अक्षर काका
कहिलेकाहीँ नियति यति निर्मम बन्छ कि बिनागल्ती पनि जीवनभर ‘सजाय’ बेहोर्नुपर्छ । त्यस्तै पात्र हुन्, नवलपरासी गैँडाकोटकी निर्मला पौडेल । पतिमार्फत एचआईभी संक्रमण बेहोरेकी निर्मलाले १८ वर्ष भयो यो नियतिको सिकार हुनुपरेको । एचआईभी संक्रमणको सुरूआती दिनमा पीडाको आँसु झार्नेबाहेक बाटो नभेट्टाएकी निर्मला पछिल्लो समय आफूजस्तै संक्रमित महिलाको पथप्रदर्शक बनेकी छिन् । आफैँ पीडामा परेर पनि अर्कालाई प्रेरणा जगाउने कार्यक्रममा अविचलित लागेकाले निर्मलालाई युवा तथा खेलकुद मन्त्रालयले युवा प्रतिभाको रूपमा ५० हजार नगदसहित सम्मान गर्यो । पुरस्कार ग्रहण गर्न राजधानी आएकै मौका पारेर हामीले उनीसँग कुराकानी गरेका थियौँ ।
र, उनले व्यथाको पयो फुकाइन् ।
० ० ०
नवलपरासी गैंडाकोट ढोडेनीमा जन्मिएकी हुन् उनी, २०३९ सालमा । पाँच सन्तानमध्ये उनी माइली थिइन् । उनीमुनिका तीन भाइ छन् । निम्न वर्गीय परिवारमा जन्मिएकाले शिक्षादीक्षा खासै भएन । त्यसो त सानैमा बाबा बिते । दिदीको बिहे पनि कलिलै उमेरमा भएकाले उमेरमा विद्यालयमा जान पाइनन् । दिदीको बिहे हुँदा भाइहरू सानै थिए ।
परिवारको दायित्व उनकै काँधमा आइपर्यो । स्कुल जान थालेको केही वर्षम बाबु बितेकाले पढाइ अधुरै थियो । त्यस्तै तीन कक्षा उत्तीर्ण गरी चारमा पुगेकी हुँदी हुन्, बिहेको प्रस्ताव पो आयो । भर्खर १४ टेकेकी थिइन्, विवाह के हो उनलाई थाहै थिएन । ‘घरमै माग्न आएको मान्छे उम्काउनु हुँदैन । बिहे गर्नुपर्छ नानी तैंले,’ आमाले यसो भनेपछि उनले नाइँनास्ती गर्ने कुरै भएन । भर्खर किशोरवयमा टेकेकी निर्मलाले कसरी ठम्याओस्, किन बिहे गर्नुपर्छ ? बिहे गरेपछि के हुन्छ ?
“एकल आमाको अनुहारमा हरबखत आँसु हुन्थ्यो, चिन्ता गरिरहनुहुन्थ्यो, मेरै भलाइका लागि भन्नुभएको भन्ठानेर मैले हुँदैन भनिनँ,” उनी अहिले सम्झिन्छन् ।
सहरको केटाले हात माग्न आएको । आफूभन्दा बजारको । हुनेखाने । भारतमा नोकरी पनि गर्ने । खाइलाग्दो । गजबकै देखिन्थ्यो परिवार । काकाहरूले समेत कर गरेपछि आमाले कुनै सोचविचार गरिनन् । सुम्पिइन् उनलाई । २०५४ साल वैशाख २२ मा हो उनी अन्मिएको ।
वैशाखमा बिहे भयो । जेठमा जेठाजु बार्ने (विवाहको पहिलो वर्ष जेठाजुको मुख नहेर्ने) चलन थियो । उनी माइत आइन् । पुर्याउन पति नै आएका थिए । उनी माइत भएको बेला पति रोजगारीको लागि भारत फर्किए । “म बालखै थिएँ । बिहे गरेपछि पति मसँगै बस्नुपर्छ भन्ने पनि थाहा थिएन,” अनुहारमा स्तब्धता छायो, खुइया काढिन् उनले ।
माइतबाट घर गएपछि जेठानीले सुनाइन्, “बाबु काम गर्न भारतै जानुभयो । यस्तै हो, कमाउने लोग्ने भएपछि !” उनले ‘ए !’ बाहेक केही भनिन् ।
पति भारत गएको नौ महिना बित्यो तर चिट्ठीपत्र केही आएन । ‘यसअघि त चिट्ठी, समाचार आउँथ्यो, यसपटक केही आउँदैन त बा, केही भयो कि !’ अत्ताल्लिन थाले परिवार पनि । “बिरामी–सिरामी परेर हो कि, किन होला नआउनुभएको,” उनको मनमा पनि डरले डेरा जमाउन थाल्यो । पति उनीभन्दा नौ वर्ष जेठा थिए ।
० ० ०
त्यस्तै दश–एघार महिनासम्म पनि पति आएनन् । बरु जेठाजुको छोरा जो पतिसँगसँगै काम गर्थे, उनी आएर भन्न थाले, “अंकलले काकीलाई पनि भारतै ल्याउनु भनेको छ, एक–दुई दिनमै तपाईं भारत जानुपर्ने भयो । अचम्मित भइन् उनी । ‘महिलालाई बम्बइ पुर्याएर बेचिदिन्छन् रे !’ गाउँघरतिर हल्ला हुने भएकाले उनको मनमा झस्का पस्यो, “कतै त्यस्तै पो हो कि !”
घरपरिवारले सम्झाएपछि गाविसको सिफारिस, प्रहरीको चिट्ठी तयार भयो र बिदाबारी हुन माइत गएकी थिइन् ।
तर, भोलिपल्टै अंकल आउनुभएको छ भन्दै जेठाजुको छोरो पो माइत पो आए । उनी हतार–हतार घर गइन् ।
महिनौँ नकाटेको जिङरिङ्ग कपाल । ठूलै मानसिक आघात परेजस्तो । विक्षिप्त । बेसुरा । कहिले के भन्ने कहिले के भन्ने ? लोग्नेको यस्तो हुलिया देखेपछि उनी अताल्लिइन् । ‘मेरो भारतमा कस्ता–कस्ता केटीहरू छन्, पढेलेखेकी भनेर पो बिहे गरेको ! यस्ताका फेला परेँ,’ एघार महिनापछि भेटिएको पति यसो पो भन्छन् । उनी छाँगाबाट खसेजस्तो भइन् । साँच्चै नराम्रो रहेछु कि क्या हो ? यसो पनि लाग्यो उनलाई ।
नजिक पर्नै नहुने, हँसिया बोकेर काट्न आइलाग्ने, जे भेट्टायो त्यसैले हान्ने ! पतिको निकै यातना सहिन् । पति बारम्बार बिरामी भइरहेपछि परिवारले थुप्रै धामीझाँक्री देखायो ।
झारफुक गर्यो । २० को १९ भएन । त्यसपछि काठमाडौंको पाटन अस्पताल ल्याइयो । १४ दिन परिवारबाट अलग राखेर उपचार गरेपछि केही सुधार भयो । श्रीमतीसँगको व्यवहारमा सुधार आयो । सामान्य कामसमेत गर्नसक्ने भएपछि घर पुर्याइयो उनलाई ।
“त्यसपछि उहाँलाई भारत नपठाउने निधो भयो र गैंडाकोटकै सामान्य कामसमेत फेला परेको थियो,” बताइन् उनले ।
तर, पाँच–छ महिनापछि पुनः बिरामी परे । ज्वरो आउने । अत्यन्त कमजोर हुने रोगको लक्षण थियो । उपचारका लागि भरतपुर अस्पताल लगियो । एक हप्ता उपचार गरेपछि ठीक भएझैँ भयो । घर लगेपछि व्यथा उस्तै । दुईचार दिन होलो हुन्छ, दुई–चारदिन पछि थला परिहाल्ने । वाक्क हुन थाले परिवारजन ।
० ० ०
भरतपुर अस्पतालमा उनको बास थियो । आज ठीक होला, भोलि त पक्कै निको हुन्छ भनेर पर्खंदापर्खंदा बिरामीको अवस्था झन् नाजुक हुँदै थियो । भर्खर १५ लागेकी । छेवैका बेडका कुरुवाहरू भन्थे, ‘कलिलै उमेरमा दुःख पायौ नानी । बालखैमा बिरामी लोग्नेको स्याहार गर्नुपर्यो ।’ “सबैका बिरामी निको हुन्छन् । रोगले गाले पनि बिरामीको अनुहार हँसिलो देखिन्छ । कुन जुनीको पापको फल भोग्नुपरेको होला ईश्वर !,” उनको कलिलो दिमागले यो बाहेक केही सोच्दैनथ्यो । र, भक्कानिन्थ्यो मन ।
कसैगरी व्यथा होलो नभएपछि अस्पतालका चिकित्सकले सोधपुछ गरे– पहिला कहाँ, के काम गर्नुहुन्थ्यो ? उनले भारततिर नोकरी गर्ने गरेको र बिरामी भएर नेपाल फर्किएको कुरा सविस्तार बताइन् । त्यसपछि रगत जाँच गर्ने निष्कर्षमा पुगे चिकित्सक । रगत झिकियो पतिको ।
रिपोर्ट दिनुको सट्टा राति एक बजे उनलाई बोलाइयो र परामर्श दिन थालियो– तिम्रो पतिलाई एचआईभी पोजेटिभ छ । यो रोग निको हुँदैन । उहाँको आयु धेरै लामो छैन । मन गरेको कुरा खान दिनू । अब घर लानू । यति भनेर चिकित्सक बिदा भए । आँखा एक्कासि बन्द भयो उनको । केही पनि देखिनन् । चारैतिर अँध्यारो पो छायो ।
० ० ०
एचआईभी संक्रमित भएको पुष्टि भएपछि पतिको मुखसमेत हेर्न मन लागेन उनलाई । बालखैमा बिहे गरेर जिन्दगी तहसनहस पारिदिने लोग्ने होइन अपराधी लाग्यो उनलाई । ठूलो मानसिक आघात पर्यो । टेकेको जमिन भासिएझैँ, आँधीहुरी आएझँै रिँगटा चल्न थाल्यो । भुइँमा लडिबुडी खेल्न थालिन् । बिरामी कुरुवाहरूले आएर रातभरि सम्झाए । जिन्दगीको बाटो देखाए । केटाकेटीमै उनले सुनेकी थिइन्– एड्स लोग्ने–स्वास्नीबाटमात्रै सर्छ । मलाई पनि एड्स सरिसक्यो ।
लोग्नेको विक्षिप्त अनुहार । रोगले शिथिल भएको शरीर । म पनि छिट्टै यही हालतमा पुग्छु भन्ने भयको हुन्डरी चल्न थाल्यो मनभित्र ।
“त्यो रात थिएन, मेरो जीवनको कालरात्री थियो । खुसी रित्तिएको दिन त्यही हो मेरो,” उनको अनुहारमा टीठलाग्दो सन्नाटा छायो ।
महिनावारी रोकिएको थियो । तर, पेटमा बच्चा आएको थाहा थिएन । चिकित्सकलाई अबोध प्रश्न हुत्याइन्, “पतिलाई एड्स लागेको रहेछ, त्यही भएर मेरो महिनावारी रोकिएको हो कि ?”
उनको कुरा सुनेर चिकित्सकको मुख सोहोरियो । भोलिपल्टै तीन ठाउँमा उनको रगत परीक्षण गरियो । तर, नतिजा नेगेटिभ आयो । बल्ल सास आयो । अनुहारबाट पसिना छुट्न बन्द भयो उनको । दिउँसोपख घरपरिवार बोलाइन् । पति एचआईभी संक्रमित भएको बारे बताइन् । र, बिरामीलाई घर पुर्याइयो । नेपालबन्द थियो त्यतिबेला, हिँडेरै छोरो लिन आएका थिए परिवारका सदस्य ।
० ० ०
भरतपुरका अस्पतालले रक्त परीक्षणको रिपोर्ट थमाउँदा भनेका थिए– यहाँको रिपोर्टको मात्रै भर नपर्नू । काठमाडौँको टेकु अस्पतालमा गएर जँचाएर आफू विश्वस्त हुनु । त्यसैले पनि उनको मन अधीर नै थियो– पोजेटिभ देखिए के गर्ने होला ? मलाई चित्त बुझाउनमात्रै भनेका हुन् कि !
अतः पतिलाई घर लगेपछि उनी देवरको साथ लागेर टेकु आइन् र रक्त परीक्षण गराइन् । बिडम्बना ! उनको नतिजा पोजेटिभ पो आयो । आकाश खसेझैँ भयो उनलाई । हात पर्नेबित्तिकै रिपोर्ट धुजाधुजा बनाएर च्यातिन् उनले ।
अस्पतालले सम्झाउँदै भन्यो– उहाँको पेटमा बच्चासमेत रहेछ ! दश वर्ष हो उहाँको आयु । बच्चालाई एचआईभी संक्रमण हुन पनि सक्छ, नहुन पनि सक्छ ।
मिति नै पो तोकिदियो अस्पतालले । जीवनको घाम एक्कासी अस्तायो उनको । बाँचेकोमा भयंकर पश्चातापबोध भयो । बिना गल्ती सजाय भोग्नुपर्ने यो कस्तो नियति, धिक्कार महिलाको जुनी !– आफैँले आफैँलाई सरापिन् । रोएरै दिन बिताइन् ।
एचआईभी पोजेटिभ देखिएपछि उनी घर गइन् । मायाममता देलान्, सहानुभूति पाउँला भन्ने ठूलो आश थियो । तर भइदियो उल्टो । छिमेकीले धारो÷कुवा, घरपरिवारले चुल्होचौका बारे । छिःछिः दूरदूर गरे । पतिका कारण एचआईभी स¥यो । एचआईभी सर्नुमा उनको कुनै गल्ती थिएन । कुनै कसुर थिएन । तर, सजाय पाइन् उनले । पेटभित्रको शिशु पनि त्यसको सिकार बन्यो । उनी टेकुबाट घर फर्किएको पाँच दिनपछि पतिको देहावशान भयो ।
“आज त एचआईभी संक्रमितहरूप्रति गरिने व्यवहार उदेकलाग्दो छ भने त्यो बेला कस्तो होला ?,” खुइया काढिन् उनले ।
० ० ०
एचआईभी संक्रमित हुँदा पेटमा बच्चा थियो । तर, उनी भर्खर १५ वर्षकी थिइन् । ‘घरमै बच्चा जन्माउन नखोज्नू है अस्पताल लैजानू,’ अस्पतालले भनेको रहेछ । त्यसैले डेलिभरीका लागि उनी भरतपुर अस्पताल पु¥याइन् । अस्पतालका पढेलेखेका, जानेबुझेका नर्स चिकित्सकले समेत नराम्रो व्यवहार गरे । एचआईभी संक्रमितलाई माया गर्नु त परको कुरा छिःछिः नै भने । ‘नर्मल डेलिभरी’ असम्भव भएकाले शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने थियो । नर्सले सुइसमेत लगाइसकेका थिए ।
उनले आफू एचआईभी संक्रमित भएकाले सुरक्षित रहन सजग गराइन् । लोग्नेको मृत्यु भएपछि रगत, सिरिन्जजस्ता माध्यमबाट पनि एचआईभी सर्छ भन्ने थाहा पाएकी थिइन् । सचेत गराउनु कर्तव्य ठानिन् । तर, त्यही अभिशाप भयो उनका लागि । ‘एचआईभी संक्रमित महिलालाई हामी प्रसूति गराउन सक्दैनौँ’ भनेर भरतपुर अस्पतालले मध्यरात फिर्ता पो पठाइदियो । अस्पतालबाट आर्यघाट पठाएझैँ पो भयो उनलाई । बच्चा जन्माउन अपरिवक्व, एचआईभी संक्रमित । अस्पतालको लापरवाहीको पराकाष्ठा थियो थियो त्यो ।
दारूण यातना सहेर त्यसको तीन दिनपछि उनले घरमै बच्चा जन्माइन् ।
“एकातिर उमेर नपुगेकी आमा, अर्कोतिर एचआईभी संक्रमित । अस्पतालले अमानवीय यातना दियो,” सम्झँदा अहिले पनि शरीरका रौँ उचालिन्छन् उनका ।
अस्पतालले समेत फिर्ता पठाएको । नजिक गए एचआईभी सर्छ भनेर बच्चा जन्माउने बेला न कोही परिवारले उनलाई छोए, न बच्चा जन्मिएपछि बच्चाको स्याहार नै गरिदिए ।
अतिशय पीडाले उनी छटपटाउँथिन् । कहालिएर रुन्थिन्, भक्कानिन्थिन् । तर, कोही नजिक परेनन् । यतिसम्म कि भर्खर पैदा भएको शिशुलाई समेत पखाल्ने, नाभी काट्ने मानिस भएनन् । एचआईभी संक्रमित महिलाले बच्चा जन्माउन लागेकी छे भनेर दश गाउँबाट मानिसहरू हेर्न आएका थिए, ती सबै रमितेमात्रै बने । कसैले सघाएनन् । सहानुभूतिसमेत दिएनन् ।
वयोवृद्ध माइली सासू थिइन्, उनैले धोइपखाली गरेर सुत्केरी उतारिदिइन् । “सुत्केरी भएको बेला स्याहार होइन, एकछाक मीठो खान पाइनँ,” आँखा रसाए उनका ।
जन्मिएको पाँच दिनपछिमात्रै छोरो छुन पाइन् । त्यो पनि अरू काममा गएको मौका छोपेर ।
चुसाउँदै नचुसाई दूध सुकाउनुपर्यो । संयोगवश छोरामा एचआईभी संक्रमण देखिएन । तिनै माइली सासूले पाँच घन्टाको बाटो पैदल हिँडेर भरतपुर अस्पताल ल्याइन् । र, शिशुमा एचआईभी संक्रमण भए–नभएको यकिन गराइन् ।
छोरामा एचआईभी संक्रमण नभएको पुष्टि भएको दिन नै जिन्दगीको सबैभन्दा ठूलो खुसीको क्षण हो उनका लागि । “अन्यथा ऊ पनि मजस्तै बिनागल्ती जीवनभर तड्पिइरहनुपथ्र्यो !” सलले आँखाको आँसु पुछिन् उनले ।
घरमा पक्की शौचालय थियो तर उनका लागि बारीमा छुट्टै चर्पी बनाइयो । पकाउने चुल्होदेखि, खाने थाल, लुगाफाटोसम्म अलग गरियो । बिना गल्ती सजायको भागिदार हुनुपरेपछि उनले जीवन सिध्याउन नखोजेकी पनि होइनन् । बाँच्न कठिन थियो तर मर्न पनि कहाँ सजिलो थियो र ! तर, छोरो जन्मिएपछि उनको मन बदलियो । ‘दश वर्षमा तँ मरिहाल्छेस् !’ त उनले दिनकै सुन्न पथ्र्यो तर मानिसहरू नजिकै पर्न डराउँदा ठूलै अपराध गरेझैँ लाग्थ्यो उनलाई ।
बाँच्दिन भन्ने लागेपछि उनले आफ्नो नाममा रहेको पेवा, सम्पत्ति सबै सिध्याएकी थिइन् ।
त्रिनेत्रले खुलाइदियो नेत्र
त्रिनेत्रले उनलाई विक्षिप्तताबाट बाहिर ल्याउन मद्दत पु¥यायो । सुरुमा त उनी कसैसँग बोल्न मान्दिनथिन् । परिवार, छरछिमेकले घृणाको पात्र बनाएकाले उनी घरबाहिर पनि निस्कन मान्दिनथिइन् । बारम्बार ताकेता गर्ने र एचआईभी संक्रमण हुनेबित्तिकै जीवन रित्तिँदैन, उनीहरू पनि समाजसेवामा सक्रिय हुन सक्छन्, समाज बदल्न सक्छन्, जीवनमा परिवर्तन ल्याउन सक्छन् भनेर अनेक तरहले सम्झाएपछि उनका आँखा खुले र दश वर्षमा मरिहाल्छु भन्ने सोचबाट थोरै बाहिर आइन् ।
सुरूमा खुल्नै नचाहने, बोल्नै नचाहने निर्मला पछि त्रिनेत्रको ‘साथी शिक्षक’ बनिन् । आफूजस्तै संक्रमितहरूमा जिजीविषा जगाउन थालिन् । सामाजिक उत्प्रेरकका रूपमा काम गर्न थालिन् । क्रमशः उनको जीवनमा परिवर्तनका प्रारूप देखिन थाल्यो ।
तर, छरछिमेकहरू बदलिएका थिएनन् । उनीहरू अझै खिसिट्युरी गर्थे– ‘ऊ आई । आफैँलाई एड्स लागेको छ के सम्झाउने होला यसले ?’
उनको जवाफ हुन्थ्यो, “मलाई अकारण एड्स लाग्यो, मजस्तै अरू एचआईभीबाट बचून् भनेर सम्झाउन हिँडेकी !”
उनले अरूलाई सिकाउँदै गइन् । आफैँ पनि सिक्दै गइन् । माया, सद्भाव, प्रेरणा पाउने हो भने जीवन लम्ब्याउन सकिने रहेछ । एचआईभी लागेको मानिस आममानिससरह पूर्णायु प्राप्त गर्न सक्दो रहेछ भन्ने विश्वास जाग्यो उनीमा । वास्तवमा एचआईभी संक्रमितको आयु आत्मविश्वास नै हो ।
तिनताक उनी तेहोरो मारमा थिइन् । एक त महिला, छोरोको लालनपालन उनकै काँधमा थियो । अर्को, उनी विधवा थिइन् । एकल महिलालाई हेर्नुहुँदैन, साइत पर्दैन भनेर छुद्र मुख चलाउँथे । मन्दिर जानसमेत वञ्चित गरिन्थ्यो । पँधेरामा पानी थाप्न, कुवामा नुहाइधुवाई गर्न पनि मानिस नभएको मौका छोप्नुपथ्र्यो । मुख्य त एचआईभी संक्रमित थिइन् । उनलाई देख्नेबित्तिकै मानिस एक कोश पर भाग्थे । ती सबैसँग उनले निर्मम सिँगौरी खेल्दै धारणामा परिर्वतन गर्दै लगिन् ।
०५७ सालतिर केही समय उनले चितवनमा रहेको माइती नेपालमा बेचबिखन र एचआईभीको जोखिममा रहेका संक्रमित महिलासमेतलाई परामर्श दिइन् । त्यहाँ उनले धेरै आफूजस्तै संक्रमित महिला फेला पारिन् र तिनैलाई संगठित गरेर ०५९ सालमा चितवन सक्रिय समूह बनाइन् अनि एचआईभी संक्रमित महिलाको क्षेत्रमा काम गर्न थालिन् ।
चितवनको सक्रिय समूहलाई काममा पारंगत बनाएपछि ०६१ सालमा उनले नवलपरासीका केही संक्रमित महिला भेला गराएर अर्को संस्था ‘लुम्बिनी प्लस भन्ने जन्माइन् । र, ०६२ सालमा विधिवत दर्ता गरिन् ।
त्यतिबेलासम्म उनले एचआईभी संक्रमितलाई सामाजिक लान्छना, विभेदले मात्रै मार्दो रहेछ, एड्सको आयु हुँदो रहेनछ भन्ने बुझिसकेकी थिइन् । त्यही कुरा बुझाउँदै हिँड्न थालिन् ।
हालसम्म नवलपरासीमा मात्रै साढे पाँच सयबढी महिला एचआइभी संक्रमित छन् । त्यहाँका ४८ जना बालबालिकामा एचआईभी पोजेटिभ देखिएको छ । उनीहरूलाई संस्थाले के गर्न सक्छ, गरिरहेकी छिन् एचआईभी संक्रमित राष्ट्रिय महासंघमार्फत घरमै गएर गरिने स्याहारका काममा जुटेकी छन् उनी ।
“आफूजस्तै अनाहकमा पीडा भोगिरहेका बिनागल्ती कठोर सजाय भोगिरहेका महिलाको सेवामा जुटेकी छु । जति बाँच्छु उनीहरूको अनुहारको दिप्ती जगाउन चाहन्छु,” पुलकित देखिइन् उनी ।
अहिलेको अवस्था
एक वर्षअघि गत असारमा उनी नवलपरासीको रजहरमा गम्भीर दुर्घटनामा परिन् । ट्रक र उनी चढेको बस आपसमा जुध्दा घुँडाको हड्डी धुजाधुजा नै भयो । बेहोस् अवस्थामा राति दश बजे चितवन मेडिकल कलेजमा उपचारका लागि पुर्याइन् । एचआईभी संक्रमित भएको रक्त परीक्षणमार्फत थाहा पाएपछि अस्पतालले शल्यक्रिया गर्न आलटाल गर्यो । उनी भन्छिन्, “तत्काल अप्रेसन गर्नुपर्ने थियो । तर, अस्पतालले सामान्य कपासको ब्यान्डेज गरेर दश दिन अल्मल्यायो ।” कुचो लगाउनेले मात्रै होइन, अस्पतालका कर्मचारीलेसमेत ‘उसलाई नछुनु एड्स रोगी हो’ भनेको थाहा पाउँदा उनको मन कुँडियो । निधारको घाउमा लापरवाही ढंगले सफा नै नगरी टाँका लगाउँदा अहिले पनि सिसाका टुक्रा खस्छन् ।
अप्रेसन गर्न मिल्ने प्रतिरक्षा प्रणाली (सीटीफोर रिपोर्ट) १४०० हुँदा पनि शल्यक्रिया नगरी राख्दा खुट्टाबाट पिप बग्न थाल्यो । ११ औँ दिनमा अप्रेसन गर्ने भनेर पनि आनाकानी गरेपछि परिवारले उनलाई काठमाडौँ ल्यायो र बीएन्डबीमा भर्ना गर्यो ।
उनको अवस्था देख्दा चिकित्सक अताल्लिए । उनले बेलिबिस्तार लगाएपछि त्यहाँका चिकित्सले जिब्रो काढे । सुरूमा चिकित्सकले खुट्टा काट्नुपर्ने हुनसक्छ भनेका थिए । तर, अविरम सिंहले हेरेपछि तत्कालै अप्रेसन गरे र खुट्टा बचाइदिए । अप्रेसन सफल भएपछि सिंहले भने रे– दुई दिनमात्रै ढिला भएको भए खुट्टा काट्नुपथ्र्यो ! दुर्घटना हुनेबित्तिकै अप्रेसन गर्न पाएको भए यति दुःख हुँदैनथ्यो ।
अन्तिममा उनले दुखेसो पोखिन्, “बुझेकै मानिसबाट यस्तो विभेद भोग्नुपर्छ हामीले, नबुझेकाबाट कस्तो व्यवहारको अपेक्षा गर्नु ?”
No comments:
Post a Comment