केही समय अगाडि अक्षर काकाले आफ्नो फेसबुक अकाउन्टमा लेखे, “प्रसव पीडापछि हिजो साँझ ‘देउती’ जन्मिइन् । यो धर्तीमा स्वागत छ तिमीलाई । सधैंभरि हाँसिरहनू, तिमी जन्मिएको बेला म जसरी हाँसेको थिएँ, ठीक त्यसैगरी ।”
सामाजिक सञ्जालमा राम्रो पकड भएका उनको त्यो स्टाटसमा धेरैले कमेन्ट गरे, “छोरीको बा हुनुभएकोमा बधाई छ काका ।”
उनलाई अचम्म लाग्यो । मान्छे कति हतार गर्छन् कमेन्ट गर्न । उनी फिस्स हाँसे । चुपचाप बसे । कमेन्टहरू थपिँदै गए, उनको अनुहारमा लाली भरिँदै गयो ।
‘देउती’ उनकी श्रीमतीले नौ महिना गर्भाधान गरेर जन्माएकी मासु र रगतको स्थुल स्वरूप थिइनन् । त्यो त उनी आफैंले आफ्नो मस्तिकमा गर्भाधान गरेर कम्प्युटरको सेतो स्क्रिनमा जन्माएकी ‘देउती’ थिइन् । ‘देउती’ जन्माउन उनकी श्रीमतीले खेपेको प्रश्रव पीडाभन्दा कम थिएन ।
मैले सोधें, “महिलाको प्रसव पीडा तपाईंले कसरी भोग्न सक्नुहुन्छ ? यो त महिलाभन्दा अरु कुनै प्राणीले भोग्न सक्दैनन् ।”
उनी फिस्स हाँसे । तौलिँदा पचास किलो ढिकढाकका काका चुपचाप बसे । केही बेरमा मुख खोले, “महिलालाई प्रकृतिले त्यो प्रसव पीडा खेप्ने अधिकार र पीडा दिएको हुन्छ । लेखकहरूलाई शरीरमा त्यतिबिघ्न पीडा नभए पनि मानसिक रूपमा हुन्छ । त्यो पीडा लेखकीय प्रसव वेदना हो ।”
० ० ०
पत्रकार समाजको पथप्रदर्शक हो । ऊसँग सधैं जिज्ञासा हुन्छ । त्यो जिज्ञासाले सूचना खोज्छ र सूचना खोज्दै जाँदा वास्तविक पात्रसँग आमनेसामने गराउँछ । काका पनि यसको अपवाद थिएनन् । उनले पनि समाचारका पात्रहरूसँग भेटे, जसले उनको मस्तिष्कलाई सधैं झक्झक्याए । त्यस्ता पत्रकार कमै हुन्छन्, जसले समाचारका पात्रलाई लिएर सिंगो उपन्यास लेख्छन् ।
तर, काका त्यस्ता होइनन् । ‘देउती’को केन्द्रीय चरित्र देउती उनको समाचारकी पात्र होइनन् । स्रोत पनि होइनन् । केन्द्रीय पात्र त उनकी हजुरआमा र फुपू दिदी हुन् । अथवा उनीहरूले भोगेको पीडा हो । उनीहरू जस्तै एकल महिला र बाल विधवाले भोगेको कठोर जीवनको कठोर कथा हो । आर्तनाद मिसिएको महिलाको कारुणिक रोदन हो । अनि हो चहर¥याइरहेको घाउमा नुनचुक छर्ने निर्दयी यौनपिपासु कालो समाजप्रतिको पटाक्षप ।
० ० ०
काका निकै सानै थिए । ठ्याक्कै उमेर थाहा नभए पनि चीँमुसी चीँ खेल्ने उमेरका । बाल विधवा उनकी फुपू र ३५ वर्षको कलकलाउँदो उमेरमा आफ्ना पति गुमाएकी उनकी हजुरआमा सधैं गफिरहन्थे । एकान्त पाउनेबित्तिकै उनीहरूको गफ सुरु हुन्थ्यो । अनुहारमा विचित्रको हाँसो फैलिन्थ्यो । र, छिनमै आँखा रसाउँथे । अनि दुवै जना सेतो मझेत्रोले आँसुको भेल पुछ्न थाल्थे । चन्द्रझैँ अनुहार लिएर बसेका उनीहरू सुँक्कसुँक्क गर्दै उठ्थे र आ–आफ्नै बाटोतर्फ बाँडिन्थे ।
“म सानै थिएँ । ममा म पुरुष हुँ भन्ने चेत पनि पलाइसकेको थिएन । तर, हजुरआमा र फुपू दिदी मैले पनि नसुन्ने गरी निकै सानो स्वरमा कुरा गर्नुहुन्थ्यो,” काका करिब २५ वर्षअगाडि फर्किनछन्, “अरु बेला मलाई एकछिन पनि नछाड्ने हजुरआमा मबाट तर्किंदै दिदीसँग त्यसरी गफ गरेको देख्दा मलाई अचम्म लाग्थ्यो । र, झन् मलाई के कुरा गर्छन् भन्ने उत्सुकता हुन्थ्यो ।”
उत्सुकताले काकालाई उनीहरूको कुरा सुन्न नजिक लैजान थाल्यो । तर, हजुरआमा र दिदी भने झनै सचेत हुन्थे । शायद उनीहरूलाई लाग्थ्यो– यो बालखै छ, उसले यस्ता कुरा सुन्नु हुँदैन । काका भने थाहै नपाएझैं उनीहरूको नजिक पुग्थे र सुन्थे ।
हजुरआमाको सारीको फेर र मझेत्रोको छेउ समाएर उनी सँगै कुद्थे । उनले पनि जेठा नाति भनेर खुब माया गर्थिन् ।
हजुरआमा र फुपू दिदीका धेरैजसो कुरा श्रीमान् गुमाएपछिका पीडाका हुन्थे । श्रीमान् गुमाएका महिलालाई परिवार र समाजले गर्ने व्यवहारका हुन्थे । उनीहरूलाई लाग्दै आएका निराधार आरोपका हुन्थे । र, त्यस्तो आरोप सहेर पलपलमा मर्दै बाँचिरहेका महिलाका जिन्दगीका हुन्थे । कसरी नरोओस् उनीहरूको मन ? कसरी नरसाऊन् उनीहरूका आँखा ? कसरी नराखोस् समाज परिवर्तनको अपेक्षा ? र, कसरी कल्पना नगरोस् समतामूलक समाज निर्माणको परिकल्पना !
हजुरआमा र फुपू दिदीले आफ्ना श्रीमान् गुमाएपछि भोग्नु परेको हेलाहोचोको कथा सुनेर हुर्किएका काका गाउँको पढाइ सकेर काठमाडौं आउँदा पनि अवस्था उस्तै थियो । मान्छे मर्ने र बाँच्ने त रीत हो, बदलिने कुरै थिएन । न त अपेक्षा नै । तर, जे फेरियोस् भनेर अपेक्षा गरिएको थियो, त्यो पनि बदलिएकै थिएन । समय बित्यो तर सोच बदलिएन । राजनीतिक व्यवस्था बदलियो तर समाज बदलिएन । कुराहरू अग्लाअग्ला हुन थाले, व्यवहार होचो नै थियो ।
महिलामाथि हुने व्यवहारमा परिवर्तन आएकै थिएन । एकल महिलालाई दिने यातना र दुव्र्यवहार उस्तै थियो । समाजको गिद्दे दृष्टि छँदै थियो । महिलाको इज्जत लुटेर आफूलाई मर्द ठान्नेहरूको कमी भएकै थिएन । प्रत्येक अखबारले महिलामाथि हुने अमानवीय कुकृत्यका भ्यागुते हेडलाइन छापिरहेकै थिए । आकर्षक बनाएर एफएम र टिभीहरूले समाचारका हेडलाइन पढिरहेकै थिए ।
यो यर्थाथले काकालाई भने लपेटिरहेको थियो । गाउँमा छँदा नजिकबाट नियालेका काकाले काठमाडौं आएर यसलाई अझ विस्तृतमा देशैभरि देखे । उनलाई लाग्यो– यसबारे लेख्न पाए ? गज्जब हुन्थ्यो !
कवितामा कलम चलाइरहेका काकालाई मनमा गढेको कथालाई उपन्यासको रूप दिन रहर पलायो । तर, आँट भने आएन । ‘फाइभ डब्लु वान एच’को सूत्रभित्र बसेर हार्डन्युजमा उनको कलम अभ्यस्त भए पनि लामा फिचर स्टोरीमा भर्खर डुल्दै त थियो तर परिपक्व भइसेको थिएन ।
समयको चक्र घुम्दै थियो । समयसँगै उनी अनलाइन पत्रिका ‘बाह्रखरी’ आइपुगे । त्यहीँ उनको कलम फिचर स्टोरीमा दौडिन थाल्यो । समाचार, कथाहरू माझिँदै गए ।
० ० ०
चार वर्षअघिदेखि नै मस्तिष्कमा उपन्यासको मधुरो आकृति थियो । मंसिरदेखि त्यसलाई उज्यालो पार्दै उद्याउँदै लगे । उपन्यासको प्रारम्भ, प्रत्येक च्याप्टर र क्लाइम्याक्सको सिन स्पष्ट दिमागमा भयो ।
र,
आयो काकालाई आँट । सुरु गरे पुसको अन्तिमदेखि ‘देउती’ लेख्न । दिउँसो कार्यालयको काम, राति ‘देउती’ लेखन उनको दैनिकी बन्यो । दिनको २ देखि ५ हजार शब्दसम्म लेख्न थाले । उनको लेखाइमा पूर्णविराम लागेन । करिब तीन महिनामा उनले उपन्यासको बिट मारे– वा भनौं ‘इन्ड क्ल्याप’ गरे ।
‘इन्ड क्ल्याप’ गर्न उनी आफ्नै गाउँ अमले (सिन्धुपाल्चोक) पुगे, जहाँ उनकी हजुरआमा र फुपू दिदीले आफ्नो जिन्दगी बताएका थिए र इहलीला समाप्त पारेका थिए । काकाले त्यहाँका प्रत्येक महिला दिदीबहिनीमा ‘देउती’ देख्न थाले ।
“गाग्री बोकेर पानी भर्न पँधेरा जाने महिलालाई पनि सेतो लुगा लगाएको देउती देख्न थालेँ । डोको बोकेर घाँस काट्न हिँडेका महिलालाई पनि म सेतो लुगा लगाएको देउती देख्न थालेँ । हातमा किताबकापी च्यापेर स्कुल हिँडेका केटीहरूलाई पनि देउती देख्न थालेँ,” काका भन्छन्, “सात दिन बसेर गाउँको परिवेश र आञ्चलिकतालाई अझै माझ्न गएको थिएँ, तर तीन दिनमै फर्किएँ ।”
उनले आमालाई यो कुरा सुनाए । आमा डराइन् । उनले पुस्तक नलेख्न आग्रह गरिन् । “पुस्तक लेख्ने मान्छे यस्तै–यस्तै भएर बेसुरका हुन्छन् भन्ने मैले धेरै सुनेकी छु । बाबु तँ पनि यो किताब लेख्न छोड् भन्नुभयो,” काका भन्छन्, “अहिले पनि आमा मलाई फोन गरेर यसै भन्नुहुन्छ । किताब लेख्न छोड्दे बाबु भन्नुहुन्छ ।”
आमाको यो आग्रहलाई उनले ‘बाल’ दिए ।
त्योभन्दा ठूलो चिन्ता आञ्चलिकतासहितको परिवेश चित्रण गर्नु थियो– ताकि त्यो चित्रणले पाठकलाई ‘देउती’कै धर्तीमा पु¥याओस् र वास्तविकता छर्लंग पारोस् । जहाँ आफ्नो लेखनी पनि झल्कियोस् । तर, त्यसले पनि उनलाई अल्झाइरह्यो । लेखे, मेटे, लेखे मेटे । चित्तै नबुझ्ने । करिब–करिब ५ दिनमा बल्ल उनले त्यो सिनको शब्द चित्र उतारे । त्यो हो खण्ड ५ । यो खण्ड अतिशय कारुणिक छ ।
उपन्यासका केही प्लट उनले विपनामा देखे, लेखे । केही प्लट सपनामा देखे र लेखे ।
“सपनामा उपन्यासका प्लट देख्थें, राम्रो लाग्थ्यो, उठेर लेख्थें,” उनी भन्छन्, “तर, केही भने भोलिपल्ट लेख्छु भन्दा त्यसको धमिलो आकृतिमात्रै आउँथ्यो । त्यसलाई जीवन दिन सकस हुन्थ्यो ।”
एक रातको कुरा, काकाले चार हजार शब्द लेखे र सुते । तर, निद्रै परेन । कथा मनमा बगिरहेको थियो । उठे । लेख्न सुरु गरे । लेखे ६ हजार शब्द । उज्यालो भयो । बिहानको ८ बज्यो । ‘बाह्रखरी’ जान उनी तयार भए । रेनकोट लगाए । बाइकको चाँबी बोके र बाहिर निस्किए । बाहिर त पानी परेकै थिएन । उनी झसंग भए, पानी त उनले आफ्नो उपन्यासमा पो पारेका थिए !
No comments:
Post a Comment