Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

“नेतालाई त जनताको माया हुँदो रहेनछ”



By  Unknown     10:46 PM    Labels: 
वैशाख १२ गते २०७२ ले सम्पूर्ण देशलाई दिएको पीडाको एक दिनपछि देशकै घाउमा मल्हम लगाउने गरी एक समाचार आयो, भत्केको घरमा पुरिएको एक पाँच महिनाको बालकलाई सेनाका उद्धार टोलीले २२ घण्टापछि सकुशल निकाले । ती बालक थिए सोनीस अवाल ।
सोनीसको उद्धार भएको फोटो देखाएर कतिले कति करोड सहयोग भित्र्याए र सिध्याए, तर सोनीसको भत्किएको घर उही अवस्थामा छ । भूकम्पले सोनीस र उनकी दिदीको ज्यान त बक्स्यो तर अवाल परिवारलाई गरिबीको आहालमा अझ गहिरोसँग डुबाएर गयो । सोनीसकी आमा रस्मीला भन्छिन्, “नेतालाई जनताको माया हुँदो रहेनछ ।”
सोनीस अवाल टाठा छन्, स्वस्थ्य छन् । उनकी आमालाई आशा छ, कसैले सहयोग गरे भने यिनी राम्रो पढेर ठूला मान्छे बन्नेछन् ।
० ० ०
“यहीँ हो नि सोनीस पुरिएको”, सोमबार संवाददाता भक्तपुरको कमलविनायकस्थित मूलढोकामा पुग्दा सोनीस अवालकी आमा रस्मीला आफ्नो छोरो पुरिएको ठाउँ हातले इसारा गरेर देखाउँदै थिइन् । भूकम्पले एकवर्ष अघि भत्काएको घर उस्तै थियो । असरल्ल काठपात, ईंट्टा, माटो पन्छाइएको थिएन । “घर बनाउन पैसा छैन,” रस्मिलाले अगाडि भनिन्, “श्रीमान्को पनि राम्रो कमाई नभएकाले घर पन्छाउन त सकेका छैनौं कसरी बनाउनु ?”
sonish
उनका श्रीमान् श्याम अवाल घरमा रहेनछन् । “गाडी चलाउन जानु भएको छ”, उनले थपिन् ।
सोनीस अवाल ०७२ सालको भूकम्पमा २२ घण्टा पुरिएका बालक हुन् । भूकम्प जाँदा उनी पाँच महिनाका थिए । अहिले १७ महिनाका भइसके । विनासकाकारी भूकम्पमा २२ घण्टा पुरिएर सकुशल निकालिएका सोनीस मुसुक्क हाँस्ने भइसके । तर उनीहरूको खण्डहर घर उस्तै हालतमा छ, कहिले बन्छ कुनै टुंगो छैन । शायद सोनीशले घर भनेर चिन्ने पहिलो संरचनानै त्यही भत्केको घरको थुप्रो हुनेछ । किनभने सरकारबाट अझै कुनै सहयोग आएको छैन र कसरी प्राप्त गर्ने पनि गरिब अवाल परिवारलाई जानकारी छैन ।
० ० ०
वैशाख १२ गते सदाझैं रस्मिला छोरालाई दूध चुसाएर र छोरीलाई खाना खुवाएर आफू किनमेलका लागि पसल निस्किएकी थिइन् । घरबाट उनी केही परमात्र पुगेकी थिइन्, सारा जमिन हल्लाउँदै भूकम्प गयो । सबैजना भागदौड गर्न थाले । हेर्दाहेर्दै पुराना घरहरू गर्ल्यामगुर्लुम् ढले । आँखै अगाडि सिंगै भक्तपुर धुलाम्य भयो ।
sonish4
उनले झल्याँस्स सम्झिइन्, “बलिया देखिएका घरहरूले त धर्म छाडे भने आफ्नो त वर्षौं अघि बनाएको पुरानो माटाको घर, के बाँकी रह्यो होला र ?”
त्यसपछि उनी हतार हतार आफ्नो घरतर्फ अघि बढिन् । जताततै ढलेका घर, मानिसहरूको रूवावासी, उनका गोडाहरू लडखडाउन थाले ।
बाटैमा जेठाजूको घर थियो । उनको तीन तलाको माटोको घर जगैसम्म भत्किएको थियो । जेठाजूको परिवार पुरिएका आफ्ना दुई छोरी छोज्दै रहेछन् । उनी त्यहाँ अल्झिइनन्, उनलाई चिन्ता थियो, आफ्ना तामाका टूसाजस्ता दुई छोराछोरीको ।
कुहिरीमण्डल धुलोबीच मथिङ्गलमा छोराछोरीको आकृतिबाहेक केही देखिनन् । भन्छिन्, “जेठाजूका छोरीहरू पुरिएको सुनेपछि मेरो होस् हवासै उड्यो ।”
भूकम्पको धक्का आउने क्रम रोकिएको थिएन । जति जमिन हल्लन्थ्यो उति नै भत्कन बाँकी घरहरूका ईंट्टा र माटोहरू बाटामा झर्थे । त्यसको उनलाई रतिभर पर्वाह थिएन । छोराछोरी भेट्छु भन्ने आशले उनी घरतर्फ हानिइन् ।
तीन तलाको घर ईंटा र माटोको थुप्रोमात्रै बनेको थियो । अर्काको घरमा टाँसिएको भागको थोरै अंश बाहेक घरको कुनै संकेत बाँकी थिएन । तर, खण्डर बनेको घरपट्टि उनको ध्यानै गएन । चिन्ता थियो त केवल छोराछोरीको ।
सोचिन्, “छोराछोरी बाँचे भने त यस्तो घर फेरि बनाइहालिन्छ नि !”
धुलो उड्न कम्ती भएको थिएन । धुलैधुलोकोबीच घरको भत्किएको थुप्रोमा चिहाइन् । उनले छोरीको खुट्टा देखिन् ।
खुट्टा चलमलाइ रहेको देखेर उनले ठानिन्, “छोरी जिउँदै छे ।”
त्यसपछि उनले हार गुहार गरिन् । उनको याचना सुनेर वरिपरिका मानिसहरू भेला भए । करिब दुई घण्टाको प्रयास पछि छोरीको सकुशल उद्धार भयो ।
त्यतिञ्जेलसम्ममा उनका श्रीमान् पनि आइपुगे । ट्रिपर चलाउने श्रीमान् भूकम्प जाँदा पेप्सिकोलामा रहेछन् । बाटोमै भएकाले र त्यस वरपरका घरहरू पनि नभत्किएकाले आफ्नो अकल्पनीय क्षतिको आँकलन उनले पनि गरेका रहेनछन् । घरको हालत देखेपछि उनको नौनाडी गल्यो । लल्याकलुलुक भए ।
sonish5
छोरी त जिउँदै भेटिएकी थिई तर छोराको अझै अत्तोपत्तो थिएन । त्यतिञ्जेल अपराह्न भइसकेको थियो । भेटिन्छकी भनेर श्रीमान् श्रीमती भत्किएको तला चढे । ईंट्टाको छस्याकछुसुक आवाजकाबीच मसिनो श्वरमा छोरो रोएको आवाज रस्मिलाको कानमा पर्यो । त्यसपछि उनले हारगुहार गरिन्, छिमेकीहरूलाई अनुरोध गरिन्, “मेरो छोरो जिउँदै छ, लौन खोतलीदिनु पर्यो ।”
उद्धारका लागि नेपाली सेनाको एक टुकडी पनि उनको घर नजिकै पुगेको थियो । उनले ती उद्धारकर्मीलाई पनि आग्रह गरिन्, “मेरो छोरो पुरिएको छ हजुर, झिकिदिनुहोस् न ।”
उनले त्यती आग्रह गरेपछि नेपाली सेनाको टोली तत्कालै घरको भग्नावशेष पन्छाउन थाल्यो । बच्चा रोएको आवाज उनीहरूले पनि सुने । तर, यहीँ पुरिएको छ भन्ने निष्कर्ष निकाल्न सकेनन् ।
रातको १२ बजेसम्म सेनाहरूले अथक प्रयास गरे । र पनि बच्चाको यहाँ छ भन्ने सुईंको पाउन सकेनन् । फेरि हल्ला भयो, राती अझैं ठूलो भूकम्प आउन सक्छ । सेनाहरूलाई पनि आदेश आयोे, “राती भग्नावशेष पन्छाउँदा जोखिम हुनसक्छ, टोली ब्यारेक फर्कनू ।”
उनले त बच्चा नभेटिइ सुरक्षाकर्मीलाई जान दिएकी थिइनन् । उनले भनिन्, “म पछि पछि दौडँदै गएर सुरक्षाकर्मीलाई आग्रह गरें । उहाँहरूलाई पनि आफ्नो ज्यानको माया थियो ।” उनलाई सुरक्षाकर्मीले नै उल्टै सम्झाए, “तपाईंको बच्चा जिउँदै छ, चोट पनि लागेको छैन, यदी घाउचोट लागेको र थिचिएको भए बच्चा रुन सक्दैन ।”
तर, उनको मनले मानिरहेको थिएन । मानोस् पनि कसरी ? बामे समेत नसरेको प्राणभन्दा प्यारो छोरा भग्नावशेष भित्रै थियो । लोग्ने, स्वास्नी र छोरी रातभर भत्किएको घरमाथि नै बसे । उनीहरूलाई साथ दिन छिमेकीहरू पनि उनीहरूसँगै थिए ।
वर्ष दिन बिताउन भन्दा गाह्रो भयो त्यो रात काट्न । झिसमिसे नफाट्दै उनीहरू भत्किएको घरको ईंट्टा पन्छाउन थाले । पन्छाउँदै जाँदा पुनः छोरो रोएको आवाज उनीहरूको कानमा पर्यो । ढुक्क त भयो तर अत्यास अझै बढ्यो र उनले छिमेकीलाई थप हार गुहार गरिन् । उज्यालो भएपछि हिजोकै नेपाली सेनाको टोली पनि आइपुग्यो र बच्चा रोएको आवाज भएतिर कै भाग पन्छाउन थाल्यो ।
भग्नावशेष पन्छाउनेमा सेनामात्र थिएनन्, उनका टोलछिमेका मानिसहरू पनि थिए । टाढाटाढाबाट ईष्टमित्र पनि आइपुगेका थिए । सबैको अनवरतको प्रयास पछि बिहान १० बजे सोनीस सकुशल फेला परे ।
० ० ०
नेपाली सेनाका दीपक राईको टोलीले हो उनलाई भग्नावशेषबाट सकुशल निकालेको । पुरिएका सोनीसको शरीरमा कुनै चोट थिएन, अनुहारमा धुलो मात्रै लागेको थियो । जब सेनाका एक जवान हातमा छोरो लिएर उनको नजिक आए । उनका लागि सबैभन्दा खुसीको क्षण नै त्यही भयो । भन्छिन्, “पुरिएको ठाउँबाट बाहिर निकाल्ने बित्तिकै बाबु त हाँसेन मात्रै हात पनि दियो । सोचें, बाबुलाई केही पनि भएको रहेनछ, भगवानले बचाइदिनुभएछ मेरो बाबुलाई ।”
उनले हेर्दा निधारमा थोरै कोरिएको बाहेक शरीरमा कुनै चोट थिएन ।
त्यसपछि सुरक्षाकर्मीकै आग्रहमा सोनीसलाई अस्पताल पुर्याइयो । चिकित्सकहरूले अनुहारको धुलो सफा गरे र स्वास्थ्य परीक्षण गरे, सबै ठीक छ भनेपछि उनले लामो स्वास फेरिन् र दूध चुसाइन् ।
० ० ०
भूकम्प आउनुभन्दा केही बेरअघि मात्रै रस्मीला छोरी सोनीयालाई भाइ हेर्न अह्राएर बजारमा किनमेल गर्न निस्किएकी थिइन् । आमा बजार गएपछि सोनिया टीभी हेर्दै थिइन्, अचानक बत्ति झ्याप्पै गयो । बत्ति गएको केही सेकेन्ड पनि बित्न पाएको थिएन घर पुरै हल्लन थालिहाल्यो । हतार हतार तल झर्न लागेकी उनले सुतिरहेको भाइलाई सम्झिइन् र फर्किएर भाइ भएको ठाउँमा पुगिन् । भाइ के हातमा लिएकी थिइन्, टीभी राखेको र्याक ढलेर उनको काँधमा लागिहाल्यो ।
त्यसपछि उनले केही पनि देखिनन् । काखको भाइ कता पुग्यो उनलाई कुनै पत्तो भएन । घर पुरै भत्किइसकेको थियो । उनी एउटा कुनामा च्यापिन पुगिन् । अन्धकार भएकाले उनी बाहिर आउने सम्भावना नै थिएन । उनले जुक्ति लगाइन्, “अब बाहिर खुट्टा निकाल्छु, खुट्टा देखेर मलाई उद्धार गर्न आउछन् ।”
उनले त्यसै गरिन् । तर सँगै भएको भाइ सोनीसको उद्धारका लागि अर्को २२ घण्टा लाग्यो ।
० ० ०
बच्चालाई सकुशल उद्धार गरेको खबर सर्वत्र फैलियो । उद्धार गर्दाकै क्षण पुगेका थिए फोटो पत्रकार अमुल थापा । ईंट्टा र माटोको धुलो पन्छाएर बच्चा निकाल्दाको क्षण स्मरण गर्दै पत्रकार भन्छन्, “त्यस क्षणको कल्पना पनि गर्न सकिँदैन ।”
उनले बिहान पाँच बजेदेखि निरन्तर पाँच घण्टा कुरेर त्यो फोटो खिचेका थिए । २२ घण्टापछि आमा र छोराको अभूतपूर्व मिलन शब्दमा व्याख्या गर्न निकै कठीन हुने भन्दै उनले भने, “आमाको आँखाको आँसु र छोराको हाँसो क्यामेरामा कैद गर्न सकिन ।” उनले खिचेको फोटोले निकै चर्चा बटुल्यो । अन्तर्राष्ट्रिय रूपमै चर्चा कमाउला भन्ने उनलाई लागेको थिएन । “उद्धार गर्दाको क्षण क्यामेरामा कैद गरें, चर्चा होला भन्ने सोचेको त थिएँ तर अन्तर्राष्ट्रिय रूपमै चर्चा कमाउला भन्ने लागेको थिएन ।”
sonish1
ध्वस्त घरको भग्नावशेषबाट बच्चा सकुशल निकाल्न सकिएला भन्ने उनलाई सुरुमा लागेको थिएन तर सामान्य घाउचोट समेत नलागेको बच्चाको उद्धार हुँदा उनले सोचे, “यस्तो घरमा त मानिस जीवित भेटिँदो रहेछ भने अन्यत्रबाट पनि मानिस जीवितै निकाल्न सकिन्छ ।”
० ० ०
त्यो फोटो सार्वजनिक भए लगत्तै राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले अवाल परिवारलाई निरन्तर पछ्यायो । अखबारका पंक्ति, टेलिभिजनका पर्दा र अनलाइनका हरफहरूमा सोनीस र उनको परिवार छाइरह्यो । धेरथोर सहयोग पनि प्राप्त भयो । तर जीवन चलाउन भने झन् कठीन हुन थाल्यो । कसैले खाट, कसैले किचन र्याक, कसैले भाँडावर्तन र दाल चामल सहयोग गरे पनि घर चलाउन त्यो पर्याप्त कसरी हुन्थ्यो र ? भूकम्प लगत्तै श्रीमान्को पनि काम भएन । खेतीकमाइ थोरै भएकाले त्यसबाट परिवार पाल्न सम्भवै थिएन । झ्न ठूलो दुःख पो आइलाग्यो उनीहरूलाई ।
घर भत्किएकाले आफ्नै साथी कृष्णलक्ष्मी कारञ्जितको घरमा डेरा लिएर बस्न थाले । तर कोठा भाठा तिर्न पनि समस्या हुन थाल्यो । “दुई हजार मासिक कोठा भाडा तिर्न पनि मुस्किल हुन्छ हजुर हामीलाई”, उनले दुःखेसो पोखिन् ।
सञ्चारमाध्यममा निरन्तर समाचार आइरहे पनि सरकारका कुनै मन्त्री र सांसद समेत उनको परिवारलाई भेट्न पुगेनन् । “नेताहरूलाई त जनताको माया हुँदो रहेनछ”, उनले भनिन्, “भूकम्पको वर्ष दिन बित्न लाग्दा पनि सरकारका कोही मान्छे हामीलाई भेट्न आएका छैनन् ।”
उनीहरूले मात्र होइन उनका आफन्त तथा ईष्टमित्रहरूले पनि घर बनाउन सकेका छैनन् । भूकम्पमा पुरिएर निकालेका उनका नजिकका ससुराको हालत पनि उस्तै छ । भूकम्पले माइतीको घर पनि भत्काएकाले उनीहरूले पनि सहयोग गर्न सक्ने अवस्था छैन ।
सरकारले आवास अनुदान दिन्छ भन्ने त उनले सुनेकी छन् तर कसरी र कुन प्रक्रियाबाट दिन्छ त्यो पनि उनलाई थाहा छैन । भन्छिन्, “आफ्नो नाममा त लालपुर्जा छैन । सगोलमै बस्दै आएका थियौँ । के सहयोग पाउछौँ होला र ?”
० ० ०
भूकम्प जाँदा पाँच महिनाका सोनीस अहिले हिँड्न थालिसके । तर उनको भत्किएको घर कहिले बन्छ अनिश्चित छ । घर गुमाएर कोठामा बस्दा दुःख लागेको छ । र त उनी भन्छिन्, “जसरी पनि एउटा घर बनाउन पाए हुन्थ्यो ।”
साथै छोराछोरीलाई कसरी पढाउने भन्ने चिन्ता पनि छ । भन्छिन्, “हाम्रो जीवन त दुःखमै बिताउँला यी छोराछोरीले समेत सुखको मुख देख्न नपाउने भए ।”
सोही कारणले भूकम्पमा पुरिएर मरेर बाँचेको छोरो सोनीसलाई पढाएर ठूलो मानिस बनाउने सपना उनले सजाउन सकेकी छैनन । “हामी सुकुम्वासीले त के सपना देख्नु हजुर ? हातमुख जोर्नै त धौ धौ छ ”, उनले पीडा पोखिन् ।
कसैले सहायता दिए छोरो ठूलो मान्छे बन्ने विश्वास रस्मिलालाई छ । “निकै टाठो छ, भनेको कुरा टपक्क टिप्ने भइसक्यो राम्रो स्कूलमा पढाउन पाउने हो भने ठूलै मानिस बन्थ्यो कि ?”, उनले भनिन् ।
० ० ०
“भूकम्पको दुई महिनासम्म बाबु अध्यारोमा जान डराउँथ्यो”, रस्मिलाले भनिन्, “अहिले त त्यस्तो छैन, बच्चा पनि स्वस्थ छ ।”
sonish2
छोरीमा पनि कुनै मनोसामाजिक समस्या छैन । पुरिँदा खुट्टामा सानो चोट भए पनि त्यो निको भइसकेको छ तर आफ्नै मनमा भने भूकम्पले दिएको चोट र पीडा दूर भएको छैन । अन्तिममा उनले भनिन, सञ्चारमाध्यमले निरन्तर पछ्याइरहेको र चर्चाको विषय बनेको हाम्रो परिवारको त यस्तो हविगत छ भने दूरदराजका पीडितको अवस्था के होला ? भूकम्पको घाऊ कहिले खाटा बस्ला ? त्यसकारण सरकारले सबै काम छोडेर पीडितहरूलाई आवास अनुदान उपलब्ध गराउन तिर लागोस् ।”
प्रस्तुति : अक्षर काका
तस्बिर : राेजित खड्का

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment