Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

म कुमारी आमा



By  Unknown     12:47 AM    Labels: 

-रामनाथ खनाल


राज्यले नागरिकलाई दिएको पहिचान भनेको एक थान नागरिकता न हो । त्यसवाहेक गरिवी , अभाव र मजस्ता समस्याको चंगुलमा फसेका वेसाहारा म जस्ता कयौँ नागरिकहरुले राज्यबाट के पाएका छन् र ?

मैले सानैमा पढेको हुँ । सुनेको हुँ । र मेरो बुझाइमा राज्य भनेको खुला आकाशमा उदाउने घाम जस्तै हो । जसको उज्यालोबाट धर्तिको कुनै हिस्साले अन्याय व्यहोर्नु पर्दैन । मैले बुझ्दै छु यो राज्य त एउटा झुण्डको मात्र हो । जसको वरिपरी राज्य न्यूक्लियस जस्तो घुमेको छ र त्यो कालो घेराबाट बाहिर आउनै सकेको छैन  । जसले आज सम्म नागरिकलाई दुःख दिन बाहेक अरु केही जानेकै छैन । यदी त्यसो हुँदैनथ्यो भने आज म मेरी छोरीलाई किन मेरो परिचय दिन सक्दिन ? तँ मेरै रगतबाट जन्मिएकी होस् भनेर किन यसलाई मैले नाम दिन सक्दिन ? कसैले भन्न सक्छ की यो मेरी छोरी हैन भनेर ?

ऊ मुर्मुरिन्छे । भित्र भित्रै दाह्रा किट्छे ।

ऊ एक थान नागरिकताको लागि जिल्ला प्रशासन कार्यालय धाएको वर्ष दिन पुरा भइसकेको छ । तर पनि एक थान नागरिकता दिन पनि प्रशासनले अनेक अड्चन खडा गरिदिएको छ । जसलाई ऊ सहजै पार गर्न सक्दिन ।

छोरी अनायसै प्रश्न गर्छे, ‘आमा म नागरिक हुन के गर्नु पर्छ ?’

‘तँ नागरिक हुन बाबुको छोरी हुनु पर्छ । या कसैकी स्वास्नी बन्नु पर्दछ । यदी दुवै भइनस् भने यसै गरी अनागरिक बन्नु पर्छ ।’ कुरा बुझिस् तैँले ।

‘बुझेँ’, छोरीले मनमनै मुन्टो हल्लाई ।

0

‘तँ त कस्ती नक्कली छेस’

स्यानी हुँदा उसलाई सवैले यसै भन्थेँ ।

‘नकराओ नकचरी हो’ तत्काल त उम्किन्थी तर पनि किन किन यो शव्दले उसलाई भित्रभित्रै घोच्थ्यो र काउकुती लगाउँथ्यो ।

उमेरले पन्ध्रैै नकाटे पनि ‘मलमा परेकी मुला’ जस्तो हलक्कै बढेकी ।

घरमा पनि उसलाई त्यसै भन्थे, ‘यो त कति साह्रो नक्कली, सोह्रै नकाटी पोइल जान्छे जस्ती छे ।’

सुलुत्त परेको जीऊडाल । मिलेको ओठ दाँत । सिल्की कपाल । पुष्ट छाती । बाटुलो तथा गोरो अनुहार ।

ऊ दोहोर्याएर तेहेर्याएर ऐना अघिल्तिर आफूलाई उभ्याउँथी । आफ्नो सुन्दरताको मादकतामा आफैँ मोहित हुन्थी । लट्ठिन्थी । उसलाई आफूमा कुनै किसिमको कमिको महसुस हुँदैनथ्यो ।

कक्षामा पनि सवै केटाको नजर उही तिरै हुन्थ्यो । बैँसमा नलागेको केटाको आँखा कहिले लाग्छ त ? ऊ यस्तै सोच्थी । कक्षाकोठमा बेन्चको अघिल्लो सिटमा बस्दा पछिल्लो सिट्मा केटाहरुले कागज पोको पारेर ऊ भएतिरै मिल्काउँथे । अरु केटीहरु प्रतिवाद गर्थे । ऊ भने कुनै वास्ता गर्दिनथी । पछि केटाहरु आफैँ थाक्थे । यस्तै गरी उसको स्कूले जीवन पार लाग्यो ।

पयुँ फुलेसरी फूलेको उसको यौवनमा नलट्ठिनेहरु सायदै कोही थियो होला । छोरी हुर्किइसकेकोले घरमा पनि विहावारीको कुरा नचलेको होईन तथापी ऊ बिहे गरिहाल्ने पक्षमा थिइन । घरमा ऊ भएको नभएको बेलामा उसलाई केटाहरु हेर्न आउँदा ऊ आमासँग लडिबुडी खेल्थी । बिहे नगर्ने अड्डि कस्थी । उसको बालहठको अगाडि बा–आमा हायल कायल हुन्थे ।

लौ मर ! भनेर चुपलागि दिन्थे ।

‘एसएलसी पास गरिहालिस् अव पढ्नु पर्दैन ।’ उसकी आमाले एक दिन मेला हिँड्नु अगाडि सम्झाइन् । ऊ रिसले आगो भई । मेला हिड्न तयार भएकी ऊ हातको कचिया मझेरीमा फालेर बुईंगलतिर उक्लिई ।

आमाले हार मानिन् र उसलाई सहर पठाउन राजी भइन् । ऊ खुसीले फुरुङ्गिई र मेला हिँडी ।

त्यसको एकहप्ता नवित्दै ऊ सहर हानिई ।

सहर छिरेपछि उसको दैनिकी फेरीयो । नयाँ ठाउँ नयाँ परिवेश । नयाँ रहनसहन । हरेक चिज नयाँ लाग्न थाल्यो । त्यसमा भिज्न उसलाई अलिक समय लाग्ने नै भयो

कलेजको पढाईको चाप उस्तै थियो । घरबाट ल्याएको पैसाले काठमााडौँको खर्च धान्न धौ–धै थियो ।  ति सवैमा अभ्यस्त हुन उसलाई केही समय लाग्यो । तथापी आफ्नो लक्ष्य प्रति दृढ निश्चयी थिई । आँखामा सप्तरंगी सपना थिए । कलेजमा बिल्कुलै नयाँ साथीहरु ।

कोठा खर्च चलाउन सधैँभरी घरबाट ल्याउनुपर्ने बाध्यता उसलाई ननिको लागि रहेको थियो । कलेज छुट्टी भएको बखत ऊ कामको खोजीमा यसो सहरका कुनाकानी चहार्थी । अफिसका ढोका अघिल्तिर ठिंग उभिन्थि र कुनै भ्याकेन्सी छ की बुझ्थी । तर महिनौँ वितिसक्दा पनि उसले कुनै काम भेट्टाउन सकेकी थिइनँ ।

एक दिन उसको आँखा कलेज अघिल्तरको एउटा पत्रिकामा छापेको विज्ञापनमा पर्यो । विज्ञापनमा शिक्षित÷अशिक्षित युवायुवतीलाई आकर्षक रोजगारी दिने उल्लेख गरिएको थियो । विज्ञापनमा उल्लेख गरिएको ठेगाना र सम्पर्क पहिल्याउँदै उ त्यो ठाममा पुगी ।

बागबजारको एउटा सानो गल्ली भित्रको त्यो अफिसमा ऊ जस्तै दुई तीन जना युवायुवती पनि रोजगारी पाइने आशमा पुगेका थिए । आकर्षक र खाइलाग्दो एक युवक ती युवायुवतीसँग कुरा गरिरहेको थियो ।

नयाँ र अपरिचित ठाउँमा छिरिहाल्न उसको मनले मानेन । ऊ एकछिन् ढोकामा यन्त्रवत् उभिई । 
‘आउनुहोस् न भित्रै’

भित्रको युवक बोल्यो ।

औपचारिकता पुरा गर्दै उ भित्र पसि ।

‘भन्नुहोस् के का लागि ?’

