के तिमीले देख्यौ ?
फेरी न्याय मरेको
लमतन्न
आङ पसारेर
खुट्टा तन्काएर
बुद्धको दुई आँखा मुन्तिर
स्वयम्भुको फेदीमा
निश्चय पनि
तिम्रा आँखा पुगे होलान्
र पनि देखेनौ तिमीले
कारण
न्याय अन्याय छुट्याउने
तिम्रा तराजु
आँखा छोपिएको
मुर्तिवत् मान्छेले झुण्ड्याएको
वर्षौँ भइसक्यो
अदालतको कठबारमा खडा गरेर
कानुनका ठेली पल्टाएर
बहस पैरवी गर्ने
यहाँका मान्छेहरु
कालो बर्दीमा मात्र छैनन्
उनीहरुको मन पनि
उत्तिकै कालो पोतिएको छ
त्यसकारण
यो देशमा यसैगरी
न्याय मरिरहने छ
हरिया नोट भरिएका मगजले
वकालत गर्दैमा
कहाँ रोकिन्छ र ?
जवसम्म
डलरको आडमा
आडम्वरी भजन गाउन
र न्यायको खेती गर्नेहरुले
न्यायको सुकिलो
झण्डा फहराउन छोड्दैनन्
तव सम्म न्यायको आशमा
अनेकौँ नन्दप्रसादहरु
यसैगरी लम्पसार परिहनु पर्नेछ ।
©रामनाथ खनाल
जोरपाटी–४, काठमाडौँ
No comments:
Post a Comment