एकवर्ष अघिको भूकम्पमा ८४ घण्टा पुरिएर, आफ्नै पिसाब पिएर ज्यान जोगाएका ऋषि खनाललाई भूकम्पको एकवर्ष बित्दा अझ ठूलो समस्याले अत्याएको छ । २०७२ वैशाख १२ गतेको ७.६ रेक्टर स्केलको भूकम्पले उनी बसेको गेस्ट हाउसको पिलरले उनलाई उम्कन दिएको थिएन, अहिले त्यही पिलरको कारण गुमेको खुट्टाले गर्दा परिवार पाल्न सकस परेको छ, यी २७ वर्षीय युवालाई ।
खनालको परिवारमा गरिबीले ज्यान पाल्न मुस्किल भएपपछि तीनवर्ष अघिमात्र बिहे गरेर माया गाढिदै गरेकी श्रीमतीले नै विदेशमा गएर पैसा कमाएर ल्याउन र सन्तानलाई शिक्षा दिन आग्रह गरेपछी उनी २०७२ साल वैशाख ९ गते काठमाडौं आएर गोंगबुको सयपत्री गेष्ट हाउसमा बसे । विदेश पठाउने कम्पनीले वैशाख १४ गते उड्ने पक्का गरिसकेको थियो, भिसा पनि आइसकेको थियो । तर, वैशाख १२ को भूकम्पले उनको पखेटा काटिदियो । आमा, बुवा, दुई भाइ, आफ्नो सानो छोरा र श्रीमतीसहितको परिवारको सहारा बन्न घरबाट हिँडेका खनाल सात महिना अस्पतालमा बिताएर त्यही घरको आश्रयमा आइपुगे ।
विदेशबाट पैसा पठाउनुपर्ने उनको ठेगाना ढाकावाङ–६, अर्घाखाँचीमा उनको शरीर एउटा गोडा कटाएर आफैँ आयो ।
० ० ०
आठ कक्षा मात्रै पढेका ऋषिले अर्घाखाँचीमा भनेजस्तो काम पाउने कुरै थिएन । खेतबारीको कमाइले वर्षदिन खान नपुग्ने भएकैले उनका पिता भारतमा चौकीदारी गर्न पुगे । चारजना दाजुभाइ मध्ये जेठा अलग्गै बसे भने साइला भाइ पनि काम खोज्दै भारत पसे । कान्छो भाइको पढाइ सकिएको थिएन । परिवारको जिम्मा उनकै काँधमा आइसकेको थियो भन्दा फरक पर्दैन ।
“घरमा खान लगाउन पुगेन, अब तपाईं विदेश जानुस्”, श्रीमती कविताले दशैं लगत्तै ऋषिलाई यसै भनिन् । त्यसो त तीन वर्ष अघि विवाह गरेर ल्याएकी श्रीमतीलाई सुख दिन सकिएन की भन्ने ऋषिलाई पनि नलागेको होइन । यही साेंचेर दुई वर्षअघि उनले राहदानी पनि बनाइसकेका थिए । भर्खर जन्मिएको छोरो र श्रीमतीलाई चटक्क छोडेर विदेशिने रहर त उनलाई कहाँ थियो र ? श्रीमतीले नै अब विदेश जानुस् भनेपछि ऋषिको मन हलुङ्गो भयो र बाहिर गएर पैसा कमाउने सपना तत्कालै बुन्न थाले । र, काठमाडौं हानिए ।
काठमाडौं आए लगत्तै साथीको सल्लाह बमोजिम चक्रपथमा रहेको एक म्यानपावरमा बुझे । म्यानपावरले दुवईको केएफसी क्याफेबाट डिमान्ड आएको र एक डेढ महिनामै भिसा झर्ने बताएपछि आवश्यक कागजपत्र बुझाएर ऋषि गाउँ फर्किए । श्रीमतीलाई सबै कुरा सुनाए । “राम्रो भए जानु नि”, श्रीमतीले पनि अनुमती दिइन् । आमाले पनि कमाई राम्रो भए जान त यहाँ पनि दुख्खै छ भनेपछि ऋषि विदेश जान लाग्ने पैसाको जोहो गर्न थाले ।
० ० ०
विदेश गएर प्रशस्त पैसा कमाउने र घर परिवारलाई सुखमा राख्ने आँखाभरी सप्तरंगी सपना बोकेर ऋषि वैशाखको पहिलो हप्ता पुनः काठमाडौं आए र गोंगवुको सयपत्री गेष्ट हाउसमा कोठा लिए । म्यानपावरले हप्ता दिनअघि नै काठमाडौं आइसक्नु भनेकाले उनी ९ गते नै काठमाडौं आएका थिए ।
वैशाख १२ गते सदा झैं गेष्ट हाउसमा खाना खाए र आराम गर्नका लागि कोठामा के पुगेका थिए अचानक घर हल्लिएको आभास भयो । भूकम्प आयो भन्ठानेर हतार हतार तल झर्न लागेका थिए छत खसेर थिचिहाल्यो । “माथिल्लो तल्लामा के पुगेको थिएँ, भूकम्पले घर हल्लाइहाल्यो, तल झरूँ भन्दाभन्दै घर भास्सिएझैं भयो, त्यसपछि त केही देखिन”, उनले भूकम्पको क्षण स्मरण गर्दै बाह्रखरीसँगको कुराकानीमा भने,“टाउको त कसरी जोगिएछ थाहा भएन तर बिमले बेस्सरी खुट्टा थिच्यो ।”
अजंगको बिम बजारिएकाले खुट्टा निकाल्न सक्ने कुरै भएन । पीडाले उनलाई मर्नु भयो । सँगै दुई जना साथी थिए, उनीहरू एकछिनमा हलचल गर्न छाडे । उनले सोंचे, ती मरे ।
बिममुनी खुट परेकाले असह्य दुख्यो । अरु साथीको झैं, टाउको मै छत खसेको भएपनि हुन्थ्यो नि छिट्टै मर्न त पाइन्थ्यो उनले यस्तै सोंचे । “तर, मर्न सजिलो त कहाँ हुँदो रहेछ र ?”, उनी अहिले यही भन्छन् ।
“खुट्टाको दुखाइ सहन नसकेपछि छिट्टै मर्न पाए हुन्थ्यो भन्ने नलागेको होइन तर मर्न सजिलो थिएन”, उनले त्यस क्षण बारे बताए ।
असीमित पीडा हुँदा उनी चिच्याउँथे, कराउँथे । वरिपरिका ईंट्टाका टुक्राहरू हुर्याउँथे तर कसले सुन्थ्यो र ? साततले गेष्ट हाउसको दोस्रो तल्लामा थिए उनी । पहिलो, दोस्रो र तेस्रो तला ध्वस्त थियो भने त्यसमाथिका तला सद्देजस्तै थियो ।
घण्टा हुँदै दिन बित्न थाल्यो । अहँ उनलाई उद्धार गर्न कोही आएनन् । बाँचेका थिए, भोक प्यास लागिहाल्थ्यो । खुट्टा थिचिएको पीडा, भोकको छटपटाहट, अब मृत्यु पर्खनुको विकल्प उनीसँग थिएन ।
“भोकको पीडा भन्दा पनि पानीको प्यास चर्को हुँदोरहेछ”, उनले भने, “रूँदारूँदै थाकिसकेको थिएँ । शरीर लखतरान भइसकेको थियो ।” मर्नु भन्दा बहुलाउनु निको भन्ठानेर गोजीबाट रुमाले निकालेँ र त्यहीँ पिसाब फेरेँ।”
“बाँच्नको लागि जे पनि गर्नु पर्दोरहेछ, पिसाब फेरेको रुमाल निचोरेर पिएँ”, उनले बढो टीठ भावमा भने ।
पुरिएको दुई दिन भइसकेको थियो । नजिकै दुई जना साथी मरेकाले शवबाट दुर्गन्ध पनि आउन थालिसकेको थियो । त्यत्तिकैमा उनले इँट्टा बजेको आवाज सुने । त्यसको केही बेरमै मसिनो आवाज उनको कानमा ठोक्कियो, “यहाँ कोही हुनुहुन्छ ?”
त्यसपछि उनको आत्मबल अलि बलियो भएर आयो । आवाज मुखबाट निस्किएन । तर, ईंट्टा फालेर म छु भन्ने संकेत गरे ।
० ० ०
सयपत्री गेष्ट हाउसमा मानिस पुरिएको छ भन्ने खबर आएपछि भूकम्पको पर्सिपल्ट नै चिनियाँ टोली कुकुर समेत लिएर गोंगबु बसपार्क पुगेको थियो । खण्डहर बनेका गेष्टहाउसमा मानिस जिउँदो रहेको कुनै संकेत नमिलेपछि उद्धार टोली रित्तो हात फर्किएको थियो ।
अघिल्लो दिन त्यसै फर्किएकाले सुरक्षाकर्मीको मन मानिरहेको थिएन । उनीहरूले निष्कर्ष निकालेका थिए, त्यहाँ पक्कै जीवित मानिस हुनुपर्छ, नभए पनि शव त पक्कै छ । सोही कारणले भोलिपल्ट सशस्त्र प्रहरीसँगै उद्धारका लागि नेपाल आएको फ्रेन्च टोली पनि सयपत्री गेष्ट हाउस पुग्यो । उनीहरुसँग भग्नावशेषमा जीवित मानिस भए नभएको पत्ता लगाउने मेसिन समेत भएकाले उनीहरूले सहजै पत्ता लगाए, यहाँ मानिस जिउँदैछ र चौँथो तल्लाबाट ढलान फोड्दै टोली ऋषिको नजिक पुग्न सफल भयो ।
त्यस अगाडि सशस्त्र प्रहरीका इन्स्पेक्टर लक्ष्मण बस्नेतले भित्र पसेर ‘कोही छ भने बोल्नुस्’ भन्दै चिच्याएका थिए । तल रहेका ऋषि बोल्न सक्ने हालतमा थिएन तर पनि उनले निरन्तर संकेत दिइरहेका थिए । ऋषि बोल्न नसक्ने भइसकेका थिए । र पनि उनले आफूलाई बचाउन निरन्तर आग्रह गरिरहे ।
नजिकै मानिस कुहिएको दुर्गन्ध, खुट्टा थिचिएको पीडाका बाबजुत उनी जीवनको याचना गरिरहेका थिए । झण्डै एघार घण्टाको अनवरत प्रयासपछि ऋषिको उद्धार भयो । उद्धारकर्मीहरू उनको नजिक पुगेपछि उनले आग्रह गरे, “दुर्गन्ध आइरहेको छ, पहिला शव निकाल्नुस् ।” तर उद्धारकर्मीले भने, “हामी पहिला तिमीलाई नै निकाल्छौं ।”
० ० ०
उनको सकुशल उद्धार सुरक्षाकर्मीलाई ठूलो सफलता भयो । राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई पनि चासोको विषय बन्यो । तर, उनको पीडा दूर भएको थिएन । बाहिर निस्केपछि हात गोडा काप्न थाल्यो । दुःखाइ झन् चर्को हुँदै थियो । देब्रे गोडा ८४ घण्टा थिचिएकाले नीलो भइसकेको थियो । सुरुको दुईदिन त औंला चलेका थिए । बाहिर आएपछि औंला चल्न पनि छाडे ।
लगत्तै उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइयो । सुरूमा खुट्टा काट्नुनपर्ने बताइए पनि अन्ततः चिकित्सकले भने, “ऋषि अब तिम्रो खुट्टाले काम गर्दैन, यसलाई काटेर फाल्नुपर्छ ।” त्यसपछि उनलाई बाँचेकोमा पश्चाताप बोध भयो । काम गरेर खानुपर्ने मानिसको खुट्टै नभएपछि त्यो कसरी बाँच्ने ? उनी रून थाले । उनलाई सम्झाउने कसले ? ८४ घण्टापछि निकालिएको छोरो बाँच्ला भन्ने परिवारलाई पनि लागेको थिएन ।
कहिले उनी श्रीमतीको अनुहार हेर्थे, कहिले नाबालक छोराको । छोराको मुख हेरेपछि उनको पीडा केही हल्का हुन्थ्यो ।
पछि उनले आफूले आफैंलाई सम्झाए, “बाँचेको छु । सँगैका साथी मरे । के उनीहरूले संसार हेर्न पाउने सौभाग्य जोगाए त, खुट्टा नभएका मानिसहरूले काम गरेर खाएका छैनन् र ?”
बिस्तारै उनी पीडाबाट बाहिर आउन थाले । त्यो उनको पुनर्जन्म नै थियो ।
० ० ०
करिब ६ महिनाको बसाइपछि अस्पतालले उनलाई डिस्चार्ज गर्यो । तर, घाऊ निको नभइसकेकाले उनी एक महिना अर्को संस्थाको सहारामा बस्नुपर्ने भयो ।
“घाऊ निको भइसकेको थिएन”, उनले भने, अस्पतालबाट डिस्चार्ज भएपनि म एक महिना संस्थामै बसेँ र घाऊ सफा गराएँ ।”
उपचार खर्च राज्यले ब्यहोरेकाले कति रकम लाग्यो त उनलाई थाहा छैन । तर, परिवार जाँदा आउँदा र केही औषधि बाहिर समेत किन्न परेकाले आफ्नो चाहिँ एक लाख खर्च भएको उनको भनाइ छ ।
० ० ०
परकम्प आउने क्रम नरोकिएकाले भूकम्पको सम्भावना टरेको आभास मानिसहरूले गर्न सकिराखेका छैनन् ठीक त्यस्तै ऋषिको जीवनमा पनि भूकम्पले कहिल्यै नपुरिने चोट दिएको छ । “टन्न पैसा कमाउँला र घर परिवारलाई सुख दिउँला भनेर परिवार छाडेर हिँडेको छोरो खुट्टा गुमाएर बैसाखी टेक्दै घर फर्कंदा कुन चाहिँ आमाबुबाको मन नरोला र ?,” उनले भने ।
अहिले उनलाई आफु अशक्त बनेकोमा भन्दा छोरा र जहान परिवारको भविष्य अन्योल बन्ला कि भन्ने चिन्ता छ र भन्छन्, “मेरो यो हालत छ, काखको छोरो र श्रीमतीको भविष्य अन्धकार पो बन्छ कि ?”
एउटा संस्थाले उनलाई कृत्रिम खुट्टा त दिएको छ तर त्यो खुट्टाले हिँडडुल गर्न नसकिएको उनको दुःखेसो छ । सरकारले लाखौं खर्च गरेर आफ्नो ज्यान जोगाइदिएकोमा उनी नतमस्तक पनि छन् ।
जीवन र मरणको दोसाँधमा अस्पतालमा पुगेर सान्त्वना दिने र बाँच्न उत्साह जगाउनेप्रति ऋणी रहेको बताउँदै उनी भन्छन्, “सबैको सहयोगले बाँच्न सफल भएँ ।”
तथापी काम गरेर परिवार पाल्नुपर्ने उनी अहिले एउटा खुट्टा गुमाएर बसेका छन् । अलिअलि भएको पैसा पनि उपचार गर्दागर्दै सकिएकाले छोरालाई कसरी पढाउने भन्ने चिन्ता छँदैछ । त्यसमाथि खुट्टा पनि राम्रोसँग निको भइसकेको छैन ।
बाह्रखरीसँगको कुराकानीको अन्तिममा उनले भने, “कोही मनकारीले छोरो पढाउन र परिवार पाल्नका लागि थोरै भए पनि आर्थिक सहायता गरिदिए हुन्थ्यो ।”
प्रस्तुतिः अक्षर काका
असीमित पीडा हुँदा उनी चिच्याउँथे, कराउँथे । वरिपरिका ईंट्टाका टुक्राहरू हुर्याउँथे तर कसले सुन्थ्यो र ? साततले गेष्ट हाउसको दोस्रो तल्लामा थिए उनी । पहिलो, दोस्रो र तेस्रो तला ध्वस्त थियो भने त्यसमाथिका तला सद्देजस्तै थियो ।
परकम्प आउने क्रम नरोकिएकाले भूकम्पको सम्भावना टरेको आभास मानिसहरूले गर्न सकिराखेका छैनन् ठीक त्यस्तै ऋषिको जीवनमा पनि भूकम्पले कहिल्यै नपुरिने चोट दिएको छ । “टन्न पैसा कमाउँला र घर परिवारलाई सुख दिउँला भनेर परिवार छाडेर हिँडेको छोरो खुट्टा गुमाएर बैसाखी टेक्दै घर फर्कंदा कुन चाहिँ आमाबुबाको मन नरोला र ?,” उनले भने ।बाह्रखरीसँगको कुराकानीको अन्तिममा उनले भने, “कोही मनकारीले छोरो पढाउन र परिवार पाल्नका लागि थोरै भए पनि आर्थिक सहायता गरिदिए हुन्थ्यो ।”









No comments:
Post a Comment