‘पत्रिकामा भ्याकेन्सी रहेछ, त्यही बुझौँ भनेर ।’

युवकले फारम अघिल्तिर बढाउँदै भन्यो, ‘यहाँ उल्लेखित कुराहरु भर्नुहोस् र वैयक्तिक विवरण पनि सँगै बुझाउनुहोस्, हामी पछि खवर गर्छौं ।’

उसले त्यहाँ उल्लेखित विवरण भरी र विदा भएर निस्किई ।  

पुसको महिना थियो । साँझको पाँच बजी नसक्दै बातावरण गोधुलीमा परीणत भैसकेको थियो । रत्नपार्कमा बस कुरीरहेकी ऊमा एककिसिमको हतारो छ । त्यस्तै हतारोमा अरुपनि छन् । अघिल्तिरको रानीपोखरी मृत्युवत् मुद्रामा छ । घण्टाघरको सुईको चालसँग मानिसको गतिको संगति मिलिरहेको छैन । मनिसको अनुहारको चटारो, हतारो र बेफुर्सद उ पढ्न सक्दिन । तर अनुमान गर्न सक्छे । मानिसहरुको ठूलो पंक्ति बसको प्रतिक्षा गरिहेको छ । त्यस्तैमा ऊ पनि छे । साँच्चै सहरमा बाक्लिँदो भिड र आफैँसँग हराउँदै गएको मान्छेहरुको चालले उसको मन अमिलो हुन्छ ।

चावहिल, चावहिल..

ऊ बस आयो । सवै तछाँड मछाँड गरेर बस भित्र पस्छन् । राजधानीमा बस चढ्न पनि युद्धै जित्नु पर्छ । उसले मनमनै सोची । बसको रफ्तार बिस्तारै बढ्छ । पुरानो वसपार्क, पुतलिसडम हुँदै बस आफ्नै रफ्तारमा अघि बढ्छ । बस भित्र उसको मथिङ्गलमा दिउँसोको युवक, जागिर र बागबजारको  पुरानो गल्ली भित्रको सानो अफिस चलचित्रको दृष्य झैँ घुम्न थाल्छ ।

आहा ! काम पाए त । उ मनमनै सोच्छे कतिखेर चावहिल आइपुग्छ । बसबाट ओर्लिएर कोठासम्म पुग्छे उसलाई कुनै पत्तो हुँदैन । कोठामा पुग्दा नपुग्दै घरवेटी आमै बोल्छीन् ।

‘नानी तिम्रो फोन आएको थियो, बागबजारबाट, तिम्रो काम पक्का भयो रे । भोलि देखि  नै अफिस् जानु रे ।’ यति भनेर आमै माथि उक्लिइन् । उसलाई त्यो खवर पत्यारै लागेन । तर नपत्याई धरै थिएन । आमैले यसै भनेर माथि गएकी थिइन ।

उसलाई कोठामा खाना बनाउने जाँगर चलेन । अघि लागेको भोक पनि पेटभित्रै अलप भयो । खुसी हुँदा भोकले पनि यति चाँडै विर्सन सक्दो रहेछ हगी ? खुसी हुँदै विस्तारामा पल्टिई ।

मनमा अनेक तर्कना आइरह्यो । सुन्दरता पनि ईश्वरको बरदान हो एक मनले सोच्यो । अर्को मनले भन्यो, साँचो मनले कल्पना गरे आँटेको पुग्छ रे । आखिर मैले आँटेको र सोचेको के नै नपुगेको छ र ?

उसलाई मध्यरात सम्म पनि निद्रा परेन । अफिसको त्यही युवक, बागबजारको गल्ली, कार्यालय र बुढी आमैले सुनााएका कुरा नै मष्तिष्क वरिपरी घुमिरह्यो  ।

तन्द्रामै रात वित्यो । उज्यालो भयो । खाना खाइओरी सक्दा नौ बज्यो । उसले आफूसँग भएको श्रृङ्गारका सवै अवयव निकाली अनुहारमा दली । अनुहारमा अझै चमकता देखा पर्यो । र ऐनसामू आफूलाई उभ्याई । आफैँलाई ऊ अझै सुन्दर र कामुक लाग्न थाली । एउटी पूर्ण युवती झैँ ।

‘राम्री देखिएकी छ्यौ ।’ बरण्डा कट्नै लाग्दा घरवेटी आमैले  भनिन् ।

उसले हाँसेरै टारी दिई ।

बाटोमा मनमनै सोची, ‘म नराम्री नै त कहाँ छु र ?’

उसलाई बाटोमा हिडिँरहेका मानिस र त्यस वरपरका दृष्यको केही याद भएन । सिर्फ कतिखेर बागबजारको अफिस पुगौँ ।

आज अफिसको पहिलो दिन, के भन्ने हो ? कस्तो सोच्ने हो ? गाडिमा पनि उसको दिमाखमा यस्तै आइरह्यो ।

नमस्ते सर !

उसले त्यो युवकलाई अफिसको सिँढीमै भेटी । सायद हाकिम नै उही हुनुपर्छ । कतै अभिवादन पुगेन की ? कतै औपचारिकतामा गडवडी आयो की ? ऊ आफैँलाई अनेक लागिरह्यो ।

ए नमस्ते ! ,

‘चाँडै आइपुगेछौँ त ।’

‘आज पहिलो दिन भएर, फेरी काम पनि त बुझ्नु पर्यो नी’ उसले आवाजलाई अझै भित्र दवाएर बोली । यस वखत उसको सुन्दरतामा अझै प्रष्टता देखियो ।

यसबाट युवकको भावभंगीमा थोरै परिवर्तन आयो ।

‘ए !’

उसले ढोका खोल्दै भन्यो ।

‘आऊ भित्र ।’

भित्र आउने अनुमती दियो र बस्न आग्रह गर्यो र उसले कामको विवरण देखाउँदै भन्यो ‘आज देखि तिमिले यो अफिस ह्याण्डल गर्नुपर्छ ।’

‘तर चिन्ता लिनु पर्दैन म विस्तारै सिकाउँछु ।’ उसले साहस दिँदै भन्यो र कामको बारेमा थोरै बताएर गयो ।

त्यस पछि विस्तारै उसको दैनिकी फेरियो ।

किन किन उसलाई युवकको चाल, उसको सदासयता र हार्दिकताले मोहित तुल्याउन थाल्यो । अफिसमा खासै काम हुँदैनथ्यो । दिउँसभरी ऊ कता जान्थ्यो उसलाई खासै पत्तो हुँदैनथ्यो । बेलुका अफिस छुट्ने समयमा आइपुग्थ्यो । उसलाई कोठासम्म पुर्याई दिन्थ्यो । कार्यालयमा खासै काम नहुने र मान्छेहरुको आवतजावत पनि नहुने हुनाले ऊ त्यहीँ आफ्नो कोर्षको किताव पढ्थी  । मन नलागेको समयमा टोहोल्हाऊन बाहिर निस्कन्थी  ।

दशैंमा घर आउने बेलामा आमाले उसलाई भनेकी थिइन्, ‘छोरी अव केही काम खोज है, हामी सधैभरी घरबाटै भरथेग गर्न सक्तैनौँ ।’

आमाले भने मुताविकै काम पाएकी थिई । खुसी नै थिई ऊ ।

नियमित क्याम्पस जान भने पाइनँ । पढाई पनि काम पनि ‘दुवै हातमा लड्डु’ त कहाँ मिल्छ र ? यसै भनेर आफूलाई सान्त्वना दिन्थी ।

अफिसको बोस युवक बिस्तारै उसको नजरमा पर्न थालेको थियो । काम सुरु गरेको झण्डै दुई महिना वित्दा पनि उसले युवकसँग राम्रो कुरा गरेको छैन । त्यसो त कुरा पनि कसरी गर्नु ? ऊ दिउँसो अफिसमा बस्ने भए पो ? बेलुका आउँछ । बाइकमा पछिल्तिर राखेर कोठा सम्म पुर्याई दिन्छ र हात हल्लाउँदै विदा माग्छ ।
फेरी भोली पल्ट पनि उही । अफिसमा बाहिर सामान पठाउनु पर्ने दिन बाहेक ऊ बाहिरी काममा नै व्यस्त हुन्छ । कुरा गर्ने फुर्सदै पाए पो । किन किन उसाई देख्दा आफूभित्र प्रेम सलबलाएको पाउँछे । अग्लो र खाइलाग्दो जीऊ । टम्म मिलेको दाँत । हँसीलो अनुहार यी सवैले उसलाई कता काउकुती लगाउछँ । धत ! के सोचेकी मैले पनि ऊ आफैँलाई सम्हाल्छे ।

एक दिन अचानक युवकले भन्यो, ‘आज बेलुका मेरो सप्र्राइज छ  ।’

ऊ झन् पानी पानी भई । मेरो मनमा टुसाएको प्रेमको अंकूर कतै उसको मनमा पनि ? उसले दिनभरी के के सोची ।

बेलुका ऊ अलि चाँडो आयो ।

‘आज तिमीलाई विशेष सरप्र्राइज छ’, उसले मुख अझै हँसिलो पारेर भन्यो ।

‘कस्तो सरप्राइज’, उसको कौतुहलता अझै झाङ्गियो ।

‘आज मेरो जन्मदिनको अवसरमा तिम्रो लागी सानो पार्टी राखेको छु’, उसले खुसीले पुलकित हुँदै भन्यो ।

अफिसको  त्यो युवक उसको हाकिम मात्र होइन अन्न दाता पनि थियो । उसको आग्रहलाई नकार्ने प्रश्नै आउँदैनथ्यो । उसले हतार गर्दै भन्यो, ‘चाँडो जाऔँ हिँड त्यहाँ सवै तयारी भैसक्यो, म तिमीलाई लिन आएको ।’

यति भन्दा नभन्दै ऊ तयार भसकेकी थिई । अफिस बन्द गरेर ऊ त्यही युवकको बाइकको पछिल्तर बसी । युवकले बाइकको गति बढायो र उनीहरु गोधुली चिर्दै बागबजारबाट केही अगाढी बढे ।

युवकले उसलाई भव्य रेष्टुरेन्टको सानदार कक्षमा पुर्यायो । ऊ सजाई राखेको केक र अनेक परिकारका मिष्ठान्नको अघिल्तिर थिई । युवकले ढिला नगरी उसलाई केक काट्न अह्रायो ।

युवतीले पनि ‘ह्यापी बर्थ डे य’ू भन्दै उसलाई जन्म दिनको शुभकामना दिई । उसले धन्यवाद भन्दै केकको एक टुक्रा उसको मुखमा हालिदियो ।

‘अनि अरुलाई खवर गर्नु भएन ?’ युवतीले टेवलमा राखेको परिकार आफूतिर तान्दै सोधी ।

‘यो तिम्रै लागी हो’ युवकको आवाज केही धरमरायो । रेष्टुरेन्टको डिम लाइट छिचोलेर आएको मधुरो प्रकाशले उसका अनुहारको भाव अझै बिगार्यो ।  ‘तिमीलाई म अर्को सरप्राइज पनि दिन चाहन्छु’ युवक अझै अघि बढ्यो ।

युवतीको मुटुको र स्वासको गतिमा केही परिवर्तन आयो र पनि ऊ यन्त्रवत् तरिकाले टेवलको परिकार खानमै व्यस्त देखिन्थी ।

अनायसै युवकले उसको हात समायो र भन्यो, ‘धेरै अघि देखि मैले तिमीलाई भन्न खोजी रहेको थिएँ ।’ यदी तिमीले स्वीकार्छ्यौँ भने म तिमीलाई मन पराउँछु ।’

‘आई लभ यू’

युवक भावुक देखियो ।


पहिलो पल्ट कोही युवकले उसको हात समातेको थियो । र पहिलो पल्ट कुनै युवकसँग साक्षात्कार भएकी थिई । युवकको हठात्को आग्रहबाट सुरुमा त अताल्लिई तर पनि ऊ केही बोलीन ।

उसको मौनताले रेष्टुरेन्टको मधुरो वातावरण भित्तामा ठोकिएका प्रकाशहरुलाई चिर्ने साहस गरेनन् ।  र ऊ आँखाहरु जमिनतिर ओच्छ्याएर मूर्तिवत् मुद्रामा घोत्लीइरही ।

युवकको प्रेमको भाषाले उसको मनको कुन्तरतिर कोतर्न थाल्यो । एकमनले सोची, चुपचाप स्वीकारी दिऊँ । आखिर मेरो कल्पनामा त ऊ पनि आएकै होनी । एक कदम अघि बढेर ऊ नै समर्पित भयो, के नै विग्रियो र ? अर्को मनले अहँ हतार गर्नु हुँदैन  । मन धेरै बेर दोमनमा रहन पाएन । युवतीले पनि हुन्छ भनिदिई । युवकको अनुहारमा खुसीका रेखाहरु छरपष्ट देखिन थाल्योे ।

कतिखेर टेवलका परिकारहरु सिध्धिईसकेछन । दुवैलाई पत्तो भएन ।

केही बेरमा युवकले भन्यो, ‘आज यतै बसौँ है ?’ सुरुमा त उसले नकारी । तर युवकको आग्रहलाई पन्छाएर अघि बढ्ने साहस उसमा पलाएन  ।

‘हुन्छ’ आग्रह स्वीकार गरी  ।

युवकले कोठाको बन्दोवस्त गर्यो ।

जीवनमा पहिलो पल्ट ऊ कोही नयाँ युवकको आलिङ्गनमा थिई । युवकको कसिलो अङ्गालो उसलाई कुनै पनि अर्थमा भद्धा र अप्ठ्यारो लाग्ने किसिमको थिएन । उसको तातो निश्वास उसलाई झन् मादक लाग्न थाल्यो । र प्रेममा बहकिई या समपर्णमा हुत्तिई उसलाई कुनै प्रवाह भएन ।

उसले त्यो रात मन, भावना र भौतिकता सम्पूर्ण रुपमा त्यस युवकको आलिङगनमा बेपरवाह हुत्याइदिई ।
00

उसका दुर्दिनहरु सुरु भए  ।

त्यसपछि त्यो युवक उबाट अनायसै टाढिन थाल्यो । युवकले उसबाट जे अपेक्षा गरेको थियो त्यो पूर्ति पछि ऊ विस्तारै विस्तारै ओझेल पर्यो । उसको हार्दिकता, सदसयता पनि रंगमञ्चमा प्रदर्शित नाटक झैँ लाग्न थाल्यो

चलचित्रले झैँ जिन्दगीले नयाँ मोड लियो । अब उसलाई सुन्दर र कामुक लाग्ने आफ्नो यौवनले आफैँलाई गिज्याउन थालेको भान हुन थाल्यो । आवेग र उत्तेजना माथिको नियन्त्रण गुमाउँदाको परिणती र भ्रुणको रुपमा विकास हुँदै गरेको सम्बन्धबाट त्यो युवक क्षितिज पारी पुगिसकेको थियो ।

सहरको भीडमा एक्लो जीवन व्यतित् गरिरहेकी ऊ त्यसपछि नितान्त एक्लो भई । एक छिन्को गल्तीको पश्चातापको अव कुनै अर्थ थिएन । कल्पना गरे भन्दा कठोर भएर आएको परिस्थितिको सामना गर्न आफूलाई भौतिक रुपमै सवल पार्नु  उसको एकमात्र बाध्यता थियो ।

एक दिन मनमा धैयर्ता जुटाएर आमा काठमाडौँ आएको बखत सवै बेलिविस्तार लगाई  । छोरीको कहाली लाग्दो कुरा सुनेर आमाले व्यक्त गर्ने शव्द नै पाइनन् । इज्जत जाने र परिवारको नाक काटेको संज्ञा दिएर आमाले बचनबाँड मात्र हानिनन्, उल्टै ‘जहाँसुकै गएर मर तर मेरो अघिल्तिर नआउनु’ भनेर’ गाउँ फर्किइन् ।

अव ऊ क्रमशः घर, गाउँ समाजबाट टाढिई । समाजले अपहेलनाको काँडेदार बचन मात्र होइन छिः छिः दुर् दुर् गर्न थाले । सवैले उसलाई नै दोषी देखे ।

गर्भमा जसको भ्रुण हुर्किइरहेको थियो त्यो युवक खोज्न उसले आफ्नो भएभरको बल खर्चिइ र पनि पत्ता लगाउन सकिन । प्रहरी, न्यायालय आदी धाउँदा धाउँदै उसले नपाउनु दुःख पाईसकेकी थिई । नाजायज सम्वन्धबाट रहन गएको गर्भमा विकसित हुँदै गएको भु्रण तुहाउने सोच पनि उसमा नआएको होइन ।

‘आफ्नो क्षणिक भावना र उत्तेजनाको सजायँ यो निरापराधी भ्रुणलाई किन दिऊँ ?’ उसको मनले यही सोच्थो र भु्रणलाई जन्माउने साहस बटुल्थी । अन्तिममा उसलाई साथ दिने तिनै घरवेटी आमै भइन् ।  ती आमैले उसलाई राम्रो साहारा मात्र दिइनन् अभिभावकत्व पनि निभाइन्  ।

बच्चा जन्मीयो । सुत्केरी तिनैले उतारिदिइन् । जस्तो भएपनि सन्तानको मायाँ त आमालाई हुन्छ नै गाउँबाट आमाले पनि उनलाई भरथेग गरिन् । एउटा सानो गल्तीले नरक बन्न पुगेको जीवनमा आखिर त्यही छोरी साथी बनेर आएकी थिई ।

अव त छोरी पनि अठार वर्ष पुरा भैसकेकी छे । तर पनि जीवनबाट भाग्न खोजेको प्रश्नको झटारोले जहाँ गए पनि नछोड्दो रहेछ । प्रश्नहरुबाट तर्किएर बाँच्न खोज्यो, कसैले अनायसै खोज्छ यसको बाबु खोई ?

स्यानो हुँदा छोरीले पनि यही प्रश्नले चितोर्थी कोपर्थी तर उसले त आज भोली बुझिसकेकी छे । मेरो कहालिलाग्दो विगत नकोट्याउन ऊ राजी भएकी छे तर समाज फेरी पनि मेरो खाटा बसिसकेको घाऊ कोटयाइदिन्छ ।

आज फेरी मेरो सामू कानून तगारो बनेर उभिएको छ । मैले मेरो छोरीलाई नाम दिन सकेको छैन । राज्यले दिने एक थान नागरिकताका लागि यो मेरो छोरी अवैध भएकी छे, कारण यो बाबुको नाम, थर र वतन खुलाउन म असमर्थ छु ।

आज यो विना बाबुको छोरी भएकी छे । र राज्याको आँखामा अवैध छोरी ।

उसको र मेरो नाजायस संसर्ग कानून विपरित भएपनि कानूनले खुलाएकै प्रकृया र उस्तै तरिकाले जन्मिएकी मेरी छोरीले किन आमाको नामबाट नागकिता पाउँदिन, कसैसँग छ यसको जवाफ ? अस्तु । 
Published on http://nepalpati.com/news/4048/ramnath-khanal 


About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment