Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

जसको रगतले बनेको छ अनेरास्ववियु



By  Unknown     5:43 PM    Labels: 
- रामनाथ खनाल

मुलुक पञ्चायतको पिंजडामा कैद थियो । नागरिकहरु कैदी जस्तो अमानवीय जीवन विताउन बाध्य थिए । शासकहरु नागरिहरुको लास माथी टेकेर फरमान जारी गर्थे । कारणविनै उनीहरु नागरिकहरुको टाउकोमा बन्दुक राख्थे र मृत्यु पुरस्कार दिन्थ्ये । सिंगै धर्ती तानाशाही पञ्चायती व्यवस्थाको विरुद्ध चुँ गर्न सक्दैथ्यो । परिवर्तनको पक्षमा आवाज बुलन्द पार्दै गर्दा निरंकुश पञ्चायती काला रातहरुमा थुप्रै धर्तीहरु रगताम्य हुन पुगे ।

नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र रामनाथ दाहालको आलो रगतले सिंगै सुखानीको जंगल सिञ्चित भयो । देऊमाईको किनार शहीद रत्नकुमार वान्तवाको रगतले भिज्यो । इली थामी र बीरबहादुर थामीहरुको रगतले पिस्कर भूमि रक्तिम बन्यो । धनकुटाको छिन्ताङ, मोरङको रमाईलो झोँडा, कुलझोँडा र तामागढीका सुकुम्वासी बस्तीहरु पञ्चायती दमनको निर्मम सिकार भए । ओखलढुंगाको टिमुरबोट, सिन्धुलीको भीमानमा पनि पञ्चायती शासकहरुले निहत्था जनताको कत्लेआम गरे । कयौँ मारिए । थुप्रै वेपत्ता बनाइए । पञ्चायती शासकहरुले गाउँ छाड्न उर्दी जारी गरे । परिमाणतः सिंगै धर्ती पञ्चायती शासकका विरुद्ध एक ढिक्का भयो । मुलुकमा परिवर्तनका राता घामहरु पारिलो हुन थाले ।

 हेमन्त ऋतु अन्तर्गत मंसिरको महिना थियो । आकाशमा बादलका रेखाहरु फाट्ट फुट्ट भेटिन्थे । बाहिर छर्लङ्ग घाम लागेको थियो । तर पनि धर्ती अझै उज्यालो थिएन । पञ्चायती कालो रात चिर्न सायद सूर्यको उज्यालो रश्मी पनि असमर्थ थियो । किसानहरु खेतमा धान थन्क्याउने चटारोमा थिए । ठिक त्यतीनै वेला एकाएक विराटनगरमा गोली चल्यो ।

एकाविहानै फणिन्द्रराज तिम्सिनाको रगतले मोरङको बिराटनगर बजार चुर्लुम्म भिज्यो । पञ्चायत–कांग्रेसको अपवित्र गठबन्धनले क्रान्तिको फिलिङ्गो निभाउन बन्दुकको सहारा लियो । मुलुक परिवर्तनको सप्तरंगी सपना आँखामा सजाएर क्रान्तिको रातो झण्डा फहराउँदै हिँडेको एक बहादुर सिपाहीलाई दिनदहाडै महेन्द्र मोरङ क्याम्पसमा कत्लेआम गरियो ।

पञ्चायत ढाल्न निर्मम संघर्ष गरेको कांग्रेसका तत्कालिन नेताहरुले परिवर्तनको ज्वारभाटा बोकेर पुर्वमा परिर्वतनको क्षितिज उघार्नकै लागि क्रान्ति मार्गमा हिँडेको योद्धाको इहलिला समाप्त पार्न पञ्चायतको सहारा लियो । 

कसले गर्यो हत्या ?

महेन्द्र मोरङ क्याम्पस तत्कालिन अनेरास्ववियु पाचौँको पकडमा थियो । विराटननगर नेपाली कांग्रेसका तत्कालिन नेता गिरिजाप्रसाद कोइरालाको पुख्र्यौली थातथलो पनि थियो । र त्यहीँबाट उनले राजनीतिको श्रीगणेश गरेका थिए । त्यसैले विराटनगरको नाकै मुनी रहेको महेन्द्र मोरङ क्याम्पस अनेरास्ववियुको पकडमा रहेको उनले देख्न र सुन्न चाहँदैनथे । त्यसकारण वि.सं २०३८ असोज ११ गते हुन लागेको विद्यार्थीहरुको स्ववियु निर्वाचनमा कुनै पनि हालतमा नेवि संघलाई जिताउन गिरिजाले उर्दी जारी गरे । क्याम्पसमा  तत्कालिन पञ्चायतमा रहेका कमल थापाको नेतृत्वको राष्ट्रवादी विद्यार्थी मण्डलको खासै उपस्थिति थिएन । त्यसकारण मण्डले विद्यार्थीहरुले पनि कांग्रेसलाई सघाउन तयार थिए ।

पुर्वाञ्चलको बिद्यार्थी आन्दोलनको केन्द्र मानिने उक्त क्याम्पसमा फणिन्द्र मानविकी तर्फ स्नातक तहमा अध्ययनरत थिए । त्रिवि प्रशासनले उक्त स्ववियु निर्वाचनमा देशभरी पंचायती प्रशासनको उक्साहटमा नेविसंघ र राष्ट्रबादी विद्यार्थी मण्डलका विद्यार्थीहरु उक्साएर ठाउँ–ठाउँमा आतंक सिर्जना गरेको थियो ।

जसरी भएपनि स्ववियू कब्जा गरी छाड्ने उनीहरुको नीति भएपनि त्यहाँ अनेरास्ववियु (पाँचौ)को विजय निश्चित जस्तो देखेपछि उनीहरु अताल्लिएका थिए ।  पञ्चायती प्रशासनको सहयोग प्राप्त गरी तीर, धनुष र विविध हतियार सहित नेविसंघका नेताहरुले निर्वाचन भैरहेको स्थानमा आक्रमण गरी मतपेटिका र मतपत्र बाहिर ल्याएर जलाएको त्यसबेलाका प्रत्यक्षदर्शीहको भनाई रहेको छ ।

नेविसंघको सभापतिको उम्मेदवार बनेका विजय गच्छेदारले क्याम्पस प्रमुखको कञ्चटमा पेस्तोल राखेर आफ्नो प्यानल विजयी भएको घोषणा गर्न लगाएको उनका सहोदर भाई मदन तिम्सिना बताउँछन् । उनका अनुसार षड्यन्त्रमूलक ढंगले अनेरास्ववियुलाई पराजित गरेको गुन्डागर्दीलाई रोक्न र सो क्याम्पसमा पुनः निर्वाचन गराएर शैक्षिक वातावरणमा तनाव उत्पन्न हुन नदिन शहीद फणिन्द्रराज तिम्सिना नेतृत्वको अनेरास्ववियुको प्रतिनिधि मण्डलले समयमै सम्बन्धित अधिकारीहरुलाई सचेत गराएको थियो  । तर क्याम्पसका अधिकारीहरुले त्यसलाई  प्रस्तावलाई ठाडै बेवास्ता गरे । 

सोही सन्दर्भमा, २०३८ मंसीर ९ गते बिहानै महेन्द्र मोरंग क्याम्पस बिराटनगर तर्फ आइरहेको बेलामा अनेरास्ववियु सुनसरी कमिटीका तत्कालिन अध्यक्ष इश्वरी अधिकारीमाथी नेविसघका नेताहरुले साङ्घातिक आक्रमण गरे । नेवि संघको यस्तो निकृष्ट शैलीका बिरुद्धमा अनेरास्ववियु मोरङ जिल्ला कमिटीको नेतृत्वमा बजारमा शान्तिपूर्ण जुलुश प्रदर्शन गरियो । तर यसमा प्रशासनले कुनै चासो देखाएन उल्टै स्ववियुको ढोका फुटाएर नेवि संघका नेताहरुलाई प्रवेश गरायो । गुण्डागर्दी र तोडफोड गरेर युनियनको कोठा भित्र पस्दैमा बैधता प्राप्त गर्न नसकिने भन्दै सहायक क्याम्पस प्रमुखले समेत विरोध जनाएका थिए ।

यसरि अनेरास्ववियु पक्षीय बिद्यार्थी शान्तिपूर्ण ढगंले कुराकानी गरिरहेको समयमा बाहिरबाट हल्ला गर्दै, पटका पट्काउदै, हतियार देखाउदै र अश्लील गाली गलौज गर्दै तथाकथित स्ववियू सभापति  गच्छेदारको नेतृत्वका विद्यार्थीहरुले अनेरास्ववियु पक्षीय निहत्था विद्यार्थीमाथि निर्मम जाइलागे । नेबिसंघको गुण्डागर्दीको अनेरास्ववियुका विद्यार्थीहरुबाट प्रतिरोध पनि भयो । अनेरास्ववियुका नेताहरुपछि नहटेको देखेर गच्छदार अत्तालिँदै साथमा रहेको पेस्तोल निकालेर अन्धाधुन्ध गोली चलाउन थालेको मदन बताउँछन् ।

 गच्छदारले प्रहार गरेको गोली फाणिन्द्रको छातीमा लागे पनि फाणिन्द्रले गच्छदारले बोेकेको पेस्तोल मिल्काउन सफल भए तथापी उनी त्यहीँ ढले  र उपचारका लागि कोशी अञ्चल अस्पताल  लैजाँदै गर्दा बाटैमा प्राण त्यागे ।

परिवारको साहिँलो छोरा भए पनि परिवारको दायित्व बोध गर्ने एक कुशल अभिभावक पनि थिए । क्रान्ति योद्धालाई कायरतापूर्वक हत्या गरी तत्कालिन प्रशासनले कप्mर्यु लगाएर लास परिवारलाई हेर्न समेत दिएन । घरलाई प्रहरीको कडा घेरामा राख्यो । पछि किर्ते पोष्टमार्टम गरी रिपोर्टमा उहाँका एक दाजुलाई जबरजस्ती  सही गर्न लगाएर अन्त्यष्टि गरिदियो ।

को हुन् फणिन्द्र ?
शहीद फणिन्द्रराज तिम्सिना नेपालको सुदूरपूर्ब मेची अञ्चलको पाँचथर जिल्ला, थर्पू, मालबासेमा  पुण्यप्रसाद तथा पुण्यमाताको कोखबाट वि.सं.२०११ असार ४ गते जन्मिएक हुन् । उनले प्रारम्भिक र नि.मा.वि स्तरको शिक्षा स्थानीय मेदिबुङ स्थित थर्पू स्कुलबाट र क्रमशः अमरपुर, सिनाम र फिदिम स्कुलबाट हाइस्कुलको शिक्षा हासिल गरेका हुन् ।  त्यसपछि उनी वि.स २०२९ सालतिर उच्च शिक्षाको लागि मोरङको विराटनगर झरे ।  र पन्चालीमा बस्न थाले । 

सानैदेखि जनपक्षीय र प्रगतिशील रहँदै आएका फणिन्द्र आफ्नो लक्ष्यप्रति दृढ, लगनशील, अनुशाशित तथा जुझारु प्रकृतिका थिए ।  उनको परिवार (बुबा, दाजुहरु) सँगसँगै विराटनगर बस्दै आएपनि उनकै पहलमा, भाइ बहिनीहरुको उचित शिक्षादिक्षाको लागि वि.सं२०३७ सालमा पुरै परिवार विराटनगर बसाइ सरेको थियो । पछिल्लो पटक उनले वि.सं. २०३६ सालमा जन्मथलोबाट परिवारलाई विराटनगरको तिनटोलियामा सानो घर बनाएर सारेका थिए ।

सानैदेखि अन्याय अत्याचारका बिरोधी उनी  स्कूले जीवनबाटै अनेरास्ववियुमा आवद्ध भएका थिए । जुझारु बिद्यार्थीका रुपमा परिचित र वि.स २०२६–२८ को झापा आन्दोलनबाट प्रभावित उनी वि.स २०३५ मा पुनर्गठन भएको तत्कालीन नेकपा (माले)सँग आवद्ध थिए । सो समयमा कोशी क्षेत्रको पार्टीमा कृयाशील उनका केही सहकर्मीहरु हाल नेकपा (एमाले)को केन्दीय नेतृत्त्वमा समेत छन् भने अर्का सहकर्मी मदन भण्डारीले वि.स २०५० जेठ ३ गते  दासढुंगामा षड्यन्त्रमूलक दुर्घटनामा मृत्युवरण गरे ।

भूमिगत रुपमा पार्टीमा काम गर्दै, खुला रुपमा वि.स २०३५/०३६ सालको ऐतिहासिक राष्ट्रव्यापी विद्यार्थी आन्दोलन र सो आन्दोलनले स्थापित गरेको स्ववियू निर्माणमा उनको महत्त्वपूर्ण भुमिका रहेको थियो ।  अनेरास्ववियुको संगठन सुदृढीकरणर संघर्षको सिलसिलामा जिल्ला सहसचिवमा करीब ९ महिना काम गरेपछि २०३८ साउनमा मोरङको बाहुनीमा भएको बैठकले उनलाई तत्कालीन अनेरास्ववियुको (ए. पाँचौ)को जिल्ला कमिटी सचिव बनाएको थियो ।

अनेरास्ववियुद्वारा घोषित एवं नेपाली विद्यार्थी आन्दोलनको अभुतपूर्व घटनाको रुपमा रहेको वि.स २०३७ चैत १४ गतेको देशव्यापी सफल आन्दोलन लगायत सबैजसो न्यायपूर्ण संघर्षहरुमा उनको अविष्मरणीय संघर्ष छ ।

हत्या पछि उनको परिवार
‘पार्टीको झन्डा त फेरिएको छैन तर यसको डण्डा समाउने र यसका हकदारहरु  फेरिएका छन्’ उनका भाई मदन भन्छन् ।  मदनको अनुभुतीमा शहीदका परिभाषाहरु पनि फेरिएका छन् । जनताको लागि जीवन आहुती दिने गंगालाल, मित्रमणी आचार्य, फणिन्द्रराज तिम्सिना आदीहरुको सपना अझै साकार भैसकेको छैन । पार्टीले शहीदहरुलाई विर्सन थालेकोमा उनका आँखा रसाउँछन् । छाति भक्कानीएर आउँछ । उनी भावुक हुन्छन् र भन्छन् ‘हामीलाई दाजुको रगतसँग केही साट्नु छैन तर पार्टीले दाजुको रगत नविर्सियोस् ।

हत्याकाण्ड हुँदा महेन्द्र मोरङ क्याम्पसको स्ववियु कोषाध्यक्ष उठेकी विद्या पाण्डे (भण्डारी) दुई पटक पार्टी उपाध्यक्ष भइसकिन् । मन्त्री पनि भइन । त्यतीवेलाका पूर्वको आन्दोलनका सारथी केपी ओली अहिले पार्टी अध्यक्ष छन ।  तथापी पार्टीको स्मृतिबाट शहीद फणिन्द्र ओझेल परेकोमा उनको आँखाबाट बलिन्द्र आँशु झर्छ र उनी प्रश्न गर्छन के ‘मेरो दाजुको बलिदानी नेताहरुको लागि सत्ताको भर्याङ मात्र थियो त ?’

उनको पार्टी सँग कुनै आग्रह छैन । दाजुको हत्यापछि  पिता पुण्यप्रसादको शोककै कारण निधन भयो । दाजुको हत्या अघि नै उनको घरमा डाँकाहरुले लुटपाट गरी धन सम्पति लुटेर र पितालाई पनि पेटमा छुरा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । भाग्यवस् उनका पिता त्यो कालबाट  बँचे । सोही बर्ष फणिन्द्रको हत्या भयो । ६ महिना पछि पिताको पनि निधन भयो । चार दाजु भाई मध्ये साँहिला दाजु फणिन्द्र नै मदनका साहारा थिए ।

दाजुको निधन पछि मदनले साह्रै दुःख पाए । साहारा नै नभएपछि वेसाहार बन्नु उनको बाध्यता बन्यो । तथापी दुःखमै हुर्कन सिकेका र ‘आफैँ तिखा बनेका बनका काँडा झैँ’ उनी पढाईमा आफैँ अव्वल बने । महेन्द्र मोरङबाटै बि.सं. २०४७ सालमा आइ एस्सी सके र बि.सं. २०४७ सालमा भारतको चण्डीगढबाट मेक्यानिकल इन्जिनियरिङमा बिई गरे । उनले चण्डीगढमा आफ्नै बलबहुतामा ‘कोलम्वो प्लान’ अन्तर्गत छात्रबृत्तिमा पढ्ने अवसर पाएका थिए । अहिले उनी सरकारी सेवामा छन् । यो विचमा उनले पार्टीबाट कुनै सहायता पाएनन् र मागेनन् पनि ।

सहयोग चाहिन्छ कि भनेर कसैले नसोधेकोमा मात्र उनको गुनासो छ । दाजुको रगतको बदला मैले केही माग्नु हुँदैन भन्ने उच्च सोच छ उनमा । पार्टी स्थापनाका लागि बलिदानीपूर्ण संघर्ष गरेका व्यक्तिहरु पाखा लागेको देख्दा र क्रान्तिसँग कुनै साईनो सम्बन्ध नजोडिएकाहरुको पार्टीमा हाली मुहाली देख्दा उनको मन कुँडिन्छ । बि.सं. २०३८ साल देखि बि.सं. २०४६ सम्म पार्टीले शहीद फणिन्द्र स्मृति दिवश भव्यताका साथ मनाउँथ्यो । त्यसपछि विस्तारै पार्टीले विर्सन थाल्यो । अनेरास्ववियुका नेता कार्यकर्तालाई त त्यो घटना इतिहास भैसक्यो । पार्टीको क्यालेण्डरबाट पनि फणिन्द्र स्मृति दिवश हट्न थालिसकेको छ ।

२०४६ साल पछाडी धेरै पटक पार्टी सरकारमा पनि पुग्यो । तर सरकारमा पुगेको बखत दाजुका हत्यारालाई कार्वाही गर्नु त परै जाओस् उसैसँग कुम जुधाएर हिँडेको देख्दा उनको मन झनै अमिलो हुन्छ र सारै दुःख लाग्छ । सिंगो परिवारको नै पार्टी प्रति उच्च सहानुभुती छ । पार्टी निर्माणका लागि दाजुको पसिना र रगत दुवै बगेकाले आफू पनि हरतरहले पार्टीलाई सभाउँदै आएको बताउँदै उनी थप्छन् ‘दाजुको रगत खेर नजाओस् भन्ने मेरो एकमात्र चाहना छ ।’
प्रस्तुतिः रामनाथ खनाल
Published on http://nepalpati.com/news/2458/phadindra-timsina-feature 

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment