- रामनाथ खनाल
मन्द बिषले मस्त गाँजेको र त्यसैको साहारामा बाँचेको आधुनिक समाजमा ‘बिषादी’ बारेको बहसै व्यर्थ छ । यहाँ कहाँ छैन बिष ? चामलमा, च्यूरामा, दालमा, मसलामा, चिनीमा सवैमा छ बिष । कोही बिष हालेर उमारिएको छ / उव्जाइएको छ, कोहीमा उव्जाएका पछि बिष मिसाइएको छ । बिष नहालेको बस्तुको खोजि गर्नु भनेको भ्रष्ट आचार नभएको शासक/प्रशासक खोज्नु जस्तै मुस्किल भएको छ ।
अचेल किसानले अत्यधिक मात्रामा बिष हालेर तरकारी उत्पादन गरेको र बजारमा बिक्रि वितरण गरेको र उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुर्याएको कुराले बजार तताएको छ । कतिले आफ्नो भान्छामा हरिया सागपात, बन्दा काउली लगायतका बजारमा बिक्रि वितरणका लागि प्रतिबन्धित गरिसकेका छन् । तर यी कुराहमा उतिसाह्रो तुक भेटिँदैन । प्रष्ट छ, बजारमा अत्यधिक माग र कम आपूर्तीका कारणले मात्र होइन आफूले लगानी गरेर लगाएको फसलबाट मुनाफा आर्जन गर्न पनि किसानहरु तरकारीमा किटनाशक औषधि र रसायनीक मलखादको अधिक प्रयोग गर्न बाध्य छन् ।
माग र आपूर्तीबीचको असन्तुलनकारी अर्थशास्त्रीय ढाँचाले आज बजार आक्रान्त छ बढ्दो सहरी जनसंख्या, उत्पादनयोग्य ठाउँको अभावका कारण बढ्दो बजारको माग अनुसारको तरकारी उत्पादन गर्न असमर्थ छन् किसानहरु । त्यसैले उनीहरु व्यवसायीक हिसावलेनै अधिक उत्पादन दिन बाध्य छन् ।
यो समस्या त नेपाली समाजको प्रतिनिधिमूलक घटना मात्र हो । जव आम मानिसहरु उपभोक्तावादी बन्न थाल्दछन् र आफूलाई उत्पादनबाट बिमुख तुल्याँउन थाल्दछन् यि भन्दा भिमकाय समस्याबाट गुज्रनु पर्ने हुन्छ । यो त शुरुवात मात्र हो ।
त्यसकारण भात भान्छा बारवेर गरिहाल्नु पर्ने अवस्था आएको छैन । शुरुवातमै लम्परसार पर्नेहरु दिर्घजीवि हुँदैनन् ।
केही वर्ष अघि कामको सिलसिलामा पंक्तिकार राजधानी नजिकैैको गाउँमा पुगेको थियो । उमरेले ६० वर्ष कटेकी एकजना बृद्धा आफ्नो बारीमा उतपादन भएका वेमौसमी तरकारीका पातहरु केलाउँदै बस्तुभाउको फोहर (मल) थुपारेको ठाउँमा फ्याँक्दै रहिछिन् । मैले आश्चर्य मान्दै उनीलाई सोधेँ – ‘आमै यि पातहरु त बस्तुभाउलाई दिए हुन्थ्यो नी ?’ उनले झर्किएर जवाफ फर्काइन्– ‘कहीँ नभएर औषधी हालेर फलाएको तरकारीका सागपात बस्तुलाई खुवाउँछन् बस्तुभाउ बिरामी परिहाल्छन् नी ।’
म झल्याँस्स निद्राबाट बिउँझिए जस्तो भए । म त सहरमा बस्तुभाउलाई समेत खुवाउन नमिल्ने÷नसकिने तरकारीहरु पो खाएर बाँचिरहेको रहेछु । अहो ! मेरो स्वास्थ्य के भएको होला ? आफ्नो स्वास्थ अवस्था प्रति आफैँलाई सहानुभती जागेर आयो । त्यसपछि मैले बजारमा देखिएका लोभलाग्दा हरिया तरकारीप्रति आँखा लगाउन छोडिसकेको थिएँ । र पूर्ण रुपमा गेडागुडीमा आस्रीत हुन थालेको दुई वर्ष हुन थालि सकेको छ ।
अचानक आजभोली अखबारका पानामा रंगिएका र पृष्ठ भरिएका समाचारले पुनः केही तथ्य उजागर गर्न जाँगर चलायो ।
निश्चय पनि हिजोआज हामी उपभोक्ताबादी भएका छौँ । आम्दानी निम्न स्तरको भएपनि उच्च स्तरको खर्च गर्ने परम्परा नै बसिसकेको छ हाम्रो समाजमा । हाम्रो संस्कार र संस्कृति पनि सोही अनुरुप अघि बढिरहेको छ । त्यसैले आज हामी, श्रम र उत्पादनबाट क्रमशः विमुख बन्दै गइरहेका छौँ र उत्पादित बस्तु तथा सेवाको अधिक प्रयोग गर्ने मनोरोगी भएका छौँ । त्यसैले दिनप्रतिदिन फराकिलो बन्दै गएको बजारका कारण व्यवसायीक किसानहरु जसरी भए पनि अधिक उत्पादन दिन विवश छन् ।
हाम्रो खेतबारीको संरचना, खेती गर्ने प्रणालीले सामान्य तवरबाट मुनाफा आर्जन गर्न असम्भव हुन थालिसकेको छ । त्यसैले रसायनीक, किटनाशक औषधि तथा बिषादीको प्रयोग आदिबाट उत्पादन फसल दिने र बजारमा बिक्रि वितरण गर्नु अनिवार्य जस्तै भइसकेको छ । त्यसैले औषधि हाल्दा उपभोक्ता मारमा परेका छन् औषधि नहाल्दा किसान किसान समस्यामा पर्दछन् । समस्या दुवै तर्फ उत्तिकै छ ।
वर्षौ अघि देखि माटामा अत्यधिक रसायनीक मलखाद र किटनाशक औषधिको प्रयोगले माटोमा अम्लीयपन ज्यादा भएको छ । उर्वराशक्तिमा ह्रास आएर उत्पादकत्व घटेको छ । विस्तारित बजारमा माग बमोजिमको तरकारी आपूर्ती गर्ने र उत्पादनबाट मुनफान निकाल्न पनि अधिक उत्पादनमा जोड दिन किसानहरु बाध्य छन् । तरकारीमा रसायनीक मलखाद र किटनाशक औषधि प्रयोगबाट उपभोक्ता मात्र होइन स्वयम् उत्पादक किसानहरुको स्वास्थ्य अवस्था पनि प्रतिकूल बन्दै गएको छ ।
सिमित उत्पादकहरुबीचमा बजार निर्भर रहँदा यस्ता समस्या उत्पन्न हुन्छन् नै । यसको नियन्त्रणका लागि उपभोक्ता सचेत भएर मात्रै पुग्दैन । यसको नियन्त्रणका लागि तरकारीमा बिषको प्रयोग नगर भनेर सुझाउन जति सहज छ त्यो भन्दा गाह्रो छ उपभोक्ता संस्कृतिको अन्त्य गर्दै सवैलाई उत्पादन गर्नुपर्छ भन्ने भावना जागृत गराउन ।
समाज क्रमशः उपभोक्तामूखी बन्दैछ गाउँ छोडेर सहर पस्नेको संख्या पनि उत्तिकै बढ्दो छ । सहरी क्षेत्रमा अत्यधिक मात्रामा बढ्दो तरकारीको माग र न्यून उत्पादनले अधिकांश तरकारी मुलुक बाहिरबाट आयात गर्नु
पर्ने अवस्था विद्यमान छ । त्यसकारण उपभोक्तामा उत्पादन संस्कृति बढाउने र व्यवसायीकरणका नाममा अधिक उत्पादनमा जोड नदिने भन्दा पनि गुणस्तरीय उत्पादनमा जोड दिने तर्फ सरोकारवालाहरुको ध्यान जानु पर्दछ ।
त्यसका लागि आम उत्पादनकर्ताहरुलाई सचेत र जागरुक बनाउनु उपयुक्त हुन्छ न की उत्पादित बस्तुलाई बजारमा ल्याउन रोक लगाएर समस्या समाधान गर्न सकिन्छ । बजारमा बढ्दो माग र उपभोक्तावादी संस्कृतिको न्यूनिकरण गर्दै प्रत्येक नागरिकलाई सहरमूखी भन्दा पनि उत्पादनसँग एकाकार गराउने हो भने तरकारीमा बिष हालेरै भएपनि बेचेर सहरको आवश्यकता पूर्ती गर्नुपर्ने बाध्यता आउँदैनथ्यो की ?
No comments:
Post a Comment