Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

काईलीको बलात्कृत आँसु



By  Unknown     6:16 PM    Labels: 

लेखक:रामनाथ खनाल


उसैगरी बग्दैछ काली गण्डकी । त्यो त त्यो उसको नियमितता पनि हो । आकस्मिक आउने हुरी बताँसले उसको बगाईको वेग कहाँ बदल्न सक्छ र ? बग्नुसँग नै उसलाई गर्व छ ।
 
त्यस दिन पनि काली गण्डकीको बगाईमा पनि कुनै बदलाव आएको थिएन । आकासमा उस्तै रोशनी छाएको थियो । धर्ती उज्यालीने तरखरमै थियो । बास बसेका चराहरु गुँडबाट आहाराको खोजीमा आकाशमा उड्न थालिसकेका थिए । मंसिरमास फाँटमा गहुँ, जौ लगाउन हतारिरहेका किसानहरु पिठ्यूँबाट पसिना चुहाउँदै मलको भारी बोकेर उँधो वेशी झर्दै थिए । तर शिवदाइको दिनचर्या किसानहरुको भन्दा अलि भिन्न  छ । काली गण्डकीको किनार चहारेर भोक भर्नु, जीवनको रथ गुडाउनु, फाटेका पैताला घिसारेर जिन्दगी निर्वाह गर्न उसको नियति हो । वर्षात महिनामा खोला तर्न नसकेर अलपत्र परेका बटुवालाई पारी किनार पुर्याईदिनु उनको वर्षौँदेखिको कर्म हो । त्यसका अलावा काली गण्डकीको उराठ र पट्यार लाग्दो बगरमा खोँचे थापेर या वल्छि अड्काएर माछा मार्नु उनको नफेरिएको दैनिकी हो । 
 
उ कहिले काँही काली गण्डकीमा दुवाली फर्काएर खोँचे थाप्छ । र बग्रेल्ती माछा पार्छ । कहिले हप्ता दिनमा पनि भोक भर्ने माछा भेटाउँदैन कहिले नदीको सुस्काईमा सुसेली हाल्छ । काँधमा कहिल्यै रेडियो छुटाउँदैन  । उसलाई नचिन्ने को होला ?
 
दुःखी शिवेको व्यथा माझी दाइको कथा भन्दा कम निरश लाग्दोे कहाँ छ र  ?  उसको घर त्यहीँ काली गण्डकीको किनार कतै हो । सायद बाग्लुङ तिर  । बाऊ बेलैमा मरे । बाऊ मरे पछि आमाले पनि छोडेर पोइल हिँडिन् । बाऊआमा दुवैले छाडेपछि एक्लो शिवे चिवे चरा झैँ फुक्का भयो । 
 
अचेल काली गण्डकी खोलो नै उसको साथी भएको छ । कहिले काली गण्डकीको बगरका शालीग्रामहरु लगेर बजार तिर बेच्छ । कहिले माछाका भुरा जम्मा पार्छ भोक भर्छ । बँचेको बजारमा लगेर बेच्छ । आखिर जिन्दगी त यही काली गण्डकी जस्तै त होनी बगिहाल्छ नी आफैँ । 
 
उसको भाषामा पनि जीवन यही नदी जस्तै हो । वर्षातको भेलमा मिसिएर कहिले गड्गडाएर बग्छ । कहिले तुषारे शिशिर झैँ कठ्यांग्रिएर बग्छ । 
 
कालीको किनारमा उसले सानो टहरा ठड्याएको छ । साँझ भएपछि ऊ त्यहीँ ओत लाग्छ । सिस्नो फाँडो पकाउँछ । बटुवाले दिएको पीठो अराल्छ । पेटभरी खान्छ । 
 
00
 
मंसिरको महिना विस्तारै चिसो बढ्दै छ । काली गण्डकीमा अचम्मको सिरेटो चल्छ । आँतै काम्ने चिसो जाडो ।  विहानको सात बजिसक्दा पनि घामको अनुहार देख्न पाएको छैन । च्यातिएको च्यादर र झुत्रिएको स्वीटरले जाडो थेग्न मुस्किल भैसकेको छ । 
 
अचानक उसको आँखा कालीमा हिजो उसले थापेको खोँचेमा माथि पर्यो । जाडोले काम्दै ऊ कालीको किनार तर्फ अघि बढ्यो । खोँचे मा अल्झिएको अनौठो वस्तुले ऊ झसंग भैसकेको थियो । 
 
मंसिर  महिना भएकाले पानीको बहाव निकै घटी सकेको छ ।  त्यसैले उसले भएभरको काली त्यहीँ खोँचेमा अटाइदिएको छ । बबुरो खोलो उसकै खोँचे भएर बग्न विवस बनिरहेको छ  ।
 
हैन के अल्झिए छ त खोँचेमा भन्दै ऊ के अघि बढेको मात्र थियो उसका पाइला एकाएक रोकियो मुटु चिसो भएर आयो । विहानीपखको शीतले निथु्रक्क भिजेको अनुहारमा अनायसै चिटचिट पसिना आउन थाल्यो  । 
 
यस अघि कहिल्यै नभोगेको र नदेखेको घटनाबाट ऊ सशंकित भयो र विस्तारै ऊ खोँचे भएतिर अझै अघि बढ्यो । त्यतीवेलामा सम्म उसको शरीरमा नौ रेक्टर स्केलको भुकम्प जस्तो कम्पन पैदा भइसकेको थियो । 
 
खोँचेको फराकिलो मुखबाट तल उँधोमुन्टिएको र कम्मरमा पटुकीले छोरी बाँधेकी महिलाको अर्धनग्न शरीर देख्दा सुरुमा त ऊ आत्तियो । हतारिँदै खेतमा कामगरिहेका मानिसहरुलाई ठूलो डाँको गरेर बोलायो । 
 
एकैछिनमा फाँटभरीका मान्छे भेला भए । सवैजना मुखा मुख गर्न थाले । कसैल चिनेको हो भन्न सकेनन् । एउटा अपरिचत महिला र कम्मरमा बाँधिएकी  छोरी सहितको अपरिचित शवले उनीहरुलाई आश्चर्यमा पार्यो । शवलाई कालीको भंगालोले निर्मम प्रहार गरिरहेको थियो । 
 
शव झिकि हाल्ने कुरा थिएन । पुलिसलाई खवर गर्ने विचारमा गाउँले पुगे । खै कसरी गाउँलले प्रहरीका खवर पुर्याएछन् । दिउसो सवा १ बजे तिर प्रहरी आइपुग्यो । 
 
प्रहरी आइपुग्नु अघि शिवले अनेक सोचे ।
 
कस्तो निर्दयी आइमाई आफू त मर्नु नै थियो, यो नावालक छोरीलाई पनि बाँधेर आफूसँगै नदीमा किन फालहाली ? यस्तै अनेक प्रश्नले ऊ भित्रभित्रै रन्थनीएको थियो । 
 
उसले ५० हिँउद खाई सकेको हुँदो हो तर जीवनमा यस्तो अप्रिय घटना आँखाले कहिल्यै देखेको थिएन ।  कानले भने सुनेको थियो तर आज उसले आफ्नै आँखा सामू त्यो दर्दनाक दृष्य नहेरी धरै पाएन । 
 
उसको मथिङगलमा त्यही प्रश्न घुमिरह्यो के एउटी महिला यती निर्दयी र क्रुर बन्न सक्छे ?
 
किन सक्दिन ?
 
‘नपत्याए हेर तेरो आँखा अघिको विभत्स दृष्य’ उसलाई अर्को मनले भन्यो ।
 
नपत्याई उसले धरै पाएन । 
 
एकै छिनमा ग्वारग्वारर्ती प्रहरीहरु आए । केरकार गर्न  थाले, ‘कहाँ थियो यो शव, पहिला कसले देखेको ?’
 
‘शिव दाइले देखेको’ सवैल उसैलाई देखाए । 
 
‘यहीँ हजुर’ डरले उसले काम्दै भन्यो ‘विहान माछा झिक्न खोँचे भएतिर आउँदा देखेको ।’
 
‘अन्दाजी कति बजेको थियो’ अर्को प्रहरी बोल्यो । सायद हाकिम हुनुपर्दछ । 
 
‘खै ठ्याक्कै समय त थाहा भएन तर त्यस्तै साढे सात हुँदो हो’, उसको जवाफले  प्रहरी केही धैर्य भयो । 
 
‘कसैले चिन्नु भएको छ, को हो उनीहरु ?’
 
कतैबाट चालचुल आएन । 
 
‘खै ? हजुर मैले पनि आज भन्दा अघि त कतै देखेको थिइनँ’   शिवले प्रष्टिकरण दिए । 
 
प्रहरीको एकटोली अनुसन्धानको लागि कालीको किनार तिर सोझियो ।
 
अरु प्रहरीले लख काटे, ‘त्यस्तै सात/आठ घण्टा अघि मृत्यु भएको हुनुपर्छ, शव त्यती  गलिसकेको छैन ।’ 
 
‘हत्या या आत्म हत्या के हो, पोष्टमार्टम रिपोर्ट नआई यसै केही भन्न सकिन्न’ एक जना बोल्यो । 
 
‘आमाछोरी दुवैको शव पोको पार ।’ प्रहरी मध्येको हाकिमले उर्दी लगायो । 
 
शिव दाईलाई सवैभन्दा ननिको दिन आजै लाग्यो । आँखा अगाडिको विभत्स दृष्यले उसलाई कताकता पीडाबोध गरायो । जीवनका हरेक मृत्युलाई नजिकबाट देखेको उसलाई त्यो मृत्यु निर्दयी र भयानक लाग्यो । 
 
लासलाई खोेँचेबाट बाहिर निकाल्ने जिम्मा उसकै काँधमा आयो । खोलाको किनार वरिपरी भेला भएका अन्य मानिसहरु लास नजिक आउनै डराईरहेका थिए । केही प्रहरीहरुले पनि उसलाई साथ दिए । खोँचेबाट विस्तारै लास निकाल्यो र बगरमा  ल्यायो । 
 
महिलाको कम्मरमा बाँधेको पटुकी फुकादियो । सँगै रहेकी छोरी पनि बगरमा राख्यो । पानीले खाएको शव प्लाष्टिकमा पोको पार्न कहाँ सजिलो थियो र ?
 
प्लाष्टिकमा पोको पार्नुभन्दा अघि प्रहरीहरुले महिला र बालिकाको शरीर खानतलासी गरे । पटुकी भित्र प्लाष्टिकमा पोको पारिएको सानो कागजको टुक्रो बाहेक अरु केही फेला पार्न सकेनन् ।
 
000
 
काइँली हो मेरो नाम । घर कालीको किनार पिपलबोट हो । राम्रो घर भनेर सानैमा बाआमाले विवाह गरी पठाइदिए । तर विवाह गरेको भोलि पल्टैबाट मेरो दुर्दिन सुरु भयो । 
 
सानामा काँडाले समेत नकोतरेको मलाई विवाह गरेको दिनबाटै घर परिवारले प्रताडना दिन सुरु गरे । ठूलो जहान परिवारको कान्छी बुहारी भएर त्यहाँ पुगेकी थिएँ । परिवार त्यती सम्पन्नसाली पनि थिएन । बनिबुतो गरेरै हात मुख जोर्नुपर्ने । 
 
विवाह गर्नु भन्दा अघि मैले मेरो श्रीमान् कहिल्यै देखेकी थिइन । विवाह पछि थाहा भयो उहाँको जाँड रक्सी खाने खराव आदत रहेछ । जाँड रक्सी खाएर हो–हल्ला गर्ने, मध्यरातमा घर आउने, परिवारमा तमास देखाउने मलाई कुट्ने, लछार पछार पार्ने यि त उहाँका सामान्य काम नै थिए । 
 
जे जस्तो भए पनि माइतीले मलाई विवाह गरेर त्यही घर पठाएका थिए । चुपचाप स्वीकार्नु बाध्यता थियो । कति पल्ट माइतमा गएर आमासँग भक्कानिएकी थिएँ  । ‘के गर्छेस त बाबै, छोरीको जात यस्तै हो । जे जस्तो भएपनि अर्काको भित्तो टाल्नै पर्छ । दुःख सुख गरेर खा, माइतीलाई दुःख दिन नआइज’ आमाले यसै भन्थिन् । 
 
श्रीमान्ले दुव्र्यवहार गरे पनि परिवारले राम्रो गर्लान भन्ने आशा थियो । अहँ भएन । 
 
धेरैपल्ट मायापूर्वक श्रीमान्लाई राम्रो बाटोमा ल्याउने प्रयत्न नगरेकी पनिहोइन । तर उनको नानी देखि  लागेको बानी कहाँ सुध्रन्थ्यो र ? उल्टै उनले मेरो गहना लत्ता कपडा बेचेर सिध्याए ।तरपनि उनको बानी सुध्रने छाँट थिएन । 
 
एउटी महिलाको लागि सवै भन्दा ठूलो सहारा र भरथेग गर्ने मान्छे भनेको उसको श्रीमान् नै हो । तर म श्रीमान्कै कारण दिनरात आँसुमा पौडिएर जीवन कटाउन बाध्य थिएँ । त्यतीकैमा एउटी छोरी जन्मी ।  त्यसपछि उसको पनि दुर्दिन सुरु भयो । 
 
समय आफ्नै रफ्तारमा थियो । विवाह गरेर खुसी संसारमा भित्र्याउन माइतीले मलाई अन्माएर पठाए पनि म भने कहिल्यै उम्कने दुःखको भंगालोमा परेकी थिएँ । त्यसबीचमा मैले धेरै पल्ट आत्महत्याको प्रयास नगरेको होइन । तर मर्न पनि त कहाँ सजिलो छ र ? संयोगै आउनु पर्दो रहेछ । 
 
त्यस्तैमा एक दिन विहानै बजार जान्छु भनेर निस्किएका श्रीमान् उतैबाट वेपत्ता भए । धेरै खोजपताल गर्दा पनि उनको केही पत्ता लागेन । कति ले त जड्याँहा कहाँबाट लडेर मर्यो भने । मलाई सान्त्वना दिने कोही भएन ।
 
जँड्याहा भए पनि श्रीमान् हुनु र नहुनुमा धेरै फरक  पर्दो रहेछ । त्यसदिन देखि मलाई परिवारले पनि यातना दिन थाल्यो । मेरै कारणले श्रीमान्ले घर छोडेर हिँडेको आरोप समेत लगाए । उनीहरुले मलाई र मेरी छोरीलाई राम्रोसँग खान पनि दिँदैनथे । श्रीमान् घर छोडे देखि माइतीले पनि राम्रो मान्दैनथे । दुःखको जँघारमा फसेको मेरो जीवनमा झन् ठूलो बाढी नै आयो । 
 
सबै सहेकी थिएँ । किनभने सहने बानी परिसकेको थियो । जे जस्तो भए पनि यही सानी छोरीको मुख हेरेर जीवन बिताउनु भन्दा मेरो अर्को विकल्प के थियो र ?
 
एकपछि अर्को दुःख भित्रिरहेको मेरो जीवनमा अर्को बज्रपात आइलाग्यो । अचानक एक दिन घरमा कोही नभएको मौका छोपेर मेरा जेठाजुले मलाई जवरजस्ती गरे । मैले अनुनय विनय गरेँ उहाँको अगाडि दयाको भीख मागेँ । अहँ पत्थरको उनको मन पग्लिएन ।  उल्टै कसैलाई भनिदिए मारिदिने धम्की दिँदै मेरो अस्मिता धुलाम्य पारे  । 
 
एउटा जवरजस्त पुरुषको अगाडि एउटी अनाथ र अवला नारीको केही शीप चलेन उनले मेरो यौवन लुटेर छाडे । त्यस अघि उनले ममाथी त्यस्तै प्रयास नगरेको होइन । तर यस पटक म बच्न सकिन । त्यसदिन देखि म अर्को भुमरीमा परेँ  । अनेक दुःख र कष्ठले निर्मम चिथोरिएको म जेठाजु गिद्धे सिकारमा परेँ ।
 
दाजु सरह मान्दै आएको जेठाजुले मलाई घिनलाग्दो कर्म गलार्न भन्ने कल्पनै गरेको थिइनँ । यस्तो कुरा म कसरी अरुलाई सुनाउँन सक्थे  ? अरुले के भन्थे होलान् ? उल्टै दाजुलाई बात लगाई भनेर म माथि झनै अत्याचार न हुन्थ्यो ।  
 
एक पटक दुइ पटक त सहेँ तर उनको दुव्र्यवहारको सिमा नाघ्न थाल्यो । घरमा कोही नभएको वेला उनले जे चाहन्थे त्यही मलाई गर्थे । तर चुपचाप सहिरहनु मेरो निर्मम बाध्यता बनिरहेको थियो । उनको दुव्र्यवहारले चरम सीमापार गरिसकेको थियो । एक दिन विहानै घरमा कोही नभएको मौकामा उनले म माथि दुव्यर्वहार गर्न आए  । मैले अति भएर हातमा रहेको कुचो प्रहार गरेँ ।  उनको गालामा थोरै घाऊ लाग्न गयो । त्यसपछि त के चाहीयो र उनले मलाई शव्दमा बर्णन गर्न नमिल्ने दुव्र्यवहार गरे । अन्तिममा सवै परिवार मिलेर मलाई घरबाट निकाले । र गोठमा राखिदिए । 
 
एक्लै बस्दा दुव्र्यवहार त सहनु नपर्ला नी भनेर केही दिन त मन ढुक्क भयो । तर उनलाई उल्टै मौका मिलेछ  । हिजो वेलुका पनि उनी म बसेको कटेरोमा आए ।  सहनुको सीमा समाप्त भैसकेको थियो मैले हल्ला गरिदिन्छु भनेँ । उसले उल्टै तँ र तेरी छोरी दुवैलाई म यसै गर्छु भन्दै मेरी नाबालिका छोरी पनि नछाड्ने कुरा गरे । 
 
आफूले त दुव्र्यवहार भोगेँ भोगेँ तर पापिष्टबाट नाबालिका छोरीको अस्मिता जोगाउनैका लागि मैले यस्तो कुकर्म गर्नु पर्यो । 
 
म आफू त मरुँला तर यो छोरी यिनै पापिष्टहरुबाट कसरी जोगिएली र भन्ने सोेचेर मैले छोरी सहित काली गण्डकीमा हाम फाल्ने निधो गरेँ ।
 
समाजका बुद्धिजीविहरुले सक्नुहुन्छ त्यो पापिष्टलाई कारवाही गरेर मेरो आत्मालाई शान्ति दिनुहोस् । यो कुकर्मको भागीदार म आफैँ हुनेछु ।
 
उही काईली/पिपलबोट/काली गण्डकी किनार
 
चिट पढ्दा नपढ्दै प्रहरी अधिकारीको अनुहारको भाव विग्रियो । तत्काल वाकिटकीबाट माथि के कुरा गर्यो, राम्रो बुझिएन । शवको मुचुल्का उठाएर शिव दाईलाई समेत सहिछाप गराएर प्रहरीको एकटोली सदरमुकाम हानियो । अर्कोटोली महिलाको घर तर्फ । 
 
शिवदाइको मन एक तमास भो । 
 
आखिर पुरुषको वर्वर ज्यादती सहन नसकेर  महिला कतिञ्जेल प्रताडित बनिरहन्छन् , मारिइरहन्छन् र यसैगरी काली गण्डकीमा हाम फालिरहन्छन् ? शिव दाईले आफैँलाई पश्न गरे ।
 
शिव दाईको यस प्रश्नको उत्तर आज पर्यन्त अनुत्तरितनै रह्यो । अस्तु ।
- See more at: http://nepalpati.com/news/2967/ramnath-khanal-story#sthash.4a7imwzA.dpuf


लेखकलाई फेसवुकट्विटर पनि भेट्न सकिने छ  ।

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment