकाहरूलाई पनि पुनस्र्थापना केन्द्रमा लगेर उपचार गर्छन् । कुलतबाट बाहिर ल्याउँछन् । यसैगरी मन्दिर, सडकपेटी, पाटीपौवामा मागेर गुजारा गर्ने वयोवृद्ध, अशक्त, अपांगहरूको उपचारको प्रवन्ध मिलाउँछन् । वयोवृद्ध, अशक्त, अपांगहरूको पाटन, वीर र त्रिवि शिक्षण अस्पतालमा उपचारको बन्दोवस्त मिलाएका छन् उनले । र, उनीहरूको कुरूवासमेत आफैँ बस्छन् विनय ।

वेवारिसे शवको सद्गतको प्रक्रिया के छ ?
दुर्घटनामा परेका, पाटीपौवा, सडकमा वेवारिसे अवस्थामा फेला परेका शवको ३५ दिनसम्म प्रहरीले अनुसन्धान गर्छ, आफन्तहरूको खोजी गर्छ । विभिन्न सेलहरूमा शव भेटिएकोबारे सुसूचित गर्छ । ३५ दिनसम्ममा पनि कोही आफन्त नआए मुर्दा घरमा थन्क्याउँछ र अस्पताल प्रशासनले आवश्यक प्रक्रिया पुर्याएर जलाउने, गाड्ने गर्छ । त्यस्तै शव हो विनयले दागबत्ती दिने । एकजना सम्बन्धित जिल्लाको प्रहरी प्रतिनिधि, अस्पताल र स्थानीय तहको प्रतिनिधिको रोहवरमा शव जलाइने उनी बताउँछन् । सुरुवातमा गेदावरीमा शव जलाउने गरेको भए पनि पछिल्लो समय उनले पशुपतिमै पुर्याउने गरेका छन् र सबै शवलाई आफैँ दागबत्ती दिन्छन् । घाटे लगाएर जलाउँछन् । शव जलाइ सक्नेवित्तिकै अन्तिम संस्कारको कर्म गर्छन् । पण्डितद्वारा पिण्ड दिन्छन् र १३ औँ दिनको दिन रुद्रीसमेत गर्छन् । “मन त १३ औँ दिनसम्मकै काजकिरिया, अन्त्य कर्म गरौँ भन्ने छ नि, स्रोत छैन । शव जलाउने रकमको जोहो गर्नै मुस्किल छ,” उनी सुनाउँछन् ।

नेपालभरिकै वेवारिसे शवको सद्गत गर्ने अनुमति पाएको भए पनि स्रोतसाधन अभावका कारणले उनी अहिले ललितपुर जिल्लाका वेवारिसे शवहरू दागबत्ती दिन्छन् । पाटन अस्पतालमा महिनामा सरदर पाँच वेवारिसे शव आइपुग्छन् भने त्रिवि शिक्षण अस्पतालमा सय बढी वेवारिसे शव छन् । १७ वटा त भूकम्पकै बेला फेला परेका शवहरू छन् । त्यहाँका पनि चारवटा शव जलाएका छन् उनले ।

“स्रोत जुटाउँदै ती सबै शवहरू जलाउँछु,” उनले भविष्यको योजना पनि सुनाए । त्यस्तै उनको जीवनकथामा आधारित डकुड्रामासमेत तयार भइरहेको छ, ‘नदेखिएका आँसु’ । भन्छन्, “डकुड्रामालाई स्कुल कलेजमा प्रदर्शन गर्ने सचेतना फैलाउने मेरो अभिप्राय हो ।”

अन्तिममा उनले भने, “अब मैले हिजोको समय त फर्काउन सक्दिनँ तर पनि नासिएको, बिग्रिएका सम्बन्धहरू, गुमाएको माया, ममता, स्नेहहरू बिस्तारै निखन्दैछु ।”

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment