Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

म हिँडेको बाटो



By  Unknown     1:53 AM    Labels: 


बाह्रखरी  २०७३ माघ ८ शनिबार 

जीवनमा रमाइला घटना हुन्छन्, कहिलेकाहीँ । मेरो जीवनमा पनि त्यस्ता थुप्रै घटना भएका छन्, सम्झँदा अनौठो लाग्छ अहिले ।

सुदूरपश्चिमका प्रेमसिंह धामी एमालेका नेतामात्र थिएनन्, मन्त्रीसमेत भएका थिए । ०४१ सालतिरको कुरा हुनुपर्छ– म अधिकृत भएर महेन्द्रनगर पुगेको थिएँ । मेरो बालसखा डा. श्याम भट्टराई (हाल एसओएस बालग्रामसँग सम्बन्धित हुनुहुन्छ) त्यहाँको साझा प्रकाशनको प्रमुख हुनुहुुन्थ्यो । धामीजीले मेरो कविता असाध्यै मन पराउनुहुँदोरहेछ । ‘यी कवि/गीतकारलाई भेट्न पाए पनि हुन्थ्यो’ भनेर उहाँले बेलाबखत कुरा झिक्नु हुँदोरहेछ । संयोगवश, म महेन्द्रनगर पुगेका बेला उहाँ पनि त्यहाँ आइपुग्नुभयो ।

श्यामजीले भन्नुभयो, “तपाईंले कुरा गरिरहने कवि उहाँ नै हुनुहुन्छ, चिनापर्ची गर्नुस् !”

तर, उहाँले पत्याउँदै पत्याउनु भएन । मैले ‘अलिअलि कविता/गीत लेख्छु । म दिनेश अधिकारी हुँ’ भनेँ तर उहाँले कसैगरी मान्नुभएन । बरु ठान्नुभयो, “यी दुईजना मिलेर मसँग ठट्टा गरिरहेका छन् ।”

पातलो शरीर । त्यतिबेला म जम्मा २५ वर्षको मात्रै थिएँ । धामीजीले तलदेखि माथिसम्म नियाल्दै हुुनुहुन्थ्यो । मैले ‘गरिमा’मा छापिएका सबैजसो कविताका बारेमा बताएँ । करिब आधा घण्टा नियालेपछि उहाँले बल्ल पत्याउनुभयो ।

त्यसपछि उहाँ जिद्दी गर्न पो थाल्नुभयो, “तपाईं आज मैकहाँ बस्नुपर्छ र खाना पनि उतै खानुपर्छ ।”

कर गर्न थालेपछि त्यसदिन म उहाँको घर नगई सुखै पाइनँ ।

० ०  ०

म परिवारससहित दोलखा भीमसेन दर्शन गर्न गएको थिएँ । आजभन्दा १५ वर्षअघिको कुरा हो यो । दर्शन गर्न साथमा मेरो परिवार मात्र थिएन, एक जना साथी र उहाँको परिवार पनि थिए । मन्दिर दर्शन गरेर फर्किंदा भोक लागिरहेको थियो तर चरिकोट बजारका होटलमा सोध्दा कसैले पनि खाना छ भनेनन् । सोध्दै जाँदा एकजनाले हातले इशारा गरे, “ऊ... त्यो होटलमा चाहिँ पकाइदिन सक्छन्, गएर बुझ्नुस् न ।”

त्यो होटलमा पनि गएर सोध्यौँ । त्यहाँ पनि उस्तै जवाफ आयो, “खाना सकियो ।”

निन्याउरो अनुहार लगाएर फर्किंदै थियौँ, एकजना अधबैँसे मानिस हाम्रो नजिकैबाट जानुभयो । केही पर पुगेका थियौँ, उहाँले त मलाई हेरी पो राख्नुभएको रहेछ ! मलाई चिनेजस्तो लागेर सोध्नुभयो, “तपाईं गीतकार दिनेश अधिकारी होइन ?”

मैले ‘हो’ भनिनसक्दै उहाँ पुलकित देखिनुभयो ।

“के गर्न आउनुभएको यहाँ ?” उहाँले सोधीखोजी थाल्नुभयो । मैले दोलखा भीमसेन दर्शन गरेर फर्किएको, भोक लागेको छ तर भात खाने होटल भेटिएन भनेँ । पछि उहाँले भन्नुभयो, “हिँड्नुस्, त्यो मेरो होटल हो, भात खुवाउँछु ।”

भात खाइसकेपछि पैसा दिन खोजेको त लिनै मान्नुहुन्न बा ! भन्नुहुन्छ, “तपाईंले मेरोमा आएर भात खानु नै मेरो लागि ठूलो कुरा हो, तपाईंले पैसा दिनुभयो भने म ज्यादै दुःखी हुन्छु ।”

वास्तवमा एउटा सर्जकप्रतिको असिम श्रद्धा थियो त्यो !

०  ० ०

मेरो जन्म ०१६ मंसिर २२ गते हालको पुरानो बानेश्वरको चोकमा भयो । पिताजी सरकारी सेवामा हुनुहुन्थ्यो । बानेश्वरमा हाम्रो घरसमेत थियो । ०२० सालमा पिताजीले सर्लाहीको हरिवनमा घरजग्गा किन्नुभयो । बानेश्वरको घरजग्गा बेचे पनि धुम्बाराहीमा घर थियो हाम्रो । त्यहाँ भाइहरू बस्छन् अचेल ।

मेरो अक्षरारम्भ धुम्बाराहीको मन्दिरछेउमा रहेको स्कुलबाट भएको हो । पढ्न जाँदा किताब कापीसँगै चकटी पनि लानुपथ्र्यो । मीरा ढुंगेल भन्ने शिक्षिका हुनुहुन्थ्यो, उहाँले नै मलाई कखरा सिकाउनु भएको हो । पछि सर्लाही गएँ र ३ देखि ७ कक्षासम्म पढेँ । त्यसपछि पुनः म काठमाडौँ नै फर्किएँ र नन्दी रात्रि माध्यमिक विद्यालयमा कक्षा आठमा भर्ना भएँ ।

एसएलसीचाहिँ ०३२ सालमा हरिवनको चतुर्भुजेश्वर स्कुलबाट दिएको हुँ ।

०३३ सालतिर छुट्टै प्रणाली थियो । उच्च शिक्षा अध्ययन गर्न विषय उल्लेख गरेर सबैले एकै ठाउँमा फर्म भर्नुपथ्र्यो । पछि विश्वविद्यालयले कहाँ पढ्ने भनेर आफैँ कलेज तोकिदिन्थ्यो ।

मैले एक नम्बरमा मेडिसिन, दोस्रोमा वन विज्ञान र तेस्रोमा मानविकी लेखेर फर्म बुझाएको त फर्म बुझ्नेले ‘वन विज्ञानको विषय यहाँ होइन’ भनेर काट्दै त्यसमा कमर्स पो लेखिदियो । रिजल्ट आउँदा सरस्वती क्याम्पसमा पढ्ने गरी कमर्स विषयमा मेरो नाम निस्कियो । कमर्स पढ्ने इच्छा थिएन । मन नलागी–नलागी सरस्वती क्याम्पस पुगेँ र क्याम्पस प्रमुखलाई आग्रह गरेँ, “सर ! मलाई कमर्स पढ्न मन छैन, तेस्रोमा मानविकी भरेको छु, त्यही पढ्छु !”

“मेरो भतिजो त यहाँ कलेज नपाएर विराटनगर पढ्न पठाउनुपर्‍यो, हामी केही गर्न सक्दैनौँ,” क्याम्पस प्रमुखले यसो भनेपछि मलाई कमर्स पढ्नै मन लागेन । त्यो वर्ष त्यसै खेर भयो ।

अर्को वर्ष नेपाल ल क्याम्पसमा भर्ना भएँ । त्यहीँ पाँच वर्ष पढेर कानुनमा स्नातक गरेँ । पछि विश्वविद्यालयबाट प्राइभेट परीक्षार्थीको रूपमा स्नातकोत्तरको पढाइ पूरा गरेँ ।

विद्यावारिधीको अधुरो सपना
सन् १९९० मा विद्यावारिधीको सपना पूरा गर्न सोभियत संघ पुगेको थिएँ । त्यतिबेला सोभियत संघ विघटनको चरमोत्कर्षमा थियो । खाना नपाउनेदेखि बस्ने ठाउँसम्मको समस्यामा बस्ने अवस्था रहेन र त्यत्तिकै नेपाल फर्कनुपर्‍यो । विद्यावारिधीमा भर्ना त भएँ तर भाषा सिक्दासिक्दै म फर्किनुपर्‍यो । विद्यावारिधी गर्ने सपना अधुरो बन्यो मेरो ।

सरकारी सेवा प्रवेश
०३८ भदौ २९ बाट सरकारी सेवामा प्रवेश गरेको हुँ । सरकारी सेवा सुरु गर्दाको रमाइलो सन्दर्भ छ । आईएल पढाइ दिउँसो हुन्थ्यो, पढाइमा भन्दा अन्त मन लगाउने कुरै थिएन । तर, बीएलको चाहिँ बिहान पढाइ हुन्थ्यो र दिउँसो साढे १० बजे सकिन्थ्यो । दिउँसभरि फुर्सदको समय हुने हुनाले साथी–साथी सल्लाह गरेर लोकसेवाको तयारी थाल्यौँ । ख्याल–ख्यालैमा नायव सुब्बाको फर्म भरेर परीक्षा दिएको त लिखितमा नाम पो निस्कियो !

अन्तर्वार्ता हुँदा ‘तँ कुन मन्त्रालय बस्छस् ?’ भनेर प्राथमिकता सोधिन्थ्यो । अरु साथीहरूले नाम चलेका ठुल्ठूला मन्त्रालय रोजे । मैलेचाहिँ यसो विचार गरेँ– पढाइ छँदै छ, ठूला मन्त्रालय रोजे भने बाहिर पठाइदेलान् भन्ठानेर रक्षा मन्त्रालय रोजेँ । रक्षा मन्त्रालयको कार्यालय उपत्यकाबाहिर थिएन । पास भएँ म ।

नेपाली सेनाको मुख्यालयमा दरबन्दी पर्‍यो, त्यहाँ सिभिलियन कर्मचारी पनि हुँदा रहेछन् । नेपाली सेनाको मुख्यालयभित्र पनि सैनिक विमान सेवामा पठाइएको थियो मलाई । पछि पढाइ छुटेपछि त्यहाँबाट सरुवा मागेर नेपाली सेनाको मुख्यालयभित्रैको राष्ट्रिय सेवा दलमा काम गरेँ ।

सूचना विभाग, हुलाक सेवा विभाग आदिमा ०३८ सालदेखि ०४१ वैशाखसम्म काम गरेँ ।

बीएल उत्तीर्णपश्चात पुनः लोकसेवा दिइसकेको थिएँ, १५ जनामा मेरो पनि नाम निस्कियो ! ०४१ जेठ १ देखि नेपाल न्याय सेवाको अधिकृत भएँ । तीन महिना सेवा प्रवेश तालिम हुन्थ्यो । हाल जिल्ला सरकारी वकिलको कार्यालय (उतिबेला ससअ तथा ससअको कार्यालय भनिन्थ्यो)को सरकारी अधिवक्ताको रूपमा पोस्टिङ भएर बैतडी पुगेँ । ०६१ असोजसम्म सरकारी वकिलको रूपमा काम गरें । सेकेन्ड क्लास अफिसर हुँँदासम्म न्यायाधीश हुने हुटहुटी नै थियो ममा । तर, फस्र्ट क्लास अफिसर भइसकेपश्चात् भने मन मोडियो । त्यसपछि दुइटा सोच आए ।

पहिलो– साहित्य/संगीत सिर्जनाका लागि काठमाडौँमै टिक्नुपर्छ भन्ने विचार दृढ भयो । अर्को– न्यायाधीश हुने भनेको दुई–दुई वर्षमा झिटीगुन्टा बोकेर ठाउँ सरिरहने पद हो । पारिवारिक जीवन नै नहुने जस्तो लागेपछि प्रशासनिक क्षेत्रमा जाऊँ कि पो लाग्न थाल्यो । उसो त ‘तपाईं प्रशासनिक क्षेत्रमा आउनुस्’ भनेर धेरैले भनी पनि रहुनुभएको थियो ।

प्रशासनिक क्षेत्रमा आउन रहर त गरेँ तर सेवा परिवर्तनको लामो प्रक्रिया थियो, उस्तै गाह्रो पनि । मन्त्रिपरिषद्बाट स्वीकृति लिएर न्याय सेवासँग पनि स्वीकृति माग्नुपथ्र्यो ।

त्यसभन्दा अघि मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि सामान्यतः सेवा परिवर्तन गर्न सजिलो हुन्थ्यो । तर, मेरो पालामा लोकसेवाले खुला जाँच नलिइकन सेवा परिवर्तन गर्न नपाइने नियम बनायो । विषयगत खुला जाँच दिनुपर्ने भयो मैले । न्यायसेवामा सहसचिवस्तरमा रहेर जागिर खाएको सात वर्ष भइसकेको थियो । पुनः सहसचिवको जाँच दिने कि नदिने– बडो द्विविधामा पो परेँ म !

स्वीकृति लिइसकेकाले जाँच नदिँदा परीक्षाबाट भाग्यो भन्लान् भन्ठानेर एक महिनाजति बिदा लिएर पढेँ । उत्तीर्ण भएँ । ०६१ असोजदेखि प्रशासनिक सेवामा लागेँ । सम्भवतः लोकसेवा जाँच दिएर न्याय सेवाबाट सेवा परिवर्तन गर्ने नेपालको पहिलो व्यक्ति म नै हुँला । ०६१ देखि ०६४ सम्म विभिन्न मन्त्रालयमा सहसचिवको हैसियतमा कार्यसम्पादन गरेँ । ०६५ सालमा कायममुकाय सचिव भएँ । त्यतिबेला म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिएँ । कामु सचिव भएपछि मेरो जिम्मेवारी शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालय (माओवादी लडाकुको व्यवस्थापन)मा थियो र ०६६ सालमा बढुवा भएर नेपाल सरकारको सचिव भएँ ।

यहाँनेर एउटा रमाइलो प्रसंग छ-

सचिवमा बढुवा हुन सहसचिवमा पाँच वर्ष काम गरेको हुनुपर्छ । मैले न्याय सेवामा सात वर्ष बिताइसकेको थिएँ । नियमतः प्रशासनिक सेवामा आएको भोलिपल्टै म सचिवको उम्मेदवार हो । तर, बढुवा समिति (जसको अध्यक्षता लोकसेवा आयोगको सदस्यले गर्छन्)ले पहिलोपल्ट लेखेछन्, “उम्मेदवार हुन योग्यता पुगेको भए तापनि  हालै मात्र सेवा परिवर्तन गरि आएकाले यो पटकका लागि उम्मेदवार मान्न नमिल्ने।”

बडो हास्यास्पद निर्णय थियो त्यो ! नियम छैन, कानुन छैन तर कसरी यस्तो निर्णय गरियो ? तीनछक परेँ । सोचेँ– यसपटक बढुवा नभएर के भयो त, अर्को पटक उमेदवार भइहाल्छु नि ! प्रशासन क्षेत्र बुझ्न बाँकी पनि त छ ।

त्यसबीचमै न्यायसेवाबाट आएर प्रशासनिक क्षेत्रमा सचिव खाने यो भन्ने विरोधी माहोलै तयार भइसकेछ ! निजामती ऐन संशोधन हुँदा मलाई नै लक्षित गरेर प्रावधान राखियो– सेवा परिवर्तन गरेर आएको व्यक्ति दुई वर्षसम्म बढुवा हुन अयोग्य हुनेछ ।

दोस्रो वर्ष पनि बढुवा रोकियो ।

मैले सुनेसम्म ‘मैले कार्यसम्पादन नभरेको मान्छेलाई कसरी बढुवा गर्ने ?’ भन्ने असन्तुष्टि मुख्य सचिवको पनि थियो ।

त्यही क्रममा न्यायसेवाका दुईजना साथीहरू (प्रमोद कार्की र कुमार चुँडाल)ले पनि सेवा परिवर्तनका लागि प्रक्रिया अघि बढाउनुभयो । प्रशासनिक क्षेत्रमा हल्लिखल्ली मच्चियो । सेवा परिवर्तन गरेर आउनेलाई बढुवा रोक्ने माहोल उत्कर्षमा पुग्यो ।

त्यसपछिको संशोधनमा आफैँले दरखास्त हालेर सेवा परिवर्तन गरेर आउनेहरू पाँच वर्षका लागि अयोग्य रहने प्रावधान राखियो । तर, मेरो सन्दर्भ फरक थियो । मेरो मौखिक सहमतिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माग गरेको कारणले मात्रै सेवा परिवर्तन गरेको थिएँ । पाँच वर्षे प्रावधान मलाई लाग्दैनथ्यो । तर, पनि विरोधी माहोल चर्को भयो । सेवा परिवर्तन गर्न खोज्ने चुँडाल लिखितमा अनुत्तीर्ण हुनुभयो । कार्कीको पाँच वर्षपछि सेवा अवधि नै सकिन्थ्यो, अतः उहाँले अन्तर्वार्ता नै दिनुभएन ।

लाग्दै नलाग्नुपर्ने पश्चातदर्शी कानुन मलाईमात्रै लाग्यो । कानुनै पढेर जागिर खाएको मैले दिउँसै अँध्यारो परिस्थितिको सामना पो गर्नुपर्‍यो । १२ वर्ष सहसचिवको रूपमा व्यतीत गरेपछि बल्ल सम्भावित उमेदवारको भएँ । त्यसपछि नेपाल सरकारले निर्णय गरेर ०६६ साउन ९ गते सचिवमा पदोन्नति भएँ । प्रशासनीक संरचना आयोग, नेपाल ट्रस्ट, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालय, भूमिसुधार व्यवस्था, महिला बालबालिका मन्त्रालयमा सचिवको हैसियतमा काम गरेँ ।

त्यसबेलाको अर्को घटना छ-

म एक नम्बरको सचिव थिएँ । २२ नम्बरको सचिवलाई मन्त्रालय दिइयो तर मलाई अस्थायी प्रकृतिको प्रशासनिक संरचना आयोगमा थन्क्याइयो । यतिसम्म कि सचिवको चेम्बरसमेत थिएन । सचिव, सहसचिव एउटै टेबलमा बसेर काम गथ्र्यौं । हंगामा मच्चियो । मिडियाले विरोधमा समाचार लेखे । त्यसपछि नेपाल ट्रस्टमा सरुवा गरियो ।

०७१ साउन ७ गते सेवानिवृत्त भएँ म ।

० ० ०

मेरो लेखन यात्रा कहिलेदेखि सुरु भयो, यकिन छैन । तर, घरको वातावरण नै लेखनतर्फ अभिप्रेरित गर्ने खालको थियो । पिता नन्दनहरि अधिकारी सामाजिक सरोकारका विषयमा ००४ सालदेखि नै कलम चलाउनुहुन्थ्यो । उहाँको निधनपश्चात् ४ वर्षसम्म पनि ‘सम्पादकलाई चिठी’ शीर्षकमा गोरखापत्रमा लेख प्रकाशित भयो । त्यो किताबाकारमै प्रकाशित छ । जेठा दाजु ऋषभहरि अधिकारी कविता लेख्नुहुन्छ । माहिला दाजु ध्रुवहरि अधिकारी पत्रकारिता र साहित्यमा सक्रिय नै हुनुहुन्छ । उहाँहरूकै प्रेरणा पाएँ ।

हरिवनको महादेव जनता विद्यालयमा कक्षा ४ मा पढ्दै गर्दा कविता प्रतियोगिता भएको थियो । त्यहाँ म प्रथम भएँ । लाग्छ– बाल्यकालदेखि नै ममा साहित्य सिर्जनाप्रति मीठो लगाव रहेछ !

मेरो पहिलो रचना ०३२ सालमा ‘रत्नश्री’ द्वैमासिक पत्रिकामा त्यसमा पहिलोपटक मेरा दुइटा गीत ‘इच्छा’ र ‘सम्झे पुग्छ’ प्रकाशित भएका थिए । रहरै–रहरमा सिर्जनामा लागेको थिएँ । सिर्जना लिएर सम्पादककोमा पुग्दिनथेँ ।

हुलाकबाटै पत्र पठाउथेँ तर अधिकांश रचना प्रकाशित हुन्थे ।

०३६ सालमा नेपालको राजनीतिमा युगीन महत्व राख्ने ‘सडक कविता क्रान्ति’ सुरु भयो । विशेषगरी मेरो साहित्य सिर्जना मुखरित त्यतिबेलै भएको हो । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हामीले काठमाडौँको सडकबाट सुरु गरेको अभियानले देशव्यापी स्वरूप धारण गर्‍यो ।

‘सडक कविता क्रान्ति’मा मोहन कोइराला, हरिभक्त कटुवाल, भवानी घिमिरे, शैलेन्द्र साकार आदि अग्रजहरू र हाम्रो पुस्ताका थुप्रै सर्जकहरु हुनुहुन्थ्यो। त्यो बीचमा नेपाली कविता अलि दुर्बोध्य हुँदै गइरहेको थियो । कविता समाज र जनजीवनसँग टाढिँदै गएको हो कि भन्ने प्रतीत हुन थालेको थियो । ‘सडक कविता क्रान्ति’ले त्यो खाडललाई पुर्ने काम पनि गर्‍यो ।

त्यही समयमा हामीले युवा साहित्यिक समाज नाम दिएर अनौपचारिक समूह बनायौँ र रत्नपार्कको चौरमा बसेर कविता सुन्ने/सुनाउन गर्न थाल्यौँ । त्यसबेला हामीले ‘पूर्वाद्र्ध’ द्वैमासिक पत्रिका पनि प्रकाशन गथ्र्यौं ।

‘सडक कविता क्रान्ति’ सम्पन्न भइसकेपछि सोही समूहका साथीहरूले कविता संग्रह छाप्ने इच्छा व्यक्त गर्नुभयो । मेरो कविता संग्रह निकाल्ने भनेर पैसा संकलनसमेत गर्नुभयो । साहित्य समाजमा सौरभका नामबाट चिनिने दिनेश सत्याल, जीवन आचार्य, अभि राई, फणिन्द्र नेपाल, लब गाउँले, गोविन्द गिरी प्रेरणासमेत सर्जकहरू हुनुहुन्थ्यो ।

०३७ वैशाख १ गते २५ वटा कविता संग्रृहीत ‘अन्तरका छिटाहरू’ कविता संग्रह प्रकाशित भयो ।

त्यसपछि ममा काव्य क्षेत्रमा अलिकति गम्भीरता देखा पर्‍यो ।

अन्तरका छिटाहरू (२०३७), धर्तीको गीत कविता संग्रह (२०४४), आदिम आवाज कविता संग्रह (२०४५), इन्द्रजात्रा काव्य (२०५१), अतिरिक्त अभिलेख कविता संग्रह (२०५६), मोड अफ लाइफ (२०६५), सीमान्त सपना (२०६७), संवेदना के स्वर (२०७१), एउटा बस्तीको कविता (२०७२) आदि प्रकाशित छन् ।

सन् २००३–०४ तिर लाइब्रेरी अफ कंग्रेसले संसारका सबै भाषाका प्रतिनिधि कविहरूका सबै प्रतिनिधि कविता रचना उनीहरूकै आवाजमा रेकर्ड गर्ने र कंग्रेसकै सम्पत्तिको रूपमा राख्ने प्रोजेक्ट सञ्चालन गरेको थियो । नेपालबाट तीनवटा भाषा छानिएकोमा म पनि परेँ । नेपालबाट नेवारी, नेपाली र अंग्रेजी भाषा छानिएका थिए । त्यसबेला थुप्रै साथीहरुले ‘तपाईंका कविता हामीले अंग्रेजीमा पनि पढ्न पाउनुपर्छ’ भन्ने इच्छा व्यक्त गर्नुभयो । त्यसैले मेरा कविताहरूलाई अंग्रेजी भाषामा अनुदित गरेर ०६५ सालमा ‘मोड अफ लाइफ’ प्रकाशन गरेँ ।

०४१ साउनमा मसहित अशेष मल्ल, गगन विरही, विष्णुविभु घिमिरेलाई केही गरौँ भन्ने भावना जागृत भयो । पहिलोपल्ट हामीले कविता रेकर्ड पनि गर्‍यौँ । नेपाली साहित्यको इतिहासमा कविता रेकर्ड गरेर बजारमा ल्याएको पहिलो घटना थियो त्यो ।

जागिरमा जाँदा धेरै साथीहरूले भन्नुभएको थियो, “तपाईंको साहित्य चेतमा खिया लाग्ला नि !”

जागिरबाट बाहिरिँदा पनि मैले कवित्व गुमाइनँ र आजपर्यन्त काव्य सिर्जनामा अविराम लागिरहेको छु ।

०  ०  ०

मेरा पहिलोपल्ट छापिएका रचना गीति कविता नै हुन् । कलेज पढ्दा जब कक्षा खाली हुन्थे, तब म मस्तिष्कमा शब्द खेलाउन थाल्थेँ । त्यो गीतका रूपमा प्रकट हुन्थ्यो । लेखेका रचना साथीहरूलाई सुनाउँथें पनि ।

मेरो एकजना अनन्य मित्र हुनहुन्थ्यो, सुरेन्द्र राना । उहाँका एक–दुइटा गीत रेकर्ड भइसकेका थिए । कुरैकुरामा एकदिन मैले भनेँ, “सुरेन्द्रजी म पनि गीत लेख्छु नि !”

“लौ सुनाऊ त,” उहाँले भन्नुभयो ।

मैले दुइटा रचना सुनाएँ । राम थापासँग मेरो पनि चिनाजानी थियो । बिहान चिया खान कलेजको क्यान्टिनमा आइरहनुहुन्थ्यो । राम थापासँग मेरोभन्दा सुरेन्द्रको सम्बन्ध घनिष्ठ थियो । कारण– राम थापाको संगीतमा सुरेन्द्रका एक–दुइटा गीत रेकर्ड भइसकेका थिए । सुरेन्द्रले मेरो गीत राम थापालाई दिनुभएछ । थापाले त्यो गीत रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा गायिका मीरा राणालाई दिनुभएछ । संयोगवश त्यो गीत सर्वोत्कृष्ट रचनाको रूपमा पुरस्कृत भयो । गीतको बोल थियो–

निश्वास ए चाँडै थाकी नजा
मेरो आफ्नो भन्नु तँ एउटै न होस् !
बादल ए चाँडै फाटी नजा
प्रतिविम्ब मेरो तँ एउटै न होस् ! 

उत्कृष्ट रचना रेडियो नेपालले रेकर्ड गथ्र्यो, त्यो गीत रेकर्ड भयो ।

अर्को गीत रवीन शर्माको आवाजमा रेकर्ड भयो । राम थापाले संगीत गरे ।

तिमी यसै लजायौ, म उसै धकाएँ !
न बोल्यौ तिमी, न मैले बोलाएँ
कति स्वप्न आए परेलीमा बस्न
न सोध्यौ तिमीले, न मैले सुनाएँ !

यो गीतले बाटो खोलिदिएन मात्रै, दिनेश अधिकारीलाई गीतकारको रूपमा स्थापित पनि गरिदियो । रेडियो नेपालमा बिहानदेखि बेलुकासम्म १५–२० पटक बज्थ्यो । नसुसेलिने, नगुन्जने कुनै ठाउँ थिएन । बाटोमा, फिल्म हलमा सर्वत्र त्यही गीत गुन्गुनाइन्थ्यो । जनजनको मनमा छिट्टै राज गर्न सफल भयो ।

आजपर्यन्त म गीत लेखनमा अविराम अघि बढिरहेको छु । हजारौँ गीत सिर्जना गरेको छु । हालसम्म पाँच सय हाराहारीमा गीत रेकर्ड भएका छन् मेरा ।

०४६ को परिवर्तनपश्चात् चलचित्र बन्ने क्रम सुरु भयो । त्यतिबेला नेपाली चलचित्रका गीत भारतमा रेकर्ड हुन्थे । भारत प्रविधिमा हामीभन्दा निकै अगाडि थियो । त्यसले गर्दा रेडियो नेपालका गीतहरू विस्थापित हुने हुन् कि भन्ने सन्त्रासले गाँज्न थाल्यो र म पनि चलचित्रको गीत लेखनमा लागेँ ।

भिडियो चलचित्र ‘प्रेमकथा’ र फिचर फिल्म ‘विजय पराजय’ मेरा डेब्यु हुन् । ‘विजय पराजय’का लागि दुइटा गीत लेखेको थिएँ । एउटा मित्रतासँग सम्बन्धित थियो । अर्को थियो–

निधारमा लर्काएर सप्तरंगी टीको
हिँडिराख सधैँ तिमी शिखरको बाटो !
ओखरमा फोरिदिएँ बाधाहरू मैले
जता पनि पुग दाजै घामभन्दा पहिले ! 

सोच्दै नसोचेको सफलता पायो गीतले ! शम्भुजित बास्कोटाको संगीत र हेम लताको स्वरमा रहेको उक्त गीत कालजयी बन्यो । जब शरद आउँछ, तब मखमलीभन्दा यो गीतको निलीमा तीक्ष्ण बन्छ ।

करिब ६०–६२ वटा चलचित्रमा काम गरेँ । गीतको भाव एउटा हुने, चलचित्रमा अर्कै ठाउँमा प्रयोग हुने । उधारोमा काम गर्नुपर्नेलगायत विविध कारणले चलचित्र लेखनबाट हात झिकेको छु । तथापि लेख्दै नलेख्ने किरियाचाहिँ खाएको छैन !

एल्बमचाहिँ मेरो भावनाका मातहरू (२०४७), सुख–दुःख (२०५०), बोल बोेल पाखाहरू (२०५४), विरानो मन (२०५५), परेलीको डिलमुनि (२०५६), यात्रा (२०५७), अनुभूति (२०५७), लिपि (२०५९), शब्द (२०६३), रचना (२०६७), देशको गीत (२०६९), निखिता (२०७१) लगायत निस्किएका छन् ।

० ० ०

नेपालको संविधान २०७३ मा सांसदहरूले सही गरिरहँदा दिनभरजसो पृष्ठभूमिमा दुइटा गीत बजिरहे । एउटा राष्ट्रकवि माधव घिमिरेले रचना गर्नुभएको ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे..’ र अर्को मेरो शब्दरचना, आलोकश्रीको संगीत र स्वरूपराज आचार्यले गाउनुभएको ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ । आँधी आओस् तराईमा पहाडले छेक्नुपर्छ !’

संसद्जस्तो गरिमामय ठाउँमा मेरो गीत बज्नु र जनजनको मनमा गुञ्जनु गौरव र प्रतिष्ठाको विषय थियो ।

विपत्तिका दुइटा घडीमा यो गीतले मलमपट्टीको काम गरेको छ । कोसीको बाढीले तराई आक्रान्त बनेको बेला र भूकम्पले हिमाल–पहाडलाई क्षतविक्षत तुल्याउँदा यो गीतको सामयिकता अझै बढ्यो ।

यो गीत लेख्नुको खास कारण छ-

०४६ सालतिरको कुरा हुनुपर्छ– नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय गीतहरूको एल्बम निकाल्ने ‘क्यासेट प्रोजेक्ट’ बनाएको थियो । एल्बममा १० वटा गीत राख्ने भनेर गीत मागिएको थियो, १० जनाभित्र म पनि परेँ ।

गीतको रचनागर्भमा जाऊँ । ०३६ यता हाम्रो समुदायमा विशृंखलता देखा पर्‍यो । मलाई सम्झना छ– ०३६ सालको जनमत संग्रहताका हरिवनमा घर–घरमा बहुदलको पक्षमा नीलो र निर्दलको पक्षमा पहेँलो झन्डा गाडिएको थियो । झन्डा गाडियो त ठिकै छ तर नीलो झन्डा गाडेको घरमा कसैको मृत्यु भयो भने पहेँलो झन्डा गाड्नेहरू नजाने र पहेँलोले पनि नीलोलाई पर्दा त्यसै गर्ने अवस्था चरम थियो । यसले सामाजिकत्वको भावनालाई विशृंखल बनाएको थियो । ०४६ सालको परिवर्तनपश्चात् पनि त्यस्तै देखा पर्‍यो । समाजको यो खाडल पुर्न र एक–आपसमा फाटेको मन जोड्न मैले यो गीतको सिर्जना गरेँ ।

तर, प्रोजेक्ट बनेन ! प्रज्ञा प्रतिष्ठानले गीत रेकर्ड गरेन । सुनेको थिएँ– गोपाल योञ्जन दाइले संगीत गर्नुभएको थियो रे ! कस्तो संगीत गर्नुभयो, मैले सुन्नै पाइनँ ।

०५५ सालतिर कान्तिपुर टेलिभिजन सुरु हुने भयो । जीवा लामिछाने त्यसको पहिलो एमडी हुनुहुन्थ्यो । उहाँसँग मेरो नजिकको सम्बन्ध छ । “कान्तिपुर टेलिभिजन सुरु गर्न लागियो, कान्तिपुरको लोगो सङ तपाईंले बनाइदिनुपर्‍यो,” उहाँले एकदिन भन्नुभयो ।

मैल जवाफ दिएँ, “त्यसो नगरौँ, म दुई–चारवटा गीत तयार पार्छु । तपाईंको टिम नै सँगै बसौँ, म गीत सुनाउँछु । मन परेको गीत लोगो सङ बनाउँला !”

उहाँ राजी हुनुभयो ।

कान्तिपुरका कैलाश सिरोहिया, जीवा लामिछाने, भूषण दाहाललगायत सँगै बसेको ठाउँमा गीत सुनाएँ । भूषणजीले ‘पहाडमा जाडो बढे’ नै मन पराउनु भयो, मैले गीत दिएँ ।

स्वरूपराज आचार्य उदीयमान प्रतिभाको रूपमा अघि आउँदैहुनुहुन्थ्यो । पुल्चोकस्थित आलोकश्रीको गुञ्जन स्टुडियोमा उहाँकै संगीतमा गीत रेकर्ड गरियो । यता टेलिभिजन सञ्चालनका लागि दरबारमा निवेदन दिइसकिएको रहेछ । दरबारबाट अन्दाज गरेभन्दा अगाडि नै समय पाएपछि गीतको भिजुअल गर्न भ्याइएन । कान्तिपुर सञ्चालनमा आयो तर गीत ‘लोगो सङ’ बन्न सकेन ।

मसँग सम्झौता भएको थियो । पारिश्रमिकको कुरा पनि बाँकी थियो । समझदारीमै मैले काम गरेको थिएँ । विलम्ब भएपछि मैले दुई–तीनपटक आग्रह गरेँ– गीतको भिजुअल गरौँ । तर, उहाँहरू टेलिभिजनकै काममा व्यस्त देखिनुभयो ।

दुई–चार वर्ष बितेपछि भूषणजीलाई आग्रह गरेर त्यो गीत कान्तिपुरकै सिस्टर अर्गनाइजेसन कान्तिपुर एफएमलाई दियौँ ।
कान्तिपुरको ‘लोगो सङ’ भनेर बनाएको गीत अन्ततः देशकै ‘टोन’ बन्यो ।

कहिलेकाहीँ लाग्छ– यो गीत रचना गरेर राष्ट्रिय सद्भाव कायम राख्न एउटा इँटा थपेँ कि !

प्रस्तुति : अक्षर काका

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment