Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

आँशुको भेलमा के मनाउनु तीज ?



By  Unknown     10:24 PM    Labels: 
-रामनाथ खनाल



तीजले शहर व्यस्त बनेको छ । पुरातन परम्परा माथि आधुनिकताको लेपन लागेको यस तीजले आज ग्रामिण भेगलाई निकै पछि पारिसकेको छ । त्यसो त गाउँमा आज पनि दुःख छ, अभाव छ । हरेकका मनमा भदौरे भेलले पखाल्न नसक्न गरी पीर र व्यथाहरु खत लागेका छन् । जस्तो हिजो थियो । 

गाउँका व्यथाहरु बदलीएका छन् । हिजोको तीजमा गाइने गीति भाकाहरुमा सासु बुहारीका आ–आफ्नै रोदन हुन्थे । भाउजु आमाजुको चित्कार सुनिन्थ्यो । छोरी चेलीहरुको आफ्नै वेदनाहरु हुन्थे । र चौतारीमा बसेर तीजि लयमा त्यसलाई धोको फेरेर र मन माझेर गाइन्थ्यो । गाउँहरु रित्तिएका छन् र व्यथाहरु पुरै बदलीएका छन् । पाखाहरु बुट्यान घारी भएका छन् । खोरियाहरु बाँझै छन्, सिम र टारी खेतहरु जंगल घारीमा परिणत भएका छन् । र खोलाहरु एक्लै सुसाउन बाध्य छन् । 

मलेसिया गएको दाजु  आज तमोर तरेर तीजका लागि चेली लिन जाँदैन । साउदी भासिएको भाई कोसी काटेर दिदीको आँगनी पुग्न सक्दैन । दुबईमा दपेटिँदै गरेका दाजुहरु पनि वर्ष दिनमा आउने यो तीजमा आफ्ना दिदी बहिनी लिन कर्णाली काट्न सक्ने अवस्था छैन । वर्षाभरी कामले थलिएकाहरुलाई तीजले जसरी दिदी बहिनी लाने लैजाने चटारो र हतारो पथ्र्यो त्यो अवस्था रहेन अव  । सँगै चेलीहरुको मनमा पनि दाजु भाई तीजमा लिन नआएको र माइत जान नपाएको जस्ता गुनासाहरु छैनन् । रत त्यस्ता भेटिँदैनन् त्यस्ता व्यथाका लयहरु आजका  तीजि भाकाहरुमा  । बरु श्रीमान्ले कार नकिनिदिएको, दुवईबाट फर्कँदा आर्कषक मोवाइल नल्याइदिएको जस्ता दुखेसोहरु छ उनीहरुका तीजि भाकामा । 

हुर्किएका दाजु भाईहरु सवै बिदेश भासिएपछि दिदी बहिनीलाई घर माइत गराउने को नै छन्  र  । छोराहरु खाडी तिर छन् भने बुहारीहरु सहर पसेका छन् । आमा बुबालाई नाती नातिनीको मुख देख्न दशैँ नै पर्खनु पर्ने भएको छ । त्यसैले गाउँ घरमा सासु बुहारीको कटाक्ष पनि छैन । त्यसकारण आजको तीजि भाकाहरुमा सासु बुहारीको छेडोखान पनि हुन छाडिसकेको छ । 


तीज पुरै फेरिएको छ । हिजो वर्षाले खाएको गोडामा फाटेको चप्पल समेतको साहारा पाउँदैनथे दिदीबहिनीहरु । र खाली खुट्टै माइत जान बाध्य थिए उनीहरु । एक झुम्रो गुन्यौँ र एक धरो चोलीको भरमा वषौँ तीज मानिरहनुपथ्र्यो । गलामा तिल्हरी ढल्काएर कम्मरमा पटुकी बाँध्दै घर माइती गर्ने रहर थियो उनीहरुलाई ।  तर आजकालका चेलीहरुलाई त्यस्तो रहर देखिँदैन । हिजो जस्तो अभावमा खिइएका  बारुली कम्मर मर्काएर चौतारी र भञ्ज्याङ्गहरुमा छमछमी नाच्नेहरु पनि कहाँ भेटिन्छन् र आजकाल !

साँच्चै तीज फेरीएको छ । सहरमा नारीहरु बेरोजगार भएका छन् । चुइगम तन्काए जस्तो लामो हिन्दी टेलिसिरियलमा आँखा पुर्याउन छाडेर बँचेको समय ‘तीज क्याफे’मा वित्न थालेको छ उनीहरुको । त्यसैले सहरमा पानी नआएर पिठिउँमा जम्मा भएको फोहोरहरु ‘कन्याइदेऊ नै है’ को बाहानामा प्रदुषित पार्दे छन् तीज । 

हिजोका चेलीहरुको कुर्कुच्चा छोपिने गरी साडी लगाउन सौख थियो । तर आजकालका चेलीहरुका साडीले घुँडा समेत छोपिन छाडेपछि तीज बिकृतिको पोल्टामा पर्ने भयो । त्यसकारण नेपालको जीवन्त कला, संस्कृति र मौलिक परम्परासँग जोडिएको हाम्रा मूल्य, मान्यता, रितिरिवाज र संस्कारहरु चेलीहरु शरिर उदाङ्गो भएझैँ नांगेझार बन्दै छ । 

भोको पेटमा अघिल्लो दिन दर खाएर भोलिपल्ट निराहार  ब्रत बस्ने नारीहरुको बेग्लै संस्कार थियो । आज महिनौँ दिन देखि बाइन र ह्विस्कीको चुस्की लगाउँदै स्टार होटलका बफे डिनरमा रम्दै ब्रत बस्ने कुराले विस्थापित गरिदिएको छ । 

सहरका केही ठाउँले सभ्यताको नयाँ नयाँ ढोँग रचे पनि उता गाउँमा बेग्लै दुःख छ । सिन्धुपाल्चोकको जुरेको पहिरोले निलेको दाजुभाई दिदीबहिनी बिचको माया, सुनकोशीले छेकेको चेली–माइतीको नाता, बाँकेमा बगेका, संखुवासभा दोलखामा कहिल्यै नमेटिने गरी पुरिएका र संखुवासभामा हराएका हजारौँ चेलीहरुको घर र माईतीमा यस पटक कसरी आउला र तीज ? 

घर गुमाएका आफन्तको चिहान खोतल्दै खुला आकासमुनी रात विताउन बाध्य हजारौँ नागरिकको अभावका भान्छाहरुमा के पाक्ला दर र मनाउलान् चेलीहरुले तीज ? यस पटक साँच्चै तीज आउने छैन, व्यथाहरुले भरिएका झुपडीहरुमा तथा बाढी पहिरोसँगै बगेका र अनिकाल जागेका झुप्राहरुमा । आउने छ त केवल सहरका बेरोजगार दिदीबहिनीहरुका क्याफेका डिनर पार्टीहरुमा चिलायो पिठिउँ कन्याइ देउन है र मुन्नी बदनाम हुई को तालमा ।



About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment