(पितृ तर्पण विशेष)
रामनाथ खनाल/बुढी आमा र देश/२०७०
पिताको कोमल सामिप्यतामा
कखराका वर्णहरु ठम्याँउदै
धुलेटो भित्र म शब्द रङ्ग्याँउथें
मैले देख्थेँ
त्यो अरिमुठ्डे जुँगा
मैलिएको र खुम्चिएको
रुप विग्रीएर कत्ला परेको
घुँडा नछोपिने छोटो धोती
म सोच्थेँ
संसारकै पहलमान र वलवानको कोटिमा
भयानक र डरलाग्दो पङ्तिमा
कोही छन् भने ति
मेरा ‘बा’ नै हुन्
समयको बिहानीसँगै
कुमालेको चक्रसरि
म मा चढ्न थाले
जवानिका रङ्गहरु
फेरिन थाले आनिवानि र ढङ्गहरु
अनि म सोच्न थाले
धाँजा फाटेका निधारहरु
कुप्रिएर झुत्रीएको शरीर
मटानमा असरेल्ल चाहनाहरू
लाग्न थाल्यो त्यो जीर्ण शरिर
म भन्दा कयौँ गुणा कमजोर छ
अनि रूप थन्किएका
अनि तन ओईलाएका वृद्ध रङ्गले
मेरै जवानी गिज्याईरहे छ
प्रकारान्तरले अस्तायो डाँडाको घाम
निभ्यो सम्साँझै दियो
मुल थाम ढल्यो
धकेलिरह्यो निर्निमेष जिम्मेवारीले
निर्मम चुसिरह्यो अभावहरूले
लुछिरह्यो सन्ततिका इच्छा र चाहनाहरूले
अर्को बिहानीसँगै
अनायसै झप्प ठोसाएका दाह्रीहरु
फुल्न र पाक्न थाले
केशराशीहरूले तालु छोड्नथाले
आँखाहरूबाट आकृतीहरू ओझेल पर्नथाले
अनि वलेसीहरू टाढा लाग्न थाले
अब लाग्दैछ,
दिनहरु पातलीए हुन्थ्यो
अनि रात देखा नपरेहुन्थ्यो
त्यो मृत्युरूपी शैयाले
मलाई बिर्सेजस्तो छ
नातीनातिना, छोरा र बूहारीका कर्कश
अपहेलनाका काँडेदार वचन
दारुण मृत्यु भन्दा कठोर र पीडादायी छ ।
No comments:
Post a Comment