-रामनाथ खनाल
समाज कति समवेदनाबाट टाढिँदै छ भन्ने कुराको दृष्टान्त दैनिक जसो सञ्चारमाध्यममा पढ्न सुन्न र हेर्न पाइने समाचारहरु बन्ने गरेका छन् । समाचार सुन्दा पढ्दा वा हेर्दा यस्तो लाग्छ हामी आधुनिकताका नाममा जति जति अगाडि बढीरहेका छौँ, त्यती नै हामी सामान्य कर्तव्य र उत्तरदायित्वबाट विमुख भएका छौँ । हामीले विद्यालय, कलेज वा विश्व विद्यालयमा पढ्ने शिक्षाले हामीलाई शिक्षित बनायो तर हामीलाई नैतिकवान्, चरित्रवान् र असल बनाउनबाट चुकेछ । हामी विद्धतामा स्पातिलो ठहरिए पनि ज्ञानमा भुत्ते भएछौँ ।
अघिल्लो हप्ता पशुपति नजिकै बाटोमा सुतिरहेकी मानसिक सन्तुलन गुमाएकी ४५ वर्षे महिलालाई काभ्रेका ३० वर्षीया पुरुषले जवरजस्ती करणीको प्रयास गरे । रुकुमबाट मामाघर हिँडेकी एक किशोरी नेपालगञ्ज वसपार्क भित्र समूहिक बलात्कारीहरुको फन्दामा परिन् । सोमबारमात्रै गोरखाका अति विपन्न दुई चेपाङ् बालिकाहरु अर्का नर पिचासको फेला परे । यि त नेपाली समाजमा पछिल्लो समय मौलाउँदै गएको बलात्कारजन्य घटनाका केही थोरै दृष्टान्त मात्र हुन् । बलात्कार नेपाली समाजमा यसरी भयावह रुपमा फैलन थालको छ कि अव छोरी चेलीहरु, जोगाउन समाजलाई हम्मे हम्मे भरहेको छ ।
नाबालिका देखि हुर्किएका छोरी चेली मात्र होइन बृद्धाहरु पनि असुरक्षित बन्दै छन् । परपुरुष मात्र होइन छिमेकी, नजिकैको आफन्त, काका, मामा र दाजु भाइबाट मात्र होइन आफैँले जन्म दिएको बाबुबाट समेत समाजमा छोरीहरुको इज्जत लिलाम हुने, बलात्कृत भएर मानसिक, शारीरिक हिसावले क्षत विक्षत बन्नु पर्दा अव हाम्रा छोरी चेली र महिलाहरुको साहारा को हुने ?
उनीहरुको सुरक्षाको पहरेदारी कसले गरिदिने ? उनीहरुको अस्मिताको रक्षा कसले गरिदिने ? नेपाली समाजमा अव यो प्रश्न गम्भीर रुपमा उठिसकेको छ ।
जन्म दिएर कर्म मार्गमा डोहोर्याउनु पर्ने बाबु नै कुकर्म गरेर छोरी चेलीको जीवन बर्बाद पार्न उद्यत हुन्छ भने अव छोरी को बाट सुरक्षित हुन्छे ? उसलाई कसले दिन्छ सुरक्षाको प्रत्याभुती ?
किन समाज यति क्रुर र नृसंस बन्दैछ ? आधुनिकताको खोल ओडेका हाम्रो समाज यो बर्बरताको बाटो भएर कहाँ जाँदैछ । यस्तो लाग्छ हामीले आधुनिकताका नाममा नैतिकता र इमान्दारिता तथा स्वधर्मको सवै सिमा नाघिसकेका छौँ र फगत आधुनिक भएका छौँ र खोक्रो आडम्वरमा रमाईरहेका छौँ ।
हिजो समाज, शिक्षा नभए पनि नैतिकताको आडमा मजैले चलेको थियो । छोरी चेलीहरु बाबुबाट बलात्कृत हुने भयले तर्सिएर भाग्नु पर्दैनथ्यो । निधारमा टिका लगाइदिएर दिर्घायूको कामना गर्ने देवी सरहका दिदी बहिनीहरु दाजुभाइबाटै असुरक्षीत बन्नु पर्दैनथ्यो । काका मामा वा आफन्तजनबाटै चेलीहरुले अस्मिताको भिख माग्नु पदैनथ्यो । तर आज पलपल हाम्रा चेलीहरु मृत्यु व्यहोर्न विवस छन् । अस्मिता लुटिने भयले समाजमा खुलेआम हिँड्न नसक्ने भएका छन् र राज्य रमिते बनेको छ । उल्टै प्रमाण जुटाउनु पर्ने र म बलात्कृत भएँ भन्दै भनेर साक्षी प्रमाण जुटाउँदै अनि न्यायको भिख माग्न ढोका ढोका चहार्न विवश छन हाम्रा दिदीबहिनी र आमा र भाउजुवुहारीहरु ।
समाज यति क्रुर बन्न के ले घर गरिरहेको छ ? समाजमा खुलेआम फस्टाउँदै गएको अपराध रोक्न किन राज्य र समाजले आवाज उठाउँदैन ? के मरुन यसरी नै हाम्रा चेलीहरु दिन दिनै बलात्कृत भएर ? के पल पल मरुन् हाम्रा नावालक छोरीहरु बाबुहरुबाटै बलात्कृत भएर ?
सवाल, घटना कसलाई घट्यो भन्ने होइन समाज भित्र घट्न थालेका यस्ता बर्बर घटनाले हामीलाई कता डोहोर्याउँदै छ भन्ने हो ? हामीले यस्त घटनामा जुन ढंगले मौनता साँधिरहेका छौँ यसले अपराधलाई झनै प्रस्रय दिइरहेका छ । र अपराधिहरुको मनोवल झनै उच्च भइरहेको छ ।
बलात्कार नारी माथि हुने हत्या भन्दा ठूलो अपराध हो । हत्या भए पछि मानिस एक पटक मर्छ भने बलात्कृत नारी पटक–पटक मर्छे, अधिकारकर्मीहका अनुसार बलात्कृत महिलाहरु समाजमा पुर्नस्थापित हुन निकै गाह्रो छ । बलात्कृत भए पछि कि उनीहरुले आत्महत्याको बाटो रोज्दछन् कि बाध्यात्मक देह व्यापारमा आउँछन् ।
बलात्कारका घटनामा पीडकलाई सजायँ दिएर मात्र पुग्दैन बलात्कृत महिलाको सामाजिक पुर्नस्थापना झनै जटिल हुँदै गएको उनीहरुको अनुभव छ । हाम्रो कानूनमा बलात्कृत महिलाले आफैँ दशी प्रमाण जुटाउनु पर्ने हुँदा सजिलै पीडकहरुले खुलेआम उन्मुक्ति पाइरहेका छन् । बलात्कृत बालिका, युवती र महिलाको जीवन बर्बाद हुने भयले अधिकांश घटना गुपचुप राखिने हुँदा थुप्रै घटना बाहिरै आउँदैन । जसले गर्दा पनि अपराध कर्म गर्नेको मनोबल उच्च हुने गरेको उनीहरुको भनाई छ । कानूनी उपचारको लागि पीडित आफैँ धाउनु पर्ने, प्रमाण जुटाउनु पर्ने र त्यसमाथि समाजले हेर्ने हेय दृष्टिकोणका कारण पनि बलात्कृत महिलाहरु पीडकलाई दण्ड सजायँ दिनका लागि अन्तिम सम्म लड्नै सक्तैनन् । त्यसकारण पनि बलात्कारको घटनामा झनै बढोत्तरी भइरहेको उनीहरुको ठम्याई छ ।
समाजमा भयावह रुपमा फैलन थालेको बलात्कारको घटना न्यूनिकरणका लागि कानूनै कडा हुनुपर्ने उनीहरुको तर्क छ । बलात्कारीलाई सर्वश्व सहित जन्मकैद देखी मृत्यु दण्ड तथा पीडितलाई सम्पुर्ण जीवन निर्वाहका लागि क्षतीपूर्ती भराउनु पर्ने कानूनी व्यवस्था निर्माण र प्रभावकारी कार्यान्यन गर्न नसक्दा सम्म बलात्कारका घटनामा कमी नआउने उनीहरु बताउँछन् ।
साथै समाजमा घटेका यस्ता घटनालाई निराकरण गर्ने र सभ्य तथा सुसंस्कृत समाज निर्माणका लागि पुरुषहरु नै अग्रसर हुनु पर्दछ । महिलामाथि हुने यसप्रकारका जघन्य घटनाको अन्त्यका लागि तथा पुरुषसँग जोडिएर हुने सम्पूर्ण यौनजन्य हिंसा अन्त्यका लागि पुरुषनै अगाडि आउनु पर्दछ । अन्यथा पुरुषको निधारमा लागेको कलंकको दाग अझै गाढा बन्दै जाने निश्चत छ । सवै पुरुषहरु वेलैमा सचेत र जागरक बनौँ ।
No comments:
Post a Comment