-रामनाथ खनाल
केही महिना अघि राजधानीको एउटा प्रतिष्ठित शिक्षण संस्था त्रिचन्द्र कलेजको वीपी पुस्तकालयमा आगो लगाईयो र क्षणभरमा नै खरानीमा परिणत गरियो । आगो कसले किन र के उद्देश्यका लागि लगाएको थियो भन्ने विषयमा धेरैलाई टाउको दुखाईको विषय नबने पनि नाफा नोक्सानबाट हेरिने हाम्रो उच्च राजनीतिक संस्कारमा यसले कुन पक्षलाई कति फाइदा पुग्यो त्यो उनीहरुले मुल्यांकन गरे होलान् । तर शिक्षण संस्था जस्तो पवित्र स्थलको प्राङ्गणमा रहेको विद्यार्थीहरुको ज्ञान आर्जन गर्ने महत्वपूर्ण ठाउँ पुस्तकालयमा आगो झोसेर फैलाएको विद्रुप धुँवाको मुस्लोले हाम्रा युवा विद्यार्थीहरुको सिर्जनशील मस्तिष्कलाई पक्कै दिशाहिन् तुल्याएको हुनुपर्दछ ।
अर्को कुरा पुस्तकालयलार्ई आगोको राफमा सेकाइनु केही वेर अघि त्यही प्राङ्गण अर्को दुखद घटना घटेको थियो । त्यही क्याम्पसमा अध्ययनरत विद्यार्थीले सोही क्याम्पसमा अध्ययन गर्ने अर्का विद्यार्थीलाई खुकुरी हानेर रक्ताम्य बनाइदिएका थिए । नेवि संघको आवरणमा हुर्किएको अपराधतन्त्र एवम् कुकृत्यको पराकाष्टा थियो त्यो । सँगै त्यसैको आवेगमा अनेरास्ववियुका प्रगतिशील पंक्तिले पुस्तकालयमा झोसेको परिवर्तनकारी आगोको लप्काले क्षणभरमानै पुस्तकालय खरानी बनेको थियो ।
यि दुई विद्यार्थी संगठनबीच त्रिचन्द्र क्याम्पसमा घट्ने श्रृङ्खलाबद्ध तथा अन्त्यहिन् लडाइँ झगडाले इतिहासको फोहरको कन्टेनरमा फालिएको दशकौँ अघिको राष्ट्रबादी विद्यार्थी मण्डलको आवरण हुर्किको उच्छृङ्खलता र उद्दण्डतालाई विर्साइदिएको छ । र विद्यार्थी आन्दोलनको ओझपूर्ण पृष्ठभूमिमा कालो पोतिदिएको छ ।
उसो त अहिलेको विद्यार्थी आन्दोलन बदनामीको बाटो भएर अघि बढिरहेको छ भन्दा अतिउक्ती हुँदैन । विरासतपूर्ण विद्यार्थी आन्दोलनमा विकृति पोतिएको छ । जयतु संस्कृतम आन्दोलन देखि आज सम्म आइपुग्दा विद्यार्थी आन्दोलनले ६ दशक भन्दा लामो समय गुजारिसकेको छ । तर विद्यार्थी आन्दोलनमा तोडफोड, आगजनी, बन्दहड्ताल र विध्वंसपूर्ण गतिविधिहरु फेरिन सकेका छैनन् । न शिक्षण संस्थाहरुनै फेरिएका छन्, न शिक्षाको विकासले उपयुक्त गति नै लिन सकेको छ । बरु शिक्षण संस्था भ्रष्टाचार, अनियमितताको दलदलमा फसेका छन् र विद्यार्थी संगठनहरु रमिते बनेका छन् ।
विद्यार्थी राजनीतिको आवरण हुर्किएको वयस्क एवम् गैह्र विद्यार्थी राजनीतिको चपेटा विद्यार्थीसंगठनहरु परेका छन् । र क्रमशः विद्यार्थी आन्दोलनबाट उनीहरु स्खलित बन्न पुगेका छन् । उनीहरुसँग न ६० वर्षे आन्दोलनको समिक्षा छ, न बर्तमानका लागि शैक्षिक आन्दोलनको प्रष्ट खाका नै । न त उनीहरुसँग भविष्यका लागि फराकिलो योजना छ । उनीहरुसँग छ त केवल हिंसा भरिएको दिमाख, विनास निम्त्याउन अग्रसर मुठ्ठिहरु र फेरिन नसकेको आन्दोलनको मार्गचित्र । यो प्रकृतिको आन्दोलनको बाटोबाट आजको नेपालको शैक्षिक उन्नती, प्राज्ञिक उन्नयन र बहुपक्षीय शैक्षिक विकास केवल कोरा कल्पना मात्र हो भन्दा फरक पर्दैन ।
विद्यार्थी संगठनहरुले शिक्षण संस्थाको गेट र भित्ताहरुमा सजाएका आकर्षक नाराहरु केवल नारामा सिमित भएका छन् । त्यसमा परिवर्तनको कुनै छनक भेटिँदैन । हिजोको पुस्ताले निर्माण गरेको परिवर्तनको मार्गलाई लत्याएर विद्यार्थी आन्दोलनलाई विकृत नबनाएको भए मात्रै पनि विद्यार्थी आन्दोलन बदनामपूर्ण बन्दैनथ्यो । तर विद्यार्थी आन्दोलनको नाममा शिक्षण संस्थाको गेट कुर्ने र शिक्षण संस्थाहरु बन्द हड्ताल गर्ने, क्याम्पसका गेट अगाडि धर्ना, नाराजुलुस, आगजनी, तोडफोड गर्ने संस्कारबाट माथि उठाएर सिर्जनात्मक रुपान्तरणको दिशाबोध गर्न नसक्दा इतिहासमै विद्यार्थी आन्दोलन कलंकित बन्न पुगेको छ ।
देशका शैक्षिक केन्द्रहरु एकपछि अर्को बदनामीको सिकार भएका छन् । अनियमितताका अखडा बनेका छन् । पुर्वाञ्चल विश्वविद्यालय जीवन र मरणको दोसाँधमा छ, थपिएका अन्य विश्वविद्यालय भ्रष्टाचार र कमाइखाने उत्कृष्ट स्थानमा परिणत भएका छन् । देशकै पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको हालत दिनानु दिन जिर्ण बन्दैछ भने आज विद्यार्थी आन्दोलनको के उपादेयता ?
दिन प्रतिदिन महंगिँदै गएको शिक्षा नागरिकहरुका लागि महंगो बाध्यता बनिरहँदा स्थापनाकाल देखि नै विद्यार्थी संगठनहरुले उठाउँदै आएको सर्वसुलभ शिक्षा ग्रहण गर्न अझ कति दशक पर्खनु पर्दछ ? शिक्षा अनुत्पादक अस्त्र भएर लाखौँ युवाहरु बेरोजगारको पंक्तिमा लामबद्ध बन्दै गर्दा उत्पादनमूलक शिक्षा ग्रहण गर्न पाउने अवस्था निर्माणका लागि अझ कति मसाल सल्काउन बाँकी छ ? देशमा रोजगारीको सम्भावना नहुँदा विश्वविद्यालयले दिएको शैक्षिक योग्यताको प्रमाणपत्र दराजमा थन्क्याएर खाडिमा पस्न बाध्य युवाहरुलाई मुलुकमै रोक्नका लागि रोजगारमूलक शिक्षा दिने व्यवस्था निर्माणको दायित्व विद्यार्थी संगठनको काँधमा पर्छ कि पर्दैन ? तर यसको बारेमा विद्यार्थी संगठनहरु मौन छन् ।
दिनानु दिन त्रिविबाट विद्यार्थीहरु अन्यत्र बसाइँ सर्न थालेका छन् । वर्षेनी त्रिविको विद्यार्थी भर्नादर घट्दो छ । यसको फाइदा उठाउँदै प्राइभेट कलेजहरुले फस्टाउने अवसर पाएका छन् । सिटिइभिटी लगायतका प्रािवधिक शिक्षण संस्थाहरुमा मोटो रकम चलखेल हुने गर्दछ । तर विद्यार्थी संगठनहरु विद्यार्थी हक अधिकारको वकालत गरेर नथाक्ने तर परिवर्तनको सिन्को पनि नभाँच्ने हो भने विद्यार्थीको वास्तविक अधिकारको पैरवी कसले गरिदिने ? त्यतीवेला विद्यार्थी संगठनको के औचित्य रहन्छ ? त्यसकारण विद्यार्थी संगठन भित्र अहिले हुर्कँदै गरेको प्रवृत्तिबारे विद्यार्थी संगठन स्वयम्ले निर्मम समिक्षा गर्नु पर्दछ ।
समय र परिस्थितिलाई ठिक ढंगले बुझेर अगाडिको यात्रा तय गर्ने हो भने विद्यार्थी आन्दोलनले सहि दिशा ग्रहण गर्न सक्छ । तर विद्यार्थी संगठनको नाममा अराजकतन्त्रलाई नेतृत्वका पगरी गुथाउने र सामान्य आवेगमा शिक्षण संस्था भित्र खुकुरी निकाल्ने, पेस्तोल पड्काउने र लाइवे्ररीमा आगो सल्काउने हो भने शिक्षण संस्थाहरु विद्यार्थी संगठन निषेधित क्षेत्र बन्न सक्छन् । किन भने आफ्नो अधिकार प्राप्तिको लागि अरुको अधिकार हनन् गर्ने छुट कोही कसैलाई हुँदैन र छैन । विद्यार्थी आन्दोलनको नयाँ दिशाबारे अहिले नै सोच्ने कि ?
http://nepalpationline.com/ramnath-khanal-article
http://nepalpationline.com/ramnath-khanal-article
No comments:
Post a Comment