-रामनाथ खनाल
सरकार मोदीको आगमनको स्वागतार्थ व्यस्त छ । राजधानीमा अघोषित कफ्र्यू लगाइए जस्तै सुनसान पारिएको छ, मानौ मोदीको आगमनले मुलुकको कायपलट हुँदै छ । त्यसैको तामझाममा सरकार व्यस्त भैरहँदा राजधानीको डाँडा पल्ला पटि रहेको सिन्धुपाल्चोक जिल्ला राम्चे–५ स्थित जुरेमा पहिरो गएर सुनकोशी नदी छेकिएको छ । सयौँ नागरिकको सपना सुनकोशीमा थुनिएका छन् । स्थानीयबासीहरु जीवन र मरणको दोसाँधमा छन् । मानिसहरु आफ्नो सम्पतिको परवाह नगरी पोको पन्तुरो बोकेर डाँडा चढिरहेका छन् । त्यो दर्दनाक र कारुणिक दृष्यले मुलुकको सरकारलाई छुन सकेको छैन ।
के त्यहाँको नागरिक नियती यस्तै हो ? राम्चे–५ का निमुखा जनतामा परेको विपत्तिले सरकारलाई दुख्दैन । वास्तवमै प्राकृतिक विपत्ति बाजा बजाउएर त आउँदैन । र यसले पूर्व संकेत पनि दिँदैन । तर विपत्ति आइ परेपछि त्यहाँका जनतालाई जोखिबाट बाहिर ल्याउने र थप जनधनको क्षती हुन नदिन तर्फ सरकारले विशेष ध्यान दिनु पर्छ कि पर्दैन ? राज्य संयन्त्र सम्पूर्ण रुपमा सिन्धुपाल्चोकमा पुग्नु पर्छ कि पर्दैन ?
राम्चे–५ को पुरै वडा पहिरोसँगै बगेर सुनकोशीमा थुप्रिएको छ । पहिरोमा दर्जन बढीले ज्यान गुमाएसकेका छन् भने दर्जनौँ पुरिएको आशंका छ । त्यस्तै पहिरोसँगै नदी थुनिएर ताल बन्दा भण्डै ४ किलोमिटर क्षेत्र जलाशयमा परिणत भएको छ । सानिमा हाइड्रो पूरै डुवानमा परेको छ । यत्रो महाविपत्ति आइलाग्दा समेत सरकार प्रमुखहरुको ध्यान पूर्ण रुपमा त्यहाँ जान सकेको छैन ।
मोदीको आगमनले राजधानीलाई ठप्प बनाएर सर्वसाधारणलाई अनावश्यक दुःख थोपर्न सक्ने सरकारले राजधानीसँगै नजिकै जोडिएको सिन्धुापाल्चोकका जनताको विपत्तिको पीडालाई देख्न सकेको छैन । सामान्य औपचारिक उद्धारका लागि सेना र प्रहरीको टोली पुग्ने र रमिते बन्ने बाहेक त्यहाँ सरकारको कुनै उपस्थिति छैन । घटना घटेको १० घण्टा वित्न लागि सक्दा समेत सरकारले कुनै नदी खोल्ने उपाय पत्ता लगाउन सकेको छैन ।
पहिरोबाट ४०–५० घर बगेर सुनकोशी नदीमा थुप्रिएका छन् भने १५००–२०० मानिस बेपत्ता भएका छन् । खोजिका क्रममा १३ जनाको मात्र शव प्राप्त भएको छ । अन्य को शव भेट्टाउने अवस्था पनि छैन । पहिरोका कारण एक सय पचास मिटर चौडा नदी थुनिएको छ । यदी समयमै पहिरो पन्छाउन नसकिने हो भने अवको तीन घण्टामा यो भन्दा ठूलो विपत्तिको सामाना गर्नुपर्ने हुन्छ ।
कथमं कदाचित ताल बनेको नदी खोलिएमा हिमताल फुटे भन्दा खतरनाक हुने विज्ञहरुले यस अघि नै
बताइसकेका छन् । किनकी सुनकोशी नदी उच्च बहाव भएको नदी हो । थुनिएर ताल बन्न गएको नदी खोलिँदा खाडिचौर, सुकुटे, दोलालघाट देखि सिन्धुली जिल्ला सम्मका नदी आसपासका दर्जन बढी बजारहरु उच्च जोखिममा पर्ने देखिन्छ । यसकारण यो भएको र हुनसक्ने प्राकृतिक विपत्तिबाट जोखिममा परेका नागरिकहरुको उद्धार तथा घाइतेहरुको उपचारका लागि राज्यको उपस्थिति त्यहाँको जनताले महसुस गर्न नसक्नु निकै दुःखद कुरा हो ।
प्राकृतिक विपत्तिले कुनै जानकारी त दिँदैन यद्यपी त्यो क्षेत्र पहिरोको उच्च जोखिममा रहेको क्षेत्र हो । यसअघि पनि त्यस जुरे क्षेत्रमा पटक–पटक पहिरो जाने गर्दथ्यो । गतवर्ष पनि पहिरो गएको थियो । त्यसकारण पहिरोबाट हुन सक्ने सम्भावित जोखिमको पूर्वानुमान गरेरे जोखिम क्षेत्रका नागरिकहरुलाई अन्यत्र सारिएको भए यो अवस्थाको मानवीय क्षती कम हुन सक्थ्यो ।
तर सुनकोशी आसपासमा जान सक्ने पहिरो र त्यसले निम्त्याउन सक्ने परिणामका बारेमा सरोकारवालाहरु सचेत हुन सकेको देखिएन ।
यसकारण चाँडो भन्दा चाँडो राज्य संयन्त्रको प्रयोग गरेर पहिरो र नदी डुवानमा परेका नागरिकहरुको उद्धारका लागि सरकारले तदारुकता देखाउनु पर्दछ । अन्यथा यो भन्दा ठूलो भौतिक एवम् मानविय क्षतीको लागि तयार रहँदा हुन्छ ।
No comments:
Post a Comment