Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

दुःख, अभाव र पीडा हाम्रो नियती नै होे महासय !



By  Unknown     4:00 AM    Labels: 
–रामनाथ खनाल
टन्टलापुर घामले वातावरण उसै तातो थियो । राजनीतिक सचेतना त्यती साह्रो फक्रिइसकेको थिएन तर पनि मनमा समृद्धिको एकोहोरो सपना थियो साथमा सुन्दर भविष्यको मार्गचित्र । जीतलाई उन्नती पथमा लम्काउने स्वर्णीम विहानी प्राप्तिको उत्कट अभिलाषा ।

आन्दोलनको याम थियो । जिन्दावाद, मुर्दावादका गगनेभदी नारा र कसीलो मुठीसँगै वेगवान आन्दोलनमा सरिक हुनु ठूलो भाग्य पनि थियो । हावाको वेगझैँ बढेको र आगोको लप्काझैँ फैलिएको आन्दोलनले राजधानीको मुख्य चोक मात्र होईन देशको कुना कन्दरा पनि अछुतो थिएन । रुपान्तरण एक सपना बोकेर भिमकाय संघर्षको हिस्सेदारका रुपमा आफूलाई उभ्याउँदै र मुत्यु शिरमा बोकेर आन्दोलनमा होमिएका थियौँ ।

क्षणभरमा नै अँश्रु ग्यास र पानीका फोहरा बर्षन्थे , लाठी र बुठका सामुद्रीक ज्वारभाटा उर्लन्थे । कतिखेर मृत्यु अगाडी ठिंग उभिने हो, गोलीले शरिर छेडेर निर्जीव तुल्याई दिने हो यकिन थिएन तै पनि मृत्युरुपी आन्दोलनको राफबाट परिवर्तनलाई आफ्नो बसमा पार्नु त्यती सहज त कहाँ हुन्थ्यो र !

चित्कार, क्रन्दन र आक्रोसकाबीच कतिका शरि गोलीले छिद्र बनाउँथ्यो, अँश्रु ग्यासले कतिलाई हायलकायल बनाएर सडकमा गर्ल्याम्म पछारेर मुर्दातुल्य बनाउँथ्यो, बन्दुकका कुन्दाले कतिलाई रक्ताम्य बनाउँथ्यो सँगै हिँडेका साथीहरु ङिच्च दाँत देखाएर सडकमा ढल्थे क्षणभरमा नै मृत्यु व्यहोर्थे तर पनि विचलीत नभई शोकमा अञ्जुलीभरी श्रद्धाञ्जली अर्पण गर्दै परिवर्तनको यात्रामा अझै शक्ति बटुल्नु पथ्र्यो ।

आन्दोलनमा जाँदा लावा लस्कर हुन्थे क्षणभरमा नै सहयात्रीहरु तितर वितर हुन्थे । फर्कदा भयानक मृत्युले लखेट्थ्यो । सग्लो फर्किएको दिन पश्चाताप हुन्थ्यो । फाटेका कुर्कुचा रक्तमिश्रीत भएनन् भने आफैँलाई पोल्थ्यो । साँच्चै भन्दा आजको यो शरिर चौवाटोमा सालिक बन्नबाट जोगिएको हो । पुरापुर नाफाको शिरमा कफन बाँध्दै मृत्यु हत्केलामा बोकेर आन्दोलनमा होमिएका थियौँ उतिवेला हामी ।

सिंगो आकास र पुराधर्तीले आन्दोलनमा साथ दिएँ झैँ लाग्थ्यो । अगाडी मृत्यु बनेर उभिएका बर्दिधारी जल्लादहरुबाट मृत्यु जोगाए र आन्दोलनमा उभार ल्याउनु हाम्रो कर्तव्य थियो सँगै आन्दोलनका सारथी बचाउनु पनि । ट्रेन्च कसेर बसेका आदेशधारीहरुसँग मुकाविला गर्दै बन्दुकका गोली र टियरग्याँसका सेलहरुसँग लुकामारी खेलेर सत्तापलटको सपना मलजल गर्नु चानचुने कुरा थिएन ।

आन्दोलनमा हामी जस्ता अल्लारे ठिटा मात्र होईन उमेरले सात थान हिँउद खाएकी छायाँदेवी पराजुलीहरु प्नि थिए । कवी, गायक, देखि डाक्टरसम्म सडकमा पोखिएका थिए । दमनको श्रृङ्खला जारी थियो । आकाशमा हेलीकप्टर उड्थे । जमिनमा दमकल र बंकरहरु तैनाथ थिए । पानीका फोहरा बर्षाइन्थ्यो । गोलीको बर्षा हुन्थ्यो । भिडमा थुप्रै अनुहारहरुले अनायसै मृत्यु पुरस्कार पाउँथे । अंगभंग र घाईतेहुनेहरुको संख्या गन्तिसाध्य थिएन । परिवर्तनलाई आफ्नो पञ्जामा कैद गरेर हामीलाईै मृत्यु थमौन हिँडेकाहरु हेलिकप्टरमा सयर गर्दै माथीबाटै फरमान जारी गर्थे । तोक आदेश दिन्थे । तिनका आदेश उपर गर्दै बर्दिधारीहरु गोली बर्षाउँथे ।

दमन जति बढ्थ्यो उती आन्दोलनमा उभार आउँथ्यो । जति जति मृत्युवरण गर्नेहरुको संख्या बढ्थ्यो उती नै आन्दोलनले नयाँ नयाँ सारथी जन्माउने गथ्र्यो । जति नै बर्बर दमन र अत्याचार गरेता पनि  आन्दोलनको भेल रोक्न र परिवर्तनको बाढी रोक्न सकेनन् । अन्त्यमा जनताको नासो जनताको हातमा थमाउन बाध्य भए ।

सडकमा सिन्दुर जात्रा भए । प्रत्येक नागरिकका आँखा हश्राँशु छचल्कियो । देशले व्यवस्था परिवर्तनको काँचुली फे्रयो । सोच्यौँ अव दुःखका दिन सकिएलान् । देश विकासको गतिले फड्को मार्ला । वेरोजगार, अभावका नुनीला आँशु पिएर हुर्केका हामी गरिवहरुको दिन फर्किएला । अनाहकमा हत्या, आतंक र अन्याय अत्याचारमा पिल्सिएका आम नागरिकले सन्तोषको श्वास फेर्न पाउलान् । मुलुक समृद्धिको मार्ग भएर अगाडी बढ्ला । बर्षौ देखि पछौटे बन्न विवस मुलुकले विकासको गति लेला ।

लमोसमय देखि युद्धरत र तत्कालिन आन्दोलनरत पक्षबीच युद्धविराम भयो । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भयो । संविधानसभाको निर्वाचन भयो । मुलुकका नदीनाला, खहरे खोल्साहरुमा धेरै पानी बग्यो । तर मुलुकको अवस्था फेरीएन । शासन सत्ताको बागडोर सम्हालेका हिजो आन्दोलनमा हामीसँगै चप्पल फटाएकाहरुले पटक–पटक शासन सत्ताको भर्याङ चढे ।

अहँ ! मुलुक फेरिएन । राज्यको ठूलो धनराषी खर्चिएर संविधान सभाको निर्वाचन भयो । संविधान नवनाउँदै बीचमा नै हत्या गराईयो । हिजो राजतन्त्र थियो । आज गणतन्त्र छ भनिएको छ । तर यो कुन रुपको छ यसको गन्ध कस्तो हुन्छ निमुखा जनताले आजका मिति सम्म देख्न पाएका छैनन् । छुन र अनुभव गर्न त परै जावोस् ।

शासन सत्तामा पुगेकाहरुले ठोकुवा गरे अव अधिकार प्राप्तीको लडाईँ सकियो । देशबाट सामन्तवाद पनि निर्मुल भैसक्यो । हो, शासन सत्तामा बसेकाहरुलाई लाज लाग्यो होला आफुले आफैँलाई सामन्तको उपमा भिराउन तर मुलुकमा एउटा सामन्त त ढल्यो यसबीचमा थुप्रै नवसामन्तहरुको जन्म भैसकेको छ । पार्टीका नेता भेट्न कार्यलय नै धाउनु पर्ने । केन्द्र नै पुग्नु पर्ने । सामान्य चाकरी र चाप्लुसी विना कुनै काम नहुने । ठेक्का, कमिसनखोर र दलाल मार्फत हरेक क्षेत्रमा काम गर्नु पर्ने । कुनै अमुक नेता÷मन्त्रीलाई हजुरी चढाएन भने रोईलो गर्ने के यी सामन्तवादका उत्कृष्ट नमूना होईनन् । कसरी अन्त्य भयो सामन्तवाद महोदय !

प्रशासककहाँ नधाई विकास हुँदैन । भनसुन नगरी जागीरे भईँदैन । शासक देखि प्रशासक सम्म । टुप्पि देखि पैताला सम्म कहाँ सग्लो छ अनि सकियो सामन्तवाद । सामन्त छैनन् होला मानेँ मैले तर त्यही किसिमका प्रवृत्ति जिवीत् छन् र प्रताडित बनाइरहेका छन् हामीहरुलाई ।

परिवर्तनको सपना सजाएर आन्दोलनमा होमिएका लाखौँ युवा मरुभूमिमा लखेटिएका छन् । महंगी, भ्रष्टाचार र अनियमितताले आम नागरिक दपेटिएका छन् । शुसासनको कुनै प्रत्याभुत छैन । आन्दोलन बन्द, हड्ताल र आगजनी विना कुनै नागरिकको गुनासो सुन्ने फुर्सद छैन । कसरी अन्त्य भो सामन्तवाद ? कसरी लाग्यो नागरिकको आङमा गणतन्त्रको उज्यालो घाम ?  दस्तावेजमा सामन्तवाद सकिएर भएन महासय जनताको जीवनमा जोडिनु पर्यो ।

जेष्ठ नागरिक सडमा सुतेको महिनौँ भयो । अस्थाई शिक्षक नारावाजी गर्न सदन छिुर्न पर्यो । भने अनुसार काम गर्न नसक्दा कहाँ सरुवा हुनुपर्ने हो कर्मचारीहरुको टुंगो छैन । डन र धन भएकाहरुको पार्टीमा हालीमुहाली छ । शासन देखि प्रशासन सवैतिर भ्रष्टहरुको विगविगी छ । देशका प्रशासनिक मुख्यालयहरु भ्रष्टाचारका अखडा बनेका छन् । आम नागरिक अभाव र पीडाका आँशु पिएर बाँच्न विवस छन् ।

देश बालबच्चा र बृद्धबृद्धाहरुको देश भैसक्यो । अर्थतन्त्र साउदी र कतारबाट मृत्युसँग साटेर ल्याएका आम युवाहरुको पैसामा अडिएको छ । दैनिक १२०० सयको संख्यामा युवाहरु विदेशिन बाध्य छन् । सुत्केरी हुँदा २०० रुपैँयाको औषधी किन्न नसके र भाउजु वुहारीहरु मृत्युवरण गर्न बाध्य छन् । अनि कसरी देश पुँजीवादमा गयो महोदय !

विदेशमा रगत पसिना गरेर ल्याएको पैसाको सुरक्षा राज्यले गर्न सक्दैन । लगानीमैत्री वातावरण राज्य निर्माण गर्न सकेको छैन । हत्या हिंसा, बलत्कारबाट आम नागरिकलाई राज्यले जोगाउन सकेको छैन । के हाम्रो परिकल्पनाको नयाँ नेपाल यही हो ? देश यस्तै बनाउन हामीले राजतन्त्रसँग सिँगौरी खेलेका थियौँ ? मृत्युको फेटा शिरमा उनेर कमल थापाहरुको मृत्युको तोक आदेशका बावजुद सडमा उत्रेका हामी युवाले के पायौँ ?

आज सदनमा कमल थापाहरुको हुँकार ठूलो छ । लोकतन्त्रका मसिहा ठान्ने ठूला दलहरु पञ्चायतका डिजायनर सूर्यबहादु थापा जस्ता नामुद पञ्चहरुबाट दिक्षीत भएर जनबफादारिताको कसम खान्छन् । विस्तारै कमल थापा एण्ड कम्पनीहरुको पोल्टामा जनमत जाँदैछ । हिजो नागरिकहरुलाई मृत्यु पुरस्कार बाँड्दै हिँड्ने कमल थापाहरु आज जनसेवक बन्लान् ?

परिवर्तनका लागि जनताले बगाएको रगतको यत्रो अवमूल्यन किन ? फाटेका आङ् र कुर्कुचाहरुले गणतन्त्रको विहानीमा पाइला टेक्न अझ कतिञ्जेल पर्खनु पर्छ कि दुःख, अभाव र पीडा हाम्रो नियती नै हो यसको जवाफ छ कसैसँग ?

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment