Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

छापामार युवतीसँग एक साँझ



By  Unknown     6:18 PM    Labels: 
रामनाथ खनाल



मेरो अघिल्तिर एउटी युवती उभिएकी थिई । साँच्चै एउटी पूर्ण युवती । सुन्दै आङ सिरिङ लाग्ने लडाइँ लडेर आएकी छापामार युवती थिई ऊ ।

‘के तिमीले युद्ध देख्यौ ?’ उसले अनायसै प्रश्न गरी ।

‘देखेँ, नजिकबाटै देखेँ ।’

वि.सं.२०५५ देखि २०६३ सम्म हरेक दिन म युद्धकै सन्त्रासमा बाँचे । रेडियोका हेडलाईन न्यूज, अखवारका ठूल्ठुला पंक्तिमा छाउने मरेका र मारिएका खबरसँगै मेरो बाल मष्तिष्कमा भयानक डर पोतिदिएको थियो । बाटोमा हिँड्ने अपरिचत अनुहारसँग म अनायसै डराउँथे । काम्थे । डरले लुक्थेँ ।

‘डरपोक पानीमरुवा !’ उसले यसै भनी

अझै गिज्याएर बोली ‘तिमी त लाक्षी रहेछौ ।’

वास्तवमै ऊ हरेक मोर्चामा बन्दुक झै पड्किएर आएकी लडाकू तथा छापामार युवती थिई । मृत्युलाई हत्केलामा राखेर युद्धमा होमिएकी, उसकै शव्दमा बहादुर युवती थिई ऊ ।

उसले पुराना कथा कोट्याउन थाली,

हामी त्यतीवेला परिवर्तनको ठूलै सपना मथिङ्गलमा बोकेर युद्ध मैदनामा खटिएका थियौँ राम । हामीलाई मुत्युको कुनै पर्वाह थिएन, हरेक दिन हामी ‘रुँदारुँदै हास्थ्यौँ हाँस्दाहास्दै रुन्थ्यौँ ।’ बम र बारुदको मुस्लोमा खेल्नु हाम्रो दैनिकी थियो । मर्नु र मार्नु भन्दा ठूलो अर्को कर्तव्य हाम्रो थिएन । बर्गसत्रुहरुसँग मुकाविला हाम्रो अपरिवर्तनीय लक्ष्य थियो । हाम्रो उद्देश्य प्राप्तिको बाटोमा तगारो बन्न आएकाहरुलाई खुकुरीको धारले छियाछिया पार्नु वा बन्दुकको कुन्दाले हानेर धुला चटाउनु या बर पिपल साक्षी राखेर चौतारीमा छप्क्याउनु हाम्रो बाध्यता थियो । त्यसै गरीयो । पलपल मृत्यु देखि डराउने कायर लडाई हामी कहाँ लडेका थियौँ र ?

यति भनिरहँदा उसको अनुहारमा निराशा, कुण्ठाको केही ग्लानी भाव पोतियो । गोधुली मिश्रित अनुहारमा अझै सन्नाटा छायो ।  पुराना दिनहरु सम्झिरहँदा उ नोस्टाल्जिक भई ।  दन्त्य कथाझैँ लाग्ने दशक अगाडिका स्मृतिहरु उदिन्ने चाहना मेरो पनि कहाँ थियो र ? विस्मृतिको चाङ्मा थन्किसकेका पुराना दिनहरुसँग धेरै टाढा भैसकेको थिएँ म । कत्ति त याद पनि हुँदैन थे । त्यस्तैमा  ऊ फेरि ठोक्किन आइपुगेकी थिई ।

होलेरी, दुनै, खारा, तौलिहवा, भिमान हुँदै पछिल्लो पटक चौतारा आक्रमण कहाँ–कहाँ लडेकी थिइन ऊ ? ताता र राता आगोका फिलिङ्गा जस्ता रापिला गोली छिचोल्दै दर्जनौँ, माइनरएम्वुस, बम र बारुदबाट जोगिएकी ऊ मेरा सामुन्नेमा थिई ।

                                                                       000

वि.सं. २०५८ सालको भदौ महिना ऊ हाम्रो घर आएकी थिई । हृष्टपुष्ट, हँसिलो चेहरा, मीठो तथा बोलिरहने मिजासिलो स्वभाव की ऊ झण्डै मेरै उमेर की थिई । कक्षा १० पढ्दै गर्दा कापी कलमलाई भुईँमै अलपत्र छाडेर स्कूले झोलामै हतियार कोचेर युद्धमा होमिएकी थिई ।

उसलाई देख्दा सुरुमा त म आत्तिएको थिएँ ।  उसँगै उसको प्लाटुनले त्यसवेला हाम्रै घरमा सेल्टर लिएको थियो । राती अवेर आएका उनीहरुले घरमा मकै उसिनेर खाएको दृष्य अझै ताजा लाग्छ मलाई । प्लाटुन कमाण्डरले भात पकाउन उर्दी लगाउँदा एक घोगा मकैमानै रात कटाउन उसैले अड्डि कसेकी थिई ।

राती म नजिकै आएर उसले मलाई भनेकी थिई– ‘हिँड रामु हामीसँगै बन्दुक बोकेर । मरे सँगै मरौँला, बाँचे मुलुक फेरौँला ।’

प्लाटुनका सवै सदस्यहरु सुति सक्दा पनि राती अवेरसम्म उसैले सवै भाँडाहरु सफा गरेकी थिई । रुप, बोली र व्यवहारले सवैको मन जित्न सक्ने थिई ऊ । यस्ती सुकोमल युवतीले पनि मान्छे मार्न सक्छे ? म अचम्मित पर्थेँ । त्यस्ती रुपवान् युवतीको सम्मोहनमा म नपर्ने कुरै थिएन । तथापी किताव कापी मिल्काएर युद्धमा होमिने सामथ्र्य त म मा कहाँ थियो र ?

त्यो रात उसले धेरै परिवर्तनका किस्साहरु सुनाई । संघर्षका अनेक कथा बताई । लडाईँको फेहरिस्त भनि । त्यस दिन उसले मलाई कक्षा ९  को सिपाही कथा दोहोर्याएर पढ्न लगाई । धाराप्रवाह बोल्न सक्ने उसको वाक्पटुताले मलाई मोहित बनाएको थियो ।

युद्धको ज्वारभाटाले सिंगो देश प्रताडित बनिरहेको थियो । मर्ने र मार्नेकुरा दन्त्य कथाझैँ लाग्दैनथे । १०–१५ जनाको संख्यामा रहेका उनीहरु निकै थकित देखिन्थे । कति त म भन्दा पनि कम उमेरका थिए । खाटमा, मझेरीमा, भुईँमा उनीहरु वेपरवाह पल्टिए । भुसुक्कै निदाए ।

राती ११ अजे सम्म उ  अनिँदो थिई । बेला बेलामा सुनाउने युद्धका पाटाहरुले मलाई उसको गफ सुन्न लालायित बनाउँथ्यो । मलाई युद्ध रत्तिभर मन पर्दैनथ्यो । तर पनि उसका युद्धका किस्साहरु सुन्न म हतार गरिरहन्थेँ ।

ऊ कहिले भावनामा बहकिन्थी, क्षणमै युद्धको मुस्लोबाट उछिट्टिएर आएको सकेट बम जस्तै पड्किन्थी । उसको मनमा उर्लिएको परिवर्तनको व्यग्र चाहना म त्यतिवेला अनुमान मात्र गर्न सक्थेँ । तर उसको शव्दको क्रान्तिको भाषा बुझ्ने ल्याकत ममा कहाँ थियो र ? गफै गफमा म कत्तिखेर निदाएँ पत्तै भएन ।

भोली पल्ट झिसमिसे मै उसले मलाई बोलाई । विदा हुने अनुमती मागी । आउँदै गर, मैले यति भन्न सकेँ  । ऊ मसँग विदा भएर बाटो लागि । युद्ध झन् झागिँदै थियो । मर्ने र मार्ने क्रमले यति तिव्रता पाउँदै थियो की जसलाई शव्दमा वर्णन गर्न निकै कठिन हुन्छ ।

दोलखाको चरिकोटमा भिडन्त भयो । एक युवती पनि मारिई । खवर परालको आगोझैँ फैलियो । डर लागिरह्यो कतै ऊ नै त मारिइन । त्यो रात उसले दोलखा जाने बताएकी थिई । त्यसपछि ऊ कहिल्यै हाम्रो घर आइन ।

प्रवेशिका परीक्षाको तयारी गर्न मेलम्चीमै बसेको थिएँ । वि.सं. २०५८ साल चैत्र ९ गते ढकालखहरे नजिकै एम्वुस पड्कियो । दुई वटा सेना चढेको ट्रक विद्रोहीले थापेको एम्वुसमा पर्यो । थुप्रै हताहतीको खवर आयो । मेलम्चीमा सेनाले सर्च तिव्र पार्यो । प्रवेशिका परीक्षाको तयारी गरिरहेको हामी थुप्रैका कोठामा सेनाले छापा मार्यो । कयौँलाई गिरफ्तार गर्यो । त्यस अघि नै माओवादीले म बसेको मेलम्ची रेन्जर पोष्ट ध्वस्त बनाएको थियो । त्यसदिन म अन्तै बसेकाले संयोगले बाँचेको थिएँ । युद्धको भयानक परिस्थिति थियो । त्यसको निर्मम चपेटाबाट म कहाँ अछुतो थिएँ र ?

चैत्र १३ गतेबाट प्रवेशिका परीक्षा सुरु हुँदै थियो ।

प्रवेशिका परीक्षाको दिन अचानक ऊ ईन्द्रश्वरी उच्च मा।वि।मेलम्ची परीक्षा केन्द्रमा भेट भई । छापामार युवतीको भेषमा होइन, एउटा परीक्षार्थीको रुपमा । परीक्षा केन्द्रको गेटमा उभिएका एसएलआरको चेपुवाबाट उ फुत्त छिरेर कत्तिखेर परीक्षा हल भित्र प्रवेश गरिसकिछे  । हल भित्र मलाई देख्ना साथ उ फुरुङ भई र भनि– ‘रामु तिमी पनि यहाँ ? कत्ति हो तिम्रो सिम्वोल नं। ।’

‘०२३१५४८ ‘आर’ 

म अचम्मित भइन किनकी मैले उसलाई परीक्षा दिनु अघि नै बाटोमा देखेको थिएँ । सकुसल रहेको मा ढुक्क भएको थिएँ ।

ए ! तिमी त मसँगै परेछौँ । उ झनै खुसी भै ।

‘हुन्छ’ मुन्टो हल्लाएँ ।

झण्डै आठ महिनाको अन्तराल पछि मैले उसलाई भेटेको थिएँ । ऊ छापामार युवती हो भन्ने उसलाई र मलाई मात्र थाहा थियो । तथापी उसको अनुहारमा भयंकर डर पोतिएको थियो । जुन म सहजै पढ्न सक्थेँ । परीक्षा अवधिभर मैले उसको दिमाखबाट डर हटाउन र परीक्षामा ध्यान दिन साहस जुटाइदिएको थिएँ । तै पनि परीक्षा हलमा सेना हतियार सहित प्रवेश गर्दा र हतियारको निशाना लगाउँदै भित्तातिर आँखा चहार्दा उ डरले कालो निलो हुन्थि  । म मन मनै सोच्थेँ, कत्ति न आफूलाई बहादुर युवती ठान्थिस् , डर त तँलाई पनि लाग्दो रहेछ नी ।

मेरो सहयोगबाट ऊ झनै खुसी भएकी थिई । परीक्षामा पनि मैले उसलाई सक्दो सहयोग गरेँ ।

परीक्षाको अन्तिम दिन उसले मलाई मेलम्ची वसपार्कमा भेटी र भनी– ‘रामु म त युद्धमा होमीएकी एक लडाकू युवती हुँ, थाहा छैन मृत्यु कत्तिखेर टुप्लुक्क अघिल्तिर आइपुग्छ । मलाई नविर्स है ।’ उसको करुण भाव मिस्रित आजले मलाई स्तव्ध बनायो । वास्तवमै उ विभिन्न मोर्चामा संयोगले मात्र त बाँचेकी थिई र भाग्यवस् मेरो अघिल्तिर थिई ।

मसँग उसलाई सम्झाउने र सहानुभुती दिने कुनै शव्द नै थिएन । तै पनि मैले ‘छाडिदेऊ मर्ने मार्ने श्रृङ्खला र स्वतन्त्र भए बाँच’ भने । ऊ तयार थिइन ऊमा परिवर्तनको एककिसिमको भूत सवार थियो । उल्टै, उसले मलाई पनि सँगै हिड्न पुनः अनुरोध गरी र भनि–‘हिँड रामु म सँगै युद्धमा ।  हेर तिमी हामी एकपल्ट मर्ने नै हो, कञ्जिेल पीडाका नुनीला आँसु पिएर बाँच्ने ? उसको अन्तिम बाक्यले मलाई पनि युद्धको भुंग्रोमा हाम पाल्न अभिप्रेरित नगरेको कहाँ हो र ?

पछि भेटौँला अनी सल्लाह गरौँला भन्दै टार्ने कोसिस गरेँ । त्यसपछि हामी मेलम्ची तल्लो बजारको पुलबाट शिखर पुर जाने बाटो तर्फ अघि बढ्यौँ । पुल काट्नै लाग्दा उसले तल निश्चल बगिरहेको इन्द्रावती नदी देखाउँदै भनी– ‘मेरो जीवन यही नदी जस्तै हो, म कहाँको तिमी कहाँको, बगिरेहेको यही पानी जस्तै भोली तिम्रो हाम्रो भेट नहुन सक्छ, आशा छ तिमी ठूलो मानिस बन्ने छौँ, यदी म मारिन भनेँ पक्कै तिमी ठूलो मानिस भएको सुन्न पाउने छु ।’ यत्ति भनिसक्दा उसको गला अवरुद्ध भयो ।

अवरुद्ध गलाबाटै उसले पुनः थपी, ‘विश्वास छ तिमीले हाम्रो क्रान्तिमा साथ दिनेछौँ ।’ उसले म प्रति ठूलो विश्वासको भारी बोकाई । अन्तिममा थुइ थोपा आँसु चुहाएर विदा भई ।

त्यो आँसु म प्रतिको माया थियो या विश्वास मैले केही सोच्न सकिन । ति दुई थोपा आँसु इन्द्रावती मिसिएर कहाँ पुग्यो त्यसको नामो निशान भेटिएन । एक छिन पछि ऊ पनि मेरो आँखाबाट अदृष्य भई । मन एक तमासको भैरह्यो । थाहै नपाई एक छापामार युवतीसँग मेरो मायाँ यति घनिष्ट भैसकेछ ? भेट्नै नपाई छुट्टिने मेरो कस्तो रुमानी प्रेम ? किन किन मनले आफैँलाई सराप्यो ।

त्यसपछि क्रमशः युद्धका आवाजहरु अझ ककर्श बन्दै गए । चौतर्फी आर्तनाद छाउन थालेको थियो । मेरो स्मृतीहरुबाट ऊ ओझेल पर्न थालिसकेकी थिई । तर पनि शिखरपुर, लाँगर्चे आदी स्थानहरुमा कुनै अप्रिय घटना घटे र छापामार मारिए भने म सशंकित हुन्थेँ ।

युद्ध अझै चुलिँदै थियो त्यस आसपास दर्जन बढी ठाउँमा मुडवेढहरु भए । सरकारी र विद्रोही तर्फ थुप्रै हताहत  भए । ठानेँ ऊ पनि त्यतै मारिई होला । त्यस अवधिमा मेरा अरु साथिहरु राजेन्द्र, रामजी, शीव राज्यपक्षबाट मारिइसकेका थिए भने, सन्तोष रामचन्द्र लगायतलाई माओवादीले अपहरण पछि हत्या गरेको थियो ।

वि.सं.२०६३ साल मंसिर ५ गते मुलुकमा विस्तृत शान्ति सम्झौता भयो । द्वन्द्वरत पक्षले हतियार विसाए । त्यसपछि मुलुकमा हत्या आतंकको श्रृङ्खला रोकियो ।

वि.सं.२०७० सालको फाल्गुण महिना काठमाडौँ चावहिलमा पुनः भेटे । ऊ धेरै बदलिई सकेकी रहिछे । मैले चिन्न सक्दिनथेँ । उसले नै मलाई बोलाई ।

त्यसबीचमा पनि उसले युद्धका अनेक किस्सा सुनाई । एउटा मोर्चामा सरकारी पक्ष र माओवादी पक्षका बीचमा ठूलो भिडन्त भयो । सरकारी र माओवादी दुवैतर्फ थुप्रैको हताहती भयो । उनीहरु जम्मा जम्मी २० जना मात्र बाँकी थिए । उता सरकारी सेना तर्फ पनि ९/१० जनाको संख्या मात्रै बँचेका थिए होलान् । अन्तिममा सरकारी सेनाले आत्मसमर्पण गर्यो । तर उनीहरुले आत्मसर्मपण गरेकालाई पनि गोली ठोक्न थाले । त्यतीकैमा एकजना सेनाले उसको अगाडि जीवनको याचना गर्यो । नमार्न अनुनय विनय गर्यो । उल्टै उसले ती सैनिकको पेटमा गोली हानिदिई ।  पेटमा दुई गोली लागेको सैनिक अझै मरेको थिएन ।

सैनिक पानी पानी भन्दै छटपटाई रहेको थियो । उसले ल पानी भन्दै घाइते सैनिकको मुखमा पिसाव फेरिइदिई । हाम्रा साथीहरुलाई बलात्कार गर्ने तिमीहरुनै होइनौ ? ल ! मलाई पनि बलात्कार गर भन्दै आफ्नो गुप्ताङ्ग समेत देखाइदिई । ऊ अझै हौसिँदै सुनाइरहेकी थिई ।

त्यसपछि ऊ निराश मुद्रामा फर्किइ । यसरी युद्धबाट आफूलाई जीवित राखेर  देशलाई परिवर्तनको मोडसम्म ल्याइपुर्यौँ । उसका आँखामा अझै निराशा पोतियो । संसदीय राजनीतिमा प्रवेश गरेपछि पार्टीमा क्रमशः विचलन सुरु भयो । युद्ध लडेर आएकाहरु पाखा लगाइए । शान्ति सम्झौता पछि पार्टी प्रवेश गरेकाहरुको पार्टीमा हालिमुहाली चल्यो । नेताहरु उनीहरुको इच्छामा चल्न थाले । शहीद, वेपत्ताहरु र तिनका परिवारको विचल्ली तर्फ नेताहरुको ध्यान गएन । पार्टीमा विभाजन र विग्रह सुरु भयो ।

युद्धकै क्रममा आफुले सहकर्मीसँग विवाह गरेको र विवाह गरेको एक महिनामै श्रीमान् विताउनु परेको ननिको व्यथा पनि रहेछ उसँग । ११ वर्षको छेरो दखाउँदै उसले भनी –‘ अहिले यही छोरो हेर्दै जिन्दगी विताइरहेको छु ।’

परिवर्तनको सप्तरंगी सपना आँखामा सजाएर युद्ध मैदानमा होमिएकी एक छापामार युवतीको त्यो कुराले मन बेचैन भयो ।

सोधेँ, ‘पार्टीको हाल खवर चाँही के छ नी ?’

‘पेरिस डाँडा र बुद्धनगर दुई तिर  पार्टी बाँडिएको छ , अरु–अरु चिरामा पनि पर्दै छ भन्ने सुनेको छु’, उसले निराश हुँदै बताई ।

‘अनि जिम्मेवारी ?’ पार्टीको जिम्वेवारी केही छैन । यही छोरो हुर्काउने जैविक र सामाजिक दुवै जिम्मेवारी थपिएको छ ।

‘अनि क्रान्ति नी ?’ सामाजिक दायित्व पुरा गर्नुनै मेरो भाषाको क्रान्ति हो । उसले फेरिएको क्रान्तिको परिभाषा पनि सुनाई र पछि भेटौँला है राम भन्दै विदा भई । धेरै पछि सम्म मैले उसलाई हेरिरहेँ । अस्तु ।
Published on http://nepalpati.com/news/2710/ramnath-khanal

(ठाउँ, स्थान र समय मिल्न गएपनि कथा नितान्त काल्पनिक हो ।–लेखक)


लेखकलाई फेसवुक  ट्विटरमा पनि भेट्न सकिने छ।

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment