मन्दिरको पित्तलको गजुरमाथि घामको स्वर्णआभा छाउँछ । एक हुल मलेवाहरू वसन्तपुरतिर पखेटिन्छन् । यात्रु पर्खिरहेका लहरै रिक्सावालाहरू दिक्दारलाग्दो उच्छवास छाड्छन्– “बेलुका हुन लागिसक्यो आज त बोहोनीसमेत पो भएन !”
‘छाड बाटो छाड..’ एक हुल भरियाहरू अजङ्गको भारी बोकेर आइपुग्छन् र विशालबजारतिर सोझिन्छन् । साँझपख फुटपाथ पसलेहरू गल्ली नै ओगटेर लत्ताकपडा बेचिरहेका छन् र बटुवाहरू मोलतोल गरिरहेका छन् ।
मानौँ न, इन्द्रचोक जीवन भोगाइको पाठशाला होइन, यो त पसिनाको प्रयोगशाला पनि हो । यायावरीका अनेककानेक यत्न देखिन्छन् त्यहाँ ।
इन्द्रचोकको बीचैमा सुन पसल छ । त्यसैको पेटीमा अडेस लागेर मुरली, बाँसुरी बेचिरहेका छन् मन्सुर । १५ वर्षदेखि त्यही थलोमा मुरली बेचेर जीवनको धून जगाउँदैछन् । र, ९–१० जनाको परिवार यही बाँसुरीले धानेको छ उनको ।
“तपाईंको पूरा नामचाहिँ के नि ?”
“मन्सुर, सारा इन्द्रचोकले मन्सुरै भनेर चिन्छ बुझ्नुभो !,” मीठो लवज निकाल्छन् । मानौं, मुरली–बाँसुरी बेच्दाबेच्दै आवाज पनि त्यस्तै श्रुति सुधा भइसकेको छ उनको ।
गोरखपुर घर । भारत त जन्मिएमात्रै । कर्म नेपालमै गरे । ५० वर्ष भइसक्यो, नेपालका गल्ली चहारेर परिवारको पेट पालेको ।
“यी.. यही मुरली बेच्ने त हो हजुर । अरू के गर्नु ?” फिस्स हाँस्छन् उनी ।
बाँसुरी बेच्ने मन्सुरको पुर्ख्यौली पेसा हो । बाबुबाजेबाट विरासतमा पाएका भनौँ । पुर्ख्यौली पेसासँग जोडिएको किस्सा, कहावत केही पनि थाहा छैन । उनलाई यत्ति थाहा छ– उनीहरूको सम्पत्ति भन्नु त्यही मुरली, बाँसुरी हो । त्यही बेचेर पेट पूजा गर्दै आएका छन् उनीहरूले ।
“कृष्णजीको बाँसुरी हाम्रो त भगवान हो यो,” फेरि हाँसे मन्सुर ।
० ० ०
सानामा लाग्थ्यो– सिंगो भारतवर्ष दुःखै–दुःखको भवसागर हो । अझ भनौँ न यो त ‘कुम्भिपाक नर्क’ हो । यहाँ जन्मनले दुःख सिवाय केही पाउँदैन ।
सानामा असाध्यै दुःख पाए । र त, उछिट्टिएर नेपाल आए उनी ।
“साथीहरूले जाउँ भने लहैलहैमा लागेर आएँ, नेपालसँग मायाप्रीति बसिहाल्यो । छोडेर जानै सकिनँ,” नेपाल आउनुपछाडिको यसबाहेक अर्को कथा छैन उनको ।
तिनताक नेपालीहरू यता दुःख पाइयो भने ढोके, कुल्ली काम गर्न भारत हानिन्थे । अतिसय दुःख पाइयो भनेर भारतीय चाहिँ कुम्लोकुटुरो च्यापेर नेपाल तेर्सिन्थे । आफ्नो दुःख पहाडको अर्काको दुःख तिल, यसैलाई भन्दा हुन् ।
“अहिले गोरखपुर त गर्मीले आगो बलेको छ । जहान, छोराछोरी हफहफी बाफिएका छन् । काठमाडौँ त निकै स्वर्ग छ नि हजुर । हेर्नुहोस् त यस्तो धूपमा पनि सररर्र हावा चलेको छ । केही बेरमा पानी पर्छ, शीतल हुन्छ,” आह्लादित हुँदै आकाश उद्वीक्षण गर्छन् उनी ।
नेपाल भित्रँदा ओठमाथि झुसिला रौँसमेत देखा परेका थिएन् । अहिले कपाल पूरै तिल–चामल भइसक्यो । तर पनि उनलाई नेपाल छाडिहाल्न मन छैन । एक त कमाइ राम्रै छ । अर्को यहाँको तिलस्मी हावापानीले मन उत्फुल्ल तुल्याइरहन्छ ।
लामो लठ्ठिमाथि बाँस अड्याएका छन् र त्यसमा थरीथरीका मुरली, बाँसुरी अड्याएका छन् । त्यही बोकेर इन्द्रचोक, असन, वसन्तपुर भौँतारिइरहन्छन् ।
कहिले मनग्गे व्यापार हुन्छ । कहिले बोहोनीसमेत नगरी डेरातिर सोझिन्छन् उनी ।
“पहिलेजस्तो कमाइधमाइ छैन हजुर । बाँसुरी बजाउने मान्छे पनि त हुनुपर्यो,” उद्विग्न देखिन्छन् उनी ।
उनीसँग ए, बी, सी स्केलका बाँसुरी छन् । पचास रुपैयाँदेखि दुई सयसम्मका । “बाँसुरी चिनेकाले धेरै दिँदैनन् । नचिनेकाले बिरलै किन्छन्, खासै महँगो मूल्यमा बेच्न पाइँदैन,” फेरि हाँसे उनी ।
दश वर्षअगाडिसम्म आजको अवस्था थिएन । दिनको पचास वटासम्म बाँसुरी बेचेका छन् उनले । त्यसबीचमा धेरै फेरवदल आयो । बाँसुरी बजाउनेहरू अस्ताउँदै गए । नयाँ पुस्ता नूतन उपकरणका दासी बने । कुनै समय गीतसंगीतमा बाँसुरीको धून अनिवार्यजस्तै प्रयोग हुन्थ्यो । अहिले कर्णसुधा धूनका लागि बाँसुरी नै आवश्यक पर्दैन, बाँसुरीजस्तै आवाज निकाल्ने अत्याधुनिक उपकरण बजारमा पाइन्छन् । लोकलयबाट क्रमशः बिस्थापित हुँदैछन् बाँसुरी ।
“मोबाइलले सबै चौपट पार्दियो हजुर । सबैकुरा मोबाइलमै छ ।
चाहेको धून सुन्न बजाउन सक्नुहुन्छ । हाम्रो बाँसुरी को किन्छ ?” खुइया काढ्छन् उनी ।
“बाँसुरी देख्दा पनि छक्क पर्नुपर्ने अवस्था आइक्यो,” खस्रो दाह्रीमा औँला दह्राल्छन् मन्सुर ।
उनीसँग केही वान्कीपूर्ण काठे बाँसुरीसमेत छन् । नेपाल घुम्न आएका विदेशीले आँखा लगाउँछन् कि भनेर राखेका तर फाट्टफुट्टबाहेक विदेशीले बाँसुरी किन्न मन गर्दैनन् ।
“बाँसुरी नै सिरानी हालेर सुतेकाले त बजाउन छाडे, विदेशीले कसरी चिन्नू !,” अनुहार सोहोरिन्छ उनको ।
० ० ०
पुस्तैनी पेसा भए पनि बाँसुरी बजाउने कला छैन उनीसँग । कोही गाहकी आयो भने अलिअलि बजाउँछन् । “जबरजस्ती कहाँ बजाउन सकिन्छ र ? कि त कृष्णजीले दिनुपर्यो त्यो कला, कि त अभ्यास गर्नुपर्यो,” प्रष्ट्याउँछन् उनी ।
बजाउन जान्नेले त आफैँ बजाएर, छानेर लैजान्छ नि, बेच्नेले किन बजाउन जान्नुपर्यो,” बाँसुरीजस्तै सोझो जवाफ दिन्छन् उनी ।
त्यसबाहेक बाँसुरी बनाउन पनि आउँदैन उनलाई । काठ, निगालो बाँस काटेर त्यसमा सात वटा प्वाल खोपेर तयार पार्नुपर्छ बाँसुरी । त्यही आकारको मुरलीको मुखमा चाहिँ ठेडी ठोकेर मुस्किलले हावा छिर्ने बनाउनुपर्छ ।
तर, उनी जान्दैनन् । भन्छन्, “गोरखपुरमा कारखाना नै छ यसको, त्यहीँबाट किनेर ल्याउँछु ।”
नेपालमा ग्रामीण भेगमा बाँसुरी बनाउने बाँस, निगालो, नर्कट प्रशस्तै पाइन्छ । गाउँघरतिर आफैँले बाँसुरी खोपेर बजाउने चलन अद्यपर्यन्त छँदैछ ।
तर, उनीहरूले पूर्वी नेपालसँग सिमाना जोडिएको भारतीय राज्य आसाम, सिलगुढीबाट बाँस ल्याउँछन् र कलात्मक मुरली, बाँसुरी तयार पार्छन् ।
कुराकानीकै क्रममा दुईजना गाहकी आए र तिनले बालबच्चाका लागि बाँसुरी किनेर बाटो लागे ।
“देख्नुभो, उहिले यो हाम्रो वाद्यसामग्री थियो । सहरमा नामुद वंशीवादक पनि थिए । उनीहरूको धूनमा लट्ठिनेहरू कति हुँदा हुन् । तर, अहिले यो त खेलौना पो बन्दैछ,” गम्भीर देखिए ।
कुरा गर्दैगर्दा महानगरीय प्रहरीको भ्यान अघिल्तिर देखा पर्यो । भेडाको हुलमा बाघ पसेजस्तो तितरवितर भए फुटपाथ पसले ।
“ल है हजुर फेरिफेरि पनि कुरा गरौँला । अहिले प्रहरीले सबै बाँसुरी उठाइदियो भने वर्षभरिकै कमाइ पो स्वाहा हुन्छ,” अलि पर्तिर पुगेर छेका लागे उनी । अनुहारको डर भने अझै ओझेल परेको थिएन ।
No comments:
Post a Comment