Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

आमाको मन



By  Unknown     12:14 AM    Labels: 

–रामनाथ खनाल

आज माघ नौ गते । 

त्यसो त उसको जीवनमा माघ नौ गते आएको पहिलो पटक होइन । जीवनले तीस हिउँद काटीसक्दा समेत माघ नौ गते कहिल्यै विशेष बनेन तर यस पटक उसको जीवनमा माघ नौ गते विशेष बनेर आयो । माथिङ्गलमा स्मृतिहरू चटपटाउन थाले । चलचित्रमा दृष्य घुमे झैँ पुराना दिनको झल्कोहरू ताजा हुन थाले अचानक ऊ यादहरूको भीडमा हराउन पुग्यो ।

000

उसको शैशवास्था कुन स्नेहलालीत्यमा वित्यो उसलाई सायदै ज्ञान हुन सक्थ्यो तर उसले जतिवेला संसार हेर्न, देख्न र बुझ्न सक्ने भयो र सम्झनाहरू मस्तिष्कका कोषिकाहरूले संग्रहित गर्न सक्दथ्यो त्यस उसले आफूलाई आमाको काखमा लुटपुटिँदै गरेको पायो । परिवारको एक्लो छोरो । बाबाको ममताको दह्रो काखीभन्दा आमाकोभन्दा कम ओझीलो थिएन तर पनि किन किन ऊ बाउको नजिक पर्न सानै देखी डराउँथ्यो । बाउको छेउ पर्दैनथ्यो । बाबाको हातको एक लपेटो भेटेन जीवनमा नै । आमाले उसलाई दिनमा धेरै पटक चिमोट्थिन । कुट्थिन् । तर पनि आमाकै बसेर त्यही आमासँग गुहार माग्थ्यो । ग्वाँ गरिदिन्थो । ऊ पनि कम्ताको थिएन, आमा भान्छा तीर व्यस्त हुन्थिन् ऊ अँगेनामा पानी हालि दिन्थ्यो । भाँडा माझ्न आमा जुठेन्द्रो पुग्थिन् ऊ भर्खर सफा गरेको भाँडा फोहरमा मिसाई दिन्थ्यो । हैरान पार्थ्यो आमालाई । दिक्क लगाउँथ्यो । अवाक् भएर आमाले दच्काउँथिन् । मायाले थप्पड लगाउँथिन् । तैपनि आमासँगै टासिएर घण्टौँ सुकसुकाउँथ्यो । छोरो रोएको देखेर आमा पनि मन थाम्न सक्दिनथिन् । मझेत्रोले आँखाको कोष पुछ्दै आफ्नो सुसे धन्दामा फर्किन्थिन् । उसले पाँच वर्षको हुँदासम्म आमाको लाम्टो चुस्न छोडेन । स्कुल जान थालिसक्दा समेत आमो धोतीको फेर समातेर झुत खेल्न छाडेन । उसले बाल्यकाल आमाको टाउकोमा गीर खेलेरै बितायो ।

000

बावा बलिया बाङ्गा थिए । लेकबेँसी आफैँ भ्याउँथे । मेलापात भारो पर्म आफैँ धाउँथे । गाउँलेकोमा मर्दा पर्दा उनै अघि हुन्थे । बडो मेहनती, तिलस्मी र एकोहोरो स्वभावका थिए । गाउँमा कसैको भोज भतेर भयो उनैलाई सम्झन पुग्दथे । बिहे बटुलोमा उनी भएनन् भने गाउँलेको हातै भाँचिन्थ्यो । बाटो, घाटो, मठ मन्दिर बनाउन कुलो खन्न उनी भएनन् भने काम “हल्टा” हुन्थ्यो । ठूलो श्वर थियो हल्कारा लगाएर सबैलाई काममा लगाउँथे । बाउ गाउँका नामी पुरुषु थिए ।

000

दशैँ आउन करिव महिना करिव महिना दिन हुँदो हो । बाउलाई अचानक सन्निपातको ज्वरोले च्याप्यो । दुई हल गोरु लाग्ने खेत असारमा एक्ले खने । साउनको कोदावारी खन्न पनि कोही खेताला खोजेनन् । सबैले दग्धीको ज्वरो हो भन्ने लख काटे । दश गाउँका जान्ने धामी, झाँक्रि लगाए । गाउँको औषधीमूलो सबै गरे । बुढा तँग्रिने छाँट कही कतैबाट देखिएन । दशैँ आउन पाँच दिन बाँकी थियो । घरमा ओखतीमूलोको भर गरेर बस्न नहुने निचोड गाउँका जान्ने बुझ्नेहरूले निकाले । तत्कालै सहर लैजाने निधो भयो । गाउँमा मृत्यु भएकाको लास बोक्न देखी बिहेमा डोली बोक्न तम्सने गाउँका हस्ती आफैँलाई गाउँका मानिसहरूले स्ट्रेचरमा राखेर बेँसीको बाटो हुँदै सहर लागे । घरमा दुई आमा छोराको बिचल्ली भयो । दुईवटा लैनु बकेर्नु भैँसी, एक हल गोरु, माउ पाठापाठी गरेर दश वटा बाखाहरू भोक भोकै पर्न लागे । बाउको चिन्ताले आमा मुठीभरीकी भइन् ऊ पनि बाउको चिन्ताले खाँवो सुकेको जस्तो भयो । विरामी लिएर गएकाहरूले सहरमा थुप्रै अस्पताल चाहारे । ठुला तथा महंगा अस्पतालहरूमा पुर्याए पनि बुढा ठिक हुने संकेत कहीँ कतैबाट आएन । बिरामी ज्यादै गलेकाले डक्टरहरूले पनि ठिक नहुने र घरमा नै लैँजादा उपयुक्त हुने सल्लाह दिए । सहरमा ठिक नभए पछि गाउँका मानिसहरूले बिरामीलाई घरमा नै ल्याए । सबैको आश मरिसकेको थियो । फुलपातीको सवेरै विहान बुढाले धर्ती छाडे । परिवारको मूल थाम ढल्यो । गाउँको बत्ती निभ्यो । गाउँमा रुवावासी मच्चियो । आमालाई सम्झाउन गाउँका आईमाईहरूलाई हम्मे पर्यो ।

000

परिवारमा दुर्दिन सुरु भयो । एक्लै आमाले मेलापात गर्न असम्भव भयो । छोरो भर्खर चौध पुगेर पन्ध्र टेकेको थियो । बेलैमा बाउ मरे अब व्यवहारमा पर्यो भन्थे । नभन्दै परिवारको जिम्वेवारी सबै उसको काँधमा आयो । बाउको शोकले आमा दिनदिनै सिथिल हुँदै थिइन । गाउँलेले पनि बाउ हुँदाको जस्तो सरसहयोग अ‍ैँचो पैँचो गर्न छाडेका थिए । घर व्यवहार, मेलापात, भारोपर्म चलाउन दुई आमा छोरालाई हम्मे पर्न थाल्यो । बाउको वर्ष दिन कटाउन आमाछोरालाई बाह्र वर्ष कटाउनभन्दा बढ्ता गाह्रो भयो ।

000

पुषको दिन थियो । एकाविहानै पुरोहितले छोराको विवाहको कुरो लिएर आए परिवारमा दुई आमा छोरामा मात्र थिए । एक्लि आमालाई घर सम्हाल्न धौ धौ थियो । आमा राजी भइन । उमेरले भर्खर सोह्र टेकेको र एस एल सी मात्र पढेको पढेको कलिलो छोराको बिहे गर्दिन त आमालाई मन थिएन तर आफूलाई पनि साथी हुने ठानेर छोरालाई बिहे गर्न मनाइन् । छोराको बिहे गर्न तयार भइन् । माघ पहिलो हप्ताको शुभ दिन र लग्न पारेर बिहे गर्ने निधो गरी पुरोहितलाई पक्का गर्न पठाइन् । काम कुरो छिनियो । माघ नौ गतेको शुभ लग्नमा छोराको धुमधाम बिहे भयो ।

000

बिहेको वर्ष दिनसम्म त परिवार हाँसी खुसी नै देखियो । वुहारी पनि लक्षणकी थिइन् । रुपवान् र पढे लेखेकी । परिवारमा नयाँ सदस्यको आगमनसँगै आमाको मनबाट बिस्तारै बाउको मृत्युको शोक पनि किनारा लाग्न थाल्यो । आमाको आँखाबाट बाउको मृत्युको पीडा अदृष्य बन्न थाल्यो । मेलापात जाँदा पर्म जाँदा सासू बुहारी छुँट्टिदैनथ्ये । सबैको मन लोभिने जोडी बनेको थियो सासू वुहारीको । छोरो पनि भलाद्मी थियो । बाउँको बिँडो थाम्न थालिसेकेको थियो । सबैको बिहे बटुलो, मर्दारपर्दा अगाडिनै पुग्ने बाउको स्वभाव ठ्याक्कै सरेको थियो । बाउकै बाटोमा हिँड्यो भनेर सबैले तारिफ गर्न थालेका थिए ।

000

बिस्तारै परिवारमा किचलो सुरु भयो । सासू वुहारीको जोडी देखेर आहारिस गर्नेहरूले आपसमा सासू वुहारीको कुरा काट्न थाले । सासू वुहारीको भए नभएका कुरा एक अर्कामा लगाउन थाले । एक आपसमा नङ्ग मासु झैँ टाँसिएको परिवारमा कलह निम्त्याइदिए । घर झगडा पर्न थाल्यो । दिन प्रतिदिन गाउँलेले घर झगडामा घ्यू थपिदिन्थे । सासू वुहारीलाई जुधाइदिन्थे । परिवारमा रातदिन झगडा हुन थाल्यो । दिनरातको सासूवुहारीको रडाँकोबाट वाक्क दिक्क भएर उसले आमा र श्रीमतीलाइसँगै राखेर सल्लाह गर्यो । मनाउने प्रयत्न गर्यो । गाउँलेका गलत कुरा नसुन्न अनूनय गर्यो तर केही सीप चलेन । आमा बुहारीसँग बस्न नसक्ने, श्रीमती सासूसँग टिक्न नसक्ने भयो । सासू बुहारी छुट्टिने निधो गरे । ऊ धर्मशंकटमा पर्यो । दुई जिउकी श्रीमती । उमेरले काँचो माटो । एक्ली आमालाई अलग्याएर कसरी बस्ने । के गर्ने नगर्ने सोच्नै गाह्रो भयो । ढुङ्गाको मन बनाएर छुट्टिने निधो गर्यो । आफूले मूलघर रोजेर आमालाई गोठमा सारीदियो । छोराको बिहे गरेर केकेन गरौँला भन्ठानेकी आमा अन्ततः आफैँले भित्र्याएकी बुहारीसँग मिल्न नसकेर र गाउँलेको कुरा सुनेर अलग्गीइन् । बुहारीले पनि आफ्नो मर्यादा नाघेर गाउँलेको लहैलहैमा लागेर आमा समानकी सासूलाई लत्याइन् । तत्कालका लागि घरझगडा त साम्य भयो सासू बुहारीको दुरी झनै बढ्यो । सासू हिँडेको बाटो बुहारीलाई काडाँघारी हुन्थ्यो । बुहारी बोलेको सुन्दा सासूलाई टाउको दुख्थ्यो । एकछिन् देख भेट भएन भने दुवैले दुवैको कुरा काट्न आईतवार कुर्नु पर्र्दैनथ्यो । केही दिन झगडा साम्य भए पानी पधेँरो, मेलापात सबैतीर सासू बुहारीको झगडा पर्ने र बाझाबाझ हुने क्रम रोकिएन ।

000

भदौरे झरी रोकिएको केही दिन भएको थियो । विहानै आमा पोको बोकेर दैलामा उभिइन् । छोरो गोठको धन्दा गर्न ढोका भित्र के पसेको थियो आमाले रुँदै तिमीहरूको भलाई होस् म यहाँ बस्न सक्तीन म हिँडे भन्दै घर छोड्न लागिन् । आमाको कुरा सुने र ऊ एकछिन्मा असमञ्जसमा पर्यो । रोयो । करायो । विन्ति गर्यो। केही लागेन । बुहारीले रोक्ने कोसिस गरिनन् । गए हुन्छ, कुचो लगाउनु पर्नेलाई हावाले उडायो भन्दै तिखो वचन हानिन् र कुचो बोकेर भित्र पसिन् । आमा चुपचाप बाटो तताइन् । दशधारा दुध खुवाएकी र हुर्काएकी आमा रुँदै घर छोडेर हिँड्दा उसलाई आफूले टेकेको जमीन भासिएला झैँ भयो । गाउँलेले कुरा काट्ने भयले चिन्तित भयो दगुर्दै गएर आमाको पाउ पर्यो । नजान जोड गर्यो तर आमा हेर्दाहेर्दै ओझेल परिन् ।

000

बिचरा बुढीको जाने ठाउँ नै कहाँ थियो र रु माईत जाउँ, भाइ बुहारी मात्र छन् घरमा टिक्न नसकेर आई भन्लान् । अन्त आफन्तकोमा कहाँ जाने रु कसरी जाने रु सुनेकी थिइन सहरतीर बृद्धाश्रम छ बस्न पाइन्छ । एक पेट त खान कसो नपाईएला निश्चय गरेर एक दिनको बाटो हिँडेर सहर पुगिन् । उहिल्यै बुढासँग पशुपति आएकी थिइन् । पशुपति ओरपर उभिएका बृद्धबृद्धालाई चामलपैसा उनले पनि दिएकी थिइन् । सोध्दै खोज्दै पशुपति पुगिन् । हारगुहार गरिन् । बेलिविस्तार लगाइन् । हाकिमलाई मनाइन् । एउटा कुनो पाइन् । त्यही कुनो जीवन काट्ने सहारा बन्यो । त्यहाँ मध्येकी उमेरकी उनै थिइन् । कथा सुनाउँथिन् । फुर्सद हुने वित्तिकै बत्ती कात्थिन् । विहान वेलुका खान दिन्थ्यो । कहिले कहिले बजार तिरका आएर फलफुल मिठाई बाड्थे । दुखका समुद्र तरेर हण्डर ठक्करमा बान्कि परेकाहरू नै त थिए सबै त्यहाँ । सुख त के थियो र तैपनि हाँस्दै बाँकी जीवन व्यतित गर्दै थिइन् ।

000

आमाले घर छाडेको पाँच वर्ष पछि आमाको यादले पिरोल्न थाल्यो । घर छाडेर हिँड्दै गर्दा आमाका आँखाबाट बगेका आँशुले उसलाई कता कता गिज्याएझैँ लाग्यो । बाँचेको सार हुन छाड्यो । उता श्रीमती समय समयमा माईतमा सम्पर्क गर्थी आफ्नी आमाको हालखवर सोध्थी । आफ्नी आमा विसञ्चो हुँदा दुईचार छाक भात खाँदिनथी तर यता आफ्नी आमा कहाँछिन् के गर्दैछिन् अत्तोपत्तो थिएन । आमाले घर छोडेर हिँडेको दिनदेखी ऊ नितान्त एक्लिएको थियो । छोरो पाँच पुगेर छ लागिसेको थियो । कतै, कुनै दिन कसैको मुखबाट यो कुरा सुन्यो भने के होला रु छोराले के भन्ठान्ला भन्ने भयले चिन्तित हुन थालेको थियो । अचानक माघ नौ गते संयोगले उसको विवाहको र आमाको जन्म दिन एकै दिन परेकाले यसलाई आमाको यादा गाढा भएर आयो निश्चय गरेर ऊ श्रीमतीसँग सहर जाने बहानाले आमाको खोजीमा निस्कियो । सोध्दै खोज्दै सहरका अनेक बृद्धाश्रम चहार्दै बल्ल तल्ल आमा बसेको ठाउँ पत्तालगायो ।

पाँच वर्षकै अवधिमा आमा निकै फेरीईछिन् । नजिकबाटै देख्यो । ढोग गर्यो । कसैको जन्म दिनको सन्दर्भमा बाँडिएको फलफुल पाएर मख्ख पर्दै आमा फुरुङ्ग थिइन् तर नजिकैको छोरो प्रति बेखवर । आमा हो भन्ने निधो गरेर ऊ आमा समिप पुग्यो दण्डवत् गर्यो । आमाको लागि ल्याइदिएको मिठाईको कोसेली फोयो । आमाको हातमा थमायो । धेरै वर्ष पछि छोरा भेट्न पाउँदा आमाका आँखामा अचानक आँशु पोखियो । आँशु चुहाँउदै आमाले नाति र बुहारीको हाल सोधिन् । सञ्चै र आराम रहेको बताए पछि आमा खुसी भइन् । धेरै वर्षपछि आमा भेट्न पाउँदा उसले पनि मन थाम्न सकेन । केहीबेर भलाकुसारी गर्यो । आमालाई घर फर्कन आग्रह गर्यो तर आमाले अन्कनाइन् । धेरै बेर रोकिएर जान्न भनिन् । उसले खुसी साथ राख्ने र वुहारीलाई पनि सम्झाउँछु भन्दै मनाउने प्रयत्न गर्यो । अहँ आमाले मानीनन् । बरु तिमीहरूको राम्रो होस् तिमीहरूको खुसी नै मेरो खुसी हो भन्दै फराकिलो छाती देखाइन् ।

धन्य आमाको मन् छोराछोरीले जति नै दुःख पिर दिए पनि उल्टै छोराछोरीको खुसी चाहने आमाको फराकिलो मन देखेर तथा वर्षौ पछि आमाको जन्मदिनको खुसी साट्न पाएकोमा खुसी भएर आमासँग आशिर्वाद मागेर घर फर्कियो । तर पनि मन कुँडिनै रह्यो । अस्तु ।

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment