–रामनाथ खनाल
घटना नं. १
गत महिना काभ्रेपलाञ्चोक जिल्ला महेन्द्रज्योती बाँस्डोल गा.वि.स ५ की १५ वर्षीया रोनियाँ कुँवरले टेलिभिजन हेर्ने बिषयमा परिवारसँग मनमुटाव भएकै कारण घरको भ¥याङगमा सलको पासो लगाएर राति १० बजे आत्महत्या गरिन् ।
नेपाली सेनाका अवकाशप्राप्त क्लर्क बाबु राजन कुँवरले बिहान छोरीलाई भक्तपुरको डोलेश्वर महादेव मन्दिरको दर्शन गराएर सिपाडोलस्थित मामाघरमा खाना खुवाउन लगेका थिए । मामाघरबाट साँझ फर्किएका उनीहरुले बेलुकी खान बोलाउँदा आइनन् । टिभीमा सिरियल आइरहेको थियो । नेपाली च्यानलमा नायक श्रीकृण श्रेष्ठको निधनको खवरले प्राथमिकता पाएको थियो । आमाले त्यहि समाचार लगाऊ भन्दै थिइन् । रोनियाले रिमोट लुकाइन् । खान बोलाउँदा पनि कोठाबाटै बाहिर आउन मानिनन् । खाना खाइसकेर सबैले बोलाउँदा पनि टेरिनन् । टिभी हेर्न पनि दिइनन् । श्रीकृष्ण श्रेष्ठको समाचार हेर्न भन्दै स–परिवार उनलाई एक्लै छाडेर छिमेकीको घरतिर निस्किए । यता रोनियाले आफू बसेको कोठाको ढोकामा चुकुल लगाएर झ्यालबाट बार्दलीमा निस्किई अर्काे कोठाको झ्यालबाट सबै झ्यालमा चुकुल लगाईन् । र सलले घाँटीमा बेरेर जिवनलिला समाप्त पारिन् ।
घमण्डी इष्र्यालू स्वभावकी रोनिया धेरैबेर बाहिर ननिस्किएपछि बोलाउन आएका बाबुले माथिल्लो भ¥याङगमा मृत छोरी फेला पारे । उनी जनागालस्थित नाइटिङगेल स्कुलमा भर्खर कक्षा ९ मा अध्ययन गर्दै थिइन् ।
घटना नं. २
कुश्मा–ज्ञादीको झोलुङगे पुलबाट हामफालेर एक किशोरले आत्महत्या गरे । पर्वतको ठूलीपोखरी गाविस–५ झाँक्रीखोलाका १८ वर्षीय प्रताप सापकोटाले बुधबार बिहान पुलबाट हामफालेर आत्महत्या गरेका हुन् । घरबाट कुश्मा जान्छु भनी हिँडेका सापकोटाले कुश्मा–ज्ञादी झोलुङगे पुलको छेवैमा रहेको एक होटलमा चुरोट पिएपछि लगत्तै पुलमा पुगेर हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन् । पारिवारले बताए अनुसार उनले बिहान सदरमुकाम जान्छु भनी आमासँग १० हजार मागेका र आमाले आफूसँग पैसा नभएको भनेपछि रिसाउँदै घरबाट निस्किएका थिए ।
घटना नं. ३
बाजुराको सदरमुकाम मार्तडीमा पनि ११ वर्षीय बालकले कोठामा झुण्डिएर आत्महत्या गरे । दहकोट गाविस-८ अन्द्राणीघर भई सदरमुकाम मार्तडीमा पसल व्यवसाय गर्दै आएका रामबहादुर रोकायाका ११ वर्षीय छोरा विशाल रोकायाले आफू बस्दै आएको कोठामै इहलिला समाप्त पारेका हुन् ।
‘म खाना खाँदै थिए बाबु बाहिरवाट खेलेर आयो, पसलको साँचो कहाँ राखिस् भनेर सम्झाएं , म खाना खान थालेँ, बाबु (विशाल रोकाया) माथि कोठाभित्र पस्यो, एक छिनपछि कोठामा जाँदा दुवै ढोकाभित्रबाट चुकुल लगाएर बन्द अवस्थामा थिए, ढोका खोलेर हेर्दा ढोकामा उभिएजस्तो देखे , केही बोलेन राम्ररी हेर्दा त झुन्डिएको रहेछ । हत्तपत्त पासो काटेर पिठ्युमा बोकेर अस्पताल ल्याउँदा त छोरो मरिसकेको रहेछ’ मृतक बच्चाकी आमा सीता रोकायाले भनिन् ।
सीता रोकायाको डेराबाट करिब ५ मिनेटको दूरीमा पर्ने जिल्ला अस्पताल मार्तडीमा पु¥याउनु पहिलेनै बाटोमै बच्चाको मृत्यु भइसकेको थियो
सामान्य गाली गर्दा र सम्झाउँदा समेत झनक्क रिसाउने उनले त्यही बानीका कारण आत्महत्या गरेको हुन सक्ने छिमेमीले जनाएका छन् । उनी स्थानीय स्कूलमा कक्षा ५ मा अध्ययनरत थिए ।
घटना नं. ४
गत महिना ओखलढुङगा जिल्ला कुहीभीर– ७ स्थायी घर भई हाल राजधानी काठमाडौँ जिल्लाको नयाँपाटी गा.वि.स वडा नं. ४ बस्दै आएका १२ वर्षीय सिद्धार्थ कोइरालाले डेरा गरी बस्दै आएको घरको छतमा झुण्डिएर आत्महत्या गरे ।
नयाँपाटीमै रहेको चण्डिकाश्वरी अङ्ग्रेजी माविमा अध्ययनरत कोइराला विद्यालय छुट्टी भएपछि नयाँपाटी– २ मा घर बनाई बस्दै आएका काभ्रेपलाञ्चोक जिल्ला मदनकुडारी– १ का स्थायी बासिन्दा ३५ वर्षीय बुद्धिलाल तामाङले घरमा झुण्डिएर आत्महत्या गरेको दृश्य हेर्न पुगेका थिए ।
झुण्डिएको हेरेर आएपछि यसरी पनि मरिन्छ र भन्दै आफन्तसित सोधेको प्रारम्भिक अनुसन्धानमा खुले पनि उनको मृत्युको वास्तविक कारण भने अझै पत्ता लागेको छैन ।
घटना नं. ५
गत वर्ष राजधानीकै जेभियर्स एकेडेमी लाजिम्पाटमा कक्षा १२ मा अध्ययनरत सुस्किन गैरेले कलेज पोसाकमै बसुन्धरास्थित घरमा आत्महत्या गरे । गैरेले एकेडेमीका कोअडिर्नेटर प्रकाश श्रेष्ठको मानसिक दबाब सहन नसकेर आत्महत्या गरेको भन्ने आरोप उनका परिवारले लगाए पनि आत्म हत्याको वास्तविक कारण भने खुल्न सकेन । गैरेसँगै अन्य तीन विद्यार्थीलाई चुरोट खाएको श्रेष्ठले अघिल्लो दिन सम्झाएको र नमानेमा अभिभावकलाई भनिदिने बताएका थिए ।
यी प्रतिनिधि घट्नामात्र हुन । हिजोआज अभिभावकहरुलाई आफ्ना नानीहरु सम्हाल्नै मुस्किल भएको छ । सामान्य गालिमा घर छोडेर हिँडिदिने, जति सम्झाउन खोजे पनि नटेर्ने बालबालिका र किशोरकिशोरीहरुको बानीले अभिभावकहरु हैरान बन्न थालेका छन् ।
‘असल बाटोमा लागुन भनेर राम्रो नियतले सम्झाउन खोजिन्छ तर बालबालिकाहरु भने त्यसलाई गलत ढंगले बुभिदिन्छन्’ यस्तै भन्छिन् काठमाडौँ सिनामंगलकी उमा श्रेष्ठ । त्यसो त आजका बालबालिकाहरुमा अरुको सिको गर्ने र टेलिभिजनबाट प्रशारण हुने विभिन्न सामाग्रीहरुको निकै प्रभाव पारेको देखिन्छ । त्यस कारण पनि उनीहरुमा हिंस्रक मनोवृत्तिको विकास हुन थालेको मनोविश्लेषकहरु बताउँछन् । उनीहरुका अनुसार भिडियो गेममा रमाउने र कम्यूटरमा हिंस्रक खालका खेलहरु हेर्न र खेल्न रुचाउने बालबालिकाहरु चाँडै रिसाउने, तत्काल प्रतिकृया जनाउने, सम्झाउन खोज्दा पनि गलत बुझ्ने लगायतका बानीहरु देखा पर्दछन् । त्यसकारण पनि अभिभावकहरुसँग चाँडै रिसाउने, आफूले भनेको कुरा नपाएमा घर छोड्न र कतिपयले यस्कै कारणले आत्महत्या समेत गर्न थालेको उनीहरु बताउँछन् ।
यसका साथै हाम्रो समाजिक संरचनामा अभिभावकहरु आदेशात्मक र निर्देशनात्मक भइदिँदा पनि यस्ता खालका समस्याहरु निम्तने गर्दछन् । शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार यो समस्या देखिनुको पछाडी बालबालिका र अभिभावककोबीच प्रभावकारी सञ्चार हुन नसक्नु हो । ‘हामीकहाँ आफूले गर्न नसकेको काम छोराछोरीले गरिदेओस् भन्ने छ’ उनले भने ‘त्यसकारण पनि यस्ता गम्भीर समस्या निम्तन थालेको हो ।’ अभिभावकहले आफ्ना बालबालिकहरुलाई सकरात्मक दिशाबोध गर्नका लागि उनीहरुसँगै उठबस गर्ने, सँगै खेल्ने पढ्ने र पढाउने गर्नु पर्दछ । जसले गर्दा उनीहरुमा अभिभावक प्रतिको डर कमहुँदै जाने र केही भएमा अभिभावकहरुलाई भनिहाल्ने बानीको विकास हुने उनको राय छ । यसो गर्दा ऊ असल या खराव बाटोमा लागेको अभिभावकलाई छिट्टै थाहा हुन्छ ।
बालबालिकालाई असल बाटोमा हिँडाउनका लागि उसलाई आफ्ना कुरा लाद्ने भन्दा पनि उसको सहयोगिको भूमिका निर्वाह गर्नु पर्ने धारणा राखेका शिक्षाविद् कोइरालाल भन्छन्–‘हामी खाली निर्देशन मात्र दिन्छौँ, यसो गर उसो गर मात्र भनेर हुँदैन कतिपय अवस्थामा दिशावोध समेत गराउनु पर्दछ हामीकहाँ यसको अभाव छ त्यसकारण पनि केटकेटीहरु गलत बाटोमा लागेका हुन सक्छन्’ ।
बालबालिकाको कुराहरु हामीले पर्याप्त मात्रामा र पूर्ण रुपमा नसुनिँदा दिँदा उनीहरु डिप्रेसनमा पर्न सक्ने बताउँछिन् मनोविश्लेषक रमा कार्की । उनका अनुसार बालबालिकाहरु कुनै पनि कुराको तत्काल प्रतिकृया जनाइहाल्ने स्वभावका हुने हुँदा अभिभावकहरुले उनीहरुलाई महत्व प्रदान गर्नु पर्दछ । ‘बच्चाहरुसँग अभिभावकको प्रभावकारी सञ्चार हुनु अत्यावस्यक छ’ उनी भन्छिन् ‘लगातार इग्नोर गरिरह्यो र उनीहरुलाई महत्व दिन सकिएन भने साथ साथै उनीहरुको भावना बुझ्न सकिएन भने उनीहरु गलत बाटोमा लाग्न सक्छन् ।’
त्यससँगै बच्चाहरुले के गरिरहेको छ, टेलिभिजनहरुमा के कार्यक्रम हेरिरहेको छ ? आदी कुराहरु पनि नजिकबाट हेर्ने र नियाल्ने गर्नुपर्दछ । यसका साथै उनीहरुलाई टेलिभिजन हेर्नका लागि समेत समय निर्धारण गरिदिने हो भने टेलिभिजनको गलत प्रभाव पर्दैन ।
बालबच्चाहरुसँग घुलमिल हुने, उनीहरुका कुरा पूर्ण रुपमा सुनिदिने र विश्वासिलो साथीको जस्तै व्यवहार गर्ने हो भने बालबालिकासँग जोडिएका विभिन्न समस्याहरु र आत्महत्या जस्तो गम्भीर प्रकृतिका घटना न्यूनिकरण गर्न मद्दत पुग्दछ । यसतर्फ अभिभावकहरुले विचार पुर्याउनु पर्दछ अन्यथा बालबालिकाहरु गलत बाटोमा जान सक्ने खतरा रहन्छ । सदैव सचेत बनौँ । (Publishedhttp://www.nepalpationline.com/child-problem-nepal)
No comments:
Post a Comment