Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

यसकारण हामी राजधानीलाई जवानी सुम्पिँदै छौँ



By  Unknown     11:46 PM    Labels: 

 -रामनाथ खनाल

तिम्वु नजिकै बगेको मेलम्ची खोला

उस्तै गरी बगिरहेको छ मेलम्ची खोला  । त्यस्तै गरी यांग्री र लार्के पनि । उनीहरुको बहावमा कुनै भिन्नता आएको छैन । त्यसो त सिन्धु खोला र आसपासका नदीहरुको बगाइमा पनि कुनै भिन्नता देखिँदैन । तर अवको केही वर्ष पछि तिनीहरुमा दिर्घकालिन परिवर्तन आउने छ । त्यहाँका नदीहरुमा अहिले जस्तै र त्यतीनै मात्रामा त्यसैगरी कञ्चन पानी बग्ने छैन ।

फाँटमा लहलहाएका बालीहरुले, फगटामा फस्टाएका अनाजहरुले पनि त्यसैगरी गट्टा हाल्ने छैनन् । हुनसक्छ मकवानपुर जिल्लाको कुलेखानी परियोजनाको ड्यामसाईडका बासिन्दाहरुले जस्तै आफ्नो खेतवारीमा पानी लगाउन मात्रै होइन तिर्खा लाग्दा पेटभरी पानी पिउन पनि राज्यलाई निवेदन हाल्नु पर्ने छ । आयोजना सम्पन्न भैसक्दा जती राज्यको पैसाको खोलो बग्नेछ, आयोजना पुरा भएपछि त्यहाँको नागरिकको दुर्दिन पनि त्यसै गरी सुरु नहोला भन्न सकिन्न । तथापी त्यस भेगका बासिन्दा चाँडो भन्दा चाँडो २४ वर्षे तन्नरी आयोजनालाई डोली चढाएर राजधानी पठाएको हेर्न चाहन्छन् । सिन्धु, ग्याल्थुम र तिम्वु उपत्यका आफ्नो जवानी राज्यलाई सुम्पन चाहन्छ । एउटा बाबुले आफ्नी छोरी विवाह गरेर पठाएजसरी ।

मेलम्ची आयोजना भन्दा अघि त्यस भेगमा राज्यको नजर कहिल्यै परेन । राजधानीको डाँडा पल्लोपट्टि रहेको हालको आयोजना स्थल जहिल्यै राज्यको उपेक्षामा पर्यो । आयोजना प्रभावित तिम्वु, सेर्माथान, हेलम्वुका सोझा र इमान्दार अल्पसंख्या ह्योल्मोहरुले अत्यन्त दयनीय र कष्टकर जीवन विताउन बाध्य भए । इचोक, किउल, महाकांल पाल्चोक लगायतका गाविसका बासिन्दाहरुको दुःख पनि उस्तै थियो । तालामाराङ, मेलम्ची, बाँसबारी, दुवाचौर, सिन्धुकोट, थकनी, हैवुङ, भोटेचौर, फटकसिला आदि भेगमा नागरिकहरुको दयनीय अवस्था प्रति राज्यको ध्यान कहिल्यै गएन ।

यता राजधानीमा पानी किनेर खानुपर्ने तर त्यस भेगमा स्थानीयबासीहरुको दुध नबिक्ने अवस्था थियो । त्यहाँका नागरिकहरुले यातायात, विद्युत तथा कतिपय गाविसमा खानेपानी लगायतको चरम मार व्यहोरिरहँदा त्यसतर्फ न राज्यको ध्यान पुगेको थियो न त्यस क्षेत्रको विकास गर्छु भनेर चुनिएर आएका जनप्रतिनिधिहरुले नै त्यसतर्फ ध्यान पुर्याएका थिए । तर जव राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा मेलम्ची खानेपानी आयोजनाको बहस चल्यो र राज्यले त्यसतर्फ सम्पूर्ण ध्यान खर्चिएर आयोजनाको थालनी गर्यो त्यसपछि त्यहाँको बासिन्दाको जीवन थोरै भए पनि माथि उठकोे छ । सडक पुर्वाधारको विकास भएको छ । आयोजनाकै लागि भएपनि राज्यले विकासका लागि बजेट छुट्याइदिइको छ । के आयोजना पछि पनि प्रभावित क्षेत्रका बासिन्दाहरुले राज्यका तर्फबाट पाउने सुविधा यसैगरी पाउलान् ? या त्यसका लागि त्यहाँका बासिन्दाले राज्यसँग निरन्तर लडाइँ गर्नुपर्छ । यो नै आजको प्रमुख सवाल हो ।

सरकारले २०७१ साल बैसाख १ गते सम्ममा अहिले बगिरहेको मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी राजधानी  लैजाने छ । त्यस्तै पछिल्लो चरणमा यांग्री र लार्केबाट थप ३४ करोड लिटर पानी लैजाने योजना पनि छ सरकारको ।

मेलम्चीबाट सुन्दरीजलसम्म २६।५ किलोमिटर सुरुङ खनेर राजधानीमा पानी पठाउन लागेको यो आयोजनाले २४ हिँउद खाइसकेको छ ।  पटक- पटक रोकिँदै र सुरुहुँदै गरेको आयोजनामा हालसम्म  जम्मा ६।६७ किलोमिटर मात्र खनिएको छ । अझै १९।८३ किलोमिटर सुरुङ खन्न बाँकी छ । सिन्धु, ग्याल्थुम र तिम्वु  तथा राजधानी काठमाडौँको सुन्दरीजलबाट समेत एकैसाथ सुरुङ खन्ने काम थालिए पनि आयोजनाको गतीले निर्धारित समयमै लक्ष्य पुरा गर्न असम्भव जस्तै देखिन्छ ।

सरकारले मेलम्ची काठमाडौंसम्म ल्याउन सुरुवातमा २४ करोड ९४ लाख अमेरिकी डलर अर्थात २३ अर्ब ८९ करोड २५ लाख रुपैयाँ बजेट छुट्याएको थियो । तर पछि पुनः ठेक्कापट्टा गर्दा आयोजनाको लागत २८ करोड ७४ लाख अमेरिकी डलर अर्थात आजको विनिमय दरमा २७ अर्ब ५३ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

त्यसमध्यैबाटै परियोजनाले प्रभावित गाविसलाई सामाजिक उत्थान कार्यक्रम साउकामार्फत बृद्धि र विकासमा सहयोग पुर्याएको छ । तथापी त्यस भेगमा बासिन्दाहरुले लाभ लिन सकिरहेका छैनन् । चरम राजनीतिक खिचातानी र दाउपेचका कारण साउकाले प्रभावकारी कार्य गर्न नसकेको स्थानीयबासीहरु बताउँछन् ।

एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित परियोजनालाई पूर्णता दिएर राजधानीबासीलाई पानी खुवाउन त्यहाँका बासिन्दालाई जती हतारो छ उत्तिकै आयोजना पुरा भएपछि राज्यले उपेक्षा गर्ने भय पनि ।  अहिले आयोजनाले सुरुङ मुख्य प्रवेश मार्ग तथा प्रवेश सडक निर्माण र सुधार गर्ने काम गरिरहेको छ । त्यसमा स्थानीयहरुले जुनमात्रामा रोजगारी पाउनु पर्ने हो त्यो पनि समानुपातिक तवरले पाउन नसकेको स्थानीयबासीहरुको गुनासो छ । अहिले २१ वटा क्याम्प साइट भवन निर्माण सम्पन्न भैसकेको छ भने संकलन भएको पानी प्रशोधन गरेर काठमाडौं पठाउनका लागि ठेक्का प्रकृया पनि अघि बढीरहेको आयोजनाले जनाएको छ ।
सिन्धु सुरुङमा काम गर्दै कामदार


प्रभावित क्षेत्रमा बासिन्दाहरुलाई घरजग्गाको मुआब्जा तथा क्षतिपूति वितरणका  लागि ९० करोड रुपैयाँ  वितरण भैसकेको छ । यसले त्यस क्षेत्रका बासिन्दाहरुलाई केही राहत मिलेता पनि त्यस क्षेत्रको दिर्घकालिन विकासका लागि राज्यले आवश्यक ध्यान दिनै पर्दछ । आयोजना सम्पन्न गर्नु मात्रै राज्यको प्रमुख दायित्व होइन । हेलम्वु भेगमा रहेका अल्पसङ्ख्यक ह्योल्मो जातिको उत्थान र विकास साथै हेलम्वु क्षेत्रको पर्यटकीय विकासका लागि राज्यले उत्तिकै चासो र चिन्ता लिनु पर्दछ ।
सुरुङ प्रवेशका लागि आयोजनाले निर्माण गरेको सडकको स्तरोन्नती र थप पुर्वाधार निर्माणका लागि पनि उत्तिकै दृष्टि पुर्याउनु पर्ने देखिन्छ ।

हेलम्बु क्षेत्र धार्मिक पर्यटनको खानी पनि हो । हिजो यस क्षेत्रमा मुस्ताङ विर्साउने स्याऊ फल्थ्यो । तर आज त्यो एकादेशको कथा भैसकेको छ । त्यसैले हेलम्वु क्षेत्रको संरक्षण र विकासका लागि राज्यले एकीकृत विकास योजना नै बनाउनु पर्दछ ।

आयोजनाले केही विद्यालय भवन निर्माण, स्वास्थ्यचौकी स्थापना र शिक्षक दरबन्दीका लागि आर्थिक सहयोग जस्ता कार्य गर्दै आए पनि प्रभावित क्षेत्रमा दीर्घकालीन रूपमा विकासका काममा अहिलेसम्म अपेक्षाकृत हुन सकेको छैन । आयोजनासँग समन्वय र स्थानीय विकासका लागि गठित सिन्धु ह्योल्मो समिति पनि क्रियाशील छ । र पनि सवैको ध्यान आयोजना पुरा गर्ने तर्फ मात्रै देखिन्छ । यसले कतै त्यस क्षेत्रका बासिन्दाले राजधानीलाई जवानी सुम्पिँदै मात्रै त छैन भन्ने संसय पनि उत्पन्न गराएको छ ।

सिन्धु सुरुङ प्रवेशको क्याम्प साइड


कहिलेकाँही त्यस क्षेत्रका बासिन्दाहरु आयोजना अवरुद्ध मात्र गर्दछन् भन्ने सवाल पनि नउठेको होइन । जव कुनै क्षेत्रका मानिसहरुले आफ्नो अचल पुँजी नै राज्यलाई बुझाउँदै छ भने स्वभाविक हिसावले उनीहरुको राज्यसँग अपेक्षा पनि हुन्छ । त्यो अपेक्षा पुरा नहुँदा आन्दोलनमा उत्रनु धेरै हदसम्म जायज कुरा हो ।  

यसरी सम्पूर्ण रुप, यौवन र जवानी सुम्पिएर राजधानीबासीको प्यास मेट्न आतुर आयोजना प्रभावित क्षेत्रको थप विकासका लागि एकीकृत योजना निर्माण गर्ने र स्थानीयबासीलाई सहयोगमा लिएर आयोजना सिघ्रातिसिघ्र सम्पन्न गर्नु आजको आवश्यकता पनि हो ।
Published on http://nepalpati.com/news/3790/melamchi-water-project 

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment