-रामनाथ खनाल
डोटीको जोरायलबाट धनगढी जाँदै गरेको सुदूरपश्चिम यातायात ना३ख ५७०७ नम्बरको बस गत सोमबार दिउँसो ३ बजे डोटीको छतिवन–५ कटपत्तेमा दुर्घटना हुँदा ३० नागरिकको जीवनलिला समाप्त भयो ।परिवारजनसँग खुसी साट्दै दसैँ मनाएर रोजगारीका लागि भारत फर्कन लागेका स्थानीयबासी सामूहिक रुपमा दुर्घटनामा सिकार भए ।
स्थानीयका अनुसार क्षमताभन्दा तेब्बर यात्रु बोकेको बस अधिक मानव भारका कारण साँघुरो घुम्ती काट्न नसक्दा सडकबाट करिब अढाइ सय मिटर तल खस्न पुगेको थियो ।
दुर्घटनामा परेका मध्ये ३० जनाको मृत्यु भैसकेको छ भने ६२ जना सख्त घाइते भएका छन् । उनीहरुको राजधानी लगायतका विभिन्न अस्पताहरुमा उपचार भइरहेको छ । स्थानीयका अनुसार बसमा सवार अधिकांश रोजगारीका लागि भारत जान बस चढेका थिए । उक्त दुर्घटनाबाट डोटी सरस्वतीनगरकै मात्रै एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । दसैंमा घर आएका अधिकांश व्यक्ति रोजगारीका लागि भारततिर फर्कने क्रममा दुर्घटनामा परेर ज्यान गुमाएपछि सिंगो आँशुमा डुवेको छ । कयौँको सहारा गुमेको छ ।
‘दसैंको टीका सकेर काममा फर्कँदै थिए,’ एक स्थानियले रुँदै भने, ‘दैवले हामीलाई यस्तो विपत्तिमा पार्यो, गाउँका सवैलाई एकै चिहान बनायो ।’ एक वर्षयता डोटी छतिवनको भीमदत्त राजमार्ग र शाखा सडकमा मात्र दर्जनभन्दा बढी दुर्घटना भइसकेको र ७० भन्दा बढीको मृत्यु भएको प्रहरी तथ्यांक छ ।
त्यस्तै गत मंगलबार काठमाडौंबाट घुर्मीतर्फ जाँदै गरेको मोटरसाइकल र घुर्मीबाट काठमाडौं जाँदै गरेको जीप एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भयो र सात जना घाइते भए ।
काठमाडौंबाट घुर्मीतर्फ जाँदै गरेको बा ५८ प १८०३ नं. को मोटरसाइकल र घुर्मीबाट काठमाडौंतर्फ जादै गरेको ना१ज ३७८९ नं. को जीप मध्य पहाडी लोकमार्ग अन्तर्गत भुवनेश्वरी–८ मा एक आपसमा ठोक्किएका थिए । एक आपसमा ठोक्किएपछि जीप ६० मिटर तल सुनकोसीमा खसेको थियो । जीपमा सवार ११ जनामध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको थियो । चालक सहित ७ जना घाइते फेला परेका थिए भने दुई जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर नरेशराज सुबेदीले जानकारी दिएका छन् ।
उता मोटरसाइकलमा सवार दुई जना भने सामान्य घाइते भएका छन् । मोटरसाइकललाई बचाउने क्रममा बलेरो जीप सुनकोसीमा खसेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
यो साता मात्रै यस्ता विभिन्न सडक दुर्घटनाबाट तीन दर्जन बढी नागरिकले अनाहकमा ज्यान गुमाए । जीवनका सप्तरंगी सपना आँखामा सजाएर गन्तव्यमा पुग्न गाडिको सहायता रोजेका नागरिकहरुका एकमुष्ट सपना कतै भिरबाट पल्टियो त कतै एक आपसमा सवारी साधनसँगै जुधेर गाडिका सिसाहरु फुटे जस्तै गरी चकनाचुर भयो । धेरैको जीवनको दौडधुप समाप्त भयो ।
नागरिकका मृत्युप्रति सरकारका प्रधानमन्त्री सुशील कोइरालले सहानुभुतिका केही मिठा शव्द खर्चिएर केवल औपचारिकता पुरा गरे । जुरेको पहाड खसेर डेढ सय नागरिकको सुनकोशी नदीमा एकै चिहान हुँदा दुःख साट्ने फुर्सद नपाएका जनताका प्रधानमन्त्रीले सहानुभुतिको शव्द खर्चनु चानचुने कुरा त थिएन । त्यसमाथि उनले दुर्घटना न्युनिकरणका लागि संस्थागत पहलको श्रीगणेश गर्ने बचनबद्धता समेत गरेका छन् ।
त्यसो त नेपालको भौगोलिक जटिलतालाई दोश दिएर गाडि दुर्घटनालाई स्वभाविक दुर्घटनाको संज्ञा दिने र घटनालाई अति सामान्यिकरण गर्ने पण्डितहरुको पनि कमी छैन यहाँ । प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले थोत्रा तथा पुराना गाडी चलाएर याताायात दुर्घटना बढेको मनोगत तर्क गर्यो । अर्को सत्तासाँझेदार दल एमालेका नेता माधव नेपालले सडक दुर्घटनाले सडक निर्माण, सडकको आधारमा सवारी साधन सञ्चालन गर्ने अनुमति, सवारी साधनको अवस्था, चालक, परिचालक तथा सञ्चालकलाई आवश्यक ज्ञान जस्ता कैयन विषयमा एकै पटक संस्थागत सुधार गर्नुपर्ने आवश्यकता बोध गर्नु पर्ने बताए । ‘यी कार्यहरुलाई व्यवस्थित गर्न निर्मित सरकारी तथा अन्य निकायहरुको ध्यान विशेष रुपमा आकर्षित गर्दछुु’ दुर्घनापछि उनले भने ‘यसका साथै सडक, सवारी साधन र चालकको अवस्था एवम् यसका आधारमा जनस्तरबाट निर्वाह गरिनुपर्ने भूमिकाका बारेमा समेत पर्याप्त जनचेतना अभिवृद्धि गर्न सकेमा मात्र भविष्यमा यस प्रकारका दुर्घटनाका खवरहरु कहिल्यै सुन्नुपर्ने छैन ।’ यसरी उनले पनि दुर्घटनाबाट आफू मर्माहत भएको भान जनमान पारे ।
यस्तै एमाले उपाध्यक्ष भीम रावलले डोटी जिल्लाको जोरायलबाट बुडर आउँदै गरेको यात्रु बस छतिवन गाविसमा दुर्घटनाग्रस्त भई ३० जनाको मृत्यु भएको खवरले आफू स्तब्ध र मर्माहत भएको बताए । उनले विज्ञप्ती निकालेर यात्रुहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पु¥याउनु यातायात व्यवसायीहरुको कर्तव्य भएको उल्लेख गरे । पूर्व गृहमन्त्री समेत रहेका रावलले सोही अनुरुप नियम कानूनद्वारा सुरक्षित भरपर्दो रुपमा चलाउन निर्देशित गर्नु प्रशासन र प्रहरीको कर्तब्य भएको स्मरण गराए ।
दुर्घटनाको छानबिन गहिरो गर्नुका साथै आगामी दिनहरुमा यस प्रकारका विभत्स दुर्घटना रोक्ने तर्फ सरकार लगायत सम्बन्धित निकायको ध्यान जाओस् भन्ने माग गर्दै उनले दुर्घटनालाई सामान्यिकरण गर्ने प्रयत्न गरे । दलका यि र यस्ता धारणा सँगै अव दुर्घटना परिवार र आफन्तजन बाहेक अन्यका आँखाबाट अदृष्य भैसकेको छ ।
सडक दुर्घटना पछिका केही दिनहरु सरकारका प्रधानमन्त्री, मन्त्रीहरु, सरकारका अधिकारीहरु, प्रशासकहरु, सुरक्षा निकाय तथा सरोकारवालाहरुको ध्यानाकर्षण भएको जस्तो देखिन्छ तर दुर्घटना पछि यससम्बन्धमा कहिँ कतै कसैको चासो रहँदैन । आखिर किन घटिरहेका छन् त यस्ता गम्भीर र विभत्स सडक दुर्घटनाहरु मुलुकमा दिन प्रतिदिन ?
हाल सम्म घटेका घटनाहरुको प्रकृति हेर्ने हो भने अधिकांश सडक दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको पाइन्छ । नियमितजसो भइरहेका सडक दुर्घटनालाई भवितव्य, आकस्मिक दुर्घटना मानेर वा भौगोलिक जटिलता, साँघुरो बाटो, मोड तथा घुम्तीहरु र पुराना गाडी आदिलाई मात्र दोस दिएर उम्कन मिल्ने अवस्था छैन ।
मुलुकका यातायात व्यवसायीहरुलाई देशको मौजुदा कानूनले छुँदैन । चालक तथा सहचालक एवम् सहयोगीहरुलाई गाडीको स्टेरिङ समात्न जानेपछि देशको प्रचलित नियम कानून मानिरहनु पर्ने बाध्यता पर्दैन । कति यात्रु हाल्ने ?, कसरी हाल्ने ?, कुन तरिकाले चलाउने ? भन्ने कुरा चालकको विवेकमा मात्र निर्भर हुन्छ । यसकारण सडक दुर्घटना भवितव्य मात्र होइन अनिवार्य बन्ने गरेको छ । यो कुरा दुर्घना पछि बन्ने छानविन समितिका प्रतिवेदनहरुमा ठोस रुपमा आउन नसके पनि, छिपाइए पनि कहिँ कतै लुक्न सक्तैन ।
यातायात दुर्घटना न्यूनिकरणका लागि संस्थागत प्रयास थाल्ने उद्घोष गरेका मुलुकका प्रधानमन्त्री तथा आफूलाई लोकतन्त्रको मसिहा ठान्ने पार्टी नेपाली कांग्रेसका सभापति ज्यूलाई के थाहा कि देशको यातायातमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र केही पनि छैन यहाँ त केवल मनपरीतन्त्र मात्रै छ ।
कति भाडा लिने, कुन यात्रु कहाँ चढाउने, कहाँ ओराल्ने र कुन गतिमा सवारी चलाउने भन्ने राज्यले बनाएको नियम यहाँका सिण्डिकेटधारी यातायात व्यवसायीहरुले मान्नुपर्ने कुनै बाध्यता छैन । यसैकारणले गर्दा सयौँको संख्यामा नागरिकहरुले विभत्स मृत्युवरण गर्न बाध्य भैरहेका छन् । यसको जिउँदो जाग्दो दृष्टान्त हो दैनिकजसो हुने दुर्घटनाहरु । तर यसतर्फ कसैको ध्यान पुगेको देखिँदैन ।
विश्वकै यातायात व्यवस्थाको चुनौती मानिएको माइक्रो तथा साना गाडीहरु काठमाडौँ उपत्यका लगायत उपत्यका बाहिरका विभिन्न स्थानहरुमा हाल निर्वाध रुपमा सञ्चालनमा छन् । यस्ता साना सवारी साधानहरुले नागरिकको निर्वाध र सहज तरिकाले आवतजावत गर्न पाउने अधिकारको कत्लेआम मात्र गरेका छैनन् खुलेआम नागरिकहरुलाई मृत्यु पुरस्कार बाँडिरहेका छन् । र छेवैमा उभिएका ट्राफिक प्रहरीहरु मुक दर्शक र रमिते बनिरहेका छन् ।
११ जना अट्ने गाडीमा २२ जना कोचेर पशुसरह एवम् अमानवीय तरिकाले मानिसहरुलाई यात्रा गर्न बाध्य बनाउने, विचबाटोमै गाडि तेर्स्याएर यात्रु चढाउने, ओराल्ने र अनियन्त्रित हिसावले गाडि कुदाउने माइक्रो बसका सामान्य गतिविधि नै हुन् । यसकारण उपत्यका पनि सडक दुर्घटनाको उच्च जोखिममा रहेको छ ।
त्यस्तै उपत्यका वाहिर चल्ने अधिकांश ठूला सवारी साधनको अवस्था पनि उस्तै छ । एकले अर्कालाई उछिन्ने (ओभरटेक) गर्ने बाहानामा अनियन्त्रित गतिमा सवारी चलाउने, क्षमता भन्दा तेव्वर यात्रु राखेर सवारी चलाउने, चालकहरुलाई सवारी, बाटोको अवस्था तथा गाडीको अवस्था तथा सन्तुलनको बारेमा खासै चासो नहुने आदि कारणले दुर्घटनाका घटनामा बढोत्तरी भैरहेको छ । तर यति हुँदा हुँदै पनि भौगोलिक जटिलतालाई र पुराना गाडिलाई मात्र दोस दिएर यातायात व्यवसायी र चालकहरुलाई चोख्याउनेहरुको कमि छैन यहाँ ।
मुलुकको यातायात व्यवस्था नागरिकका लागि दुःखद् बाध्यता बनेको छ । नजाउँ गन्तव्यमा पुग्न नसकिने, जाउँ कतिखेर मृत्यु टुप्लुक्क अघिल्तिर आइपुग्ने हो यकिनै नहुने अवस्थाबाट नागरिकहरु यातायातका साधनहरु चढ्न विवश छन् । तर सरोकारवालाहरु भने दुर्घटना पछि गोहीले आँशु झारे जस्तै दुःख पुकार गर्ने र त्यसपछि चुपचाप बस्ने गर्दछन् । यस्तो परिपाटीबाट नागरिकको दुखद् देहावशान्को श्रृङ्खला रोकिन किमार्थ सम्भव छैन ।
यसरी दैनिकजसो हुने दुर्घटना न्यूनिकरणका लागि यातायात क्षेत्रमा बाध्यकारी कानून निर्माण र अक्षरस पालनाको आवश्यकता पर्दछ । कुन रुटमा कति यात्रु हाल्ने, यात्रुको सुरक्षा के कस्तो हुने, चालक सहचालकले ध्यान पुर्याउने पर्ने कुराहरु त्था उनीहरुको क्षमता र दक्षता कसरी बढाउने, सडकको स्तरोन्नती गर्ने तथा लेन अनुशासन र ट्राफिक नियमलाई कडाइका साथ लागू गराउन सक्ने हो भने दुर्घटनामा कमी ल्याउन सकिन्छ ।
साथै दुर्घटनामा परेका बेला सहानुभुति मात्रै बाढ्ने भन्दा पनि सरकारले यातायात क्षेत्रको सिण्डिकेट तोड्ने र प्रतिष्पर्धालाई सर्वस्वीकार्य बनाउने, बैज्ञानिक भाडा दर कायम गराउने, पुराना गाडिहरु प्रतिस्थापन गर्ने, सडक इजाजत तथा क्षमता भन्दा बढी यात्रु राखेर सवारी चलाउनेलाई कडा भन्दा कडा कारवाहीको व्यवस्था गर्ने हो भने दुर्घटनाको समाचार बन्नुपर्ने र बनाउनुपर्ने बाध्यता पर्दैनथ्यो की ? यसमा सरोकारवालाको ध्यान जावोस् ।
No comments:
Post a Comment